कपिलवस्तु, जेठ २० गते । भूकम्पमा ज्यान गुमाएका र बेपत्ता बनेका कपिलवस्तुका पीडित परिवारले घटना भएको एक महिना बितिसक्दा पनि आफूहरुले अहिलेसम्म सरकारी राहत र काजकिरिया खर्च नपाएको गुनासो गरेका छन् ।
गत वैशाख १२ गतेको भूकम्पमा परी ज्यान गुुमाएका १६ जना र बेपत्ता बनेका परिवारका सदस्यले यस्तो गुनासो गरेका हुन् । गत वैशाख १२ गते गएको भूकम्पबाट कपिलवस्तु हल्लानगरका र गुगाँैली गाविसका १४ जनाको रसुवाको हाकु गाविसस्थित मैलुङ हाइड्रोपावरमा काम गरिरहेको अवस्थामा पहिरोमा परी मृत्यु भएको थियो भने बाह्रजना अहिलेसम्म बेपत्ता नै रहेका छन् ।
यस्तै, वैदेशिक रोजगारीका लागि कुवेत जाने क्रममा काठमाडाँैको न्यु जनसेवा होटलमासँगै बसेका बेला जिल्लाको बलुहवा गाविस–५ सिहोरवाका दुईजना युवाको मृत्यु भएको थियो ।
राहत पाउन ढिलाई भएपछि मृतकका परिवार जिल्ला प्रशासन कार्यालयमा पुगेर बारम्बार आफ्नो समस्या जाहेर गरिरहेका छन् तर पनि उनीहरुले‘ न त बेपत्ता भएकाको शव नै पाए नत अहिलेसम्म कुनै राहत । भूकम्पमा परी एकै परिवारका चारजना आफन्त गुमाएका कपिलवस्तुको शिवराज नगरपालिका– ११ हल्लानगर राजु रानाले आफूहरुले बारम्बार प्रशासनमा ताकेता गर्दा पनि कुनै किसिमको सहयोग नपाएको कुरा बताउनुभयो ।
भूकम्पमा परी श्रीमती, छोरा, भाई, भाइबुहारी गुमाएर निकै पीडित बनेका राजुले अहिलेसम्म सरकारीस्तरबाट कुनै सहयोग पाउन सक्नुभएको छैन । खान लाउन समस्या परेपछि रसुवाको हाकु गाविसस्थित मैलुङ हाइड्रोपावरमा काम गर्न गएका बेला उनीहरुको मृत्यु भएको थियो ।
सरकारले घोषणा गरेको राहत, किरिया खर्चको रकम एक महिना भन्दा पनि बढी बितिसक्यो तर पनि प्रशासन कार्यालय ताकेता गरिरहनुभएका उहाँले पुगेका नागरिकसँग आफनो पीडा सुनाउँदै सो कुरा बताउनुभएको हो ।
उहाँले घटनामा श्रीमती मीना, ८ वर्षे छोरा सुमन, भाई दीपक र भाइबुहारी हर्ममा गुमाउनु भएको थियो । ‘महिना दिन बित्यो, लाश त पाइएन– पाइएन सरकारले घोषणा गरेको सहयोग रकम समेत पाएको छैन,’ आँखाभरि आँशु झार्दै उहाँले भन्नुभयो । ‘खै त्यो रकम कहिले पाइने हो ठेगान छैन ।’ सरकारी जमिनमा सानो झुपडीमा गुजारा चलाउँदै आउनु भएका राजुले कागजी प्रक्रिया पूरा गरी फाइल प्रशासन कार्यालयमा समेत बुझाइसकेको बताउनुभयो ।
सिडिओ सावले रकम आएपछि तुरुन्तै दिन्छाँै भनेर आश्वासन दिनुभएको उहाँले बताउनुभयो । त्यस्तै, भूकम्पमा मैलुङ हाइड्रोपावरमा मजदुरी गर्न जानुभएको बेला भूकम्पमा ज्यान गुमाएका गुगौली– ३ का दिलबहादुर खड्काको परिवार अहिले बिचल्लीमा परेको छ ।
पाँचजना सन्तान र श्रीमतीलाई छाडेर कमाउन गएका दिलबहादुरको मृत्यु भएपछि उहाँको परिवार शोकमग्न मात्र बनेको छैन, उनीहरुलाई अहिले खान लाउनसमेत समस्या भएको छ । जिल्लामा ज्याला मजदुरी गरेर पनि घर चलाउन गाह्रो भएपछि उहाँ गत चैतमा काम गर्न त्यहाँ ठेकेदारमार्फत जानुभएको थियो ।
राजुसँगै राहत र किरिया खर्चका लागि निवेदन दिन काखेबच्चा च्यापेर प्रशासन कार्यालय पुग्नुभएकी मृतक भीमबहादुरकी श्रीमती चमिलाले श्रीमान्को मृत्युपछि खान लाउन समस्या भएको बताउनुभयो । मृतक श्रीमान्को मुखसम्म हेर्ने इच्छा जाहेर गर्दै उहाँले भन्नुभयो, ‘श्रीमान्को मुख त हेर्न पाइएन, तर सरकारले भनेको राहत पनि पाइएन ।’ श्रीमान्को मृत्युपछि पाँचजना सन्तान पाल्ने जिम्मा उनकै काँधमा आएपछि चिन्तित हँुदै उहाँले अब कसरी लालाबालालाई पाल्ने भन्नुभयो । राहत पाउनका लागि धेरै प्रयास गरे पनि अझैसम्म नपाएको उहाँले बताउनुभयो ।
त्यस्तै, सोही घटनामा ज्यान गुमाएका हल्लानगरका भीमबहादुर बुढामगरको परिवारमा पनि अहिले ठूलो विपत्ति आएको छ । अपाङ्ग श्रीमती शीला र दुई नाबालक छोरी भीमबहादुर बुढामगरको मृत्यु भएपछि अहिले सहाराबिहीन बनेका छन् । ‘अब म कसरी सम्हालँु यी छोरीलाई’, प्रशासन कार्यालयमा आएकी शीला भक्कानिएर आँशु बगाउँदै भन्नुभयो । विपन्न परिवार त्यसमा पनि ज्याला मजदुरी गरेर जेनतेन जीविका चलाउँदै आएका भीमबहादुरको परिवार अब कसरी चल्ने हो शीलालाई पनि थाहा छैन ।
सुकुम्बासी बस्तीमा एक टुक्रा जमिनमा गुजारा चलाउँदै आएका उहाँको परिवार अहिले गहिरो दुःखमा छ । यतिका दिनसम्म सम्पर्कबिहीन रहेका भीमको जीवित हुने आश भने कमै देखिएको छ ।
मैलुङ हाइड्रोपावरमा काम गर्न गएका बेला हल्लानगरका १०, गुगाँैलीका चारजनाको मृत्यु भएको थियो । अहिलेसम्म हल्लानगरका १२ जना बेपत्ता सूचीमा नै रहेका छन् । जयन्ती निर्माण सेवा काठमाडाँैका ठेकेदार खगेन्द्र बुढामार्फत उनीहरु त्यहाँ गएको बुझिएको छ ।
सरकारीस्तरबाट कुनै राहत नपाएका उनीहरुलाई निर्माण कम्पनी र ठेकेदारले समेत अहिलेसम्म बेवास्ता नै गरिरहेको मृतकका परिवारका सदस्य बताउनुहुन्छ ।
मृतक र बेपत्ता परिवारलाई शिवराज नगरपालिका, विभिन्न सङ्घ संस्था, छरछिमेकले अन्नपात सहयोग गरेका थिए । ढेड दशकदेखि सुकुम्बासी जीवन बिताउँदै आएका मृतकको परिवार अहिले थपिएको पीडाले झन् गुजारा चलाउन गाह्रो परेको छ । उता प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले गुगाँैली र हल्लानगरका छजना मृतकका परिवारले मात्र आवश्यक कागजात प्रक्रिया पूरा गरी प्रशासनमा पेश गरेको बताउनुभयो ।
‘घटना अन्यत्र जिल्लामा भएकाले कागजी प्रक्रिया पूरा नगरी रकम दिन नमिल्ने उहाँले बताउनुभयो । केन्द्रमा माग गरिएको रकम आउने बित्तिकै प्रक्रिया पूरा गरेको परिवारलई राहत रकम बितरण गर्नेछौ ।’ राहतका लागि घटना भएको सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दिएको मृत्यु प्रमाण, नाता र गाविसको मृत्यु प्रमाण चाहिने उहाँले बताउनुभयो ।
सरकारले भूकम्पबाट मृत्यु भएका प्रति परिवारलाई रु एक लाख राहत र रु ४० हजार किरिया खर्च उपलब्ध गराउने घोषणा गरेको थियो ।



तपाईको प्रतिक्रिया