कपिलवस्तु, जेठ १३ गते । कपिलवस्तु जिल्ला दैवी प्रकोप उद्धार समितिले गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पमा मधेशको जिल्लामा पर्ने कपिलवस्तु मा १६ व्यक्तिको मृत्यु र १२ जना बेपत्ता र छजना घाइते भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
मजदुरीका लागि रसुवाको हाँकु गाविस– ७ स्थित मैलुङ हाइड्रोपावरमा गएका विनाशकारी भूकम्पमा परी मृत्यु हुनेमा शिवराज नगरपालिका– ११ हल्लानगरका १० जना, सोही नगरपालिका–३ का दुईजना, गुगौली गाविसका तीनजना तथा बलुहवा गाविसका एक जनाको मृत्यु भएको पुष्टी भएको छ ।
उनीहरुको काम गरिरहेको अवस्थामा पुरिएर मृत्यु भएको हो । मृत्यु हुनेमा हल्लानगरका एकै परिवारका चारजना – दीपक रानामगर, उनकी श्रीमती हर्कमाया, भाउजु मीना र भतिजा सुमन रहेका छन् ।
यस्तै, हल्लानगरकै जयमाया बुढामगर, भीमबहादुर बुढामगर, रोजन पुन, गगन सिंह घर्ती, शिवराज नगरपालिका– ३ की दिलमाया बिक र दिलबहादुर खड्काको भुकम्पमा परी मृत्यु भएको थियो । यसैगरी, गुगौली–१ का जितेन्द्र बिक, सुशील शाही, मीन बहादुर रोका र गुगौली–३ का दिलबहादुर खड्काको मृत्यु भएको थियो ।
यसैगरी, वैदेशिक रोजगारीका लागि कुवेत जान घरबाट हिँडेका बलुहवा गाविस– ५ शिहोरवाका राजेश यादव र चेतराम तेलीको पनि काठमाडाँैमा मृत्यु भएको थियो । काठमाडाँैको बानेश्वरस्थित न्यू जनसेवा गेस्टहाउसको चौथो तलामा बसेका उनीहरुको भूकम्पले घर ढलेर थिच्दा मृत्यु भएको थियो ।
बेपत्ता भएकाहरु जीवित हुने सम्भावना नरहे पनि हालसम्म उनीहरुको शव भने फेला परेको छैन । मैलुङ हाइड्रोपावरमा कामको सिलसिलामा गएको बेला भूकम्पमा परी घाइते भए पनि हल्लानगरका गोपाल श्रेष्ठ, मानसिंह घर्ती र नरेश्वर कंँडेल बाँच्न सफल भएका थिए ।
भूकम्पको केही दिनपछि नै उनीहरु आप्mनो घर फर्केका थिए । भूकम्पमा ज्यान गुमाएका र बेपत्ता भएकाको परिवारले हालसम्म सरकारीस्तरबाट कुनै राहत र किरिया खर्च समेत पाएका छैनन् ।
उता गत वैशाख १२ गतेको भूकम्पमा जिल्लाका २०३ वटा संरचनामा क्षति पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ । जसमा ५१ वटा विद्यालय, २७ सरकारी कार्यालय, ३४ सङ्घ संस्थाका भवन र ९१ निजी घरमा क्षति पुगेको छ । जिल्लामा भूकम्पले ती संरचनामा आंशिक मात्र क्षति गरेको थियो । भूकम्पबाट भवन, कोठा, पर्खाल चर्किएका छन् । क्षति पुगेका संरचनाको प्राविधिक कार्यालय, नगरपालिकाको प्राविधिकले निरीक्षणसमेत सुरु गरेको प्रमुख जिल्ला अधिकारी विनोदकुमार सिंहले बताउनुभयो ।
भूकम्पबाट जिल्लामा तीनजना सामान्य घाइते भएका थिए ।
भूकम्पपीडितका लागि नेपाली सेनाबाट रु १९ लाख ४८ हजार, १६ वटा व्यक्ति र संस्थाबाट रु सात लाख ७८ हजार, १८ सरकारी कार्यालयबाट रु २० लाख १४ हजार, नेपाल प्रहरीबाट रु १५ लाख ३१ हजार प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको थियो । सशस्त्र प्रहरी, भन्सार बाट रु एक लाख १९ हजार, सशस्त्र प्रहरी चन्द्रौटाबाट रु १३ लाख ३९ हजार, सशस्त्र सीमा सुरक्षा कार्यालयबाट रु सात लाख १४ हजार, व्यक्ति र कार्यालय गरी ३४ जनाबाट रु २७ लाख ५८ हजार कोषमा जम्मा गरिएको थियो ।
कपिलवस्तुमा विभिन्न १८ व्यक्ति, संस्था, समुदायबाट सङ्कलन भएको राहत भूकम्प प्रभावित नौ जिल्लामा पठाइएको थियो । गोरखा, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, धादिङ, काठमाडाँै, काभ्रेलगायतका जिल्लामा चामल, दाल, पिठो, तेल औषधिलगायतका राहत सामग्री पठाइएको थियो । रासस



तपाईको प्रतिक्रिया