भुइँचालोलाई आधार बनाई भूकम्प प्रभावित जनतालाई तराईमा बसोबास गराउने महेन्द्रवादी नीतिको निरन्तरताका लागि कार्य भइरहेको महसुस हुन थालेको छ । राहत कार्यमा भइरहेको शिथिलता हेरी निष्कर्ष निकाल्न सकिन्छ कि देशमा ठूलो संख्यामा आन्तरिक शरणार्थी पैदा गर्ने नीतिअनुसार नदेखिने गरी काम भइरहेको छ ।
उपरोक्त वाक्य नेपाल सद्भावना पार्टीकी उपाध्यक्ष सरिता गिरिले फेसबुक र ट्वीटरमा लेख्ने बित्तिकै सामाजिक सञ्जालमा अर्को ठूलो भुइँचालो गयो । एउटा ठूलो जमात उनीविरुद्ध खनियो । तर उनीसँग तर्क र बहस गर्न कोही तयार भएनन् । अधिकांश व्यक्ति गिरिविरुद्धको गालीगलौजमा उत्रिए । उनका विरुद्ध अश्लील गाली मात्र गरिएन, अश्लील फोटोहरु पनि पोस्ट गरिए । उनलाई बिहारी, धोती, अप्रवासी इन्डियन भन्नेदेखि लिएर कसैले उनलाई देश निकाला गर्नुपर्ने त कसैले उनलाई फाँसी दिनुपर्ने माग पनि गरे ।
नेतृ गिरिको धारणाविरुद्ध हजारौं शब्द खर्च गरिए तर कमैले मात्रै तार्किक बहस गर्न खोजे । नेतृ गिरिको विचारको प्रतिक्रियाको रुपमा फेसबुकमा लेखिएका धारणामध्ये केही यहाँ प्रस्तुत गरिएको छः
नेतृ रामकुमारी झाँक्रीको फेसबुकबाट ।
“हो । आज बिहानै सामाजिक संजाल हेर्दा खुसी लाग्यो । पहिलेदेखि यसरी बोलेको भए एक मधेश एक प्रदेश भन्नेहरुले टाउको उठाउन कहाँ पाउने थे र ? यस्तो ? नव नागरिक हाम्रो देशको सार्वभौमिकतामाथि ठाडै चुनौती । पीडामा डुबेका हामी नेपाली, हाम्रो देश, हाम्रो राष्ट्र हाम्रो भूभागमाथि यस्ता मान्छेको हैकम ? उसको अटन खटन ? २० र २२ वर्षअगाडि लक्ष्मण गिरिसँग बिहे गरेर नेपाल भित्रेकी तपाईंं नव नागरिकचाहिँ धर्तिपुत्री ? हाम्रो सरकारले पीडामा रहेका नेपालीको पुनर्वासको कुरा गर्दा तराई प्रदेशमा हेर्न, बोल्नै नहुने तपाईंको आदेशबाट हामी चल्नुपर्ने ? जुन लोग्नेको नाताले तपाईं नेपाली हुनुभएको छ उही लोग्नेसँग तपाईंको व्यवहार ? व्यवहारतः सम्बन्ध विच्छेद (कानुनी रुपमा होइन) भएकी स्वास्नीमानिसले कसको प्रेमले राष्ट्र बनाउने कुरा गर्ला ?
तपाईंको इतिहास सबैलाई थाहा छ । यो विपत र दुःखमा धेरै नबोल्नु राम्रो । हामी नेपालीले तपाईंले दिएको पीडा पिउन सक्दैनौं । तपाईंले मुख समाल्नु उचित हुनेछ । नेपालीहरु एकदम सहन्छन् जसरी लक्ष्मण गिरिले सहेका छन् । नेपाल र नेपाली जनता र नेपाली भूभागका बारेमा बोलेको ठिक हुने छैन ।“
पत्रकार सीताराम बरालको फेसबुकबाट ।
‘भूकम्पले घरबार गुमाएकालाई छिटोभन्दा छिटो मधेशतिर सार्नुपर्छ’ भनेर ‘राष्ट्रवादी’ कित्तामा आफ्नो नाउँ लेखाउन चाहिनँ । बरु घरबार गुमाएका धर्तीपुत्रहरु जन्मे खेलेको, रगत पसिना बगाएको माटोमा छिटोभन्दा छिटो घरबार बनाएर पुनस्थापना गर भन्ने ‘राष्ट्रघाती’ कित्तामा नाम लेखाउने घृष्टता गरेको छु ।
पत्रकार पर्शुराम काफ्लेको फेसबुकबाट ।
अर्को, तपाईंजस्तो विद्वान नेताले बुझ्नुपर्छ कि मानिसहरुको ऐच्छिक बसाइँसराइलाई कसैले पनि रोक्न सक्दैन, तपाईंको राजनीतिका लागि यो खतरा हुनसक्छ, तर यो स्वाभाविक प्रक्रिया हो । अन्तिममा यो पनि बुझ्नुस् कि हिमाल, पहाड र तराईका समस्त नेपालीहरु एकअर्कासँग अन्तरनिर्भर भएर आपसी सद्भाव साट्न चाहन्छन् । सायद तपाईं नेपाली भूगोलमा अलिक पछि आउनुभएको हुनाले यो यथार्थ बुझ्न समय लागेको हुनसक्छ । हुन त मन्त्री भइसकेपछि यति कुरा बुझ्नुपर्ने हो, खैर बुझ्नुभएन यो हाम्रो हैन, तपाईंको चिन्ता हो ।
कवि इन्द्र नारथुङ्गेको फेसबुकबाट ।
भूकम्पबाट अति प्रभावित जनताहरुलाई मदेशमा सारेर पुनर्वासको नाममा सुकुम्बासी नबनाऊ भनी केही मदेशी नेताहरुले विचार राख्दा तथानाम गाली गर्ने मित्रहरुले एक पटक सोचौं कि सरकारले मदेशमा रहेका अधिकांश भूमिहीनहरुलाई पहाडमा जग्गा दिएर पुनर्वास गर्ने निर्णय गर्यो भने ?
यो संवेदनशील अवस्थामा मदेश तथा मदेशीको भावनामा र भूकम्पपीडितहरुको निरीहतामाथि धावा बोल्ने काम नगरौं ।
मदेशमा सरकारले दिने जग्गा एउटा घडेरी र एउटा ट्वाइलेटलाई पुग्नेभन्दा ज्यादा हुँदैन । त्यही पनि खोलाको किनार, जङ्गलको छेउ वा डुबान हुने ठाउँ हुनसक्छ । पहाडको त्यत्रो जमिन छोडेर त्यस्ता ठाउँमा जानु भनेको सुकुम्बासी हुनु नै हो ।
पहाडमै बसोबास गर्न उचित लाखौं बिघा जमिन छ, त्यसलाई अधिग्रहण गरेर सहरी विकासको अवधारणा अगाडि सार्न सकिन्छ ।
१९९० सालमा पूर्व केन्द्रविन्दु बनाएर गएको भूकम्पले बढी विनाश काठमाण्डौमै गर्यो । अहिले पश्चिम केन्द्रविन्दु बनाएर गएको भूकम्पले पनि काठमाण्डौलाई नै बढी क्षति पुर्यायो । त्यसैले काठमाण्डौ बढी असुरक्षित छ भन्ने देखियो । अब राजधानी मदेशमै झार्ने कि भूकम्प प्रतिरोधी र मैत्री काठमाण्डौ बनाउने ? जवाफ पाउँ ।
स्रोतः इसमता







तपाईको प्रतिक्रिया