![]() |
| -जितेन्द्र साह |
मुलुक चरम संकटबाट गुज्रिरहेको बेला केही मित्रहरुले सिके राउत वा सरिता गिरीले बोलेको कुरापछि लागेर समय र दिमाग खियाइरहेका छन् । म ठेट तराईवासी नेपाली पत्रकार हो । जन्मेदेखि स्नातक तह उत्तीर्ण नहुन्जेलसम्मको झन्डै दुई दसकभन्दा बढी समय तराईमैं बिताएँ । मेरा सबै परिवार र नातागोता पनि उतै छन् ।
उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ लिंदा त्यो हाम्रो भाषा होइन भनेर कान्तिपुर दैनिकमा पहिलो र अन्तिम लेख लेख्ने सञ्चारकर्मी म नै हुँ ।
मैंले थुप्रै राष्ट्रिय पत्रिकाहरुमा सात वर्ष र कान्तिपुर राष्ट्रिय दैनिकमै काम गरेको १५ वर्ष पुरा भयो । तर, मूलधारको पत्रिकामा काम गरेको यतिका वर्ष बित्दा पनि मैंले अहिलेसम्म राउत, गिरी वा आफूलाई तराईको हिमायती भन्ने नेतानेतृहरुलाई प्रत्यक्षरुपले चिनेको वा भेटेको छैन । उहाँहरु कस्तो नेपाल र कुन तराईवासीको प्रतिनिधित्व गर्नुहुन्छ रु मलाई पनि थाहा भएन ।
राजधानीमा बसेका हामी तराईका ठूलो युवा समूह महाभूकम्पपछि पहाडमा परेको पीडा र दुस्खमा कसरी सघाउँने तर्फ लागेका छौं । जसले र जहाँबाट जे गर्नसक्छन, गरिरहेका छन् । हामीले फेसबुक र ट्वीटरमा त्यसको प्रचारप्रसार भने गर्दैनौं । किनकी रंग, रुप र अनुहार बेग्लाबेग्लै भएपनि कष्टको बेला एउटा नेपालीले अर्कोलाई सघाउनु भनेको कर्तव्य हो, उपकार होइन । आवश्यकता परेमा तराईवासी युवाहरु पहाड मात्र होइन, हिमाल र सगरमाथा चढ्ने हुति पनि राख्छन् । मेरो अधिकांश केटा र केटी साथी पहाडे समुदायकै छन् ।
अहिले पहाडमा विपद पर्दा जसरी हाम्रो एकता देखियो, त्यसैगरी भोलि तराईमा पर्दा पनि देखिनुपर्छ । राजधानीमा जुनसुकै व्यापार, व्यवसाय र रोजगार गरेर बसेका तराईवासी भएपनि उनीहरुमा नेपाली भन्ने अनूभुति एकदमै कम छ । छातीमा हात राखेर भन्दा त्यसकालागि हामी नैं दोषी छौं । जुनसुकै उमेरका तराईवासी देख्न बितिकै अगाडी, पछाडी वा सांकेतिक ढंगले भइया, भाइ साहाब, मधिसे, धोती र धोतीनी भन्ने हाम्रो बानी अझैं गएको छैन ।
हामीहरु नै उनीहरुमा नेपाली हो भन्ने भावनाभन्दा भारतीय वा विहारी हो भन्ने भावना भर्छौं । तराईवासी नेपालीको सम्मान नगर्दा राउत र गिरीजस्ताले विभाजनको राजनीतीक गर्ने मौंका पाउँछन् । ल आजदेखि भइया, मधिसे र धोती जस्ता शब्दहरुको साटो तराईवासी नेपालीकालागि उमेर अनुरुप दाइ, भाइ, बाबु, दिदी, बहिनी, भाउजु, आमा, हजुर बा वा बाजस्तो सम्मानजनक शब्द प्रयोग गर्ने प्रयास गरौं ।
अधिकांश आम तराईवासीलाई हिन्दी बोल्न आउँदैन, उनीहरु मैथिली, भोजपुरी वा नेपाली नै बोल्न रुचाउँछन् । तर हामी यस्तो अनुहार वा लवज ठम्याएर उनीहरुसँग हिन्दी बोल्न खोज्छौं जबकी उनीहरु नेपाली नै बोल्न खोज्छन् । मैंले मेरै दाजुभाई र दिदीबहिनीसँग हिन्दी बोलेको स्मरण छैन । हामी घरमा पनि नेपाली नै बोल्छौं ।
हाम्रा तराईवासी नेपालीले नेपाली बोल्न खोजिरहेका बेला हामी उनीहरुलाई नेपाली नै होइन भन्ने अनुभूति गराउँने गरी हिन्दी बोल्न खोज्छौं ।
राम्ररी हिन्दी बोल्न नजान्ने मेरै परिवारजनसँग पनि यस्ता विभेदपूर्ण घटना भएका छन् । तर, हामी त्यसलाई काठमाडौं बाहिरको विशाल नेपाल नदेखेका केही नेपालीहरुको अज्ञानता ठानेर मनमनै माफी दिन्छौं ।
मित्रहरु, विभेद हटाउँने कार्य राजधानीबाट सुरु गरौं र त्यसको असर तराईसम्म पर्छ । अनि, जातीपाती, रंगरुप र विभेदको राजनीती गर्ने राउत, गिरी वा अन्य कथित मधेसबादी नेता आफैं तह लाग्छन् । आफ्नो बानी र बोली नसच्याउँने, अनि तराईमा राम्रो जनमत नभएका त्यस्ता अलोकप्रिय नेतानेतृको भनाईमा दिमाग खियाउँदा तनाव मात्र हुन्छ । कि कसो ?
कान्तिपुरमा कार्यरत पत्रकार साहको फेसबुकबाट सभार



तपाईको प्रतिक्रिया