काठमाडौँ, ३१ वैशाख । भूकम्पपीडित सबैलाई आगामी जेठ महिना भरीमा अस्थाइ पुनर्वासको व्यवस्था गर्न राष्ट्रिय योजना आयोगले योजना बनाएको छ ।
आयोगले शुक्रबार सार्वजनिक गर्ने गरी बनाएको योजनामा अस्थाई बासस्थान, विद्यालय, सडक र आधारभूत कार्यालयलाई जेठ महिनाभित्रमा सञ्चालन गर्ने उपाय उल्लेख छ ।
स्थानीय स्रोतसाधन र सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा अस्थाई व्यवस्था गरिने योजना आयोगका सदस्य डा चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो ।
उहाँले जेठ अन्तिम हप्ताभित्रमा सबै विद्यालयमा पठन÷पाठनको अस्थाई व्यवस्था गर्ने विषय पनि प्राथमिकतामा परेको बताउनुभयो । जेठ महिनाभित्रमा सम्पन्न गरिने केही प्राथमिक कामसहित चालु आवभित्र गर्ने कामलाई पनि योजना आयोगले तत्कालीन योजनाभित्र पारेको छ ।
त्यसबाहेक नयाँ आवभित्र गर्नुपर्ने कामलाई अल्पकालीन र त्योभन्दा पछिसम्म गर्नुपर्ने कामलाई दिर्घकालीन योजनाअन्तर्गत राखिएको छ ।
चालु आवमा सम्पन्न गर्ने गरी बनाइएका तत्कालीन योजनाका लागि सरकारसँग अहिले भएको बजेटले नै पुग्ने भएकाले वैदेशिक सहयोग आवश्यक नपरेपनि अल्पकालीन र दीर्घकालीन योजनाका लागि भने वैदेशिक सहयोग अनिवार्य भएको अधिकारीले बताउनुभयो ।
तीनै प्रकारका योजनाको खाका तत्काल पठाउन सबै मन्त्रालयलाई आयोगले परिवर्तित सन्दर्भमा विशेष निर्देशन दिएको छ । गएको वैशाख २५ गते दिइएको निर्देशनअनुसार जेठ ५ गते सम्ममा जवाफ पठाउनुपर्ने समयसीमा तोकिएको छ ।
वैशाख २९ गते आएको अर्को ठूलो पराकम्पनका कारण जवाफ पठाउने समयसीमा जेठ १५ गतेसम्म लम्बिने सम्भावना रहेको पनि उहाँले बताउनुभयो ।
योजना पठाउँदा मितव्ययीता अपनाउन, विदेश भ्रमण तथा तालिम गोष्ठी जस्ता कार्यक्रम नराख्न, यसअघि तोकिएको प्राथमिकताबारे पुनःविचार गर्न र पुनःनिर्माणमा केन्द्रित हुन मन्त्रालयलाई निर्देशन दिएको आयोगका सदस्य अधिकारीले जानकारी दिनुभयो ।



तपाईको प्रतिक्रिया