सिरहा, ४ वैशाख । जिल्लाको १७ गाविस आगलागीको उच्च जोखिममा रहेको जिल्ला विपद् जोखिम व्यवस्थापन योजनाले देखाएको छ ।
युरोपियन युनियन र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा तयार पारेको पाँच वर्षे जिल्ला विपद् जोखिम व्यवस्थापन योजना २०७० ले यस्तो देखाएको हो ।
उक्त योजनाअनुसार इटाटार, इनर्वा, औरही, कृष्णपुर, खिरौना, जानकीनगर, जिझौल, तेनुवापट्टी, नहरा रिगौल, बरियारपट्टी, भगवानपुर, भेडिया, लगडीगदियानी, लगडीगोठ, सुखीपुर, हकपारा र हरकट्टी आगलागीको उच्च जोखिममा रहेको छ ।
त्यस्तै, अर्नमा प्ररा, कल्याणपुर जब्दी र अर्नमा प्रपि आगलागीको मध्यम जोखिममा रहेको छ । उक्त योजनाअनुसार हावाहुरी सुरु हुने फागुनदेखि भदौसम्म आगलागीको जोखिम रहेको जनाएको छ ।
उक्त योजनाको जिल्लामा दीर्घकालीन रुपमा विपद् जोखिम न्यूनीकरण गर्न विपद् पूर्व तयारीको रुपमा पूर्व सूचना प्रणाली स्थापना, विपद्को समयमा उद्धार र राहत, विपद्पश्चात् पुनःस्थापना, पुनःनिर्माण तथा नियमित विकास प्रक्रियामा विपद् जोखिम न्यूनीकरणलाई मूल प्रवाहीकरण गर्ने लक्ष्य रहेको स्थानीय विकास अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला विपद् व्यवस्थापनका लागि जिल्ला विकास समिति, नगरपालिका र गाविसमा समेत विपद् व्यवस्थापन कोषको स्थापना गरिएको छ । विपद् व्यवस्थापन योजनाअनुसार जिल्लादेखि गाउँस्तरसम्म समिति गठन प्रक्रिया जारी रहेको उहाँले बताउनुभयो ।
विपद्को समयमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रस, स्थानीय विपद् व्यवस्थापन समितिलगायतलाई उद्धार तथा राहत कार्यका लागि खटाउने पूर्व तयारी भइसकेको जिल्ला विकास समितिले जनाएको छ ।
विपद्को समयमा पुनःस्थापनाका लागि विषयगत कार्यालयको विषयगत समितिले आ–आफ्ना क्षेत्रको काम तत्काल अगाडि बढाउने तयारी गरिरहेको छ ।
जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी मोहम्मद अब्दुल कलाम खाँले अहिले हावाहुरीको समयमा स्थानीय निकाय, जिल्ला वन कार्यालय, जिल्ला शिक्षा कार्यालय, रेडक्रसलगायतका सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले जनचेतनामूलक कार्यक्रम गरिरहेको बताउनुभयो ।
उहाँले आगलागीलगायतको विपद् आउन नदिन र भए पनि उद्धार, राहत, पुनः स्थापनालगायतका व्यवस्थापनका लागि जिल्लामा आफूहरु सजग, सतर्क र तयारी अवस्थामा रहेको बताउनुभयो ।
आगलागी नियन्त्रणका लागि यति ठूलो जिल्लामा लहान नगरपालिकामा एउटा मात्रै बारुण यन्त्र रहेकाले थप बारुण यन्त्र आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी खाँ बताउनुहुन्छ ।
लहान नगरपालिका जिल्लाको पूर्वी र उत्तरी क्षेत्रमा रहेकाले दक्षिणी र पश्चिमी क्षेत्रमा आगलागी हँुदा बारुणयन्त्र आइपुग्दासम्म निकै क्षति भइसकेको अवस्था छ ।
उक्त योजनाअनुसार जिल्लास्थित निमावि र माविका ८३ जना विद्यार्थीलाई जुनियर युवा रेडक्रस सर्कल, तालिम प्राप्त २७ जनाको दैवीप्रकोप उद्धार टोली, प्राथमिक उपचार टोली, दैवीप्रकोपको अवस्थाका लागि तयारी अवस्थामा रहेको रेडक्रस शाखा सिरहाका कार्यक्रम संयोजक अशोक यादवले जानकारी दिनुभयो ।
रेडक्रस शाखा सिरहाका सभापति राजदेव यादवले हावाहुरीको समय सुरु भइसकेकाले जिल्लास्थित रेडक्रस उपशाखा, जुनियर रेडक्रस युवा सर्कललगायतको टिमलाई गाउँगाउँमा आगलागीबाट बच्न जनचेतना अभिवृद्धिका लागि खटाइसकिएको बताउनुभयो ।
आगलागीलगायतको दैवी प्रकोपको समयमा तत्काल राहत सामग्री उपलब्ध गराउन रेडक्रसले ५०० र रेडक्रसको मातहतमा सेभ द चिल्ड्रेनले एक हजार परिवारको लागि राहत सामग्री तयारी अवस्थामा राखेको रेडक्रसका सभापति यादवले जानकारी दिनुभयो । रासस



तपाईको प्रतिक्रिया