काठमाडौ, चैत २९ गते । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ३० दलीय मोर्चाको औचित्य सकिएको भन्दै अब मोर्चाको बैठकमा मधेसवादी दलहरु सहभागि नहुने घोषणा गरेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, तीस दलीय गठबन्धनले अब काम चल्दैन । मधेसीहरुलाई यो मोर्चा चाहिदैन ।’
तीस दलीय मोर्चाबाट अब मधेसीले अधिकार नपाउने ठोकुवा गर्दै उनले अब मनोरञ्जन गर्नका लागि मात्रै मोर्चाको बैठकमा नजाने स्पष्ट पारे ।
उनले मोर्चाका अध्यक्ष प्रचण्डले के गर्छन आफूहरुलाई मतलब नभएको भन्दै प्रचण्डकै दोधारे चरित्रको कारण मोर्चा औचित्यहिन बनेको आरोप लगाए ।
महतोले मधेसीहरु आफै छुट्टै आन्दोलन गर्न सक्षम रहेकोले आन्दोलनको तयारीमा आफूहरु लागेको स्पष्ट पार्दै अब पनि मधेसीहरुले आरपारको लडाई लड्न नसके अधिकार नपाउने दावी गरे ।
छुट्टै मोर्चा गठन गरेर कठोर संघर्षको अन्तिम तयारी रहेको जानकारी दिदै विना लडाई केही पनि प्राप्त नहुने निष्कर्शमा आफूहरु पुगेको उनले बताए ।
महतोले अबको आन्दोलन उधारो सम्झौतामा नटुङगीने ठोकुवा गर्दै मधेस प्रदेशको भूमि कसैलाई पनि एक ईन्च दिन तयार नरहेको बताए ।
उनले भने–मधेस प्रदेशको एक ईन्च पनि दिदैनौ । मधेसमा बस्ने बसै मिलेर बस्छन् । विभाजन हुन दिदैनौ गर्न खोजे दुर्भाग्यपूर्ण हुन्छ । तराईका पाँच जिल्लालाई मधेसी र पहाडीको नाममा विभाजन गर्न खोजिदैछ । त्यो मानिदैन ।
राज्यमाथि आफूहरुलाई रत्ति पनि विश्वास नभएको भन्दै अबको आन्दोलन उधारोमा नभई सहमतिमा टुङगिने ठोकुवा समेत गरे ।
दुई तिहाईको दम्भले संविधानसभाबाट संविधान निर्माणको प्रक्रिया सुरु गरे आफूहरुको लागि संविधानसभा औचित्यहिन हुने स्पष्ट पार्दै परित्याग गरेकै दिनबाट आफूहरु संविधानसभा छाडेर निर्णायक आन्दोलनमा उत्रने चेतावनी दिए ।
उनले भने–विगतका सहमति अनुसार नै संविधान बन्नु पर्छ भन्ने हाम्रो भनाई हो । बहुमतको दम्भले संविधान बनाउन सके बनाए हुन्छ । म चुनौति दिन्छौ, बनाउन सक्ने भए बनाउनुस् ।
महतोले सहमतिमा संविधान जारी गर्ने बाहेकको आफूहरुको कुनै सर्त नभएको स्पष्ट पार्दै संविधानसभाको बैठक सार्ने आफूहरुको प्रस्ताव नभएको स्पष्ट पारे । उनले भने–दुई तिहाईले सके सविधान बनाउनुस, किन नगरेको ? राम्रो बनाए धुपबत्ति बालौला नभए त्यही धुप बाल्ने सलाईले संविधान जलाउँछौ ।



तपाईको प्रतिक्रिया