Khadya Bibhag

‘ओलीले के बोलियो बोली, जो मधेश भयो घाँडो’

समथर भूमि देख्नै नहुने, मेरो आँगन पनि समथर छ, त्यसलाई पनि मधेशमा मिलाउ । युपी र विहार पनि समथर भूमि छ त्यसलाई पनि मधेशमै मिलाउँदा भइहाल्यो नि । बालुवाटारमा मधेशवादी दललाई होच्याउँदै एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको यो अभिव्यक्ति उनकै लागि घाँडो भएको छ ।
यो अभिव्यक्तिपछि मधेशमा उनको पुतला दहल भयो । उनको विरोधमा नारा लाग्यो । यहाँसम्म कि मधेशमा प्रवेशको निषेध गर्ने पनि नारा लाग्यो । त्यसपछि ओलीले भने, मेरो पुतला जलाउने ? म मधेश गए भने सबै (नेता) हरु युपी र विहार भाग्छन् ।’ यो अभिव्यक्तिले मधेशी जनताको घाउमा नून छर्किने काम भयो । मधेशमा एमालेको चर्को विरोध हुन थाल्यो यहाँसम्म कि सप्तरीमा उनको पार्टी कार्यालय नै जलाई दिए भने सिरहामा पनि तोडफोड भयो ।
दोस्रो सविधानसभाबाट मधेशबाट मत लिएर दोस्रो ठूलो दलको रुमपा उदाएका एमाले पार्टीको यो विधिको विरोध हुनले पार्टीभित्र नै हलचल भयो । यस विषयमा पार्टीको बैठक बसि तराई मधेश अभियान चलाउने निर्णय नै गर्यो । वामदेव गौतमको नेतृत्वमा एउटा समिति नै बनायो । तर त्यो अभियानले मधेशमा पाइलासम्म पनि टेक्न सकेन । अभियान लिएर मधेशमा जाने पटक पटक योजना बनाए तर मधेशको अवस्था हेरेर त्यसलाई स्थगित गर्दै गए ।
अभियान त्यतिकै सेलायो । अनि जिल्ला जिल्लामा एमालेको पार्टी कार्यक्रम गर्ने र त्यसको प्रमुख अतिथि अध्यक्ष ओलीलाई नै बनाउने रणनीति बनायो । त्यस अनुसारको कार्यक्रमहरु पनि मधेशमा तय भयो । मधेशमा हुने धेरैजसो कार्यक्रमको प्रमुख अतिथि अध्यक्ष अ‍ोलीलाई नै बनायो । तर एउटामा पनि सहभागि हुन सकेनन् । मधेश आन्दोलनको उद्गमस्थल सिरहाबाट नै ओलीले आफ्नो यात्रा शुरु गर्ने निधो गरे ।
युवा संघ नेपाल सिरहाको अधिवेशनमा ओलीलाई नै प्रमुख अतिथि बनाए तर उनी जान सकेन । कार्यक्रम तय हुने वित्तिकै सिरहाको लहानमा ओलीको विरोध शुरु भएको थियो । नाराहरु लागेका थिए । त्यसपछि सुरक्षाको कारण देखाउँदै ओली सिरहा आउन सकेन तर ओली भन्छन्, राजनीतिक व्यस्तताका कारण जान नसकेको हो । सिरहा प्रहरीले नै गृहमन्त्रालयलाई रिर्पोर्ट गरे अनुसार ओलीकको कार्यक्रम स्थगित भएको थियो । त्यसपछि सिरहामै पार्टीको जिल्ला अधिवेशन भयो त्यसमा पनि ओली जाने पुरै तयारी थियो । प्रमुख अतिथि तय भइसकेको थियो तर त्यसमा पनि उनी जान सकेन । एमाले अध्यक्ष ओली आज लहान आउँछन् भनि मधेशी जनता ठाउँ ठाउँमा बसेर विरोध गरिरहेका थिए । आए भने कालो झण्डा देखाउने र त्यसक्रममा दमन भयो भने प्रतिकार गर्नेसम्मको मनस्थिति बनाएर बसेका थिए । तर स्थिति देखेर अध्यक्ष ओली सो कार्यक्रममा पनि गएनन् ।
त्यसपछि जनकपुरमा भएको पार्टीको एक कार्यक्रममा पनि अध्यक्ष ओलीलाई नै प्रमुख अतिथि बनाइएको थियो । ओली जनकपुर आउने भनि पोस्टरहरु पनि टाँसिएको थियो । तर त्यससँगै ओलीको विरोधमा पनि ब्यानरहरु झुण्ड्याइको थियो । एमालेका स्थानीय कार्यकर्ता ओली जनकपुर आउने प्रचार गरिरहेका थिए भने त्यही अर्कोतिर मधेशी समुदायका युवाहरुले ओलीलाई जनकपुर पस्न नदिने प्रचार गरिरहेका थिए । अनन्तः ओली जनकपुर जान सकेनन् ओलीको ठाउँमा महासचिव इश्वर पोखरेल गएर कार्यक्रम सम्पन्न गरे । त्यसैगरि युवा संघले वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा पनि ओली सहभागि हुन सकेन ।
ओलीको अभिव्यक्तिले ओलीलाई मात्र होइन सिगों पार्टीलाई नै मधेशमा समस्या भएको हो । नेपालस्थित भारतीय दूतावासले नेपाल भारत सीमा सम्बन्धि वीरगञ्जमा एक कार्यक्रम आयोजना गरको थियो । सो कार्यक्रमको प्रमुख अतिथि बनाएका थिए एमालेक उपाध्यक्ष एवं गृहमन्त्री वामदेव गौतमलाई । तर वामदेव गौतम वीरगञ्ज आउन थालेको थाह पाएर त्यहाा पनि विरोध शुरु भएको थियो । त्योबेला कलैया र सीमरामा सरकारी कार्यालय सार्ने विषयमा आन्दोलन भइरहेको थियो । त्यस कारणले पनि वामदेव गौतमको चर्को विरोध हुने भनिएपछि दूतावासले नै गौतमलाई वीरगञ्जको कार्यक्रममा नआउन भनेका थिए । वामदेव गौतम सो कार्यक्रममा नगएपछि राजदूत रञ्जित रे प्रमुख अतिथि भएका थिए ।
अब एमाले अध्यक्ष ओलीले वीरगञ्ज भ्रमण गर्न नपाउने भएका छन् । उनले वीरगञ्ज जाने दुस्साहस गरे नराम्रो परिस्थिति उत्पन्न हुन सक्ने स्थानीयबासीले अनुमान गरेका छन् । पर्सा जिल्ला स्तरीय ३० दलीय विपक्षी मोर्चाको बैठकले ओलीको वीरगञ्ज उपमहानगर प्रवेशमा रोक लगाएको छ । ओलीले पहिचानसहितको संघीयताका साथै मधेस र मधेसीविरोधी अभिव्यक्ति दिँदै आएकाले पर्सा जिल्ला स्तरीय मोर्चाले ओलीलाई वीरगञ्ज प्रवेशमा रोक लगाउने निर्णय गरेको मोर्चाका जिल्ला संयोजक प्रदीप यादवले बताए ।
यति हुँदाहुँदै पनि ओलीले पहिचान र संघीयताविरोधी अभिव्यक्ति दिन छाडेका छैनन् । उनले एक दैनिक पत्रिकालाई अन्तरवार्ता दिँदै भनेका छन्, मधेसी र आदिवासी जनजातिलाई विखण्डनकारीको हो आफू बाँचुञ्जेल जातीयताको आधारमा संघीय राज्य निर्माण हुने दिने छिैन । राजनीतिशास्त्रका प्राध्यापक तथा पूर्व राजदूत विजयकान्त कर्णले ओलीको पछिल्लो अभिव्यक्तिले नेपालबाट मधेसलाई अलग्याउने विखण्डनकारी आन्दोलनलाई सघाउ पुग्ने बताएका छन् । भोजपुरी भाषाका साहित्यकार गोपाल ठाकुरले पनि ओलीको एकतात्मकवादी सोच र अभिव्यक्तिले अलगाववादी आन्दोलनलाई मात्र बल पुग्ने टिप्पणी गरे ।

विगतमा एमालेमा रहेर लामो समय काम गरेका पूर्व सभासद् ठाकुरले ओलीको नश्लभेदी विचारले उनलाई खस–आर्य जातिको नेताको रुपमा मात्र सीमित गर्ने दाबी समेत गरे ।

तपाईको प्रतिक्रिया