Khadya Bibhag

माधव नेपालले भने, त्यसो भए देश नीजि क्षेत्रलाई दिँदा भइगो नि

काठमाडौँ, ११ चैत । सरकारले विदेशी नागरिकलाई प्रवेशाज्ञा जारी गर्ने प्रक्रिया शुरु गरेको प्रति एमालेका नेता माधवकुमार नेपालले आपत्ति जनाएको छ । उनले आज संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा प्रवेशाज्ञाको प्रक्रिया सरकारले निजी कम्पनीलाई दिने तयारी गर्नु गैरजिम्मेवारीको पराकाष्ठा भएको बताए ।

उनले पैसा र कमिशनको खेलमा यस्तो कार्य गर्न खोजिएको भन्दै त्यो आफूहरुलाई स्वीकार्य नहुने बताउँदै आज प्रवेशाज्ञा निजी कम्पनीलाई दिने भन्लान्, भोलि मुलुक नै निजी कम्पनीलाई दिने भन्लान, यस्ता गैरजिम्मेवारपूर्ण कार्य रोक्नैपर्ने धारणा राखे ।

बैठकमा सभासद् चुडामणि जङ्गलीले प्रवेशाज्ञा नीजि कम्पनीलाई दिने प्रक्रिया तत्काल रोक्न समितिले निर्देशन दिनुपर्ने माग राखे । अर्को माओवादी सभासद् श्याम श्रेष्ठले प्रवेशाज्ञा जस्तो संवेदनशील विषयमा सरकारले हेलचेक्र्याइँ गर्न खोजेको भन्दै यसले मुलुककै प्रतिष्ठामा आँच आउने धारणा राखेका थिए ।
बैठकमा सभासद्हरुले राष्ट्रिय सुरक्षा, गोप्यता र मुलुकको इज्जतमै दाग लाग्ने कार्य गर्न गृहमन्त्रालय उद्धत रहेको भन्दै सो कार्यका लागि नेपालको अध्यागमन विभाग नै योग्य रहेको धारणा राखेका थिए ।

बोल्ने अधिकांश सभासद्ले प्रवेशाज्ञा दिने प्रक्रियाको जिम्मेवारी निजी कम्पनीलाई दिनु राष्ट्रघात हुने भन्दै तत्काल सो निर्णय गर्न रोक्न समितिले निर्देशन दिनुपर्ने माग गरेका थिए ।

समितिका सभापति प्रभु साहले प्रवेशाज्ञाका विषयमा विभिन्न टिप्पणी आएको र त्यसलाई रोक्न निर्देशन दिनुपर्ने माग बैठकमा सभासद्हरुले राखेपछि त्यसबारे यथार्थ बुझ्न गृहमन्त्री र पररराष्ट्रमन्त्रीलाई आगामी बैठकमा डाक्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया