Khadya Bibhag

मूल्य वृद्धिसँग दुल्हाको बढ्यो भाउ


आर.के. मण्डल
    ‘के तपाईकी छोरी, बहिनी वा कुनै नातेदार चेलीको विवाह गर्नुछ ? कतै तपाई बेहुला नपाएर भौंतारी रहनु भएको त छैन ? तपाईलाई कस्तो बेहुला चाहियो ? आउनुस् उमेर, मुहार, व्यवहार र योग्यताअनुसारका बेहुला पाउनुहुन्छ । तपाई मूल्य अनुसार किन्न पाउनु हुनेछ । नेपाली रुपियाँ मूल्य यस प्रकार छः– डाक्टर– १० देखि ५० लाख, इन्जिनियर– ५ देखि १० लाख, शिक्षक– २ देखि ५ लाख र सरकारी जागिरे– पदअनुसार ।
    अत्यावश्यक तथा उपभोग्य वस्तु तथा निर्माण सामग्रीको मूल्यवृद्धिसँगै तराईमा दुलाहाको मूल्यपनि ह्वात्तै बढेको छ । मूल्यवृद्धिको बहाना देखाउंदै वरपक्षले ‘तिलक’ को दर बढाउन थालेपछि बधुपक्षका अभिभावक मर्कामा परेका छन् । कतिले घर–जग्गा बेचेर पनि वरको निम्ति रकम जुटाउन थालेका छन् । कति त चिन्ताले रुमलिएका छन् । तराईमा बसोबास गर्ने ९५ प्रतिशत जातमा छोरी जति पढे लेखेको, सिपवान र जति सुन्दर भए पनि दाइजो नदिई विवाहको टुंगो लगाउन नसकिने अवस्था विद्यमान छ ।
सामाजिक कुरीति तथा कुसंस्कारलाई नत्यागेको कारण तराईमा दाइजो प्रथा आकाशिंदै गएको छ । २० औं शताब्दीमा घडी, साइकल, रेडियो, २÷४ आना सुन दाइजोमा दिने चलन रहेकोमा २१ औं शताब्दीमा नगद, मोटरसाइकल, टिभी, सुन तोलामा दाइजो दिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । बेहुलालाई खुशी पार्न उनको इच्छा अनुसारको महँगो लत्ताकपडा, जुत्ता, घडी, सुनको सिक्री, औंठी दिने गरिन्छ । त्यस्तै एक सयभन्दा बढी मानिसहरु जन्ती आउने गर्दछन्, चार छाक राम्रो खाना खुवाउनुपर्ने हुन्छ । उनीहरु सबैको सबै छाक राम्रो खाना, बसोबासको उचित व्यवस्था, जाने बेलामा थप उपहार दिनुपर्ने हुन्छ । समग्रमा एउटा छोरीको विवाहमा खानाबाहेक न्युनतम पाँच लाख रुपियाँ खर्च हुने गर्छ ।
    ‘अन्तिम बेलामा आएर उनीहरूले दुलाहाको मूल्य बढाए’, –सिरहाका दक्षिणभेग लक्ष्मीपुर पतारी गाविसका एक ग्रामीणले नाम उल्लेख नगर्ने शर्तमा भने, –‘डेढ लाखमा तय भएकोमा अढाई लाख मागेपछि सम्बन्ध हाललाई रोकिन पुग्यो ।’ स्नातक तह उतीर्ण शिक्षक रहेको र उनीहरूका परिवारले बजारमा हरेक सामानको मूल्य बढेको तर्क राख्दै पैसा मागेपछि आफूले हाललाई त्यति दिन नसक्ने भनेको उनले जनाए । यसअघि शिक्षक पेशा अपनाउने वरको चलनचल्ती तिलक दर एकदेखि दुई लाखसम्म मात्र रहेको उनी सुनाउँछन् । उनले भने गाँउमा नाम चलेका तथा सरकारी पदको उच्च ओहदामा रहेका व्यतिm समेतले आफू दहेजको विरोधी रहेको तर आफनै छोराको विवाहमा २ लाख नगद र स्पेलेन्डर मोटर साइकल लियो तर अहिले एक छोरा जन्मीएपनि बिहुलीलाई माइतीमै छाडेका छन् भने आफनो बहिनीको विवाह १५ हजारमा गरेर आफूलाई दहेज विरोधि भनाउँदै आइरहेका छन् । यो समस्या तराईका सप्तरी, सिरहा, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरुको साझा समस्या हो । यद्यपि सबैले यस्तै गर्छन् भन्ने पनि होइन ।
    उनी मात्र हैन, यहाँका अन्यले पनि यही समस्या भोग्न थालेका छन् । मूल्यवृृद्धिले यसअघि बजारमा चलेको तिलकको दरमा अत्यधिक फरक पारेको स्थानीयवासी जनाउँछन् । ‘पहिला डाक्टरको मूल्य आठदेखि २० लाखको हाराहारीमा रहन्थ्यो’, मधेश मिडिया मिसनका केन्द्रिय अध्यक्ष दिनेश्वर प्रसाद गुप्पता सुनाउँछन्,– ‘अहिले त्यो पेशामा रहेकाले कम्तिमा १० लाख र बढीमा ५० लाखसम्म तिलक माग्न थालेका छन् ।’
    सबैले तिलकलाई प्राथमिकता दिने नभए पनि पाएको तिलकबाटै वरपक्षको स्तर नापिने प्रचलन रहेकाले पढेलेखेका अभिभावक पनि यसतर्फ आकर्षित भएको उनले बताए । मधेशमा समस्याको रूपमा फैलिदै गएको तिलकप्रथाले मागी विवाहमा मात्र हैन, प्रेम विवाहमा समेत हस्तक्षेप गर्न थालेको छ । बधु पक्षबाट तिलक पाए प्रेम विवाहलाई स्वीकृति दिने अन्यथा नमान्ने अभिभावकको चलनका कारण यसले यो पवित्र बन्धनलाई समेत मोलतोलमा तौलने गरेको छ । कतिपय प्रेमसम्बन्ध तिलककै कारण टुटेको घटनासमेत मधेशमा सुनिन थालेका छन् । त्यसैगरी कतिपय अवस्थामा बधुले यही समस्याका कारण ज्यान समेत गुमाउने गरेको छ ।
    यसले ठूला मात्र होइन साना वर्गलाई समेत सताएको छ,’ सिरहाको लक्षमीपुर पतारी स्थित रहेको जनता माविका प्रधानाध्यापक विनोद कुमार सिंहले भने,– ‘दलित समुदायमा समेत १० हजारदेखि एक लाख रुपियाँसम्म तिलकको दर चलेको छ ।’ तिलकको बढ्दो मूल्यसँगै अभिभावकले छोरीलाई जन्मदिने क्रम घट्दै गएको छ । सीमावर्ती सहरका अभिभावकहरू पेटमा बच्चा हुने बित्तिकै भारतीय सहर दरभंगा, पटनालगायत गएर भिडियो एक्सरेमार्फत् छोरा छोरी के हो छुट्याउन थालेको छन् । त्यहाँ गएर पाँच सयदेखि हजार रुपियाँमै यो काम पूरा हुन्छ,’ उनले भने, –‘छोरी रहेछ भने त्यस्ता अभिभावकले नेपालमै आएर गर्भपतन गराउन थालेका छन् ।’
    ‘सबै छोरामात्र जन्माउन चाहन्छन्,’ सिंहले भने,– ‘यसले छोरीको सँख्या घट्दै जान थालेको छ ।’ सरकारले ल्याएको दाइजो विरोधी कानुनले समेत यो प्रथालाई अन्त्य गर्न नसकेको बताउँछन् । यो त यहाँका समुदायको चेतनाले मात्र नियन्त्रण हुनसक्छ ।

मोटर साइकल किन्नेको भिड   
विवाहकै अर्को प्रसंगमा  लगन गाँठोको यति बेला सिरहा जिल्लामा मोटरसाइकलको बिक्री बढेको छ । लगन गाँठोको अवसरमा प्रायः सबै मोटरसाइकलको खरिदमा छुट गरिएकाले बिक्री बढेको हो ।
    अरू बेलाभन्दा छुटमा केही मूल्य कम हुने भएकाले मोटरसाइकल  किन्नेको भीड पनि लागिरहेको छ मनोकामान टे«ड लिंक बजाज शो रुमका प्रोपाइटर राजु प्रसाद गुप्ताले बताउँछन् । विवाहको समयमा राखिने छुटका कारण शो रुममा ग्राहकको चाप अरू समयभन्दा बढिरहेको छ ।
    विवाह लगन गाँठोकोका लागि कुनै कम्पनीले नगद छुट,  स्क्रयाच कुपन राखेका छन् भने सर्भिसिङको बढि सुविधा दिएका छन् । मोटरसाइकल  डिलरले विवाह लगन गाँठोको अवसरमा छुट सुरु गरिसकेका प्रोपाइटर गुप्ताले जानकारी दिए । दहेज माग कर्ताहरु पनि  नयाँ सवारीसाधन किन्न बढी इच्छुक देखिने गरेका छन् । अरू बेला सुनसान जस्तो देखिने मोटरसाइकल शो रुममा पनि अहिले चहलपहल बढेको छ । सिरहामा बजाज,  कम्पनीका मोटरसाइकल बढि बिक्री हुने गरेका छन् ।

ब्राहमणलाई भ्याई नभ्याई    
यतिमात्र होइन सिरहा जिल्लाका गाउँनगर बस्तीमा अहिले यजमानी पेसा अँगालेका पुरोहितलाई भ्याइनभ्याई परेको छ । फागुन महिनामा हुने विहे वर्तमन गरिदिन निम्ता गर्ने यजमान धेरै भएपछि पुरोहितहरूलाई भ्याइनभ्याई परेको हो ।
       वर्षभरिका सबै भन्दा बढी विवाह हुने महिना अर्थात विवाहको शुभसायत फागुनमै हुने भएकाले आफूहरूको व्यस्तता बढ्ने यजमानी पेसाका पुरोहितहरूको भनाइ छ । सामान्यतया एउटा विवाह विधिपूर्वक सम्पत्र गर्न तीन घन्टा समय लाग्ने र एकैदिन सरदर तीन चार ठाउँमा विवाह गरिनु पर्ने भएपछि आफूलाई समयको व्यवस्थापनमा धौधौ पर्ने गरेको सिरहाको सुखिपुरका  विगत २२ वर्षदेखि यजमानी पेसा अँगाल्दै आउनुभएका पुरोहित भोगि झाले बताए ।
    अझै मधेशी मूलका ब्राह्मणको सघन बसोवास रहेको जिल्लाको उत्तरवर्ती क्षेत्रका सुखिपुर, सलमपुर, दहिपौरी, बलही, बिधानगर, खयरमारा, लक्ष्मीपुर, किसनपुर र छजनालगायतका गाविस बस्तीमा यजमानी गर्ने पुरोहितले त एकैदिन पाँचवटा सम्म विवाह गराइदिनुपरेको बताएका छन् ।

    विवाह कार्य गराइदिन आफूलाई दौडादौड भए पनि आम्दानी भने सोअनुसार नभएको पुरोहितहरूको गुनासो छ । धेरैजसोले काम नपाएर आएकोजस्तो व्यवहार गर्दै झाराटार्ने गरी दक्षिणा दिँदा आफ्नै पेसाप्रति चित्त दुख्ने गरेको केही पुरोहितले बताएका छन् ।
        गरिब तथा लाचारहरूको काम फुकाइदिँदा रकम नपाए पनि आत्मसन्तुष्टि हुने गरेको बताउनु हुने कुशहा निवासी बलराम झाले सम्पत्र घरका यजमानले हेप्दा भने चित्त दुख्ने गरेको बताए । तर सबैको व्यवहार समान नभएर पुरोहितलाई उच्च मर्यादा दिनेहरू पनि समाजमा भएकाले आफूहरूले मन बुझाउने गरेको पुरोहित बलरालले बताए ।
                  जेजस्तो भए पनि यसै पेसाबाट गुजारा चलाउँदै आएकाले झट्टै छोड्न नसकिएको पुरोहितहरूको भनाइ छ । आफ्m्ना सन्तानलाई भने अब कर्मकाण्डी पेसामा नलगाउने उनीहरू बताउँछन् । हिन्दु समाजमा पहिलेदेखि चल्दै आएको यो रीतिथितिलाई निरन्तरता दिन पुरोहित र यजमान दुवैको सोचमा समयानुकूल परिवर्तन हुन पर्ने समाज सेवी असोक झा बताउँछन् ।

कानुनमा के छ ?
दाइजो प्रथालार्ई निरुत्साहित पार्न बि.सं.२०३३÷७÷४ गते सामाजिक व्यवहार (सुधार) ऐन २०३३ मा लालमोहर र प्रकाशन भए पनि व्यवहारमा हालसम्म लागू भएको अनुभूति छैन । उतिबेलादेखि नै कानून मिचिंदै आएको छ । सो ऐनको दफा ४ मा दुलही पक्षले लिन नहुनेको उपदफा १ मा छोरीबेटीको विवाह गरी दिंदा सो बापत दुलही पक्षले आफ्नो लागि कुनै नगदी जिन्सी लिन हुँदैन भन्ने स्पष्ट रूपमा उल्लेख छ । सोही दफाको उपदफा २ मा विवाह हुने छोरीबेटीको लागि दुलहा पक्षले यति गहना, कपडा, नगदजिन्सी वा जेथा दिनुपर्छ भनी कर लगाउन हुँदैन भन्ने उल्लेख छ । उपदफा १ उल्लंघन गर्नेलाई बिगो जफत गरी १२ हजारदेखि २५ हजार रुपियाँसम्म जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय हुने र दिनेलाई आधासम्म सजाय हुने कानूनी व्यवस्था छ तर हालसम्म उक्त कानूनको न त समाजले न त प्रशासनले व्यवहारमा लागू गराउन सकेको छ ।
ऐनको दफा ५ को उपदफा १ मा विवाह हुुँदा वा विवाहपछि दुलही पक्षबाट दुलही वा दुलहालाई यति नगद जिन्सी दाइजो, दान, बकस, भेटी, विदाई समेत जुनसुकै रूपमा दिनुपर्छ भनी दुलाहा पक्षले कर लगाउन वा यति लिने दिने भनी दुवै पक्षले अगावै तय गर्न हुँदैन र दाइजो दिएन भनी दुलाहा पक्षले टण्टा गर्न वा विवाह गर्न इन्कार गर्न वा विवाह भइसकेको भए दुलही विदाई गराई साथ नलग्न वा दुलहीपछि मात्र विदाई लग्ने प्रथा भएकाहरुले पछि विदाई गराई लग्न इन्कार गर्न हुँदैन भनिएको छ । त्यस्तै उपदफा २ मा विवाह हुँदा जिउमा लगाएको एकसरो गहना बाहेक आफ्नो कुल परम्पराअनुसार राजीखुशीले दिनेले पनि दश हजार रुपियाँसम्मको दाइजो मात्र दिने कानूनी व्यवस्था गरेको छ । उपदफा १ वा २ उल्लंघन गर्नेलाई लिन दिन नपाउने बिगो भए बिगो जफत गरी दश हजार रुपियाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
यस्तै सो ऐनको दफा ६ को उपदफा १ मा दुलाहाको पढाइमा लागेको वा लाग्ने खर्च वा निजलाई व्यापार वा व्यवसायमा लगाउन चाहिने पूँजी वा दुलहातर्फको विवाह खर्च दुलही पक्षबाट लिन हुँदैन भन्ने उल्लेख छ । सोही दफाको उपदफा २ मा जन्त लग्दा लागेको बाटो खर्च वा खाना खर्च दुलही पक्षले व्यहोर्ने वा सो पक्षले व्यहोराउन हँुदैन र ३ अनुसार जन्त जानेहरुलाई कुनै किसिमको नगद जिन्सी उपहार दिन हुँदैन तर जन्तसाथ जाने भरियाहरुलाई नगद जिन्सी ज्याला दिन हुने कानूनी व्यवस्था छ । उक्त दफाहरु उल्लंघन गर्नेहरुलाई बिगो जफत गरी २० हजारदेखि ४० हजार रुपियाँसम्म जरिवाना वा १५ दिनसम्म कैद वा दुवै सजाय हुने व्यवस्था भए पनि यसको सजाय हालसम्म कसैले भोगेका छैनन् ।
समाजका जोसुकैले उजुरी दिएको आधारमा मात्र ऐनमा तोकिए बमोजिम भए नभएको सम्बन्धित प्रमुख जिल्ला अधिकारीले लगत माग गर्न सक्ने र सो माग भएबमोजिम तोकिएको समयमा विवरण नदिएमा तीन हजार रुपियाँसम्म जरिवाना वा तीन दिनसम्म कैद वा दुवै सजाय गर्न सकिने सो ऐनमा उल्लेख छ । अब कानूनको कार्यान्वयनसँगै सामाजिक रूपमा दाइजो विरुद्ध युवा–युवतीको प्रतिकारात्मक भूमिका भएमा मात्र दाइजोमुक्त समाज निर्माण गर्न सकिन्छ ।

दहेज नलिइकन विवाह गरेको पीडा यस्तो छ डाक्टरको

२४ असोज २०७१ का दिन आयोजित बाल विवाह एवम दाइजो अन्त्यका लागि सामाजिक मान्यता परिवर्तन सामाग्रीहरुको विमोचन कार्यक्रम मार्फत डा. सि। के सिहंले विना दाइजोको विवाह गर्ने प्रतिवद्धता पूरा गर्न थालेका छन् । बाल विवाह तथा दाइजो उन्मुलन राष्ट्रिय अभियानका सद्भावना दुत समेत रहेका डा. सि। के सिहले दाइजो नलिने वाचा गरेको थिए । सो अवसरमा मूख्य सचिव लीलामणि पौड्याल र राष्ट्रिय योजना आयोगका सदस्य डा. विमला राई पौड्याल दुवै जनाले डा. सि।के को प्रतिवद्धता र सोचको प्रशंसा गर्दै तपाईको विवाह हुदाँ हामीलाई पनि खबर गर्नुहोला, हामी तपांइको विवाहमा सहभागी हुन आउछौ र हेर्छौ तपाईको दाइजो विनाको विवाह ।
मधेशी समुदायमा डाक्टर, लेखक, कलाकार र राम्रो छवि भएको व्यक्तिलाई निकै मोटो रकमको दाइजो सजिलै पाउने यर्थात हुदाँ हुदै पनि डा. सि। के सिंहले यसको विपरित दाइजो नलिइकन विवाह गर्न लागेका छन् । दाइजोको रुपमा रहेको कुप्रथा जसले बालिका, महिला लगायत सम्पूर्ण समाजलाई नै हिंसा, गरिबी, अशिक्षा, र अन्यायको दलदलमा धकेलेको तितो यथार्त रहेकोले गर्दा हरेक यूवाहरुले यस्तो साहसी कदम चाल्नु पर्छ भन्दै खुलेर नै डा. सि ।के सिहंको प्रशसां गर्छिन नेपाली सिने जगतकी नायिका गरिमा पन्त । नायिका गरिमा पन्त पनि डा. सि। के सिंह सँगै यस बाल विवाह एवम् दाइजो उन्मूलन राष्ट्रिय अभियान, नेपालको सद्भावना दुत छिन् ।
मध्येपुरा, राजविराज सप्तरीका बाबु तेजश्वी प्रसाद सिहं र आमा निर्मला सिहंको छोरा डा. सि। के सिहंले जनकपुरकी प्रिती सिंह सित यही फाल्गुनमा इन्गेजमेन्ट गरेका छन् । जनकपुर निवासी बुवा अवधेश कुमार सिहं र आमा प्रनिता सिंहको छोरी प्रिती सिहं एम बि एस गरेकी छिन् । आउँदो वैशाख ९ गतेका दिन जनकपुरमा सामाजिक सुधार ऐनले गरेको प्रावधान अनुसारको सिमा भित्र रहेर सिमित जन्तीहरु लिएर विवाह गर्ने योजना रहेको डा. सिहं भन्छन् ।
दाइजो विनाको विवाह गर्न पनि निकै कठिनाईको सामाना गर्नु परेको अनुभव सुनाउछन् उनी । केटी पक्षबाट दाइजो लिनै पछर्, नत्र मेरो समाज र नातेदारमा मेरो प्रतिष्ठा के हुन्छ भनि दवाव दिइ रहँदा पनि उनी आफूले दाइजो नलिने अडान केटी पक्ष सित राखे जुन केटी पक्ष मात्र होइन समाजको लागि पनि अचम्मको कुरो थियो । यति मात्र होइन, डा. सिहंको आफनो परिवारमा पनि निकै ठूलो मात्रामा आउने दाइजो किन नलिने भन्ने जस्ता चुनौतीहरुको सामाना गरि रहेका छन् । उनको दाइजो नलिइकन बिहे गर्ने प्रयासमा यति मात्र चुनौती थिएन, बाल विवाह एवम दाइजो प्रथा उन्मूलन राष्ट्रिय अभियान, नेपालको सदस्य देवेन्द्र राज सिंह भन्छन्, ‘उहाँको आफनो गाउँका मान्छेहरु, छरछिमेक र नातेदारहरुले पनि डा. सिहको मजाक उडाए दाइजो लिदैन भने पछि । तर, यी पूर्ण प्रक्रियामा उहाँंको मामा डा. रविन्द्र कुमार सिंहले निकै सहयोग र प्रोत्साहित गरे ।’
अन्ततः केटीको अभिभावक र आफनो परिवार दुवै पक्ष लाई दाइजो नलिइकन विवाह गर्न सहमत गराए डा. सि.के. ले । सँग सगैं, आफनो समाजमाका व्यक्तिहरुलाई पनि सोच्न बाध्य गरि दिएका छन् । राम्रो आम्दनी, डाक्टरी पेशा, कलाकार, लेखक र शिक्षक भएर पनि दाइजो नलिने उनको व्यवहारले एक किसिमको हलचल ल्याएको छ समाजमा ।

तपाईको प्रतिक्रिया