Khadya Bibhag

प्रचण्डको मनमा काँहाबाट पलायो डर ?

–जिवछ यादव ‘उदासी’

प्रचण्ड युद्धको बेलाको नाम हो । यो नाममा भय र डरको गन्ध आउनु हुँदैन । वर्गीय लडाई  लड्ने अगुवा डराउनु हुँदैन । क्रान्तिको विज्ञानले यहि भन्छन् ।  युद्धबाट बुद्धको बाटोमा आएको माओवादी अहिले एमाओवादी भएको छ । प्रचण्ड क्रान्तिकारी नाम भएकोले अदम्य सहास प्रदर्शन गर्नु भएको उहाँमा यतिबेला आफू असुरक्षित रहेको कुरा काहाँबाट पलायो ? उहाँको अगुवाईमा हाँसी हाँसी बलिदानी दिने योद्धाहरु क्रान्तिको कार्यभार सम्पन्न गर्न छोडेर गएको सपना पुरा गर्ने जिम्मेवारी सम्हाल्नु भएको प्रचण्ड निर्भिक, आफनो मुद्दा र मागमा तल माथि नभएर दह्रो चट्टान जस्तो भईरहने बेलामा फागुन १६ को मुखमा कहाँबाट आफू असुरक्षित भएको बयान सार्वजानिक गर्नु भयो ?
प्रचण्डलाई अहिले पनि आफनो अगुवा र क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने नेताको रुपमा बुझ्ने समर्थकहरुको मनमा यो भय र डरको समाचार सम्प्रेषण भएपछि अगुवा नै भयभित भयो भन्ने अरुको हाल के हुने अनेकौ प्रश्नहरु उठनु स्वभाविक पनि हो ।
     प्रचण्ड यतिवेला केवल एमाओवादीको अध्यक्ष मात्रै नभएर ३० दलीय मोर्चाको संयोजक पनि हुनुहुन्छ । यो अभिभावकीय भूमिका निर्वाह गर्नुहुने नेताले आफू असुरक्षित रहेको भन्नु पटक्कै सुहाउदैनन् । यस भय, डर र असुरक्षित शब्दले सपार्नु भन्दा विगार्ने र आम कार्यकर्ताको मनोवल गिराउने भएकोले बोल्दा होस् पुर्याउनै पर्ने देखिन्छ । क्रान्तिका नायकहरु भावुक भएपछि घाटा र क्षतिबाहेक केहि हात लाग्दैन । दश वर्षको युद्धदेखि अहिलेसम्म आफनो हतारको अभिव्यक्तिले र अल्लमल्लको निर्णयले पार्टीलाई कति असरपरेको आत्म समिक्षिा गर्न पनि प्रचण्ड चुक्नु हुँदैन ।
    बस हाँक्ने चालक हुन् वा विमान उडाउने पाईलट । घुम्ती र अप्ठयारो मोडहरुमा आफू डराएको मनसाय व्यक्त गरयो यात्रुको अवस्था के हुन्छ ? तसर्थ कि त आफू अब यस भन्दा वढी गर्न नसक्ने भनेर १६ गतेको आन्दोलनपछि पार्टी चलाउने सम्पूर्ण  कार्यभार उपाध्यक्ष डा.बाबुराम भट्टराईलाई सुम्पेर आफू चालकको भूमिकाबाट विदा लिनुपर्छ । कि त बेलाको बोली र अप्ठयारो परिस्थितिलाई सामना गर्न हिम्मत र सहास छोड्नु हुँदैन ।
     भट्टराई अहिले पनि आफ्नो अडानमा पश्चिम नेपालमा दह्रोसँग क्रियाशिल रहनु भएको छ । तर प्रचण्ड उपत्याकामा रहेर पेरिस डाँडाको वरिपरि गर्जिनु पर्ने बेलामा निरास भएर आफू नै खतरामा रहेको भन्नु सोह्रै अन्ना नसुहाउँदो अभिव्यक्ति भएको ठहर सबैतिर भईरहेको छ । जनयुद्धकालमा तपाईले सिकाउनु भएको गीत अझै पनि स्मरण छ, जिते भन्ने संसार, हारे भने केवल जान । के यो केवल सिमित समयको लागि रचिएको गीत थियो त ? पक्कै पनि होईन । प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई उर्जा भर्ने तर मिडियाको अगाडि आफै असुरक्षित रहेको भनाईले मौसमी कुराले घाटा पुरयाएको छ । आफै एक पटक ठण्डा दिमागले सोच्न आवश्यक देखिन्छ ।
    जनकपुरको प्रशिक्षणमा रामचन्द्र झाले भन्नु भएको एक वाक्यले कार्यकर्ताहरुलाई ठूलै उर्जा प्रदान गरेको थियो । तपाई वार्ताको जालझेलमा नपर्नु होला ? आफ्नो अडान माग जनता राष्ट्र र जनजीविकासँग जोडिएको हो भन्ने वार्ता हुँदैन । दबाब दिएर लागु गराउन उन्मुख हुनुपर्छ । शान्ति सम्झौता भनेको गरीव , किसान , मजदुर , दलित, मधेशी, जनजाती, महिला मुस्लिमको अधिकारको लागि दिने लिने र मिल्ने कुरा आउदैन । त्रेता युगमा राम चन्द्रले पनि आफनै सिता लङकाबाट फिर्ता गराउन वार्ता र संवादका लागि विभिन्न दुतहरु पठाए । वार्ता गरे तर के भयो ? हो आज पनि त्यहि अवस्था नेपालको राजनीतिमा देखा परेको छ  । पहिचान र अधिकारका लागि ३० दल, मधेश र पहाडका जनजाती लगायत तमाम मजदुर किसान तपाईलाई नेता ठानेको छन् । मुक्ति र अधिकारको लागि अगुवा मानेको छ । १६ गते नै छिनोफनो नहोला केहि वर्ष नै संघर्ष अगाडि जाला तर यहि विचमा प्रचण्डले आफू असुरक्षित रहेको बोल्नु किमार्थ उचित छैन । 
    झुकेको छैन मातृका यादव, टुटेको छैन उपेन्द्र यादव हतास देखिदैन जेपी गुप्ता ललकार सहेको छैन राजेन्द्र महतो यतापट्टि पनि हेर्न जरुरी छ ।  बहसको लडाई विचारको मन्थनमा हरेक जनताले मष्तिष्क खियाई रहेका छन् । १६ गतेको भव्य तयारीमा सबै जुटेका छन् । कार्यकर्तामा उत्साह देखिन्छ । यस्तो अवस्थामा प्रचण्ड काठमाण्डौमा डराउनु भएको हो भन्ने आफनै निर्वाचन क्षेत्र सिरहा मधेशमा आएर जनताको दैलोमा बसे जनताले सुरक्षा गर्न तयार छन् । मोहन वैद्यले कहिल्यै पनि डराएको भन्नुभएन । विप्लवले पनि त्यसरी नवोलेको बेला प्रचण्डले आफू असुरक्षित रहेको सुचना काँहाबाट पायो । आश्चर्यको विषय बनाउनु हुदैन ।
    प्रचण्डले बरु त्याग गर्न के मान्नेमा देखिन्छ भन्ने सवै त्तित्तर वित्तर रहेका माओवादीहरुलाई एकै ठाँउमा ल्याउन मैले नेतृत्व छोडनु पर्छ भन्ने उहाँ छोड्न तयार हुनुपर्छ । पार्टीको कमाण्ड कुनै युवा पुस्ता वा भट्टराईलाई सुम्पेर आफू कोठे सहमतिको राष्ट्रपति होईन, जनतावाट निर्वाचित राष्ट्रपतिको लागि महान विचार महानत कार्यनीति बनाउन लाग्नुपर्छ । बोली र व्यवहारमा समानता देखिएन भन्ने नेताको ओज घटने भएकोले शान्ति कालमा त्यहि काम बढी भयो । पार्टीभित्र क्रान्तिको व्याज खानेहरुको वर्चस्व बढ्यो । तसर्थ पार्टीलाई शुद्धिकरण गर्न विगतलाई सम्झेर गरीब, मजदुर किसान वर्गको हित गर्ने कार्यशैली अपनाउन पनि जरुरी छ । हेटौडामा पास गरेको उत्पादनको नीति कहाँ हरायो ? कति उत्पादनमा लागे वाईसिएल र सिंङगै पार्टी । काठमाण्डौ बस्ने नेताहरु कति सुविद्याभोगी भए । आहार विहार र जीवन शैलीमा आएको फरकलाई फेरि गल्ती सच्चयाउनु बाहेक अर्को विकल्प पनि नरहेको हेक्का राख्नैपर्छ । अबको विद्रोह व्यापक जनतालाई आफनो पक्षमा लिन नीति स्पष्ट र रणनीति वैज्ञानिक हुनैपर्छ । प्रचण्डलाई आफनै दलबाट असुरक्षित रहेको प्रतिक्रिया समाचारमा आँउदा यस प्रतिक्रियाले पनि धेरै प्रश्नहरु उब्जाई दिएको छ । आफैभित्र अविश्वास बढाई दिने त्रास फैलाई दिन सफल भएको छ ।
    संविधान भनेको सहमतिको दस्तावेज हो । तर अहिले नेपालको सन्दर्भमा दस वर्षको जनयुद्ध, जनआन्दोलन, मधेश विद्रोह , आदिवासी जनजातीको आन्दोलनमा उठेका न्यायिक मागहरुलाई पाखा लगाएर बन्ने संविधान मान्य हुनेछैन । गणितीयको संविधान ल्यायो भन्ने पनि ल्याउन दिनु पर्छ । कति दिन त्यो संविधान चल्छ ? गणितको हिसावमा लाग्नेहरुलाई पनि थाहा छ । तसर्थ सत्य सहि कुरा माग बन्छ । त्यो मागलाई दिन अस्वीकार गर्यो भने जनातले खोसेर पनि लिन्छ । सफलता र समृद्धिको संविधान ल्याउन ३० दललाई केहि मेहनेत त अवश्य नै गर्नुपर्छ । तर सफल हुने निश्चित रहेको छ ।  प्रचण्डलाई मधेशी, जनजाती, महिला मुस्लिम लगायतका समुदायले आफ्नो मत दिएर राष्ट्रपति बनाउने निश्चित छ । वार्ताको टेवुलमा मनोनित राष्ट्रपतिको लोभ प्रचण्डमा नजाओस् अधिकाँश जनताको माग र रहर पनि यहि हो ।
(लेखक क्रान्तकारी पत्रकार संघका केन्द्रीय सदस्य हुन्)

तपाईको प्रतिक्रिया