परासी, ६ चैत्र । रेबिज लागेर एक जनाको मृत्यु भएपछि नवलपरासीको बर्दघाट नगरपालिकामा रेबिजको त्रास फैलिएको छ । आफ्नै घरमा पालिएको कुकुरको टोकाईले रेबिज लागेर बर्दघाट बस्ने गंगाप्रसाद चौधरीको मृत्यु भएपछि स्थानीयहरुमा रेबिजको त्रास फैलिएको हो ।
केही समय पहिलै चौधरीलाई कुकुरले टोकेपछि स्वास्थ्य परीक्षण गराउँदा रेबिज लागेको जानकारी पाएपछि चौधरी उपचार गराउँदै आएका थिए । रेबिज भाइरसको सङ्क्रमणले चौधरी उपचार गराउँदा गराउँदै मृत अवस्थामा पुगेका हुन् ।
यस अघिपनि सोही क्षेत्रमा एक वृद्धको रेबिजकै कारणले मृत्यु भएको स्थानीयले बताए । रेबिजले दुइजनाको मृत्युको खबर स्थानीयले सुनेपछि सो क्षेत्रमा रेबिजको ठुलो त्रास फैलिएको छ ।
सो क्षेत्रमा भुस्याहा कुकुरको संख्या बढी भएको हुँदा स्थानीयहरु कुकुरबाट टाढा रहने गरेतापनि आफुहरुलाई असुरक्षित महसुस गरिरहेको बताए ।
भुस्याहा वा घरमा पालिएका कुकुरलाई समयसमयमा खोप गराइएन भने त्यसको टोकाइबाट रेबिज लाग्ने जिल्ला जनस्वास्थ्य कार्यालयका सहायक जनस्वास्थ्य अधिकृत लक्ष्मी महतोले बताउनुभयो ।
उहाँका अनुसार रेबिज सरुवा भएपनि बहुलाएको कुकुरको ¥याल र रगतबाट मात्र सर्ने रोग हो । यसको लक्षण तुरुन्त देखापर्दैन तर पछि प्राणघातक हुन्छ ।
कुकुरले टोकेपछि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा निःशुल्क पाँचवटा रेबिज विरुद्ध खोप लगाइने गरेको महतोले जानकारी दिनुभयो । यसरी, रेबिजबाट त्रसित भएका नगरवासीहरुले भुस्याहा कुकुरलाई नियन्त्रणमा लिन सम्बन्धित निकायलाई आग्रहसमेत गरेका छन् ।



तपाईको प्रतिक्रिया