Khadya Bibhag

धार्मिक विद्यालयहरु खारेज हुने

सामुदायिक विद्यालयका विद्यार्थीको टाउको देखाएर सरकारी अनुदान ‘झ्वाम’ पार्दै आएका धार्मिक विद्यालयलाई खारेज गरिने भएको छ । वद्यार्थी अभाव भएका अनुमतिप्राप्त गुरुकुल, मदरसा र गुम्बाका सञ्चालकहरुले सरकारी अनुदान ‘हजम’ गर्ने नियतले सामुदायिक विद्यालयका नियमित विद्यार्थीलाई देखाइ सम्बन्धित जिल्ला शिक्षा कार्यालयबाट बर्सेनि अनुदान बुझ्ने गरेका खुलासा भएपछि यस्तो नीति ल्याउन लागेको हो ।
शिक्षा विभागले पछिल्लो समयमा सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा अनुगमनलाई बाक्लो बनाएको छ । अनुगमनका क्रममा ती जिल्लाका कतिपय धार्मिक विद्यालय र सामुदायिक विद्यालयमा उही विद्यार्थीको नाम फेला पारेको छ । धार्मिक विद्यालयका सञ्चालकहरुले पनि नक्कली विद्यार्थी देखाएर नियमित अनुदान पचाउने गरेको तथ्य विभागद्वारा खटाइएका अनुगमन टोलीहरुले उजागर गरेका छन् । कतिपय जिल्लामा विहान सञ्चालन हुने धार्मिक विद्यालयका विद्यार्थी दिउँसो सञ्चालन हुने सामुदायिक विद्यालयका नियमित विद्यार्थी भएको समेत फेला पारेको छ ।
शिक्षा विभागको वैकल्पिक शिक्षा शाखाका उपनिर्देशक हर्कबहादुर अधिकारीले विद्यालय सञ्चालकको गलत नियतका कारण एकै विद्यार्थीका नाममा दोहोरो अनुदान गइरहेको अनुगमनबाट फेला पारिएको बताउँदै सामुदायिक विद्यालयका विद्यार्थीलाई धार्मिक विद्यालयले अध्यापन गर्न पाउँदैन । त्यसैले धार्मिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सामुदायिक विद्यालयका नियमित विद्यार्थी भएमा त्यस्ता धार्मिक विद्यालयको अनुमति खारेज गरिने बताए ।
यसरी त्यस्ता विद्यालयलाई खारेज गर्ने भनि शिक्षामन्त्रीस्तरीय निर्णय गरिएको छ र त्यसको तत्काल कार्यान्वयनका लागि विभागले देशभरिका जिल्ला शिक्षा कार्यालयलाई निर्देशन समेत जारी गरेको छ ।
विभागले प्राथमिक तहमा कम्तीमा २५ विद्यार्थी भएका अनुमति प्राप्त धार्मिक विद्यालयलाई एक लाख ६८ हजार रुपियाँ, कम्तीमा २० विद्यार्थी भएका निम्न माध्यमिक तहका धार्मिक विद्यालयलाई एक लाख ८९ हजार रुपियाँ र कम्तीमा १५ विद्यार्थी भएका माध्यमिक तहका धार्मिक विद्यालयलाई दुई लाख ४५ हजार रुपियाँका दरले बर्सेनि अनुदान दिने गरिएको छ । सो अनुदानबाट त्यस्ता विद्यालयले शिक्षक तथा पाठ्यपुस्तक व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
धार्मिक विद्यालयहरुलाई शिक्षाको मूलधारमा ल्याउने नीति अवलम्बन गर्दै सरकारले २०६४ सालबाट त्यस्ता विद्यालयलाई अनुमति दिन थालेको हो । विभागले हालसम्म विभिन्न तह सञ्चालनका लागि ७३५ मदरसा, ६८ गुरुकुल र ७६ गुम्बालाई अनुमति प्रदान गरेको छ । अझै सैयौँको सङ्ख्यामा अनुमतिबेगर त्यस्ता विद्यालयहरु सञ्चालन भइरहेका छन् ।
कतिपय धार्मिक विद्यालयको स्रोत अपारदर्शी छ । कसले विद्यालय सञ्चालन गरिरहेको छ भन्नेमा पनि नियमन निकाय अनभिज्ञ छ भने विदेशी दाताको नियमित स्रोत भित्र्याएर सञ्चालन भइरहेका थुप्रै धार्मिक विद्यालयहरु छन् । मठमन्दिर, गुम्बाबिहार र मस्जिदबाट मात्र सञ्चालन भएका धार्मिक विद्यालयलाई अनुमति दिने निर्णय शिक्षा मन्त्रालयले गरेको छ ।

तपाईको प्रतिक्रिया