महोत्तरी, ५ चैत । महोत्तरी सुन्दरपुर गाविसका सचिव नागेश्वर यादवलाई स्थानीय बासिन्दाहरूले आज कार्यालयमै थुनेका छन् ।
लामो समयदेखि वृद्धवृद्धा, विधुवा, अपाङ्ग तथा दलित समुदायका बालबालिकाका लागि आएको समाजिक सुरक्षा भत्ता वितरण नगरेको भन्दै आक्रोशित स्थानियवासीले गाविस सचिव यादवलाई आज दिनभर कार्यकक्षमै थुनेका हुन् ।
गाविस सचिव यादवले विगत एक वर्षभन्दा बढी समयदेखि सामाजिक सुरक्षाभत्ता वितरण नगरेको र स्थानियवासीले माग गर्दासमेत सचिव यादवले विभिन्न वहाना गरी झूठो आश्वासनमात्र दिँदै आएकाले बाध्य भएर कार्यकक्षमै थुनेको स्थानिय विनोद यादवले जानकारी दिनुभयो ।
सचिव यादवलाई आज बेलुकी ५ बजेसम्म कार्यालयमै थुनेका हुन् । बेलुकी गाविसको प्राङ्गणमा इलाका प्रहरी कार्यालय गौशाला तथा स्थानीय नागरिक समाजबीच भएको छलफलले १५ देखि २० दिनभित्रमा बाँकी रहेको सम्पूर्ण समाजिक सुरक्षाभत्ता चुक्ता गर्ने प्रतिबद्धता जनाएपछि यादवलाई छोडेका हुन् ।



तपाईको प्रतिक्रिया