रौतहट, ५ चैत । प्रवेशिका परीक्षा दिनबाट वञ्चित भएका आक्रोसित विद्यार्थी र अभिभावकले एकजना प्रधानाध्यापकलाइ कुटपिट गरेका छन् ।
प्रवेशिका परीक्षाबाट वञ्चित स्थानीय श्रीपुर माविका विद्यार्थी रञ्जय चौधरी र उनका अभिभावकले आफ्नै विद्यालयका प्रधानाध्यापक वीरेन्द्र साहलाइ आज परीक्षाकेन्द्रमै कुटपिट गरेका हुन् ।
विद्यार्थी चौधरी र अभिभावकले प्रधानाध्यापक साहलाई मध्यक्षेत्रीय प्रहरी विद्यालय बसबिटी जिंगडिया केन्द्र अगाडि पहिलोदिनको परीक्षा सुरु हुनुअगावै प्रवेशपत्र नपाएको कारण कुटपिट गरेका हुन् ।
परीक्षामा लाग्ने शुल्क र फोटोसमेत बुझाइ सक्दा पनि प्रधानाध्यापकको लापरवाहीले आफू परीक्षाबाट वञ्चित हुनुपरेको भन्दै कुटपिट गरेको स्थानीय राजकुमार दासले बताउनुभयो ।
प्रधानाध्यापक साहले जानाजान विद्यार्थीको भविष्यसँग खेलवाड गरेको अभिभावकको दाबी छ ।
इलाका प्रहरी कार्यालय गरुडामा दुवैपक्ष बसेर विद्यार्थीलाइ क्षतिपूर्ति दिलाउनेबारे छलफल भइरहेको बताएका छन् । प्रधानाध्यापक साहले घटनामा आफ्नो गल्ती नभइ प्राविधिक त्रुटि भएको बताएका छन् ।



तपाईको प्रतिक्रिया