काठमाडौँ, २ चैत । सन् २०१४ को तुलनामा यस वर्ष नेपाल आउने पर्यटकको सङ्ख्यामा केही वृद्धि हुने भएको छ ।
नेपालमा नयाँ जहाज थपिनु र नेपालबाट भारतको नयाँ दिल्ली तथा बनारसका लागि नयाँ बस थपिएसँगै नेपालमा पर्यटकको आगमनमा वृद्धि हुने नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बराल बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “नेपाल सुन्दर पर्यटकीय क्षेत्र भएको र देशदेशबीचको सम्बन्ध एकआपसमा बढ्दै गएकाले पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा १२ देखि १५ प्रतिशतमा बढ्छ ।”
केही समय पहिले टर्किस एअरलाइन्सको विमान दुर्घटनाका कारण नेपालको पर्यटन क्षेत्रमा केही असर परेता पनि नेपाललाई माया गर्ने पर्यटक जुनसुकै बेलामा पनि देशमा भित्रने बरालले बताउनुभयो ।
नेपालको पर्यटकीय क्षेत्र राजनीतिमा भरपर्ने भन्दै संविधान बने देशको पर्यटकीय क्षेत्र अगाडि बढ्ने पनि उहाँले बताउनुभयो ।
गतबर्ष सन् २०१४ मा नेपालमा आठ लाख तीन हजार पर्यटक नेपाल भित्रिएका थिए ।



तपाईको प्रतिक्रिया