काठमाडौँ, २ चैत । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलहरूबीच अविलम्ब वार्ताको वातावरण बन्नुपर्ने बताउनुभएको छ ।
कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको संयोजनमा आज आयोजित संसद र नागरिक प्रशासन अधिकारीहरूका लागि हातेपुस्तक सार्वजनिक समारोहमा उहाँले संविधानसभाबाट संविधान बन्नुको विकल्प नभएका कारण त्यसलाई निष्कर्षमा पु¥याउन दलहरू जिम्मेवार बन्नुपर्ने धारणा राख्नु भयो ।
दलहरूबीच सहमति होस् भनेर संविधानसभाको प्रक्रिया अनिश्चित समयका लागि स्थगित भएको चर्चा गर्दै उहाँले दलहरूबीच सहमति नभइ आन्दोलनको कार्यक्रम घोषणा भएको कुराले आँफूलाई दुःखित बनाएको बताउनुभयो ।
उहाँले मानवीय कानुनको सम्बन्धमा सम्बद्ध अधिकारीहरूलाई जागरुक बनाउन सार्वजनिक हाते पुस्तक उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री नरहरि आचार्यले मानवीय कानुनको संरक्षण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै यसलाई व्यवस्थित गराउने कुरामा सरकार सँधै दृढ भएर लागेको बताउनुभयो ।
नेपालमा १० वर्षभन्दा लामो द्वन्द्वका घाउ मेटाउन संसदबाट सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानविन आयोग गठन भई त्यसले कामको थालनी गरिसकेको उहाँले जानकारी गराउनुभयो ।
कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सचिव भेषराज शर्माले मानवीय कानुनका सम्बन्धमा जागरुकता आवश्यक भएको उल्लेख गर्दै सार्वजनिक हातेपुस्तकले यस सम्बन्धमा जानकारी गराउँदै सरोकारवाला निकायलाई जिम्मेवार बनाउन सहयोग पु¥याउने बताउनुभयो ।



तपाईको प्रतिक्रिया