Khadya Bibhag

पुरानो मोर्चाको आवश्यकता छैन

शरत्सिह भण्डारी
अध्यक्ष, राष्ट्रिय मधेश समाजवादी पार्टी
तमलोपाको ‘हाई टी’ ले नेपाली राजनीतिकमा निकै चर्चा पाएको छ, खास के भयो त्यहाँ ?
–हो तपाईले भने जस्तै हामीलाई आएको निमन्त्रणामा पनि ‘हाई टी’ नै भनिएको थियो । मधेशका सम्पूर्ण दललाई तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले चिया खानका लागि बोलाउनु भएको थियो । चिया खानेक्रममा नै अध्यक्ष ठाकुरले अनौपचारिक रुपमा मधेशमा एउटा मोर्चा वा पार्टीको कुरा उठान गरिदिनुभयो । त्यसमा नेताहरुले आआफ्नो कुरा राख्नुभयो । कुरा सकारात्मक रुपमा आयो । मधेशमा एउटा मोर्चाको बारेमा दलका नेता सकारात्मक हुनुहुन्थ्यो । यसो भनौ न त्यो चिया पार्टी एजेण्डाविहिन थियो तैपनि एउटा कुरा उठिहाल्यो ।

मोर्चा वा एउटै पार्टी बनाउने बारेमा छलफल गर्नु मुख्य उद्देश्य भएपनि नेताहरुलाई बोलाउँदा त्यो एजेण्डा किन लुकाईयो ?
–अब यो कुरा त आमन्त्रण गर्ने व्यक्ति वा संस्थालाई थाह होला । हामीलाई चिया खानका लागि बोलाएको थियो । चिया खान भनि गएको मधेशमा एकताको प्रसंग पनि उठ्यो ।

महन्थ ठाकुरले मधेशका लगभग सबै दललाई ‘टी पार्टी’ मा आउन आमन्त्रण गर्नुभएको थियो तर मुख्य दलहरु नै अनुपस्थित रहे, यस्तो किन भएको होला ?
–आमन्त्रित सबैलाई गरिएको थियो तर उपस्थित भएन यसले शंका उब्जाएको छ । तमलोपाका अध्यक्ष महन्थ ठाकुरले एउटै मोर्चा बनाउने अभियान सफल नहोला जस्ता लाग्छ । ती पार्टीहरु यहाँ के कारण उपस्थित हुनु भएन त्यो त उहाँहरुले नै जानुन तर अनुपस्थितिले महन्थ ठाकुर नेतृत्वको मोर्चा स्विकार हुँदैन भने सन्देश पनि दिन खोजेका छन् । तमलेपाले बोलएको छलफलमा मधेशका मुख्य दलहरु उपस्थित नहुनुले थुप्रै शंकाहरु उब्जाएका छन् ।

त्यसो भए तमलोपासँग पार्टी एकीकरण वा मोर्चा हुने भयो त ?
–कुराकानी तथा छलफल भएको हो । आवश्यकता पनि छ । तर टुगों लागेको छैन । मैले अघि नै भने नि कि त्यस विषयमा औपचारिक कुरा नै भएको छैन, चिया खानका लागि बोलाएको कार्यक्रममा कुरा मात्र उठेको हो । रह्यो तमलोपासँग एकीकरण वा मोर्चाबन्दीको कुरा सो पार्टीसँग विभिन्न चरणमा अनौपचारिक छलफलहरु भएका छन्् । कुरा सकारात्मक रुपमा अगाडि बढेको छ । यसबारेमा तमलोपासँग मात्र होइन अन्य दलहरुसँग छलफल गर्न सकिन्छ । 

तमलोपासँग पार्टी एकीकरण हुन्छ कि मोर्चाबन्दी ?
–तपालोपासँग एकीकरण हुँदैन, मोर्चाबन्दी हुनसक्छ तर तमलोपासँग मात्र होइन कि अन्य दलसँग पनि हुनसक्छ । सविधानसभाको चुनाव गराई, सविधान निर्माण गर्नका लागि मधेशमा एउटै शक्तिको आवश्यकता रहेको छ । त्यसले गर्दा तमलोपासँग मात्र नभएर अन्य दलहरुलाई एक ठाउँमा ल्याएर चुनावी मोर्चा बनाउनुपर्छ ।

तपाईको पार्टी, जेपी गुप्ताको अभियान र अनिल झाको पार्टी संघीय सद्भावना पार्टीको तमलोपासँग एकीकरण हुन लागेका चर्चा छ नि ?
–त्यो चर्चा मात्र हो । तमलोपासँग एकीकरण हुँदैन भने कुरा पहिला नै भनिसकेको छु । तमलोपासँग मोर्चा मात्र हुन्छ । एकीकरण जयप्रकाश गुप्ताको तराई मधेश राष्ट्रिय अभियान र हाम्रो पार्टी राष्ट्रिय मधेश समाजवादी पार्टीबीच हुने पक्का पक्की भएको छ । दुई पक्षबीचमा लगभग सैद्धान्तिक सहमतीहरु भइसकेका छन् । अब एकीकरणको घोषणा गर्न मात्र बाँकी छ ।

मधेशवादी दलहरुको बीचमा बन्ने मोर्चाको नेतृत्व तमलोपाका अध्यक्ष महन्थ ठाकुरले नै गर्ने भयो त ?
–मोर्चाको नेतृत्व गर्नेहरुमध्ये महन्थ ठाकुर पनि हुनुहुन्छ । तर, महन्थ ठाकुर नै हुन्छ भने छैन जसको पक्षमा सहमति बन्छ त्यसले नै मोर्चाको नेतृत्व गर्न सक्छ । महन्थ ठाकुर पनि मधेश एक स्वच्छ छवी र सम्मानित व्यक्ति हुनुहुन्छ, उहाँले पनि नेतृत्व लिन सक्नुहुन्छ तर मैले नै यसरी यही अवस्थामा उहाँले नेतृत्व लिनुहुन्छ भन्नु अलि हतार हुनसक्छ । मधेशसवादी दलहरुको बीचमा जुन प्रकारको ध्रुवीकरण भइरहेका छन् त्यसले मधेशमा एउटै मोर्चा बन्ला भने देखिदैन । आफू आफू मोर्चाका नेता ठान्नेहरु नै मोर्चाका नेतृत्वकर्ताहरु हुन् । मधेशमा मोर्चाको नाम सुन्ने वित्तिकै नेतृत्व लिनका लागि थुप्रै नेताहरु हतारिएका छन् ।

तपाईको बीचारमा मधेशमा कतिवटा मोर्चा बन्ला ?
–मेरो बिचारमा एउटै मोर्चा बनाउँदा बेस हुन्छ तर मधेशवादी दलहरुको बीचमा जुनप्रकारको ध्रुवीकरण देखिएको छ त्यसलाई हेर्ने हो भने तीनवटासम्म मोर्चा बन्नसक्छ । सविधानसभा विघटनपछि एकजुट हुनुपर्ने मधेशवादी दलहरु अहिले एक्ला एक्लै मैदानमा कुदेका छन् कसैले कसैको अस्तित्व स्विकार गर्न तयार छैनन् । एकले अर्काको कार्यकर्ता तथा नेता तान्नमा नै आफ्नो बहादुरी ठानिरहेका छन् । यसले एकता होइन, दलहरुको बीचमा विग्रह ल्याउने पक्का हो ।

कसको कसको मोर्चा बन्छ बताई दिनुस् न ?
–अहिले नाम न खोलौ तपाईहरुलाई सबै थाह छन्, कुन कुन महारथीहरु मैदानमा छन् भनेर । धेरै कुराहरु बाहिर आइसकेका छन् पनि ।

तपाई र उपेन्द्र यादवहरुको पनि एउटा मोर्चा छन् नि त्यसको के हुन्छ ?
–हाम्रो मोर्चा पनि रही रहन्छन् । सविधानसभा ताका सविधान निर्माण प्रयोजनका निम्ति तयार भएको बृहत मधेशी मोर्चाको प्रारुप यो संघीय लोकतान्त्रिक मोर्चा हो । यसमा मधेशी दलमात्र होइन कि आदीवादी जनजातिहरुको पार्टी पनि सहभागित छन् । यो मधेशीको मात्र मोर्चा नभएर पहाडि आदिवासी, जनजाति तथा पिछडिएकाहरुको मोर्चा हो । यसमा सबै दलहरु आउन सक्छ जो संघीय लोकतान्त्रिक गणतन्त्रको वकालत गर्छन् । अहिले पनि विभिन्न दलहरुसँग छलफल भइरहेका छन् आउने क्रम पनि जारी रहेका छन् ।

तपाईको पार्टी र फोरम नेपालबीच एकीकरण हुने पनि चर्चा थियो के भयो ?
–हामीबीच एकीकरणको कुरा छैन । मोर्चा बनाउँदा नै हामीबीच सहमति भएको थियो कि पार्टी एकीकरण नगर्ने तर मोर्चाको आधारमा सहकार्य गर्ने । हामी त्यस्तै अनुसार अगाडि बढेका छौ । हामीबीचको यो मोर्चाबन्दी कायम नै रहनेछ । हामी आफ्नो उद्देश्य अनुसार काममा लागेका छौ अहिलेसम्म राजनीतिक रुपमा जे जति गतिविधि गरेका छौ मोर्चाकै सल्लाहमा गरेका छौ । र, सायद आउने दिनमा पनि यो क्रम जारी नै रहने छ ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा क्रियाशिल रहेकै अवस्थामा अर्को मोर्चा बनाउने कुरा किन उठ्दैछन् त्यसैमा सबैलाई समावेश गरे हुन्न ?
–अब त्यो मोर्चाको औचित्य छैन । औचित्य समाप्त भइसकेको कारणले नै नयाँ मोर्चाको कुराहरु उठिरहेका छन् । विगतमा मधेशी मोर्चाका नेताहरुले जुन गतिविधिहरु गरे त्यसको समिक्षा हुन आवश्यक छ । मोर्चाका नेताहरुमाथि नैतिकको प्रश्न उठेको छ । अब त्यो मोर्चामा रहेर काम गर्नुको उनीहरुलाई कुनै अधिकार छैन । मोर्चाको तर्फबाट मधेशलाई दिनुभन्दा बढी नोक्सान गरेको छ त्यसैले अब मधेशी मोर्चाको औचित्य छैन । नयाँ मोर्चा नयाँ शिराबाट बन्नेछ ।  

तपाईलाई रक्षामन्त्री पदबाट हटाउँदा त्यसबेला मोर्चाले सहयोग नगरेको कारण यस्तो भन्नु हुन्छ कि कुनै अर्कै कारण छ ?
–त्यस्तो होइन, मोर्चामा रहेका सबै दलहरुसँग मेरो राम्रै सम्बन्ध छ । त्यही नेताहरुको साथमा अर्को नयाँ मोर्चा बनाउने कुराकानी पनि भइरहेका छन् भने त्यसबेला मसँग गरेको व्यवहारको बदला लिने कुरै आउँदैन । मेरो भन्नु यति हो कि अब नयाँ शिराबाट नयाँ ढंगको मोर्चा बन्नुपर्छ ।

तपाईको प्रतिक्रिया