Khadya Bibhag

अधिकारका लागि स्ववियु निर्वाचन

सविधानसभाको पूर्व तयारी स्ववियू चुनाव
यस पटकको स्ववियू निर्वाचन संविधानसभाको पूर्व संघारमा हुदैछ । यसले नेपाली राजनीतिमा निकै परिवर्तन ल्याउने अपेक्षा हामीले गरेका छौ । यसलाई हामी एउटा मिनी सविधानसभाको रुपमा लिएका छौ । यो चुनावबाट नै देशमा कुन दलको कस्तो स्थान रहने सुनिश्चित हुनेछ । हामीले यो स्ववियूको निर्वाचनबाट अवसरवादी संगठनहरुलाई परास्त पार्नेछौ । विगतको चुनावहरुमा धाँधली गरेर चुनाव जित्ने गर्थे यसपाली हामी त्यस्तो हुने दिने छैनौ । परम्परावादी सोच भएका संगठनहरुको कारण गुणात्मक शिक्षा र विभेद रहित स्ववियू हेर्ने सौभाग्य प्राप्त गर्दैन् । त्यसैले मधेशी विद्यार्थी फ्रन्ट लगायतका परिवर्तनकारी कित्तामा उभिने विद्यार्थी संगठन स्ववियूमा आयो भने स्ववियूभित्र व्याप्त भ्रष्टाचार, गुण्डागर्दी, आर्थिक लुट लगायत शैक्षिक माफियाकरण सदाको लागि अन्त्य हुन्छ । साथै हाम्रो बुताले आएको मिश्रित
निर्वाचन प्रणाली, २८ वर्षको उमेर हदवन्दी र आर्थिक पारदर्शिताको एजेण्डालाई आम विद्यार्थीले सहयोग र समर्थन गरी संस्थागत गर्दै आगामी पूर्णसमानुपातिक निर्वाचन
प्रणाली, स्वच्छ, पारदर्शी एवं विद्यार्थीको स्ववियू निर्माणमा अग्रसर हुने जग बसाल्न सक्नु अहिलेको आवश्यकता रहेको हाम्रो ठहर रहेको छ । यसले अगामि संविधानसभाको
चुनावमा उत्प्रेरणाको रुपमा भुमिका निर्वाह गर्नेछ । खासगरी मधेशी, आदिवासी, जनजाति, दलित, महिलाको पक्षमा संविधान लेख्ने वातावरणको निर्माण गर्नेछन् । जसले गर्दा पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानका पक्षधरहरुलाई बल पुग्नेछ । शिक्षकहरुका लागि ल्याइएको लाइसेन्स प्रथा अन्त्य गर्नुपर्छ । जसको जे शैक्षिक योग्यताका छ त्यसैको आधारमा रोजगारीको सुनिश्चितता गर्नुपर्छ । साथै अहिले हाम्रो गाउँघरको शैक्षिक अवस्थालाई विगार्ने काम व्यवस्थापन समितिको व्यवस्थाले पनि गरेको छ । यो व्यवस्थाले गर्दा गाउँको राजनीतिक विद्यालयहरुमा छिर्ने गरेकोले व्यवस्थापन समितिको व्यवस्थालाई अन्त्य गर्नुपर्ने हाम्रो जोडदार माग रहने छ । समाजमा विकृतिको रुपमा बढ्दै गैरहेको विद्यालय व्यवस्थापन समितिको खारेजी गरिनुपर्ने । शैक्षिक बेरोजगारहरुका निम्ति उच्च शिक्षा अध्ययन तथा बेरोजगार समस्या समाधानका निम्ति यो स्ववियूको निर्वाचन फलदायी हुने कुरामा हामीलाई पूर्ण विश्वास रहेको छ । शैक्षिक क्षेत्रको विकासका लागि सरकारले विना व्याज ऋणको व्यवस्था गर्नुपर्ने, कृषि तथा वन विश्वविद्यालयको स्थापनाको माग गर्नुको साथै मधेशका प्रत्येक जिल्लामा आंगिक क्याम्पसको स्थापना गरिनुपर्ने हाम्रो माग रहेको छ । नेपालको शिक्षा क्षेत्रमा मधेशी, आदिवासी जनजातिमाथि विभेद देखिएको छ त्यो हट्नुपर्ने हाम्रो जोड्दार माग रहेको छ । विद्यार्थीहरुले उच्च शिक्षा प्राप्त गरेपछि विरोजगार बस्नु नपरोसका लागि सरकारले रोजगारको व्यवस्था गर्नुपर्छ । परिवर्तनकारी शक्तिसँग मोर्चाबन्दी हुने सम्भावना देखिएको छ । कुराकानी भइरहेको छ हेरौ के हुन्छ । मधेशका सबै क्याम्पस र उपत्यका लगायत उपत्यका वरपरका जिल्लाका क्याम्पसहरुमा हाम्रो उम्मेदवारी रहने छ ।
कपलेश्वर यादव
अध्यक्ष, मधेशी विद्यार्थी फोरम (लोकतान्त्रिक)

नेपाली शिक्षा विभेदरहित हुनुपर्छ
“निःशुल्क, गुणस्तरीय, व्यवसायिक तथा रोजगारमुलक शिक्षा हाम्रो चाहना, समानुपातिक, समावेशी, विभेदरहित तथा भ्रष्टाचारमुक्त स्ववियु तराई मधेश विद्यार्थी फ्रन्टको परिकल्पना” नाराको साथ हामी स्ववियूको चुनावमा जाँदैछौ । मधेशमा कृषि विश्वविद्यालय, भाषा विद्यालय, वन विश्व विद्यालय र वाटर म्यानेजमेन्ट विश्वाविद्यालयको स्थापनाको हाम्रो नारा रहेको छ । स्ववियू निर्वाचनमा १९ बुँदे माग राखेका छौ । जसमध्ये विद्यार्थी सहिद रमेश महतो लगायत अन्य विद्यार्थी सहिदहरुको नामबाट कलेज तथा विद्यालयहरुको नामाकरण गर्नुपर्ने, मधेश आन्दोलन, मधेशका शहीद, साहित्यकार लेखक, समाजसेवी लगायत विशिष्ट योगदान पु¥याएकाहरुलाई मधेशका चौकहरुमा शालिक निर्माण गनेुको साथै शैक्षिक पाठ्यक्रममा उचित स्थान दिनुपर्ने माग राखेका छौ । मातृभाषामा कमसेकम प्राथमिक शिक्षाको पठन पाठनको व्यवस्था अनिवार्य हुनुपर्छ । नेपालको शिक्षामा अहिले पनि एउटै भाषा एउटै भेष रहेका हुनाले मधेशको कला, संस्कृति, साहित्य तथा सामाजिक पक्षलाई समावेश गरिनुपर्नेमा हाम्रो जोड रहने छ । परीक्षामा भइरहेको भेदभाव, अनियमितता र अपारदर्शिताको अन्त्य गरिनुपर्ने, शैक्षिक क्यालेण्डर पूर्ण रुपमा लागु, क्याम्पसमा नै ट्रान्सक्रिप्ट उपलब्ध साथै रिटोटलिङ र रि–चेकिङ्गको पारदर्शी व्यवस्था गरिनुपर्ने मागका साथ यसपाली विद्यार्थी माझमा जाँदै छौ । त्रि.वि. लगायत हरेक विश्वविद्यालयका हरेक तह र निकायमा मधेशी, जनजाति, दलित, महिला लगायत विभेदमा पारिएकालाई समानुपातिक प्रतिनिधित्व गराउनुपर्दछ । साथै विद्यार्थीको लागि रासन कार्ड, यातायात, स्वास्थ्य र मनोरन्जन क्षेत्रमा ५० प्रतिशत छुट, अपाङ्गलाई रोजगारीको ग्यारेन्टी तथा क्याम्पसलाई धुम्रपान, मद्यपान र लागुऔषध मुक्त क्षेत्र घोषणा गरिनुपर्दछ । क्याम्पस भित्र सुविधा सम्पन्न पुस्तकालय, प्रयोगशाला, स्वास्थ्य केन्द्रको स्थापना तथा शैक्षिक वातावरणको निर्माण गरिनुपर्ने, धरान र पोखरा लगायतका ईन्जिनियरीङ कलेजहरुमा मधेशी विद्यार्थीहरुमा भैरहेको भेद्भाव र आक्रमण रोक्ने बारे ठोस निति बनाउनु पर्ने, निजी तथा सरकारी उच्च मा.वि.हरुमा स्ववियूको ब्यवस्था गरिनुपर्ने र उच्च शिक्षा परिषद्का वोर्डमा विद्यार्थीको प्रतिनिधित्व गरिनुपर्ने लगायतका मागहरु लिएर स्ववियू चुनावमा जाँदैछौ । मधेशका सबै आगिंक क्याम्पस तथा उपत्यका त्रिविदेखि लिएर हरेक सरकारी क्याम्पसमा हाम्रो संगठनको उम्मेदवारी रहने छ र हाम्रो दावी छ धेरैभन्दा धेरै क्याम्पसमा हाम्रो पक्षबाट जित्नेछ । मधेशी विद्यार्थीका संगठन तथा अन्य विद्यार्थी संगठनहरुसँग मोर्चाका लागि कुराकानीहरु भइरहेका छन् ।
सुरेशकुमार मण्डल
अध्यक्ष, तराई मधेश विद्यार्थी फ्रन्ट

सबैका लागि शिक्षा निःशुल्क हुनुपर्दछ ।
शिक्षा, स्वास्थ्यको रोजगारमा सामनता, लोकतान्त्रिक सामतावादीको स्थापना मूल नाराका साथ हामी स्ववियू निर्वाचनमा भागि लिन गइरहेका छौ । विभेदरहित शिक्षाका लागि समानुपातिक मिश्रित प्रणालीबाट चुनाव हुनुपर्छ । देश नै समानुपातिक समावेशीकरणको अभ्यासमा होमिसकेको अवस्थामा स्ववियू निर्वाचनमा पनि त्यसैको अभ्यास गर्नुपर्छ भने हाम्रो मान्यता रहँदै आएको छ । देशको शिक्षा प्रणाली अहिले पनि परम्पारवादी सोचबाट चलिरहेका छन् कमसे कम यसलाई तोड्नु साहस स्ववियू निर्वाचनले गर्नुपर्छ । संघीय लोकतान्त्रिक गणतान्त्रिक देशमा सोही अुनसार स्ववियूको चुनाव हुनुपर्नेमा हाम्रो जोड रहने छ । यहि ऐतिहासिक आवश्यकतालाई मनन गर्दै हाम्रो संगठनले स्ववियू चुनावमा सशक्त रुपमा अगाडि आउँदै छ । हाम्रो पार्टीको ६५ जिल्लामा संगठन रहेको छ तर मधेश र उपत्यकाका सरकारी क्याम्पसहरुमा हाम्रो सशक्त उम्मेदवारी रहने छ । पहाडका जिल्लाहरुमा पनि आफ्नो संगठन अनुसार उम्मेदवारी दिने पनि तयारी भइरहेको छ । ठुला दलका विद्यार्थी संगठनको अवसरवादी सोचका कारण स्ववियूको अस्तित्व नै खतरामा पर्ने भएकाले नै हामी मिश्रित निर्वाचन प्रणाली
स्वीकार गर्न बाध्य भएका हौ । जसलाई उपलब्धीको रुपमा आत्मसात गरी पुर्ण समानुपातिक निर्वाचन प्रणाली र समावशिकतालाई चुनावी मुद्दाको रुपमा हामी स्ववियू निर्वाचनमा
उच्च मनोवल र उत्साहका साथ भाग लिदैछौँ । राज्यमा रहेका एकात्मक एवं केन्द्रीकृत यथास्थितिवादी अव्यवहारिक एवं अवैज्ञानिक शिक्षामा परिवर्तन गरी मधेशी, आदीवासी जनजाति, महिला, पिछडा समुह लगायत सबै जाति, वर्ग, धर्म, सँस्कृति र क्षेत्रलाई प्रतिविम्वित हुने खालको वैज्ञानिक एवं व्यवसायीक शिक्षा स्थापना गरिनु पर्छ । परिवर्तित युग जस्तै शिक्षामा पनि आमुल परिवर्तन आउन आवश्यक रहेको छ । यसको माध्यमबाट यथास्थितिवादी परम्परागत शिक्षा पं्रणाली पुरानो सोच, शैली, विचार र व्यवहारमा पुनः संरचित गरिनु पर्दछ । मधेशी, दलित, आदिवासी जनजाति, महिला, मुस्लिम, सीमान्तकृत समुदायको साथै सबै जाति, वर्ग, क्षेत्र र समुदायले समान शिक्षा प्राप्त गर्न सकोस् भने हाम्रो चाहना रहेको छ । वर्तमान शिक्षा प्रणालीले उत्पादन गरेको अर्धशिक्षित, बेरोजगारका कारण मधेशका युवाहरु विदेश पलायन भइरहेका छ्न त्यसका लागि शिक्षा नीतिमा आमूल परिवर्तन गरी रोजगारमूलक शिक्षाको व्यवस्था गर्नुपर्छ । यी सम्पूर्ण समस्याहरुको स्थायी र दीर्घकालिन रुपमा समाधान गर्दै एक्काइसौ शताब्दीको नयाँ नेपाललाई मार्गनिर्देशन गर्न सक्ने, स्वदेशमै जीवन निर्वाह गर्न सक्ने, स्वभिमानी र समृद्ध जनशक्ति निर्माण गर्न देशको भौगोलिक विविधता र मौलिकतामा आधारीत मूलतः जलस्रोत, कृषि, वनसम्पदा, खनिज पदार्थ, पर्यटन, आईटिलगायत देशको साधन, स्रोतमा आधारित पाठ्यक्रम निर्माण गरी पठन पाठन गर्न गराउन शिक्षामा आमुल परिवर्तन गरी सबैका लागि शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्दछ ।
रामेश्वर यादव
अध्यक्ष, विद्यार्थी मञ्च

विद्यार्थीलाई ५० प्रतिशत सहुलियत
सर्वप्रथम वर्तमान एकात्मक एवं केन्द्रीकृत यथास्थितिवादी अव्यवहारिक एवं अवैज्ञानिक शिक्षामा आमुल परिवर्तन गरी सबै जाति, वर्ग, धर्म, सँस्कृति र क्षेत्रलाई प्रतिविम्वित गर्ने बहुसँस्कृतिकवादमा आधारीता भोगोलिक विविधतालाई समेट्दै जीवन र उपयोगी वैज्ञानिक एवं व्यवसायीक शिक्षा स्थापना गरिनु पर्छ । यसको माध्यमबाट यथास्थितिवादी परम्परागत शिक्षा पं्रणाली पुरानो सोच, शैली, विचार र व्यवहारमा पुनः संरचित गरिनु पर्दछ । मधेशी, दलित, आदिवासी जनजाति, महिला, मुस्लिम, सीमान्तकृत समुदायको साथै सबै जाति, वर्ग, क्षेत्र र समुदायले समान शिक्षा प्राप्त गरी फल्न फुल्न, सहभागि र मानवीय साधन, स्रोत र शक्तिको विकास शिक्षाको माध्यमबाट पाउनु पर्दछ भन्ने सोचको विकास हुनुपर्दछ । वर्तमान शिक्षा प्रणालीले उत्पादन गरेको बेरोजगार, अदक्ष, रोजगारको खोजीमा खाडि मुलुक जानुपर्ने, विदेश पलायन हुने, जागिरमुखी, स्वार्थी जनशक्ति र यसबाट विकास भएको एकल सोच, संस्कृति र दृष्टिकोण नै वर्तमानको द्धन्द, असमानता, विभेद र समस्याको कारक तत्वहरु हुन् । यी सम्पूर्ण समस्याहरुको स्थायी र दीर्घकालिन रुपमा समाधान गर्दै एक्काइसौ शताब्दीको नयाँ नेपाललाई मार्गनिर्देशन गर्न सक्ने, विविधतापूर्ण नेपाली समाजको सक्ष्म अध्ययन गरी समानता र सहअस्तित्ववादको दार्शनिक धरातल निर्माण गर्ने, स्वदेशमै जीवन निर्वाह गर्न सक्ने, स्वभिमानी र समृद्ध जनशक्ति निर्माण गर्न देशको भौगोलिक विविधता र मौलिकतामा आधारीत मूलतः जलस्रोत, कृषि, वनसम्पदा, खनिज पदार्थ, पर्यटन, आईटिलगायत देशको साधन, स्रोतमा आधारित पाठ्यक्रम निर्माण गरी पठन पाठन गर्न गराउन शिक्षामा आमुल परिवर्तन गरी सबैका लागि शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्दछ । उक्त शिक्षा वैज्ञानिक, प्राविधिक, व्यावसायिक, व्यावहारिक तथा अन्र्तराष्ट्रिउ जगतसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरको आत्म स्वावलम्बन, गुणस्तरीय र समान शिक्षा नीति लागु गर्नुपर्दछ । परिवर्तनको सम्वाहकको रुपमा स्ववियुको गौरवशाली इतिहासलाई कामय गर्न परम्परागत प्रत्यक्ष प्रणालीमा देखिएको विकृति तथा विसंगतिलाई अन्त्य गर्दै देशका परिवर्तनलाई आत्मसात् गर्दै सांगठनिक पूर्ण समानुपातिक, समावेशी प्रणालीद्धारा स्ववियुमा वास्तविक पिछडिएका, सीमान्तकृत, अल्पसंख्यक वर्गका विद्यार्थी, मधेशी, दलित, आदिवासी जनजाति, महिला, मुस्लिम तथा उत्पीडित, उपेक्षित गरीब विद्यार्थीको साझा थलोका रुपमा सरकारलाई पटक पटक ध्यानाकर्षण गराइएको छ । स्ववियु चुनावका लागि हामी विभिन्न २१ बुँदे माग लिएर अगाडि आएका छौ । शिक्षामा आमूल परिवर्तन गरी निशुल्क शिक्षा प्रदान गर्नुपर्ने, हरेक क्षेत्रमा ५० प्रतिशत सहुलियतको व्यवस्था गर्नुपर्ने, सरकारी र निजी क्षेत्रको विद्यालय, कलेज तथा विश्वविद्यालयहरुमा शुल्क तथा पाठक्रम एकनाशले लागु गर्नुपर्ने, सबै क्याम्पसमा आंगितक क्याम्पसको व्यवस्था हुनुपर्ने लगायत रिटोटलिगं र रिचेकीगंको पारदर्शी व्यवस्था हुनुपर्छ । सिरहा क्याम्पसमा एकचोटी १४ सय विद्यार्थीलाई निष्कशन गरेर स्पेल्ड गर्नु बारेमा न्यायिक छानविन गर्न हामीले जोडदार रुपमा उठाएका छौ ।
अशोक यादव
अध्यक्ष, मधेशी विद्यार्थी फोरम नेपाल

संघर्षकै रुपमा स्ववियू निर्वाचन
वैज्ञानिक तथा गुणस्तरीय शिक्षाका लागि स्ववियू निर्वाचनमा भाग लिन थालेका छौ । सविधानमा उल्लेख भएअनुसार समावेशी समानुपातिक सिद्धान्त शिक्षामा पनि लागु हुनुपर्छ । राज्यको हरेक क्षेत्रमा मधेशीमाथि विभेद भएजस्तै शिक्षा क्षेत्र यसबाट अछुतो छैन । विद्यार्थी भर्नादेखि लिएर शिक्षक प्रध्यापक तथा विभिन्न कर्मचारी छनौटहरुमा विभेद भएको देखिन्छ । हामी विद्यार्थी शिक्षा राजनीति भएको कारणले यसभित्रको थुप्रै शिक्षा राजनीतिकबाट अवगत छौ । शिक्षा क्षेत्रमा एउटा सुमदायको पक्कड मात्र रहेको जसले गर्दा अरु समुदायको उन्नती प्रगति भइरहेको छैन । हामीले एउटा विद्यार्थीलाई कुनै कलेजहरुमा भर्ना गराउन कतिको संघर्ष गर्नुपर्छ त्यो कुरा हामीलाई थाह छ । त्रिविमा मार्कसीट, ट्रान्सक्रिप्ट, सटीफिकेटहरु लिन आउने मधेशी विद्यार्थीमाथि कस्तो विभेद भइरहेको छ त्यहाँ गएर मात्र थाह पाउन सकिन्छ । मधेशका जिल्लाहरुबाट प्रोभिजनल, मार्कसीट लिन आएका हुन्छन् रि–टोटलिगंका लागि टाढा टाढाबाट आएका हुन्छन् तर एकदिनको कामलाई चारदिनसम्म टारेका हुन्छन् तर हाम्रै सामुनेमा पहाडि समुदायका विद्यार्थीहरुको काम चोरबाटोबाट भइरहेको हुन्छन् यी र यस्ता थुप्रै समस्याहरु त्यहाँ रहेको देखिन्छ । यी समस्याहरुलाई हटाउनका लागि स्ववियू चुनाव हुनुपर्छ र त्यसमा मधेशी विद्यार्थीहरुका संगठनहरु एकतृत भएर चुनावमा सशक्त रुमपा भाग लिनुपर्छ र बलियो रुपमा उपस्थित भएर विभेदहरुलाई हटाउनु पर्छ । विद्यार्थीलाई हरेक क्षेत्रमा सहुलियत दिने सम्झौता पटक पटक सरकारबाट भएको छ तर त्यो लागु हुन सकेको छैन । क्याम्पस, स्कूलमा पढ्ने हरेक विद्यार्थीलाई हरेक क्षेत्रमा ५० प्रतिशत सहुलियत दिनुपर्छ । विद्यार्थी भर्नादेखि लिएर यातायात क्षेत्रहरुमा छुटको व्यवस्था साथै शैक्षिक ऋणको व्यवस्था गर्नुपर्छ ।  शिक्षाको पूर्ण दायित्व राज्यले लिनु पर्दछ । राज्यको दोधारे शिक्षा नीतिका कारण आम नेपाली जनता रणभुल्लमा परेको देखिन्छ । राज्य शिक्षालाई निजीक्षेत्रलाई हस्तान्तरण गरी राष्ट्रिय दायित्वबाट उम्किन खोजेको देखिन्छ । शैक्षिक माफियाहरुको कब्जामा रहेका नीजि शिक्षा क्षेत्रप्रति राज्य उदार देखिन्छ भने राज्यदायित्वप्रति उदासिन छ । जसकारण गरिब जनताका छोराछोरी पढ्नै नपाउने वातावरणको निर्माण हुँदैछ । अर्कोतिर सरकारी शिक्षा केन्द्रहरु बेरोजगार उत्पादनका केन्द्र सावित भइरहेका छन् । हामीले निशुल्क, गुणस्तरीय तथा रोजगारमूलक शिक्षाको पक्षमा आफ्नो दृढ संकल्प लिएका छौ । साथै हाम्रो परिप्रेक्ष्यमा आवश्यकतामुखी र व्यवहारिक शिक्षा अपरिहार्य देखिन्छ । हाम्रो शिक्षा अव्यवहारिक र वेरोजगार उत्पादनको केन्द्रमा परिणत भएको छ । जसको उदाहरणको रुपमा युवाहरु विदेश पलायनको अवस्थालाई हेर्न सकिन्छ । उच्च शिक्षा हासिल गरेका युवाहरु देशमा रोजगार नपाएको कारण कडा मेहनत गर्नका लागि विदेशतिर गएका छन् तर त्यसलाई रोक्ने उपायमा अहिलेसम्म सरकारले ध्यान दिएको छैन । यस पटकको स्ववियू निर्वाचन संविधानसभाको चुनाव हुनुअघि नै हुँदैछ । यसले राष्ट्रिय राजनीतिकलाई दिशा निर्देश गर्ने काम गर्छ । स्ववियु निर्वाचनलाई हामीले नमुना संविधानसभा चुनावको रुपमा लिएका छौँ । हाम्रो संगठन लगायत मधेशी विद्यार्थी मोर्चा र अखिल क्रान्तिकारी लगायत परिवर्तनकारी कित्ता अर्काे ठुला दलका विद्यार्थी संगठन लगायतका विद्यार्थी संगठन जो यथास्थितिवादी, परम्परावादी, अवसरवादी, ढुलमुले चरित्र बोकेका छन् । परिवर्तनलाई आत्मसात गर्न नचाहने आम मधेशी, जनजाति, दलित एवं उत्पीडनमा पारिएकाहरुलाई अधिकार सम्पन्न हेर्न नचाहने प्रतिगामी कित्तामा उभिने यी ठुला संगठनलाई जवसम्म परास्त गर्न सकिदैन तबसम्म अन्य पिछडिएका तथा अल्पसँख्यक विद्यार्थीको अधिकार प्राप्त हुन सक्दैन अर्थात उसले गुणात्मक शिक्षा र विभेद रहित स्ववियू निर्माण हुनसक्दैन ।
जयप्रकाश यादव
अध्यक्ष, नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रन्ट

उत्पीडित र उपेक्षितको लागि स्ववियु हुनुपर्छ
सविधानसभाको चुनाव हुने चर्चा भइरहेको बेला हाम्रो स्ववियूको चुनाव हुन लागेको हो । यसले पक्कैपनि सविधानसभाको चुनावमा प्रभाव पार्नेछ । यो स्ववियू निर्वाचनले देशको समग्र राजनीतिमा कुनै प्रभाव नपारेपनि मधेशको राजनीतिमा अवश्य प्रभाव पार्ने हामीले विश्वास लिएका छौ । त्यो के हो भने मधेशवादी दलहरुको बीचमा मोर्चाबन्दीको सम्भावना नदेखिएपनि हामी मधेशी विद्यार्थी संगठनहरुले स्ववियूको निर्वाचनमा मोर्चाबन्दी गरेर जान्छौ त्यसको बारेमा छलफल भइरहेको छ । मधेश र मधेशीको शिक्षाका अधिकारका लागि हामी राजनीतिमा छौ त्यो कुराको अनुभूति मधेशी जनताले गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । राज्यको हरेक क्षेत्रमा विभेद छ त्यसको असर शिक्षामा पनि परेको छ । मधेशी विद्यार्थी संगठनहरुले जुन तयारीका साथ स्ववियू चुनावमा गइरहेका छन् त्यसले यो बुझ्नु पर्छ कि शिक्षाको क्षेत्रमा मधेशीको लागि आमूल परिवर्तन हुनसक्छ । यो स्ववियू चुनावमा विगतको विघठित सविधानसभाले पनि प्रभाव पार्ने छन् । विगतका सविधानसभामा भएका नभएका कामले गर्दा स्ववियू निर्वाचनमा उठ्ने मुद्दाहरु प्रभावित भएको हुन्छ । सविधानसभाताका शिक्षा लगायत हरेक विषयमा जसरी व्यख्या विश्लेषण भएको छ त्यसले अहिले आएर कुरा गर्न सजिलो बनाएको छ । हरेक व्यक्तिमा आफ्नो अधिकारको बारेमा सचेत गराएको छ त्यसैले यो स्ववियूको चुनावलाई विगतको विघटित सविधानसभा र हुन लागेको सविधानसभाको चुनावले अवश्य प्रभाव पार्ने छ र यसमा केन्द्रीय राजनीतिक र दलका नेताहरुको नजर रहेको छ । विभेदरहितको शिक्षा र रोजगार, रोजगारीमूलक शिक्षा, मधेशका जिल्लाहरुमा कृषि तथा वन विश्वाविद्यालयको स्थापना, मधेशका हरेक मुख्य शहर लगायत अन्य शहरहरुमा सरकारी कलेजको स्थापना, स्कूल तथा कलेजका विद्यार्थीहरुलाई उसनको प्रमाणपत्रको आधार सहुलित दलमा शैक्षिक ऋण उपलब्ध गराउनुपर्ने, शिक्षा, मनोरञ्जन, यातायात तथा खद्यान्न खरिदमा ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु लिएर चुनावमा जाँदैछौ । यी मागहरु पूरा भए भने मधेशको मात्र होइन कि सबैतिरको शिक्षा क्षेत्रमा ठुलो उपलब्धि हासिल गर्नेछ । अर्को कुरा त्रिवि अन्तर्गतका परिक्षा नियन्त्रण कार्यालय अन्तरर्गतका केही कामहरुको विकेन्द्रीकरण आवश्यक देखिएको छ । जस्तो, ट्रान्सक्रिप्त, मार्कसीट, प्रोभिजनल लगायतका कामहरु जिल्लास्तरका क्याम्पसहरुबाट हुनपर्ने टड्कारो आवश्यकता देखिन्छ । सम्पूर्ण अध्ययन अध्यापन जिल्लाका क्याम्पसहरुमा हुन्छन् जब मार्कसीट लिनुपर्यो, ट्रान्सक्रिप्ट लिनु पर्यो वा रि–टोटलिगं भर्नु पर्यो भने केन्द्रमै धाउनुपर्ने आवस्था देखिएको छ । त्यसले गर्दा थुप्रै विद्यार्थीहरुमा समस्या देखिएको छ । जसरी मुलधारको राजनीतिमा मधेशवादी दलहरु शक्तिशाली भएर आएका छन् त्यसरी नै मधेशी विद्यार्थी संगठनहरु आएभने स्ववियूको विकासमा कायापलट हुनेछ । स्ववियूको आडमा तीन ठुला विद्यार्थीहरु नेताहरु लुट नै मचाएका छन् । त्यहाँ हुने अनेक प्रकारको भ्रष्टाचार तथा अनियमितताले जाडा गाडेको छ । विद्यार्थीको भविष्यसँग सम्बन्धित थुप्रै गतिविधिहरु त्यहाँबाट हुने गरेको छ जबसम्म उत्पीडित र उपेक्षित समुदायले त्यसलाई आफ्नो कब्जामा लिदैन तबसम्म कल्याण हुनेछैन ।
लालबाबु साह
अध्यक्ष, संघीय विद्यार्थी मञ्च

तपाईको प्रतिक्रिया