नागरिकता वितरण टोलीमार्फत २०६३ सालमा वितरण गरिएका २६ वटा नागरिकता प्रमाणपत्रमाथि उजुरी परेको छ । नागरिकता प्राप्त गरेका व्यक्तिहरु गैर नेपाली भएको भन्दै प्रशासन कार्यालय कपिलवस्तुमा नागरिकता पाएकाहरु विरुद्ध बेनामी उजुरी परेको हो । उजुरी परेकाहरुमध्ये हालसम्म भने मात्र दुई जनाको नागरिकता बदर भएको छ । पहिलो संविधानसभा निर्वाचनअघि ०६३ माघ १ देखि चैत्र १५ सम्म वंशज, जन्मसिद्ध र वैवाहिक अंगिकृत गरी जिल्लामा ४८ हजार ८ सय १४ लाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिसकेको छ ।
०६३ फागुन १७ मा पैसाको बलमा गैर नेपालीले नागरिकता लिएको भन्दै माओवादीले दक्षिणी बलुहवा गाविसबाट १४ थान नागरिकता प्रमाणपत्र कव्जामा लिई कारबाहीका लागि प्रशासनलाई बुझाएको थियो । प्रशासनले गैर नेपालीले लिएको नागरिकताको विषयमा आफ्नो किसिमले बुझेको, प्रहरीमार्फत पनि सोधपुछ गरेको र गाविसमार्फत पनि एक चरणको अनुसन्धान गरेपनि ठोस निणर्य हुन सकेको छैन् ।
नागरिकता रद्द गर्न सक्ने प्रमाण हुँदा हुँदै पनि प्रशासनले १४ नागरिकता बारे केही निर्णय लिएको छैन । कार्यालय स्रोतका अनुसार नागरिकताका बारेमा निर्णय लिदा अनेक किसिमका दबाबको झमेलामा ब्यहोर्नुपर्ने भएकाले कुनै पनि प्रजिअ यस्तो निर्णय गर्न छिटो चाहदैनन् । २०६३ सालदेखि हालसम्म आधा दर्जन प्रजिअ फेरी सके पनि नागिरकता प्रकरणले हालसमम कुनै निकास पाउन सकेको छैन । भारतीय प्रहरीको सर्वाधिक खोजीमा रहेका कुख्यात अपराधी ईब्राहीम मुसलमानलले अभिराब गाविसबाट जन्मका आधारमा लिएको नागरिकता पनि खारेज भएको छ ।
बेनामे राष्ट्र प्रेमीले उजुरी गरेका आधारमा उनको नागरिकता छानबिन भएको थियो । भारतीय दबाबपछि गृह मन्त्रालयले मन्त्री स्तरीय निर्णय गरी उक्त नागरिकता खारेज गरेको थियो । भारतीय गुप्तचर संस्था ‘र’ को सुचना अनुसार काठमाडौंस्थित भारतीय राजदुतावासले दिएको विवरणका आधारमा प्रहरीले उनलाई विशेष महत्व दिई खोजी गरेको थियो । इब्रहीमले भारतको कानपुर बम काण्डमा आफू प्रत्यक्षमा संलग्न रहेकोे प्रहरी समक्ष स्विकार गरेका थिए । त्यस्तै अर्का शंकास्पद गतिबिधिमा संलग्न रहेको आरोप लागेका बिजुबाका मोहम्मद रफिक खाको पनि नागरिकता खारेज भएको छ ।
हिन्दु समुदायका एक भारतीय नागरिकले मुस्लिम बनेर नेपाली नागरीकता लिएको बिषयमा परेको उजुरीको छानबिन हुन थालेको ३ बर्ष हुँदा पनि प्रशासनले टुङ्गो लगाउन सकेको छैन् । भारतीय नागरिक तुषार अधिकारीले एजाज अहमदको नामबाट नागरिता लिएको उजुरी परेको थियो । सिहोखोर–९ मा बस्दै आएका उनलाई प्रशासनले छानबिनका नाममा सादा तारेकमा राखेको छ । भाारतको पश्चिम बंगालस्थित नदीया जिल्ला कठघडा गँउ थाना कृष्णानगर निवासी तुषारले पैसा खर्च गरेर ६ बर्षअघि खटिएको टोलीबाट नागरिकता लिएका थिए । उनले तिर्तिखी गाविसमा खटिएको टोलीले ०६३ फागुन ३० मा नागरिकता लिएका थिए । ३८३०÷१९ नम्बरको नागरिकता पाएका तुषारले घुम्ती नागरिकता टोली, गाविस सचिव, सनाखत र सरजमिन बस्ने तथा दलालहरुलाई गरी ३० हजार खर्च गरी नागरिकता लिएको बताईएको छ । उनको नागरिकता बनाउन तत्कालीन गाबिस सचिव पारसनाथ चौधरीले स्थायी बसोबासको प्रमाण तथा स्थानीय पाँच जनाले सरजमी मुचुल्का र तीन जनाले सनाखत गरेको थिए । उक्त प्रकृया सहित चार दलका गाबिस प्रतिनिधिले सरजमिन गरे पछि टोली प्रमुख कुपाशंकर गुप्ताले तुषारलाई नागरिकता दिए ।
भारतको सिद्धार्थनगर जिल्ला मदनाग्राम, गुलाब डिहबा घर भएका मोहम्मदरफिक खाँ को नगरिकता समेत रद्द भईसेको छ । उनलाई नागकिरता बनाउनका लागि सरजमिन बस्ने चार स्थानीय र गाबिस सचिवलाई दुई साताअघि पक्राउ गरेको थियो । अदालतले उनीहरुलाई तारेख र धरौटीमा छाडेको थियो ।
प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले उजुरीहरु माथि क्रमशः छानबिन गरिने बताउनुभयो । आफुलाई अझै सम्म कुनै प्रकारको दबाब नआएको भन्दै उहाले छानबिनमा गैर नेपालीले नागरिक्ता लिएकाको नागरिक्ता बदर तथा सहयोग गर्नेहरुलाई कारवाही गरिने समेत जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया