Khadya Bibhag

मन्त्रालय टुक्र्याउने विषयमा जसपा र काँग्रेसबीच छलफल जारी

काठमाडौँ जेठ २६–जनता समाजवादी पार्टीले प्रदेश २ सरकारसँग रहेको मन्त्रालयलाई टुक्र्याउन काँग्रस र माओवादी केन्द्रसँग छलफल गर्दैछ ।
जसपाले काँग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउनका लागि छवटा मन्त्रालयलाई १० वटा बनाउने भएको छ ।
जसपा नेपालको सरकारमा काँग्रेसले ३ र माओवादी केन्द्रले २ मन्त्रालय लिएर सरकारमा सहभागी हुने सहमति भएपनि औपचारिकता दिएको छैन । काँग्रेसका जिल्ला अध्यक्ष एवं प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले हालसम्म औचारिक सहमति भएको छैन, छलफल जारी छ सबै कुरामा सहमति भएपछि मात्र सम्झौतापत्रमा हस्ताक्षर हुने बताउनुभयो ।

उहाँले मन्त्रालय टुक्राउने कुरा भएको छ, कुन मन्त्रालय कसरी टुक्राउने, मन्त्रालय टुक्राउने औचित्य कतिको छ ती सबै विषयमा अहिले छलफल भइरहेको बताउनुभयो । काँग्रेस सरकारमा जाने सहमति भएको हो तर त्यसलाई औपचारिकता दिन बाँकी रहेको उहाँले बताउनुभयो ।
जसपा नेपालका कार्यकारिणी सदस्य एवं प्रदेश सरकारका मन्त्री रामनरेश यादवले काँग्रेससँग सहमति भएपनि औपचारिक रुपमा हस्ताक्षर हुन बाँकी रहेको बताउनुभयो । सरकारले ल्याउने वजेट, नीति तथा कार्यक्रम, मन्त्रालय टुक्र्याउनेलगायतका विषयमा प्याकेजमै सहमति हुन लागेको बताउँदै उहाँले छलफल चलिरहेको र सम्झौतापत्रमा हस्ताक्षर हुने सम्भावना रहेको बताउनुभयो ।

प्रदेश २ सरकारले भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन वन तथा वतारण मन्त्रालय, समाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय विभाजन गर्ने तयारी गरेको छ । तर यी मन्त्रालय टुक्राउँदा औचित्य पुष्टि हुनुपर्ने, त्यसको कर्मचारी व्यवस्थापन र कार्यविभाजन लगायतका विषयमा छलफल गरेर टुगों लगाउने भएको छ ।

प्रदेश २ मा जसपा नेपालका ५५ जना सांसद छन् । त्यसमध्ये ३० जना पूर्व समाजवादी पार्टी र २५ जना पूर्व राजपाका रहेका छन् । अहिले जसपाका कार्यकारिणी सदस्य एवं मुख्यमन्त्री लालबाबु राउतलाई संसदीय दलको नेता बनाउन जसपाका ३५ जना सांसदले हस्ताक्षर गरेका छन् । काँग्रेसका १९, माओवादी केन्द्रका ८, एमालेको २१, संघीय समाजवादी पार्टीका एक गरी १०४ सांसद छन् । सरकार बनाउनका लागि ५३ जना सांसद भए पुग्छ ।

 

तपाईको प्रतिक्रिया