उपेन्द्र यादवसँग किन टिक्दैनन् ठूला नेताहरु ?

‘कतिपयले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ‘यादव’ लाई मात्र पसन्द गर्नुहुन्छ भनि भन्छन् तर उहाँसँग आएका कतिपय यादव समुदायका नेताहरु पनि त्यहाँ बसेनन् । कतिपयले उपेन्द्र यादव कम्युनिष्ट नेतालाई मात्र रुचाउनु हुन्छ भनि भन्छन् तर उहाँसँग आएका कपितय कम्युनिष्ट नेताहरु त्यहाँ बसेनन् । कतिपयले उपेन्द्र यादव खाँटी मधेशवादीलाई मात्र रुचाउनु हुन्छ भनि भन्छन् तर उहाँसँग आएका कतिपय खाँटी मधेशीहरु पनि टिकेनन् ।’

उपेन्द्र यादवको साथमा डा.बाबुराम भट्टराईदेखि महन्थ ठाकुरसम्म, विजयकुमार गच्छदारदेखि रामेश्वर राय यादवसम्म, जितेन्द्र देवदेखि आशा चतुर्वेदीसम्मका नेताहरुले काम गर्नुभयो । तर ती नेताहरु अहिले उहाँका साथमा हुनुहुन्न । अहिले पार्टीभित्र डा.बाबुराम भट्टराईसँग मनमुटाव सुरु भएको छ । त्यसले गर्दा उपेन्द्र यादवले यतिखेर पार्टीभित्रको आन्तरिक द्वन्द झेलिरहनु भएको छ ।

उपेन्द्र यादवले समाजिक संस्थाको रुपमा मधेशी जनअधिकार फोरम नेपाल गठन गरेपछि उहाँका साथमा थुप्रै व्यक्तित्वहरु संगठित भएका थिए । तत्कालिन मधेशी जनअधिकार फोरम नेपालको प्रथम महाधिवेशन २०६० सालमा भएको थियो । २०६० साउन ११ गते उपेन्द्र यादवको अध्यक्षतामा १५ सदस्यीय कार्यकारिणी समिति गठन भएको थियो । त्यसमा उपाध्यक्ष महानन्द ठाकुर, सचिव रामकुमार शर्मा, कोषाध्यक्ष परमानन्द मेहता हुनुहुन्थ्यो । सदस्यहरुमा उदय पटेल, नेवालाल राय, जितेन्द्र सोनल, गिरेन्द्रप्रसाद यादव, जागेश्वर महतो, बीपी यादव, शिवराम यादव, रामप्रसाद साह, जीवछकुमार राय, कृष्णबहादुर यादव र जागेश्वर यादव हुनुहुन्थ्यो । यसमध्ये अहिले उहाँको साथमा कोही पनि हुनुहुन्न । त्यसपछि सो कार्यसमिति विस्तारै हुँदैगयो । पछि जेपी गुप्तालाई महासचिव बनाइएको थियो ।

–‘उपेन्द्र यादव जति ठूलो नेता हुनुहुन्छ त्यति ठूलो उहाँको मन छैन’

–‘उपेन्द्र यादवको व्यक्तिगत शैली उदार छैन, त्यही भएर स्वभिमानी व्यक्ति त्यहाँ टिक्दैनन्’

–‘पार्टीमा छानीछानी नेतालाई ल्याउनु हुन्छ तर पछि ती सबैलाई प्रतिस्पर्धी देख्न थाल्नु हुन्छ’

–‘उपेन्द्र यादवको विचार र सिद्धान्तलाई बुझ्न नसक्ने नेताहरु उहाँको साथ छाडेर हिडेका छन्’

–‘उपेन्द्र यादवलाई छाडेर गएकाहरु समाप्त भए, उपेन्द्रजी जस्ताको त्यस्तै हुनुहुन्छ, यसैबाट प्रष्ट हुन्छ गल्ती कहाँ छ’

–‘उपेन्द्र यादवमा ‘म’ प्रवृति हावी छ, र ‘हामी’ प्रवृति कमजोर छ त्यही कारणले नेताहरु टिक्न सकेका छैनन्’

कार्यसमिति विस्तारसँगै तत्कालिन फोरम आन्दोलनको तयारीमा लाग्यो । तराई मधेशदेखि काठमाडौँका विभिन्न ठाउँमा विचार गोष्ठीहरु गर्नुको साथै आन्दोलनका लागि तयारी प्रशिक्षणहरु पनि दिएको थियो । बिच बिचमा तत्कालिन फोरमको कार्यसमितिलाई विस्तार पनि गर्ने काम पनि भइरहेको थियो । पहिलो चरणको मधेश आन्दोलन पनि सम्पन्न भयो । पार्टीमा फोरममा जेपी गुप्ता, विजयकुमार गच्छदार, शरतसिंह भण्डारी, रामेश्वरराय यादव, रेणु यादवलगायत ठूला ठूला नेताहरु प्रवेश गर्नुभएको थियो । २०६४ मा पहिलो संविधानसभा सम्पन्न भयो । त्यसैक्रममा २०६५ जेठ १९ गते बसेको तत्कालिन मधेशी जनअधिकार फोरमको बैठकले केन्द्रीय समिति विस्तार गर्यो जसमा केन्द्रीय सदस्यको रुपमा विजयकुमार गच्छदार, रामजनम चौधरी, शरतसिंह भण्डारी, रेणु यादव, रामेश्वर राय यादव, अकवाल अहमद शाह, लालबाबु राउत र आशा चतुर्वेदीलाई मनोनयन गरिएको थियो ।

त्यसमध्ये अहिले उपेन्द्र यादवको साथमा रेणु यादव र लालबाबु राउतबाहेक कोही हुनुहुन्न । त्यतिबेला देखि उपेन्द्र यादवको साथमा जोडिनुभएका महादेव साह, परमानन्द झा, तिलक रावल, श्यामानन्द सुमन, सीताराम अग्रवाल, नन्दनकुमार दत्त, रामविलास यादव, डा.शिवजी यादव, रामवीर राय, ओमप्रकाश यादव, अभिषेक प्रताप शाह, श्रवणकुमार अग्रवाल, लक्ष्मण थारु, बीपी यादव, सन्ध्या देव, रम्भा देवी, सुरिताकुमारी साह, बलराम यादव, जितेन्द्र सोनल, सरिता गिरी, अमर यादव, किशोर विश्वास, कौशलकुमार सिंह, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रिजवान अन्सारी, भाग्यनाथ गुप्ता, केशव झा, सर्वदेव ओझा, भीराज चौधरी, वकिल मुसलमान, हेमराज तातैर, आशाकुमारी सरदार, शिवनारायण उराँव, रामानन्द मण्डल, भूपेन्द्र चौधरी, कलाबती दुसाध, निलम वर्मा, ललिता साह, मुगालाल महतोलगायतका नेताहरु अहिले उहाँको साथमा रहनु भएको छैन ।

२०७० साउन ३ गते बसेको तत्कालिन फोरमले पुनः १६ जना थपेर केन्द्रीय समिति विस्तार गर्यो त्यसमा भरतविमल यादवलाई केन्द्रीय सदस्य एवं वरिष्ठ नेतामा राख्यो । रामचन्द्र राय, साधु यादव, विरेन्द्र यादव, बसुद्दीन खान, विनिता यादव, पल्टन ठाकुर र सत्यनारायण मण्डललाई राखिएको थियो त्यसमध्ये अहिले उपेन्द्र यादवसँग कोही हुनुहुन्न । उहाँका साथ मधेशी नेताहरुले छाड्न थालेपछि उपेन्द्र यादवले पार्टीमा आदिवासी जनजातिलाई जोड् थाल्नुभयो । पार्टीलाई राष्ट्रिय पार्टी बनाउने सोच उहाँले बनाउनु र त्यसको सुरुवात उहाँले जनजातिका नेता अशोक राइ नेतृत्वको संघीय समाजवादी नेपालसँग एकीकरणबाट गर्नुभयो । अशोक राइसँग एकीकरण गरेपछि उपेन्द्र यादवको होस पल्टियो ।

एकीकरणपछि मधेशी जनअधिकार फोरमबाट संघीय समाजवादी फोरम नेपाल बन्यो । उपेन्द्र यादवको नेतृत्वको पार्टीबाट मधेशी शब्द बाहिर झिकियो । उपेन्द्र यादवको पार्टी पहाडी आदिवासी जनजाति र मधेशी मिश्रित राष्ट्रिय पार्टी बन्यो । पार्टी ठिक ठाक चलिरहेको थियो । उहाँले त्यसपछि केही पहाडी, आदिवासी जनजाति तथा मधेशका साना पार्टीहरुसँग पनि एकीकरण गर्नुभयो । त्यसपछि पार्टीको काम लिएर उपेन्द्र यादव हिमालसम्म पुग्नुभयो । उपेन्द्र यादवले आफ्नो पार्टीलाई अझै समावेशी र ठूलो बनाउनका लागि उहाँले डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालसँग २०७५ बैशाखमा एकीकरण गर्नुभयो । पार्टी झन समावेशी र शक्तिशाली भयो । बाबुरामका साथमा उपेन्द्र यादवसँग केही पहाडी, केही मधेशी, केही आदिवासी जनजाति, मुस्लिम नेताहरु पनि मिसिनुभयो ।

नयाँ शक्ति र संघीय समाजवादी फोरम मिलेर समाजवादी पार्टी बन्यो । समाजवादी पार्टी देशकै नमुना पार्टी जस्तो देखिएको थियो । उपेन्द्र यादवलाई पनि देशका एउटा पूर्व प्रधानमन्त्रीलाई पार्टीमा ल्याउन सफल भएको भनि गर्व भइरहेको थियो । उहाँले पार्टीको आन्तरिक बैठकदेखि लिएर खुल्ला कार्यक्रममा पनि त्यसको उदाहरण गर्वका साथ दिनुहुन्थ्यो । त्यसको आडमा विदेशमा पनि समाजवादी पार्टीको राम्रै संगठन बन्न थाल्यो । उपेन्द्र यादवको माग मधेशभन्दा पहाडमा बढी हुन थाल्यो । हिमालबाट पनि उहाँको बोलाहट सुरु भयो । सबै ठिकठाक चलिरहेको थियो । नयाँ शक्तिसँग एकीकरण गरेको दुई वर्ष मात्र पुगेको थियो । पार्टीको समायोजन काम पनि सकेको थिएन । त्यतिकैमा उहाँले २०७७ बैशाख १० गते महन्थ ठाकुर नेतृत्वको तत्कालिन राष्ट्रिय जनता पार्टीसँग एकीकरण गर्नुभयो ।

यदि त्यो दिन उपेन्द्र यादवले राजपासँग एकीकरण नगरेको भए रेणु यादव, इस्तियाक राइ, उमाशंकर अरगरिया, प्रदीप यादव, विमल श्रीवास्तव, डा.सुरेन्द्र यादवलगायतका नेताहरुले उहाँको पार्टी विभाजन गर्न हुन्थ्यो । उपेन्द्र यादवले आफ्नो पार्टी बचाउनका लागि एकीकरण गर्नुभएको कुरा सर्वत्र चर्चा हुने गरेको छ ।

समाजवादी पार्टी र राजपा मिलेर जनता समाजवादी पार्टी नेपाल बन्यो । उपेन्द्र यादव नेतृत्वको जसपा झन समावेशी र शक्तिशाली बन्यो । महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, राजकिशोर यादव, अनिलकुमार झा, शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ला, जितेन्द्र सोनल, रेशमलाल चौधरी, राजकुमार लेखी, वृषेशचन्द्र लाल, लक्ष्मणलाल कर्णजस्ता ठूला नेताहरु उपेन्द्र यादवको नेतृत्व स्विकार गरी जसपामा बस्नुभयो । मधेशमा एउटा ठूलो शक्ति बन्यो भनि देश विदेशमा यसको चर्चा हुन थाल्यो । सो पार्टीबाट माओवादी, एमाले र काँग्रेसले समेत थ्रेट महसुस गर्न थाल्यो । तर पार्टी एकीकरण छ महिना पनि पुगेको थिएन, उपेन्द्र यादव र महन्थ ठाकुरबीच खटपट सुरु भयो ।

नहुँदै २०७८ भदौमा जसपा विभाजन भयो । महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, शरतसिंह भण्डारीलगायतका नेताहरु उपेन्द्र यादवको साथ छाडेर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन गर्नुभयो । हुन त महन्थ ठाकुर पक्षमा रहेका महेन्द्र राय यादव, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, अमृता अग्रहरी, प्रमोद साहलगायतका थुप्रै नेता उपेन्द्र यादवकै साथमा बस्नुभयो । अहिले तीमध्ये अधिकाँश नेताहरु पनि उपेन्द्र यादवबाट असन्तुष्ट हुनुहुन्छ ।

अहिले डा.बाबुराम भट्टराई र उपेन्द्र यादवबीच खटपट सुरु भएको छ । उपेन्द्र यादवसँग कति दिन बस्नुहुन्छ भनि त्यसको ग्यारेन्टी छैन । डा.बाबुराम भट्टराईलाई महेन्द्रराय यादवले पनि साथ दिइरहनु भएको छ । त्यही महेन्द्रराय यादव हुनुहुन्छ जसले राजपासँग एकीकरण गर्नका लागि उपेन्द्र यादवको घरदैलोसम्म पुग्नु हुन्थ्यो । जसपामा सबभन्दा बढी विश्वासपात्र महेन्द्रराय यादव नै बन्नु भएको थियो । तर अहिले महेन्द्रराय यादव पनि उपेन्द्र यादवसँग असन्तुष्ट हुनुभएको छ । अहिले सबभन्दा बढी उपेन्द्र यादवको विरोध गर्ने नेता इस्तियाक राइ पर्नुभएको छ ।

यसरी उपेन्द्र यादवसँग जोडिएका अधिकाँश नेताहरु उहाँलाई छाडेर हिडिसक्नु भएको छ । अब प्रश्न उठ्छ यस्तो किन ? उपेन्द्र यादव नेतृत्वको पार्टीमा प्रवेश (२०७५ बैशाख) गरेर केही समय उहाँको साथमा काम गर्नु भएका राजनीतिक विश्लेषक तुलानारायण साह भन्नुहुन्छ, ‘उपेन्द्र यादव एउटा कुशल संगठनकर्ता हुनुहुन्छ, एउटा कुशल विचारक तथा लेखक हुनुहुन्छ, उहाँ दिनरात खट्नसक्नु हुन्छ, तर उपेन्द्र यादव जति ठूलो नेता हुनुहुन्छ त्यति ठूलो उहाँको मन छैन ।’ संगठनमा खट्नेमा विश्वास गर्नुहुन्छ तर उहाँको उदार मन नरहेको बुझाई साहको छ ।

जो जुन स्तरका व्यक्ति छन्, त्यसलाई त्यही स्तरको सम्मान दिन उहाँले सक्नु भएको छैन, कुनै व्यक्ति उहाँलाई भेट्न जाँदा सबैलाई शंकाको नजरले हेर्नुहुन्छ, र सबैसँग एकैखालको व्यवहार गरेको कारण अधिकाँश नेताहरु उहाँसँग टिक्न नसकेको उहाँको विश्लेषण छ । उहाँ संगठन बनाउनका लागि साना साना व्यक्तिको घर पुग्नुहुन्छ, ठूला ठूला व्यक्तिको घरमा पनि आफै पुग्नु हुन्छ, त्यो उहाँको गुण हो तर ती व्यक्तिहरुलाई पार्टीमा ल्याइसकेपछि सम्हालेर राख्न उहाँ नसकेको उहाँको बुझाई छ । अर्थात उहाँको व्यक्तिगत शैली उदार छैन, त्यही भएर स्वभिमानी व्यक्ति त्यहाँ नटिकेको साहले बताउनु हुन्छ ।

सुरुदेखि उपेन्द्र यादवको साथमा काम गरेर साथ छाड्नु भएका जेपी गुप्ता भन्नुहुन्छ, उपेन्द्रजी कहिले पनि बहु नेतृत्वको पक्षमा रहनु भएन । उहाँमा ‘मल्टी लिडरको कल्चर छैन, त्यही भएर नेताहरु उहाँको साथमा टिक्दैनन् ।’ उपेन्द्र यादवले नेताहरुलाई छानीछानी पार्टीमा ल्याउनुहुन्छ, केही दिन उहाँसँग काम गर्नुहुन्छ तर पछि उहाँलाई नै आफ्नो प्रतिस्पर्धी देख्न थाल्नु हुन्छ र पछि ती नेताहरु विस्तारै उहाँको साथ छाडेर हिड्ने गरेको गुप्ताको विश्लेषण छ ।

माओवादी, एमाले र काँग्रेसमा विभिन्न पुस्ताका नेताहरु साथमा रहेर काम गरिरहेका छन् । उनीहरुको बीचमा सहकार्य पनि हुन्छ, कहिले काही मनमुटाव पनि हुन्छ तर उहाँहरु एक अर्काको साथ छाड्नु हुन्न तर उपेन्द्र यादवको साथमा देशका दिग्गज दिग्गज नेताहरु जोडिनुभयो तर विस्तारै विस्तारै सबैले साथ छाड्नुभयो । उहाँका साथ छाड्ने केही नेता खराब हुनसक्छ तर सबै खराबै थिएनन् होला, गुप्ता भन्नुहुन्छ, उपेन्द्र यादवमा सबैको साथमा रहेर काम गर्ने खुबी छैन ।’

जसपा नेपालका मुख्यपत्र द सोसलिस्ट पत्रिकाका सम्पादक एवं प्रध्यापक विनोद कुमार विश्वकर्मा ‘विमल’ ले उपेन्द्र यादवको विचार र सिद्धान्तमा नचल्ने नेताहरुले उहाँको साथ छाडेको बताउनुभयो । पार्टी सञ्चालन गर्नका लागि उपेन्द्र यादवले जुन विचार र सिद्धान्त ल्याउनु भएको छ, त्यसलाई अरु नेताहरुले बुझ्न सक्नुभएको छैन, उहाँले भन्नुभयो, ‘उपेन्द्र यादवले पार्टीलाई समावेशी समानुपातिक ढंगबाट चलाउन खोज्नु हुन्छ तर ब्राहमणवादी सोच भएका नेताहरुलाई त्यो पच्दैन र ब्याक हुन्छन् ।’

उपेन्द्र यादवका साथ जजसले छाडेका छन् उनीहरुको अस्तित्व के छन्, उनीहरु अहिले कहाँ छन्, उनीहरु अहिले के गरिरहेका छन्, त्यो हेर्दा पनि सबै कुरा थाह हुन्छ । उनीहरु विचारका राजनीति गरिरहेका थिएनन्, गुटबन्दी र जालझेलको राजनीति गरिरहेका थिए त्यो कुरा अहिले उनीहरुको अवस्था हेरेर पुष्टि भएको प्रध्यापक विश्वकर्माको विश्लेषण छ । उपेन्द्र यादवमा कमी कमजोरी छैन त्यो कुरा भन्दिन, काम गर्ने शिलशिलामा जसको पनि केही न केही कमी कमजोरी हुन्छन् तर उपेन्द्र यादव एउटा बौद्धिक व्यक्ति हुनुहुन्छ जसको अगाडि ती नेताहरु टिक्न सक्नु भएन र साइड लाग्नुभएको उहाँको बुझाई छ । उपेन्द्र यादवलाई छाडेर गएकाहरु समाप्त भए, उपेन्द्र यादव अहिले पनि जस्ताको त्यस्तै हुनुहुन्छ, यसैबाट प्रष्ट हुन्छ गल्ती कहाँ छ, उहाँले भन्नुभयो ।

त्यस्तै, उपेन्द्र यादवको साथमा काम गर्नुभएका लोसपाका नेता शरतसिंह भण्डारी भन्नुहुन्छ, उपेन्द्रजीमा ‘म’ प्रवृति हावी भएको कारणले उहाँसँग नेताहरु टिक्दैनन् ।’ उपेन्द्र यादवमा ‘म’ प्रवृति हावी छ, र ‘हामी’ प्रवृति कमजोर रहेको हुनाले यस्तो समस्याहरु देखिने गरेको बताउँदै उहाँले व्यवहारमा सामुहिक नेतृत्व देखाइएन भने पार्टी मनमुटाव सुरु हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँसँग मेरो व्यक्तिगत सम्बन्ध राम्रो छ, अहिले पनि उहाँसँग कुराकानी हुन्छ तर उहाँका साथ जति नेताहरुले छाडेका छन् ती सबै ‘म’ र ‘हामी’ कारण ।’

तपाईको प्रतिक्रिया