Khadya Bibhag

दहेजको रकम लिएर उच्च शिक्षाका लागि मनिषा जब उड्नुभो अष्ट्रेलिया

बुवा मेरो विहेमा कति खर्च लाग्छ ।’ विन्देश्वरले भन्नुभयो, ‘कम्तीमा १४–१५ लाख लाग्छ ।’ अनि मनिषाले भन्नुभयो, ‘बरु मलाई त्यो १४–१५ लाख रुपियाँ दिनुस् म बाहिर कतै पढ्न जान्छु, पढेर म आफ्नो विहे आफै गर्छु तपाईहरुलाई कुनै भार दिन्न ।’

एक दिन विन्देश्वर महतो कमला नदीमा उभिएर भन्नुभयो, ‘हे कमलेश्वरी (कमला नदीलाई देवीको रुपमा पुज्ने चलन छ) माता मेरो जीवन सधै यस्तै रहन्छ त, म कति दिन यस्तै दुख गरेर जीवन बिताउछु त, मेरो दुखको दिन कहिले जान्छ, माताजी महिनाको एक सय रुपियाँ पाउने गरी भएपनि कतै जागिर लगाई दिनुस् ।’

यो अन्धविश्वास हो कि होइन थाह छैन तर आत्मविश्वास पक्कै हो । गरिबीबाट निमोठिएका विन्देश्वर महतो कमलेश्वरी माताप्रति विश्वास गरेर त्यो याचना गर्नुभयो । र, उहाँको त्यो विश्वास पुरा पनि भयो ।

केही दिनमै उहाँले भारतको समस्तीपुरमा एउटा होटलमा महिनाको एक सय रुपियाँको जागिर पाउनुभयो । विन्देश्वर महतो भन्नुहुन्छ, ‘कमलेश्वरी माताले मेरो पिडा सुनेर त्यहाँसम्म पुर्याउनु भयो कि भनि थाह छैन तर जसरी मातालाई पुकारे त्यसले मेरो अवाज अवश्य सुन्नुभयो जस्तो लागेको थियो त्यो बेला ।’ चार वर्षसम्म भारतमा काम गरेर उहाँ नेपाल फर्किनु भएको थियो । र, उहाँले ज्यामीको काम गर्नका लागि काठमाडौँ आउनुभयो । र, काठमाडौँमा मजदुरी र मेहनत गरेर एक छोरी र एक छोरालाई हुर्काएर उच्च शिक्षा दिलाउनु भयो । अहिले छोरी बीबीए अध्ययनका लागि अष्ट्रेलियामा हुनुहुन्छ भने छोरा इन्जिनियरिङ अध्ययनका लागि सुनसरीको धरानमा हुनुहुन्छ ।

विन्देश्वरको मजदुरी
धनुषा सवैला नगरपालिकाका विन्देश्वर महतो घरका जेठो छोरा हुनुहुन्छ । घरको आर्थिक अवस्था निकै कमजोर थियो । दिनमा काम गरेपछि मात्र राती खाने अवस्था थियो उहाँको । विन्देश्वर महतोको काँधमा बुढो आमा–बुवाको जिम्मेवारी छदै थियो त्यसमा पनि सानै सानै दुई भाइ र एक वहिनीको लालन पालन गर्ने जिम्मेवारी पनि उहाँकै थियो । त्यसले गर्दा उहाँ ११–१२ वर्षकै कलिलो उमेरमा अर्काको घरमा गएर मजदुरी गर्न थाल्नुभयो । उहाँका आमा–बुवा पनि कहिले काही अरुको खेतमा गएर मजदुरी गर्नुहुन्थ्यो । तर त्यसले घर चलाउन मुस्किल हुन्थ्यो । त्यसपछि विन्देश्वर महतो अर्काको घरमा मजदुरको रुपमा काम गर्न सुरु गर्न थाल्नु भएको थियो ।

तीनजना भाइ वहिनी र आमा–बुवासँग दैनिक गुजारा गर्न उहाँलाई धौधौ थियो । उहाँ विकल्पको खोजीमा हुनुहुन्थ्यो । तर चाहे अनुसारको काम कतै पाइरहनु भएको थिएन । 

गाउँकै रामप्रसाद साह तथा शितल नायकको घरमा मजदुरी गर्न बस्नु भएको विन्देश्वर महतोले उहाँहरुबाट वर्षमा पाँच मन धान मात्र पाउनु हुन्थ्यो । विन्देश्वरको लागि त्यो धेरै कम थियो । त्यसले उहाँलाई आफ्नो घरपरिवार चलाउन निकै गाह्रो भइरहेको थियो ।

विन्देश्वरले उहाँहरुको घरका सारा काम गर्नुको साथै गाई भैसी पनि चराउनु हुन्थ्यो । तर श्रम अनुसार पारिश्रमिक थिएन । त्यसले उहाँ निकै दुखि हुनुहुन्थ्यो तर उहाँसँग कुनै अर्को विकल्प पनि थिएन । तीनजना भाइ वहिनी र आमा–बुवासँग दैनिक गुजारा गर्न उहाँलाई धौधौ थियो । उहाँ विकल्पको खोजीमा हुनुहुन्थ्यो । तर चाहे अनुसारको काम कतै पाइरहनु भएको थिएन । उहाँलाई के लाग्यो कुनि, भगवानमाथि भरोस गरेर एक दिन कमला नदीमा गएर कमलेश्वरी मातालाई पुकार्नुभयो र भन्नुभयो, ‘हे कमलेश्वरी माता मेरो जीवन सधै यस्तै रहन्छ त, म कति दिन यस्तै दुख गरेर जीवन बिताउँछु, मेरो दुखको दिन कहिले जान्छ, माता महिनाको एकसय रुपियाँ भएपनि कतै जागिर लगाई दिनुस् ।’

सायद उहाँको यो विलाप माताले सुन्नुभयो । केही दिनपछि गाउँकै एकजनाले उहाँलाई होटलमा काम लगाई दिने भनेर भारतका समस्तीपुर लगेका थिए । त्यहाँ खान, बस्न सुविधाका साथै महिनाको एकसय भारु तलब थियो । विन्देश्वर महतो भन्नुहुन्छ, ‘मेरो महिनाको तलब एकसय भारु थियो तर यताउतीबाट महिनाको तीन चारसय रुपियाँ कमाउथे, आमा–बुवा तथा भाइ वहिनीका लागि प्रत्येक महिना त्यहाँबाट रकम पठाउँथे । त्यसले गर्दा पहिला जस्तो मेरो घरको अवस्था त्यस्तो रहेन सायद कमलेश्वरी माताले मेरो पुकार सुन्नुभएको थियो ।’


विन्देश्वर घरमा कमाएर दिन थालेपछि उहाँका आमा–बुवा खुशी हुनुहुन्थ्यो । भाइ वहिनीको लालनपालन पनि राम्रै चलिरहेको थियो । खासै ठूलो समस्या थिएन । विन्देश्वर पनि आफ्नो काममा रमाइ रहनुभएको थियो । एकदिन जसले विन्देश्वरलाई समस्तीपुर लगेका थिए, उसले अब नेपाल फर्किनु पर्छ, सधै एकै ठाउँमा काम गर्नुहुँदैन भनेर उहाँलाई लिएर नेपाल फर्केका थिए । विन्देश्वर फर्केपछि केही दिन घरमै अलमलमा पर्नुभयो ।

आमा–बुवाले कुनै दुख नपाओस् भनि विन्देश्वर हरहमेसा चिन्तित हुनुहुन्थ्यो । उहाँ आफै लेखपढ नगरेपनि भाइ वहिनीलाई पढाउनका लागि निकै प्रयास गर्नुहुन्थ्यो ।

काठमाडौको यात्रा
फेरि त्यही मान्छेले विन्देश्वरलाई लिएर काठमाडौ आए । विन्देश्वरले काठमाडौँमा ज्यामीको काम गर्न थाल्नुभयो । महिनाको १५–१६ सय रुपियाँ कमाइ हुन्थ्यो उहाँको । उहाँले कमाएको सबै रकम घरमै पठाउनु हुन्थ्यो । आमा–बुवाले कुनै दुख नपाओस् भनि विन्देश्वर हरहमेसा चिन्तित हुनुहुन्थ्यो । उहाँ आफै लेखपढ नगरेपनि भाइ वहिनीलाई पढाउनका लागि निकै प्रयास गर्नुहुन्थ्यो । काठमाडौँबाट घर जाँदा जहिले पनि भाइ वहिनीलाई पढ्नका लागि भन्नुहुन्थ्यो । आमाबुवालाई पनि भाइहरुलाई पढाउनु भन्नुहुन्थ्यो तर भाइ–वहिनीहरु नै पढ्न मानेनन् । कान्छो भाइ नौ कक्षासम्म पढे तर अरु स्कुलको अनुहार पनि देखेनन् ।

विन्देश्वरले आफ्ना आमा–बुवालाई जति माया गर्नुहुन्थ्यो त्यति माया उहाँले उहाँहरुबाट पाइरहनु भएको थिएन सायद घरको जेठो छोरा भएर होला । आमा बुवाले कान्छो छोराहरुमाथि विश्वास गर्नुहुन्थ्यो तर विन्देश्वरमाथि विभिन्न शंका उपशंका गर्नुहुन्थ्यो । विन्देश्वर भारतमा पनि काम गर्नुभयो र पछि काठमाडौमा पनि गर्नुभयो । त्यसले उसँग धेरै पैसा होला भनि आशंका उहाँका आमाबुवालाई थियो । विन्देश्वर भन्नुहुन्छ, ‘आफ्नो जीवनमा सबभन्दा ठूलो कुरा पैसा रहेछ भनि कुराको अनुभूती मैले गरेको थिए । आमा–बुवालाई पनि पैसा दिँदा माया गर्नुहुन्थ्यो, पैसामा अलिकता ढिलो हुँदा गाली, शंका र घृणा गर्नुहुन्थ्यो तर म कहिले पनि आमा–बुवाको बारेमा गलत सोचिनन् । उहाँहरुले मलाई जति घृणा गर्नुहुन्थ्यो मैले त्यति नै माया गर्थे ।’

विन्देश्वरले काठमाडौमा ज्यामीको काम गर्दा गर्दै तरकारी बेच्ने काम पनि सुरु गर्नुभएको थियो । कालीमाटीबाट तरकारी ल्याएर कुपण्डोलको सडकमा राखेर विहान बेलुका बेच्नु हुन्थ्यो र बाँकी समय ज्यामीको काम गर्नुहुन्थ्यो । काठमाडौँमै ज्यामीको काम गरिरहेको बेला २०५२ सालमा उहाँले सिरहा थल्हाका विमला देवी महतोसँग विहे गर्नुभयो । विहे गरेर दुई चार महिनाका लागि काठमाडौँ आउनु भएको थियो । उहाँ फेरि फर्केर गाउँ जानुभयो । विमला र विन्देश्वर बच्चा पाउने भयो । विमलाको पेटमा बच्चा भएपछि विन्देश्वर उहाँको रेखदेखमा घरमै समय दिन थाल्नुभयो । त्यसका लागि घरमा आमा–बुवासँग खटपट पनि हुन्थ्यो । तर त्यस अवस्थामा विमलालाई छाडेर विन्देश्वर कतै जान चाहनु भएको थिएन ।

विन्देश्वर ऋणका लागि गाउँभरि भौतारिनु भयो तर कसैले एक हजार रुपियाँ पनि दिएनन् । अन्त्यमा उहाँले श्रीमतीको आठ आना सुन २५ सय रुपियाँमा बेच दिनुभयो ।

विमलाले छोरीको जन्म दिनुभयो । यो कुरा विमलाको सासुलाई पचेको थिएन । त्यसमा पनि विन्देश्वरले घरमै डाक्टर बोलाउनु भएको थियो । त्यही दिन त्यही बेला उहाँका आमा–बुवाले विन्देश्वरलाई घरबाट अलग गर्दिनुभयो । विन्देश्वरका लागि सबभन्दा पहाडको दिन त्यही थियो । एक त आमा बुवाले घरबाट निकाल्दिनु भएको थियो । अर्कोतिर विन्देश्वरको हातमा एकपैसा पनि थिएन ।

उहाँले सुरुदेखि जति पैसा कमाउनु भयो सबै पैसा घरमा आमा बुवालाई नै दिनुभयो । तर आफूलाई चाहिएको बेला उहाँको हातमा एक पैसा पनि थिएन । विन्देश्वर ऋणका लागि गाउँभरि भौतारिनु भयो तर कसैले एक हजार रुपियाँ पनि दिएनन् । अन्त्यमा उहाँले श्रीमतीको आठ आना सुन २५ सय रुपियाँमा बेच दिनुभयो ।

त्यसले प्रसुतीको स्याहार सुसार गर्नुको साथै दैनिक खर्चबर्च गर्नुभयो । डाक्टरकै फी दुई हजार बाँकी थियो तर विन्देश्वरको अवस्था हेरेर डाक्टरले एक हजार रुपियाँ मात्र लिनु भएको थियो । डाक्टरले त्यति बेला विन्देश्वरलाई भन्नुभएको थियो, ‘घरमा लक्ष्मी जन्म लिएका छन्, अहिले सुरुमा दुख पाउनु हुन्छ तर तपाईको दुखको दिन विस्तारै हराउँदै जान्छ तपाई अहिले धैर्य गर्नुस् ।’

६ महिनाको छोरी र श्रीमतीलाई लिएर विन्देश्वर काठमाडौँ आउनु भयो । भाडाको कोठामा श्रीमती र छोरीलाई राख्नुभयो । घर व्यवहार चलाउनका लागि विन्देश्वरले फेरि मजदुरी गर्न थाल्नुभयो । दिनमा मजदुरी गर्नुहुन्थ्यो । र विहान बेलुका तरकारी ल्याएर बेच्नु हुन्थ्यो ।

छोरी अलि हुर्केपछि श्रीमती विमलाले पनि विन्देश्वरलाई कामममा सघाउन थाल्नु भयो । विन्देश्वर विहान चार वजे उठेर कालीमाटी जानु हुन्थ्यो । त्यहाँ तरकारी र मम्फली बदाम खरिद गरेर ल्याउनु हुन्थ्यो । कुपण्डोलको बागमती किनारमा तरकारी राखेर बेच्नु हुन्थ्यो भने विमलाले टोलमा डुलेर मम्फली बदाम बेच्नु हुन्थ्यो ।

विन्देश्वरले पछि ज्यामीको काम छाड्नु भयो । विहान नौ वजेसम्म तरकारी बेच्नु हुन्थ्यो अनि त्यसपछि ल्वाङ र सुकमेलको पकेट बनाएर असनवजारतिर बेच्न जानु हुन्थ्यो । चार वजेसम्म असनवजारमा घुमेर ल्वाङ र सुकमेल बेच्नु हुन्थ्यो । फेरि पाँच वजे घर फर्केर त्यही वागमती किनारमा राती ८–९ वजेसम्म तरकारी बेच्नु हुन्थ्यो । यस्तै दिनचार्या थियो विन्देश्वरको । विन्देश्वर छोरी र श्रीमतीलाई लिएर काठमाडौँ आइसकेपछि घरमा आमाबुवालाई पैसा पठाउन छाड्नु भएको थियो ।

घर बच्चा जन्मेपछि जुन दुख उहाँले पाउनु भएको थियो त्यसैको रिसमा उहाँ घरमा पैसा पठाउन बन्द गर्नुभएको थियो । यता, विन्देश्वरको आम्दानीसँगै खर्च पनि बढी रहेको थियो । त्यही बीचमा एउटा अर्को बच्चा (छोरा) पनि भयो । दुईटा बच्चालाई पाल्नु विन्देश्वरका लागि निकै गाह्रो थियो तर उहाँले हिम्मत हार्नुभएन । उहाँले थप परिश्रम गर्न थाल्नुभयो । विहान चार वजे उठेर राती १०–११ वजेसम्म काम गर्नुहुन्थ्यो । उहाँले तरकारीका साथै अन्य समानहरु पनि घुमफिर गरेर बेच्न थाल्नुभयो । बच्चाको पढाई लेखाई र स्याहार सुसारका लागि एक एक पैसा जम्मा गर्न थाल्नुभयो ।

ईटा बच्चालाई पाल्नु विन्देश्वरका लागि निकै गाह्रो थियो तर उहाँले हिम्मत हार्नुभएन । उहाँले थप परिश्रम गर्न थाल्नुभयो । विहान चार वजे उठेर राती १०–११ वजेसम्म काम गर्नुहुन्थ्यो ।

उहाँले घरमा पनि आफ्ना भाइहरुलाई भन्नुभएको थियो, ‘अब पहिला जस्तो मेरो अवस्था छैन, मेरा आफ्नै श्रीमती छ, बच्चाहरु छन् अब तिमीहरुले पनि केही छुट्टै गर्नुपर्छ ।’ पछि उहाँले आफ्ना दुवै भाइलाई काठमाडौँ ल्याउनुभयो । एकजना ज्यामीको काम गर्न थाल्नुभयो भने अर्को भाइ न्युरोडबाट इलेक्ट्रोनिक्स समान ल्याएर बेच्नु हुन्थ्यो । भाइहरु कमाउन थालेपनि घरको पुरा जिम्मेवारी विन्देश्वरकै काँधमा थियो । दुईटा बच्चा, घरमा आमा–बुवा तथा भाइ वहिनी । एक दिन विन्देश्वरको मामाले काठमाडौँमा बच्चा राखेर गाह्रो भइरहेको छ भने दुईटै बच्चालाई यहाँ घरमा राखेर काठमाडौँमा काम गर्दा राम्रो हुने सुझाव दिनुभएको थियो तर विन्देश्वरले मान्नुभएन । उहाँले अब दुखसुख गरेर बालबच्चालाई लिएर काठमाडौँ नै बस्ने भन्नुभएको थियो । उहाँका बच्चाहरुलाई पनि गाउँमा बस्ने मन थिएन । उहाँले भन्नुभयो, मेरा दुखका दिनहरु गएका थिएनन् । गुजाराका लागि निकै मेहनत गर्नुपरेको थियो ।’ बच्चाहरुका इच्छा पूरा गर्न, उनीहरुको पढाई लेखाईको फि तिर्न आफ्नो पेट काटेर पनि उहाँले पुरा गर्नुहुन्थ्यो ।

 

छोराछोरीलाई शिक्षा
विन्देश्वर महतो आफू स्कुलको मुख पनि हेर्नुभएको छैन । लेख पढ जान्नु भएको छैन । हस्ताक्षर गर्न समेत उहाँलाई आउँदैन तर उहाँले आफ्ना छोराछोरीलाई पढाउने अठोट लिनुभयो । उहाँले आफ्ना छोरा–छोरीलाई कुपण्डोलकै रुपक स्कूलमा भर्ना गर्नुभएको थियो । विन्देश्वरले आफू जति दुख सहे पनि छोराछोरीलाई कहिले दुख महसुस हुन दिनुभएन । उनीहरुको सबै इच्छा पुरा गर्नुहुन्थ्यो । स्कूल फी खाई नखाइ तिर्नुहुन्थ्यो । कतिपयले त छोराछोरीका लागि यत्रो दुख किन गरेको पनि भन्नुहुन्थ्यो । तर त्यसको जवाफमा विन्देश्वर भन्नुहुन्थ्यो, ‘मैले नपढीकन यतिका दुख पाइरहेको छु, भोली गएर मेरा छोरा–छोरीले म जस्तै दुख नपाओस् भनेर खर्च गरेर भएपनि पढाई रहेको छु र उनीहरुले जति पढ्छ चाहन्छन् त्यति पढाउँछु ।’ र विन्देश्वर त्यस्तै गर्नुभयो ।

दुवैजना छोराछोरीलाई रुपक स्कुलबाट एसएलसी पास गराउनुभयो । मानभवनको क्यारिविन कलेजबाट छोरी मनिष महतो ब्याचलर पास गर्नुभयो भने सेन्ट जेभियरबाट छोरा धर्मेन्द्र महतो प्लस टु पास गर्नुभयो । छोरी मनिषा ब्याचलर पास गरेपछि त्यसको विहे गर्ने भनि व्यवस्थामा विन्देश्वर लाग्नुभयो । विन्देश्वरले दुखसुख गरी छोरीको विहेका लागि जनकपुरमा जमिन किनेर राख्नु भएको थियो । त्यही पाँच धुर जमिन बेचेर ४० लाख रुपियाँ छोरीको विहेका लागि ठिक पार्नु भएको थियो । छोरी मनिषाका लागि केटा हेर्ने काम पनि सुरु भएको थियो । घरमा विहेको चर्चा हुन थाल्यो ।

त्यो थाह पाएर, एक दिन मनिषाले आफ्ना बुवा विन्देश्वरसँग सोध्नुभयो, बुवा मेरो विहेमा कति खर्च लाग्छ ।’ विन्देश्वरले भन्नुभयो, ‘कम्तीमा १४–१५ लाख लाग्छ ।’ अनि मनिषाले भन्नुभयो, ‘बरु मलाई त्यो १४–१५ लाख रुपियाँ दिनुस् म बाहिर कतै पढ्न जान्छु, पढेर म आफ्नो विहे आफै गर्छु तपाईहरुलाई कुनै भार दिन्न ।’ एक छिन त विन्देश्वर सोचमा पर्नुभयो तर उहाँले छोरीको उच्च शिक्षाका लागि दहेजका लािग राखिएको रकम दिन तयार हुनुभयो । ‘तिम्रै विहेका लागि पैसा ठिक पारेर राखेको थिए । अध्ययनका लागि बाहिर जान यो पैसा चाहिन्छ भनि लैजानु भनेर दिए, विन्देश्वरले भन्नुभयो, छोरी अष्ट्रेलिया जाने तयारीमा लाग्नुभयो र उहाँ त्यो रकम लिएर जानुभयो, जुन रकम उसैको विहेका लागि जोहो गरेर राखेको थिए ।’


मनिषाको अष्ट्रेलिया गएको अढाई वर्ष भयो । मनिषा त्यहाँ अध्ययनको साथै जागिर पनि गरिरहनु भएको छ । वर्षको १५ देखि २० लाख रुपियाँ कलेजमा लाग्छ । मनिषाले त्यसको व्यवस्था आफै गर्र्नुहुन्छ । कहिले काही बुवालाई पनि सहयोग गर्नुहुन्छ । विन्देश्वर भन्नुहुन्छ, अहिले छोरीलाई पैसा पठाउनु पर्दैन, उल्टै उतैबाट कहिले काही पठाउँछन् ।’ कोरोनाको लकडाउनमा केही रकम यताबाट पठाउनु परेको थियो । अहिले त्यस्तो समस्या छैन । छोरी मनिषाले कसरी विहे गर्छन्, उसैले जानुन्, उसको जीवनमा आफ्नो कुनै हस्तक्षेप नरहेको विन्देश्वर बताउँछन् । उहाँले भन्नुभयो, मलाई विश्वास छ कि मेरो छोरीले जे गर्छन् त्यो राम्रै गर्छन् ।’

छोरा धर्मेन्द्र महतो धरानमा इन्जिनियरिङ पढी रहेका छन् । उसलाई खर्च पठाउनु पर्छ । कुपण्डोलमा रुपक स्कूलकै छेउमा विन्देश्वरको किराना पसल छ । श्रीमान श्रीमती त्यही किराना पसलमा दिन बिताउनु हुन्छ । विन्देश्वर भन्नुहुन्छ, ‘मेरा दुखका दिन गए पनि म ती दिनहरु विर्सेका छैनन्, र म जस्तो दुख अरुले नपाओस् ।’

तपाईको प्रतिक्रिया