प्रधानमन्त्री निवास पुगेरै अध्यक्ष ठाकुरले गराउनुभयो मधेश मुद्दा स्मरण

काठमाडौँ फागुन २८ गते । प्रधानमन्त्री शेरबहादुर देउवालाई आन्तरिक रुपमा सहयोग गर्दै आएपनि प्रतिपक्षमा बसेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री देउवालाई आज पुनः भेट्नु भएको छ ।

मधेशको मुद्दालाई लिएर पटक पटक प्रधानमन्त्री देउवालाई भेट्नु भएका अध्यक्ष ठाकुरले आज पनि मधेशको माग बारेमा सम्झाउनु भएको छ । सरकार गठन भएको यत्रो दिन हुँदा पनि मधेशको माग पुरा नभएको भन्दै ती मागहरु पुरा गर्नुपर्ने अध्यक्ष ठाकुरको माग रहेको बालुवाटार स्रोतले जनाएको छ ।

पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाको साथमा प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएका अध्यक्ष ठाकुरले मधेश मुद्दाको बारेमा वर्तमान सरकार गम्भीर नरहेको स्मरण गराउँदै मधेशको मुद्दा पुरा गराउन ध्यान दिन प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभएको स्रोतले जनाएको छ ।

जसपाका एक नेताका अनुसार नागरिकता विधेयक पास गराउनुपर्ने, आन्दोलनको क्रममा विभिन्न व्यक्तिमाथि लागेको मुद्दा फिर्ता, थुनामा रहेकालाई रिहा लगायतको विषयमा अध्यक्ष ठाकुरले कुरा राख्नु भएको छ ।

जवाफमा प्रधानमन्त्री देउवाले नागरिकता विधेयकलगायतका विषय संसदबाट पारित हुने विषय हो तर विपक्षी दल संसद अवरोध गरेको कारण हुन नसकेको यद्यपी आफ्नो प्रयास जारी रहेको प्रतिकृया दिनुभएको छ ।

तपाईको प्रतिक्रिया