Khadya Bibhag

टिकट कार्यकर्तालाई देउ व्यपारीलाई होइन (सम्पादकीय)

देशका ठूला व्यपारी विनोद चौधरी यसअघि एमालेमा हुनुहुन्थ्यो तर पछिल्लो समय काँग्रेसबाट फाइदा देखेपछि त्यसमा जानुभयो । यसपछि कहाँ फाइदा हुन्छ त्यहाँ जानसक्नु हुन्छ ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं मधेश प्रदेशका एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गर्नुभयो । त्यो कुराले अहिले निकै चर्चा भइरहेको छ । टिप्पणीकर्ताहरुले विभिन्न कोणबाट आआफ्नो टिप्पणी गरिरहनु भएको छ । मेयर सरावगीले प्रवेश गर्ने दिन समेत आफू काँग्रेसमा जान तयार थिए तर मोती दुगडले बीच बाटैबाट एमालेमा प्रवेश गराउनु भएको छ । अर्को कुरा उहाँले जनता समाजवादी पार्टी नेपालले काम गर्ने वतावरण बनाउन नसकेको गुनासो गर्नुभएको छ ।

उहाँले दिनुभएको यी दुई अभिव्यक्तिले सबै कुरा छर्लङ्ग हुन्छ । उहाँ काँग्रेसमा जान चाहनु भएको थियो तर केही कुरा नमिल्दा फर्किनु भयो र एमालेमा प्रवेश गर्नुभयो । सञ्चारमाध्यममा आएको समाचारका अनुसार काँग्रेसले स्थानीय तहको चुनावका लागि मेयरको टिकट सुनिश्चित नगरेपछि एमालेमा जानुभयो । एमालेले टिकट सुनिश्चित गरेको हो । अर्को कुरा, जसपाले काम गर्ने वतावरण दिएन जुन कुरा उहाँले भन्नुभएको छ, त्यो वतावरण के दिएन त्यो कुरा खुलाउनु भएको छैन । पाँच वर्ष मेयर पदमा रहँदा जसपामाथि यो आरोप कहिले लगाउनु भएन । ल पार्टीले उहाँको कुरा सुनेनन् होला तर सञ्चारमाध्यममार्फत उहाँले त्यो कुरा बाहिर ल्याउनुपथ्र्यो जुन ल्याउन सक्नु भएको थिएन ।

अहिले आएर यस्ता कुरा ल्याउनुको अर्थ स्पष्ट छ, बार्गेनिङ् । जसपामा टिकटको सुनिश्चितता देख्नु भएन अथवा टिकट पाए पनि चुनाव जित्ने अवस्थाको सुनिश्चित नभएपछि उहाँ पार्टी छाडेर जानु भएको हो । विजय सरावगी व्यपारी हुनुहुन्छ । उहाँ ठिक पाँच वर्ष पहिले अर्थात २०७३ चैत ६ गते तत्कालिन संघीय समाजवादी पार्र्टी (अहिलेको जसपा) मा प्रवेश गर्नुभएको थियो ।

जानकारहरु भन्छन्, पैसा तिरेर टिकट खरिद गरी पार्टीमा प्रवेश गर्नुभएको थियो । पाँच वर्ष कमाउनु भयो । अहिले जसपामा फाइदा नदेखेपछि उहाँ आफूलाई जहाँ फाइदा देख्नुभयो त्यहाँ जानुभयो । यो कुनै ठूलो कुरा होइन । व्यपारी हुनुहुन्थ्यो, र व्यपारीको बुद्धि लगाउनुभयो । गलती त उपेन्द्र यादवको छ जो त्यहाँका पार्टीका कार्यकर्ता जो मधेश आन्दोलनदेखि हरेक आन्दोलनमा योगदान दिएका थिए त्यसलाई टिकट दिनुपथ्र्यो तर उहाँले व्यपारीलाई टिकट दिनुभयो । जो एमालेमा आफ्नो फाइदा देख्नुभयो र त्यहाँ जानुभयो । यदि पार्टीका कार्यकर्ता भएको भए सायद यसरी यो अवस्थामा आउने थिएन ।

अहिले जसपामा फाइदा नदेखेपछि उहाँ आफूलाई जहाँ फाइदा देख्नुभयो त्यहाँ जानुभयो । यो कुनै ठूलो कुरा होइन । व्यपारी हुनुहुन्थ्यो, र व्यपारीको बुद्धि लगाउनुभयो । 

यो समस्या जसपामा मात्र होइन, साना ठूला सबै पार्टीमा देखिन्छ । व्यपारीले व्यपारका लागि टिकट लिन्छन् । त्यसपछि उनीहरुलाई जहाँ फाइदा हुन्छ । त्यहाँ जान्छ । देशका ठूला व्यपारी विनोद चौधरी यसअघि एमालेमा हुनुहुन्थ्यो तर पछिल्लो समय काँग्रेसबाट फाइदा देखेपछि त्यसमा जानुभयो । यसपछि कहाँ फाइदा हुन्छ त्यहाँ जानसक्नु हुन्छ । उहाँलाई कसैले रोक्न सक्दैन । शिक्षामा लगानी गरी व्यपारी हुनुभएका उमेश श्रेष्ठ यसअघि माओवादी केन्द्रमा हुनुहुन्थ्यो तर त्यहाँ फाइदा नदेखेपछि काँग्रेसमा आएर सांसद बन्नुभयो अहिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा राज्यमन्त्री हुनुहुन्छ ।

अहिले एमालेमा रहनु भएका मोती दुगद त्यसअघि नेपाल सद्भावना पार्टी हुँदै नेपाली जनता दलमा जानु भएको थियो । पछि आफ्नै पार्टी पनि बनाउनु भएको थियो । पछि अरु कुन कुन पार्टी चहार्दै एमालेमा जानुभयो । उहाँलाई केपी शर्मा अ‍ोलीले राज्यमन्त्री पनि बनाउनु भएको थियो । अहिले सरकारमा हुनुहुन्न फेरि कतै साइड लाग्ने सोच्दै हुनुहुन्छ ।

अर्का व्यवसायी दुर्गा व्यवसायी केपी ओली र प्रचण्डलाई मार्सी चामलको भात खुवाएर चर्चामा आउनु भएको थियो उहाँ लामो समय माओवादीमा हुनुहुन्थ्यो, त्यहाँ उहाँले फाइदा नदेखेपछि अहिले एमालेमा जानुभएको छ । प्रचण्डको जस्तो प्रिय पात्र हुनुहुन्थ्यो त्यस्तै प्रिय पात्र अहिले ओलीको हुनुभएको छ । पर्साका बसरुद्दीन शाहलाई कसैले विर्सेको छैन कहाँ हुनुहुन्थ्यो कहाँ पुग्नुभयो ।

यस्ता थुप्रै व्यपारीहरु छन् जो माथिमाथि नेताहरु कुरा मिलाउँछन् टिकट लिन्छन् वा अन्य लाभका पद लिन्छन् पछि त्यहाँ फाइदा नदेखेपछि अर्को पार्टीमा लाग्छन् ।

यदि पार्टीका असली कार्यकर्ता भएको भए यसरी ह्वात्तै पार्टी छाडेर जान सक्दैन्थ्यो । नेताहरुको गलतीका कारण यी भइरहेका हुन्छन् । अब आउन लागेको चुनावमा पार्टीका कार्यकर्तालाई मात्र टिकट दिनुपर्छ र व्यपारीलाई साइद लगाउनुपर्छ । त्यसले मात्र पार्टीलाई बलियो र संगठित बनाउँछ ।

तपाईको प्रतिक्रिया