जसपामा ‘हेभी डिस्कसन’ को प्रतिक्षा

जुन जुन नेता बाबुराम भट्टराईलाई साथ दिने पक्षमा देखिएका थिए, त्यस्ता नेताहरुलाई अध्यक्ष उपेन्द्र यादवले एक्ला एक्लै भेट्न थाल्नुभयो । एकएकजनासँग भेट्दै समस्यालाई समाधान गर्दै अध्यक्ष भट्टराई र वरिष्ठ नेता अशोक राइलाई पनि सहमतिमा ल्याउन सफल हुनुभयो ।

जनता समाजवादी पार्टी नेपालको संकट स्थानीय चुनावसम्मका लागि टरेको छ । नेतृत्वको विषयलाई लिएर जसपामा पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई अन्तरद्वन्द थियो । त्यो अन्तरद्वन्का कारण पार्टी नै विभाजन हुने अवस्थामा पुगेको थियो । त्यसको नेतृत्व अध्यक्ष भट्टराईले गर्नुभएको थियो । पार्टीमा आफ्नो शक्ति देखाउनका लागि हस्ताक्षर हभियानदेखि लिएर विभिन्न गोप्य छलफलहरु पनि गर्नुभयो । यहाँसम्म कि निर्वाचन आयोगमा एउटा नयाँ पार्टी दर्ता पनि गर्न लगाउनुभयो । कार्यकारिणी र संसदमा आफ्नो बहुमत पुर्याए पनि केन्द्रीय समितिमा उहाँलाई गाह्रो भइरहेको थियो । तर त्यसका लागि पनि प्रयास उहाँले जारी राख्नु भएको थियो ।
उहाँको चाहना पार्टीको कार्यकारिणी अध्यक्ष बन्नु थियो । पार्टीको अन्तरिम विधानमा दुईजना अध्यक्षको व्यवस्था छ । त्यही विधानलाई कार्यान्वयन गर्न अध्यक्ष भटट्राई पक्षको माग थियो । तर अध्यक्ष यादवले पार्टीमा दुईजना अध्यक्ष कुनै पनि हालतमा हुनुहुँदैन भने पक्षमा हुनुहुन्थ्यो । त्यसका लागि अध्यक्ष यादव, अर्का अध्यक्ष भट्टराई र वरिष्ठ नेता अशोक राइबीच पटक पटक छलफल भयो । दुईजना कार्यकारी अध्यक्ष रहनेमा सहमति हुन सकेन । पार्टीमा त्यही अन्तरद्वन्दका कारण कार्यकारिणी बैठक पनि प्रभावित भएको थियो ।
बैठकलाई छाडेर नेताहरुले आआफ्नो गुटहरुको भेला गर्न थाल्नुभयो । आआफ्नो पक्ष बलियो बनाउन थाल्नुभयो । अध्यक्ष भट्टराई उपेन्द्र यादवको पक्षमा रहेका नेताहरुलाई तान्नु हुन्थ्यो भने अध्यक्ष यादवले भट्टराई पक्षको नेता तान्नमा लाग्नुभएको थियो ।
जुन जुन नेता बाबुराम भट्टराईलाई साथ दिने पक्षमा देखिएका थिए, त्यस्ता नेताहरुलाई अध्यक्ष उपेन्द्र यादवले एक्ला एक्लै भेट्न थाल्नुभयो । एकएकजनासँग भेट्दै समस्यालाई समाधान गर्दै अध्यक्ष भट्टराई र वरिष्ठ नेता अशोक राइलाई पनि सहमतिमा ल्याउन सफल हुनुभयो । अध्यक्ष यादवमा यो खुबी पनि हो । जुन व्यक्तिका कारण आफू तथा पार्टीलाई क्षति भइरहेको छ, ती व्यक्तिलाई कसरी मिलाउन सकिन्छ हरएक उपाय खोजेर ती व्यक्तिलाई मिलाउने पक्षमा जाने क्षमता भएका व्यक्ति उपेन्द्र यादव हुनुहुन्छ । तर जुन व्यक्तिप्रतिको विश्वास हट्छ त्यसको पछि उहाँ जानु हुन्न ।
दुईजना अध्यक्ष राख्ने पक्षमा अध्यक्ष यादव थिएन र अहिले पनि हुनुहुन्न । अध्यक्ष भट्टराईसँगथ छलफल अध्यक्ष यादवको धारणा थियो, ‘पार्टी सञ्चालन पं्रकृया र निर्णय प्रकृयामा सबै पक्षलाई कसरी समायोजन गर्न सकिन्छ, गरौं तर पार्टीमा दुईजना कार्यकारी नराखौं ।’ त्यसको फलस्वरुप जसपामा तीन सदस्य मुख्यालय बनेको छ ।
मुख्यलयमा पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राइलाई राखिएको छ । पार्टीमा एकल नेतृत्व भएपनि अब हरेक निर्णय सामूहिक निर्णयका आधारमा हुनेछ । यसअघि आवश्यक निर्णय गर्ने अधिकार अध्यक्ष उपेन्द्र यादवसँग मात्र थियो । अध्यक्षको हैसियतमा कतिपय निर्णय एक्लै पनि गर्न सकिन्छ र त्यो कार्य अध्यक्ष उपेन्द्र यादवले गर्दै आइरहनु भएको थियो ।
त्यसैमा अध्यक्ष भटट्राई पक्षको आपत्ति थियो । एकल कार्यकारी अध्यक्षको हैसियतमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले जथाभावी निर्णय गर्ने गरेको आरोप सो पक्षका नेताहरुले लगाउँदै आउनु भएको थियो । सरकारमा मन्त्री पठाउँदा उपेन्द्र यादवले एकल निर्णयबाट पठाएको, राष्ट्रिय सभाको उम्मेदवार चयन गर्दा उपेन्द्र यादवले एकल निर्णयबाट पठाएको, जिल्लामा समायोजनहरु हुँदा कतिपय निर्णय उपेन्द्र यादवले एकल गरेको जस्ता अरोपा अध्यक्ष भट्टराई पक्षको थियो । तर अब यो मुख्यलय बनिसकेपछि यस्ता निर्णयहरुमा तीनैजनाको सहमति अनिवार्य हुन्छ ।

त्यसैमा अध्यक्ष भटट्राई पक्षको आपत्ति थियो । एकल कार्यकारी अध्यक्षको हैसियतमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले जथाभावी निर्णय गर्ने गरेको आरोप सो पक्षका नेताहरुले लगाउँदै आउनु भएको थियो ।

पार्टीको बैठकहरु बस्दा हुने निर्णयको माइन्युट बन्दा त्यसमा तीनजनाको हस्ताक्षरलाई अनिवार्य मानिएको छ । पार्टीको कुनै आकस्मिक वा आवश्यक निर्णय गर्नुपरे यो मुख्यलयले मात्र गर्नेछ । यो सहमति भएसँगै पार्टी विभाजनबाट जोगिएको हो । हुन त यो मुख्यालय बनेपछि अध्यक्ष उपेन्द्र यादवको अधिकार कटौती भएको छ तर उहाँ पार्टी बचाउन सफल हुनुभएको छ । पार्टीको नेतृत्व उहाँको भएपनि उहाँले कुनै पनि निर्णय एक्लै गर्न सक्नु हुन्न । एकल नेतृत्व र सामूहिक निर्णयमा अध्यक्ष भट्टराई पनि सहमत हुनुभएको छ । पार्टीका कार्यकारिणी सदस्य रामनरेश राय यादवले यी सबै व्यवस्थापना स्थानीय चुनावसम्मका लागि भएको हो, चुनावमा कुनै गलत सन्देश नजाओस् भनेर नै यो मुख्यालय बनाएर पार्टीभित्र ‘ड्यामेज कन्ट्रोल’ गर्ने काम गरेको बताउनुभयो ।
पार्टीमा नेतृत्व प्रणाली बहस जारी नै छ, तर स्थानीय तहको चुनावसम्म पार्टीका यी कुरालाई थाती राखिएको छ । कार्यकारिणी विस्तार, केन्द्रीय समिति विस्तार, पदाधिकारी चयन, कार्यविभाजन जस्ता सबै काम पार्टीमा अझै बाँकी छ । यी सबै विषयहरुमा चुनावपछि पार्टीमा ‘हेभी डिस्कसन’ हुनेछ । चुनाव लगतै असार १ र २ गते विधान अधिवेशन हुनेछ । त्यो अधिवेशनमा पनि नेतृत्व प्रणालीको विषयमा छलफल हुनेछ । त्यसपछि असोजभित्र पार्टीको एकता महाधिवशेन गर्ने सहमति गरेको छ, अन्य बाँकी विषय त्यहाँ पनि छलफल हुनेछ ।
फागुन ३० गते केन्द्रीय समितिको समापन बैठकलाई सम्बोधन गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीको सबै समायोजन पनि सकि सकेको हुन्छ, विधान अधिवेशन सम्पन्न भइसकेको छ, त्यसपछि महाधिवेशन गराउनेतिर लाग्ने जानकारी गराउनु भएको थियो । उहाँले प्रतिनिधि र प्रदेशसभाको चुनावअघि नै पार्टीको एकता महधिवेशन सम्पन्न गरिने जानकारी दिनुभयो । जसपा अध्यक्ष यादवले पार्टीमा अब कुनै प्रकारको विवाद तथा मनमुटाव नरहेको स्पष्ट पार्नुभयो । यो बीचमा पार्टीको बारेमा अनेक भ्रम फैलाउने काम भएको थियो । ती सबै भ्रमलाई यो केन्द्रीय समितिको बैठकले चिर्न सफल भएको र अब एक ढिक्का भएर पार्टी अगाडि बढ्ने बताउनुभयो ।
अध्यक्ष उपेन्द्र यादवले मात्र होइन, अध्यक्ष भटट्राईले पनि पार्टीमा अब कुनै प्रकारको विवाद नरहेको प्रष्ट पार्नुभएको थियो । फागुन २८ गते संघीय परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले स्थानीय तहको चुनावसम्म पार्टी एकढिक्का भएर अगाडी बढ्छ र चुनावपछि पनि पार्टीलाई एक ढिक्काबाट अगाडि बढाउनका लागि छलफलहरु जारी रहने बताउनुभयो । परिषद्कै बैठकमा पार्टी विभाजनको आरोप लागेपछि अध्यक्ष भट्टराईले आफू पार्टी विभाजन होइन, त्यसलाई एकढिक्का बनाउनका लागि प्रयास गरेको दावी गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘सिता मैयाले जसरी अग्नीपरीक्षा दिएका थिए, त्यसरी म पनि अग्नीपरीक्षा दिन तयार छु, मैले पार्टी विभाजन चाहेकै थिएन । ममाथि लाग्ने आरोप पुरै निराधार हो ।’
सहारा टाइम्स पत्रिकाबाट

तपाईको प्रतिक्रिया