को को छन् महन्थका स्लिपर सेलहरु ?
आठ महिनाअघि जनता समाजवादी पार्टीबाट अलग भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी चौतर्फी घराबन्दीमा परेको छ । गठन भएपछि हालसम्म पार्टीको कुनै बैठक बसेको छैन । कार्यकारिणी समितिबाहेक अन्य कुनै पनि समिति वा संगठन उसको छैन ।
संसदीय दलको नेता समेत चयन गर्न नसकेको लोसपाको केन्द्रीय कार्य समिति पनि बनेको छैन । लोसपा गठन भएको आठ महिना भइसकेको छ । भित्रभित्रै पार्टीको लेटरप्याडमा प्रदेश, जिल्ला, स्थानीय तहकमा तदर्थ समिति बनाइ रहेको छ । नेताहरुको अनुकुलताका आधारमा संगठन निर्माणको काम पनि अगाडि बढी रहेको छ । लोसपाका नेता मुकेश झाले भन्नुभयो, ‘लोसपा तमलोपा पनि होइन, जसपा र राजपा पनि होइन, लोसपा भिन्दै पार्टी हो, यसले आफ्नो तरिकाले काम गरिरहेको छ ।’ लोसपाले गरिरहेको काम बाहिर नदेखिएको मात्र हो, यसले संगठन निर्माणका कामलगायत अन्य थुप्रै गतिविधिहरु भित्रभित्रै गरिरहेको छ ।
लोसपामा थुप्रै ‘स्लिपर सेल्स’ छन् जसले नजानिदो तरिकाले काम गरिरहेको छ । मधेशका २२ वटै जिल्लामा ‘स्लिपर सेल्स’ खटि सकेका छन् उसल आफ्नो तरिकाले काम गरिरहेको उहाँले बताउनुभयो । लोसपाको काम केही दिनमा देखिने उहाँको दावी थियो । भित्रभित्रै संगठन निर्माणको काम द्रुत गतिमा चलिरहेको छ । मधेश प्रदेशमा लगभग प्रदेश, जिल्ला तथा स्थानीय तहमा संगठन बनिसकिकेका छन् । अन्य प्रदेशमा पनि सुरु भइरहेको छ । अरु दल जस्तो परम्परा ढंगबाट काम गर्न छाडेको बताउँदै उहाँले भन्नुभयो, लोसपा अब बोल्दैन काम मात्र गर्छ ।’ मधेशवादी दलहरु काम कम गर्छन्, हल्ला धेरै गर्छन्, हल्लाकै भरमा आफ्नो रोजीरोटी चलाई रहेका छन्, अब लोसपा त्यसबाट अलग छ ।
पछिल्लो समय पार्टीका लागि अर्को चुनौती थपिएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरकै साथमा काम गरेका दुईजनाले पार्टी गठन गर्नुभएको छ । वृषेशचन्द्र लाल पूर्वमा तराई मधेश लोकतान्त्रिक पार्टी गठन गर्नुभएको छ भने ह्रदयश त्रिपाठी पश्चिममा जनता प्रगतिशिल पार्टी गठन गर्नुभएको छ ।
यी दुवैजना महन्थ ठाकुरको सबभन्दा निकटका नेता हुनुहुन्थ्यो । उहाँ दुवैजनाले महन्थ ठाकुरको साथ छाडि सक्नु भएको छ । राजपा गठन हुँदा त्रिपाठीले महन्थको साथ छाड्नु भएको थियो भने लोसपा गठन हुँदा वृशेषचन्द्रले महन्थको साथ छाड्नु भएको हो । अहिले दुवैजनाले एउटा एउटा पार्टी गठन गर्नुभएको छ । त्यो पार्टी गठन गरेको कारण अन्ततः महन्थ ठाकुर नेतृत्वको लोसपालाई नै असर गरेको छ ।
तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालसँग अहिलेसम्म जतिजना जोडिएका ती सबै महन्थ ठाकुर नेतृत्वको तत्कालिन तमलोपा, राजपा निकट मात्रै हुन् । तमलोपा जतिजति मजवुत हुन्छ, लोसपा त्यति त्यति कमजोर हुँदैजान्छ । सबभन्दा बढी लोसपाको संगठन मधेश प्रदेशमा छ । अझ विस्तारको क्रममा थियो । अरुअरु पार्टीका नेताहरुलाई प्रवेश गराउने तयारी भइरहेको थियो । यसै बीचमा तमलोपा गठन भयो । त्यसले लोसपालाई ठूलो धक्का दिएको । तमलोपा गठनले सिर्फ लोसपालाई मात्र धक्का पुगेको छ ।
त्यस्तै, हालत पश्चिममा छ । लोसपाको थोर बहुत पश्चिममा पनि संगठन छ । तर महन्थ ठाकुरको दाहिने हात जस्तै रहेको ह्रदयश त्रिपाठीले पार्टी छाडेपछि पश्चिममा उसको संगठन त्यतिकै कमजोर थियो । पछिल्लो समय महन्थ ठाकुर, राजेन्द्र महतोको साथमा रहेका धेरै नेताहरु जसपातिर लागेका छन् ।
अहिले ह्रदयश त्रिपाठीले जनता प्रगतिशिल पाटी गठन गर्दा लोसपासँग बाँकी रहेका अन्य नेताहरुको आकर्षण सो पार्टीतिर देखिन थालेको छ । अर्थात ह्रदयश त्रिपाठीले पार्टी गठन गरेको कारण पश्चिममा लोसपालाई ठूलो धक्का लागेको छ । लोसपा पूर्वतिर र पश्चिम दुवैतिर घेरिएका छन् । बाँकी रहेको ठाउँमा जसपा र जनमत पार्टीले बेलाबेलामा तनाव दिइरहेकै हुन्छ ।


तपाईको प्रतिक्रिया