Khadya Bibhag

मधेशमा कसरी खस्कियो शिक्षा ? एक बहस

काठमाडौँ साउन १२ गते । मधेशी एकता समाजले ‘मधेशमा शिक्षा’ विषयक विचार मन्थन कार्यक्रम सम्पन्न गरेको छ ।

राजधानीमा विहिवार आयोजना गरिएको कार्यक्रममा वक्ताको रुपमा प्रोफेसर प्रमोद मिश्र, प्रोफेसर विनय कुसियैत, अधिकारकर्मी मोहना अन्सारी, अनुसन्धानकर्मी डा.सोहन साह, शिक्षक रामसुफल सदाय, सञ्जय पासी र महिला अधिकारकर्मी रीता साह हुनुहुन्थ्यो ।
सबैको एउटै धारणा थियो । मधेशको शिक्षा अवस्था एकदमै नाजुक छ । र, त्यसको कारक राज्य रहेको छ । राज्यको विभेदकारी नीतिका कारण देशमै शिक्षाको अवस्था फरक फरक देखिएको धारणा उहाँहरुको थियो ।

प्रोफेसर विनय कुसियैतले संविधानमा हकको व्यवस्था गरेपनि त्यो हक कहिले नपाएको बताउनुभयो । नीतिहरु बनेका छन् तर त्यसको कार्यान्वयनमा समस्या देखिएको बताउँदै उहाँले प्रदेशमा शिक्षाका लागि त्यति अधिकार नदिएको बताउनुभयो । संघले शिक्षामा भूमिका खेल्यो भने त्यसलाई कसैले रोक्न नसकिने बताउँदै उहाँले शिक्षाका लागि प्रदेशहरुमा संरचना निर्माण गर्नुपर्ने बताउनुभयो । मधेशको शिक्षामा देखिएको समस्या समाधानका लागि त्यही अनुसारको नीति बनाउनुपर्ने कुरामा जोड दिँदै उहाँले शिक्षामा समाजिक मूल्यमा ध्यान दिनुपर्छ, शिक्षाबाट केही गर्न सकिन्छ, त्यसको ठूलो महत्व छ भने थाह भयो भने शिक्षाको प्रतिशत बढ्न सकिने बताउनुभयो ।
मधेशमा प्राथमिक शिक्षाको झन विजोग रहेको बताउँदै उहाँले शिक्षालाई राम्रो बनाउनका लागि प्राथमिकता शिक्षा सुधारमा जोड दिनुपर्ने बताउनुभयो ।

प्रोफेसर प्रमोद मिश्रले मधेशको शिक्षाको अवस्था शहरभन्दा ग्रामिण क्षेत्रको झन विग्रको बताउनुभयो । जहाँ तल्लो जात अर्थात दलित समुदायको भएको ठाउँको शिक्षा खराब रहको पाइएको उहाँले बताउनुभयो । नेपालको मधेश र भारतको विहारको शिक्षाको अवस्था बराबर रहेको बताउँदै उहाँले मधेशमा विहारको प्रभाव परेको धारणा राख्नुभयो । भाषा र जातले पनि शिक्षामा निकै प्रभाव पार्ने गरेको उहाँले धारणा थियो । दलित भएको ठाउँमा एम्बेडकर पढाउनु पर्छ ।

अधिकारकर्मी मोहना अन्सारीले मुस्लिम समुदायमा शिक्षाको अवस्था राम्रो नरहेको बताउनुभयो । केही मान्छे आफै संघर्ष गरेर अगाडि बढेका छन् त्यो बेग्लै कुरा हो तर समग्रमा मुस्लिम समुदायको शिक्षाको अवस्था राम्रो नरहेको उहाँले बताउनुभयो । मधेशमा मदरसा शिक्षा विवादमा आएको बताउँदै उहाँले मुस्लिम समुदायको शिक्षाको तथ्यांक अपग्रेड नगरिएको कारणले पनि त्यस्तो अवस्था देखिएको बताउनुभयो । मदरसा शिक्षा अझै रिकोग्नाइज भएको छैन, मदरसामा पढेर आएकाहरुको कुनै क्याम्पसमा भर्ना हुँदैन जागिर पाउँदैन अर्थात मदरसा शिक्षाको आउटपुट के हो त्यसमा प्रश्न उठेको उहाँले बताउनुभयो । नेपालमा मुस्लिमको शिक्षा दलितभन्दा पनि तल रहको उहाँले धारणा राख्नुभयो ।

महिला अधिकारकर्मी रीता साहले मधेशका महिलाहरु खासगरि दलित समुदाय, दलित समुदाय, ओविसी समुदायको साक्षरता प्रतिशत एकदमै थोरै रहेको बताउनुभयो । सविधानको धारा ३१ मा आधारभूत शिक्षा अनिवार्य र निशुल्क गर्ने हक दिएको छ, संविाधानमै दलितको हकमा शिक्षाको व्यवस्था गरिएको छ, महिलाको शिक्षाको कुरा गरिएको छ भन्दै उहाँले संविधान पर्याप्त व्यवस्था गरिएको बताउनुभयो ।

मधेश प्रदेशमा दलित समुदायको लागि शिक्षालाई अनिवार्य गरेको छ, प्राविधिक शिक्षाको व्यवस्था गर्नुको साथै बेटी बचाउन, बेटी पढाउनु अभियान जस्ता कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । व्यवस्था राम्रो भएपनि त्यसको कार्यान्वयन पक्ष त्यति गतिलो नरहेको बताउँदै उहाँले अवस्था, समस्या र मनोविज्ञानको समस्या रहेको बताउनुभयो । मुख्य समस्या भाषाको रहेको बताउँदै उहाँले त्यसले शिक्षामा कतै न कतै प्रभाव पारेको बताउनुभयो ।

सञ्जय पासीले मधेशको शिक्षाको अवस्था निकै नाजुक छ, त्यसको दोषी राज्य हुनुको साथै त्यहाँको समाज पनि रहेको बताउनुभयो । मधेश प्रदेश सरकारले बेटी बचाउ, बेटी पढाउ कार्यक्रमको आयोजना गर्यो तर त्यही स्कूलकै छेउमा रहेको मुसहर समुदायका बालबालिकाहरु शिक्षाबाट बन्चित रहेको छ, त्यसको दोषी को त त्यसको बारेमा अध्यन गर्नुपर्ने बताउनुभयो । एउटा गाउँमा समुदाय अनुसार शिक्षाको अवस्था फरक रहेको बताउँदै उहाँले डोम जातीको विद्यार्थीलाई स्कूलको चर्पी सफा लगाउनु कहाँको शिक्षा हो भनि प्रश्न गर्नुभयो । शिक्षामा पनि उच्च जाती, तल्लो जाती, छुवाछुतले प्रभाव पारेको उहााले बताउनुभयो ।

अनुसन्धानकर्मी डा.सोहन साहले मधेशको शिक्षा सुदुरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशको हाराहारीमा रहेको बताउनुभयो । तथ्यांकलाई नै केलाउने हो भने मधेशको शिक्षाको अवस्था ध्यस्त जस्तै रहेको उहाँले बताउनुभयो । मधेश आन्दोलनपछि मधेशको शिक्षा झन खराब भएको विभिन्न तथ्यांकले देखाएको बताउँदै उहाँले मधेशका चारवटा क्याम्पस छन् जो टीयु भन्दा जेठा छन् तर त्यसको अवस्था दर्दनाक अवस्थामा रहेको बताउनुभयो । सुरुमा ती क्याम्पस राम्रो थिए तर जब मधेशीहरुले त्यसको नेतृत्व गर्न थालेपछि त्यसको अवस्था खस्किन थालेको उहाँले धारणा राख्नुभयो । अर्थात पंचायतको समयमा जजसले ती क्याम्पसको नेतृत्व गर्नुभयो, त्यो राम्रोसँग सञ्चालित हुन्थ्यो तर अहिले त्यस्तो नदेखिएको उहाँले बताउनुभयो ।

शिक्षक रामसुफल सदायले मधेशमा प्रत्येक वर्ष ४ देखि पाँच प्रतिशत विद्यार्थीले विद्यालय छाड्ने गरेका छन् तर त्यसको बारेमा सरकारलाई जानकारी नरहेको जस्तो लागेको बताउनुभयो ।

विद्यालयभन्दा धेरै बालबालिका बाहिर छन् तर त्यसको बारेमा न प्रदेश सरकार गम्भिर छ, न केन्द्र सरकार गम्भिर छ न स्थानीय सरकार गम्भिर देखिएको गुनासो गर्दै उहाँले विद्यालयभन्दा बाहिर दखिएको बच्चाहरु अधिकाँश दलित समुदायका रहेको जानकारी दिनुभयो । साँस्कृतिक सोच, जीवनशैली, आर्थिक अवस्थाका कारण बालबालिका भन्दा बाहिर रहेका छन् तर त्यसको लागि सरकारले सोचेको देखिदैन । बालबालिक स्कूल नगएर घरको काममा व्यस्त देखिएको बताउँदै उहाँले बालबालिकालाई शिक्षित गर्नुभन्दा भन्दा अभिभावकलाई शिक्षित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

मधेशी एकता समाजका अध्यक्ष डा.रविन्द्र यादवले मधेशीहरुमा एकताको भावनाको विकास कसरी गर्न सकिन्छ त्यसका लागि यो समाज गठन गरिएकोे बताउनुभयो । समाजको बारेमा जानकारी गराउँदै उहाँले मधेशमा शिक्षाको अवस्था खस्कदो छ त्यसका लागि सबै मधेशीहरु एकीकृत भएर लाग्नुपर्ने, मधेशीहरु आआफ्नो ठाउँबाट लाग्नुपर्ने आग्रह थियो ।

मधेशीहरु पहाडलाई शिक्षित गरे तर त्यही शिक्षाका छोराहरु आज खाडीमुलुकमा गएर रोजगारीमा लागेको दुखद पक्ष रहेको बताउँदै उहाँले मधेश उच्च जातीमा साक्षरको प्रतिशत बढी छन् तर त्यही दलित लगायत अन्य समुदायमा साक्षरको अवस्था राम्रो नदेखिएको बताउनुभयो । मधेशमा शिक्षा कमजोर हुनुुमा राज्य मात्र होइन, मधेशी आफै पनि दोषी रहेको उहाँको धारणा थियो ।

 

तपाईको प्रतिक्रिया