मधेश कमजोर गर्ने ‘ग्राण्ड डिजाइन’

जब जब मधेश केन्द्रीत दलहरु एक हुन्छन् तब तब ठूला राजनीतिक दलहरु कमजोर हुन्छन् । जब जब मधेश केन्द्रीत दल फुट्छन् तब तब ठूला ठूला राजनीतिक दलहरु बलियो हुन्छन् । २०६४ को संविधानसभा चुनावमा मधेश केन्द्रीत दलहरु एक भएर चुनाव नलडे पनि मधेशी मोर्चा (मधेशी जनअधिकार फोरम, तमलोपा र सद्भावना पार्टी) बाट भर्खर भर्खर आन्दोलन सम्पन्न गरेको कारण मधेशी जनताले ती दलहरुलाई पत्याएको थियो ।

भर्खर भर्खर आन्दोलनबाट आएको हुनाले त्यो चुनावबाट मधेश केन्द्रीत दल संविधानसभामा ठूलो शक्ति भएर आए । त्यतिबेला मधेशवादी दलकै कारण काँग्रेस, एमाले कमजोर भए । माआवादी पनि भर्खर जनयुद्धबाट आएको कारण जनताले उसलाई पनि साथ दिएको थियो । २०७० को दोस्रो संविधानसभा चुनावमा मधेश केन्द्रीत दलहरु अलग अलग थिए ।

आन्दोलन साथै गरेपनि चुनावको समयमा अलग भएका थिए । त्यतिबेला पहिलो मधेश आन्दोलनजस्तो रापताप पनि थिएन । तत्कालिन मधेशी जनअधिकार फोरम नेपाललाई माओवादी केन्द्रले काँखी च्यापेको थियो भने तत्कालिन तमलोपालगायत अन्य दललाई काँग्रेसले च्यापेको थियो । ती ठूला दलहरुले मधेशी केन्द्रीत दललाई अलग अलग राखी चुनावमा भाग लिएका थिए । त्यो चुनावमा मधेश केन्द्रीत दलहरुको बुरा हाल भयो । उपेन्द्र यादव बल्ल जित्नु भएको थियो भने अधिकाँश शीर्ष नेताहरु चुनाव हार्नुभएको थियो । त्यतिबेला ठूला दलहरु शक्तिमा आए । त्यसैको नतिजा हो, मधेशी, आदिवासी जनजाति, पिछडिएको अधिकारसहित संविधान निर्माण हुन सकेन ।

२०६४ मा मधेश केन्द्रीत दलको उपस्थिती बिलियो भएको कारण अधिकार सम्पन्न पहिचानसहितको अग्रगामी संविधान बन्ने सम्भावना बलियो थियो । मधेशी, आदिवासी जनजातिहरुले चाहेको जस्तो संविधान निर्माणको कार्य अगाडी बढेको थियो । तर कुरा काँग्रेस, एमालेलगायत ठूला दललाई पचि रहेको थिएन । त्यसपछि ठूला दलहरुले षड्यन्त्र गरेर संविधान नै विघटन गरेका थिए । मधेशवादी दलको शक्ति थाह पाइसकेका ठूला दलहरुले २०७० को चुनावमा ती दलहरुलाई एक हुन दिएन । मधेशीवादी दलहरु कमजोर भएपछि ठूला दलहरुले आफ्नो खुशी संविधान बनाए र आन्दोलनकै बीचमा त्यसलाई जारी पनि गरे । मधेशवादी दलहरुले अवाज उठाए, आन्दोलन पनि गरे तर त्यसको कुनै सुनुवाई भएन । संविधानमा आफ्नो कुरा उल्लेख गराउन सडकमा शक्तिशाली भएर मात्र हुँदैन सदनमा नै दरो उपस्थिती देखाउनुपर्छ भन्ने कुरा त्यतिबेला प्रमाणित भएको थियो ।

२०७४ को स्थानीय चुनावमा मधेशवादी दलहरु अलग अलग चुनाव लडेपछि प्रतिनिधिसभा चुनाव र प्रदेशसभा चुनावमा गठबन्धन गरेका थिए । गठबन्धन गरेकै कारण संघदेखि प्रदेशसम्म शक्तिशाली भएर आए जसपा र लोसपा । मधेश प्रदेशमा सरकार नै बनाउन सफल भयो भने केन्द्रमा पनि आफ्नो शक्ति जमाएर बसेका थिए । मधेशवादी दलको गठबन्धन भएकै कारण काँग्रेस कमजोर भएको थियो भने माओवादी र एमाले गठबन्धन गर्न बाध्य भएको थियो । ती दुईटा दलले गठबन्धन गरेपनि मधेशमा ती दलहरुले खासै उपस्थिति देखाउन सकेनन् । मधेशवादी दल एक ठाउँमा आएर चुनाव लड्दा यसरी शक्तिशाली बन्दो रहेछ भनि ठूला दलहरुले थाह पाएर नै यसपटकको चुनावमा ती दलहरुलाई मिल्न दिएन ।

बडो चलाकीपूर्वक काँग्रेस, एमाले र माओवादीले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई मिल्न दिइरहेका छैनन् ।

काँग्रेस, माआवादीले जसपा नेपाललाई च्यापेको छ भने यता, लोसपालाई एमालेले च्यापेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवलाई त माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मोहनी मन्त्र नै लगाउनु भएको छ । त्यस्तै, काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई मोहनी मन्त्र लगाउनु भएको छ । अध्यक्ष ठाकुर पनि देउवाको साथमा पाँच दलीय गठबन्धनमै रहन चाहनु भएको छ तर गठबन्धनका अन्य दलका नेताहरुले अध्यक्ष ठाकुरलाई प्रवेश गराउन मान्नु भएको छैन ।

गठबन्धनबाट अध्यक्ष ठाकुर निषेधमा परेपछि एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले उहाँलाई आफूतिर तान्नु भएको छ । जसपा–लोसपा मिल्न नदिने यो ठूलो षड्यन्त्र हो । दुवै दलमध्ये एकलाई बाहिर छाड्यो भने उनीहरु मिल्न सक्छ भनि बुझेर नै रणनीतिक ढंगबाट जसपा र लोसपालाई अलग अलग राख्ने रणनीति बनेको छ । यदि यी दुई अलग अलग भयो भने गत चुनाव जतिको पनि सीट आउँदैनन् ।

मधेशमा पनि काँग्रेस, एमाले, माओवादी केन्द्र हावी हुन्छ । ती दलहरुकै बीचमा प्रतिस्पर्धा हुन्छ । र, जसपा र लोसपाको सीट काटेर पनि ल्याउँछन् ।

मधेशमा लोसपा, जसपा कमजोर भयो भने न प्रदेशमा उसको सरकार हुन्छ न केन्द्रमै शक्तिको रुपमा रहन्छ । त्यसपछि उसले प्राप्त गरेको उपलब्धी पनि गुम्ने खतरा हुन्छ । लोसपा र जसपा मधेशमा कमजोर हुनु भनेको मधेश कमजोर हुनु हो । र, यसलाई कमजोर बनाउने काम अमेरिका र चीन पनि लागेको छ । अमेरिका र चीनको बुझाईमा जसपा र लोसपा भारत निकट हुन् । उसलाई भारतले जे भन्छ त्यही हुन्छ । यी दलहरु नेपाल–भारत सीमामा रहेको दल हुन् ।

यी दलमा भारतको प्रभाव बढी हुन्छ । त्यसैले यी दल कमजोर हुँदा नै राम्रो हुने भनि दुई दललाई मिल्न दिइरहेको छैन । मिल्न नदिनुमा भारतको पनि हात छ । भारतले लोसपालाई तानि रहेको छ भने चीनले जसपालाई तानि रहेको छ । तर भारतभन्दा बढी अमेरिका र चीनले यस विषयमा बढी खेलि रहेको जानकारहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया