मधेशमा वेरोजगारीः प्रति घण्टा ३५ जना बेरोजगारी युवा थपिदैं

–अनन्त अनुराग

लडकडाउनको समयमा लगभग १५ वर्षपछि गाँउ बसरे सामाजिक, आर्थिक, राजनीतिक समस्याबारे नजिकबाट बुझन्े अवसर प्राप्त भयो । लामो समयको अन्तरालपछि लकडाउनले मलाई आफैं जन्मेको हुर्केको समाजलाई पुनः बुझने मौका मिल्दा मैले विगतमा आफूले अनुभव गरेका भन्दा फरक अनुभुति गर्ने अवसर प्राप्त भयो ।

 म हुर्केको समाजको स्वरुप, चिन्तन, बनौट र व्यवहार कति परिवर्तन भयो भनेर मैले निकै मसिनो गरी लगभग दिनहँु अध्ययन गर्ने मौका पाए । 

आजको यो लेखमा अरु भन्दा पनि सबै भन्दा पेचिलो र समाजलाई प्रभाव पार्ने समस्याको रुपमा मैले बेरोजगारी समस्यालाई अनुभव गर्ने मौका मिल्यो । मेरो आफ्नै टोलको एक युवा जो मेरो भान्जा पनि हुन् । आज उनको बारेमा नै लेख्न मन लागेको छ । 

एउटै टोलमा भएको हुनाले घर जाँदा दिनहुँ उनीसँग भेटघाट भई रहन्थ्यो । सामान्य परिवारमा जन्मेको उनको आमा बुवा सामान्य किसान हुन् । एक्लै छोरा भएको हिसावले खेती किसानी गर्ने उनीसँग लगभग प्रर्याप्त खेत पनि रहेको छ । अब उनको अध्ययनको कुरा गरौं । उनी नजिकैंको कलेजबाट राम्रो डिभिजनमा प्लस २ पास गरेका छन् । 

गाँउमा अहिले प्रत्येक घरबाट कोही न कोही धन आर्जन गर्न विदेश जाने चलन नै चलेको हुनाले उनलाई पनि बाबु आमाले सैयक्डाको ३ पर्ने गरी २ लाख ऋण लिएर गल्फको एक देश पठाए । एउटा सामान्य परिवारको छोरा विदेश गएपछि घरमा परिवारका सदस्यहरुले सुनौलों सपना देख्नु ठुलो कुरौ नै भएन । 

तर, उनको दुर्भाग्य ठगको जालमा परेर विदेशमा पनि धेरै दिन बस्न नसकिने अवस्था सृजना भएपछि पुनः ऋण लिएर स्वदेश फर्किनु पर्यो । विदेश पठाएका एजेन्टले अहिलेसम्म उनको पैसा फिर्ता गरेको छैन । आज दिन्छु भोली दिन्छु भनेर त्यो ठगले उनलाई अल्झाई रहेका छन् । 

अब पुनः मेरो अनुभवको कुरा गरौं । अहिले उनी गाँउमा भारतबाट लकडाउनमा फर्केका राज मिस्त्रीको काम गर्ने एक समुहसँग मिलेर लेबरको रुपमा काम गरी रहेको थाहा पाएपछि म निशब्द भए । ती मिस्त्रीहरुको अनुपातमा अध्ययनको हिसावले उनीसँग शिक्षा बढी छ । 

तर, अवस्था यस्तो छ कि आज उनी उनै साक्षर राज मिस्त्रीसँग लेबरको काम गर्न परी रहेको छ । मैले यहाँ उल्लेख गरे अनुसार कुनै पनि कामको अपमान गरेको होइन, क्षमता अनुसार आफूलाई सजिलो लाग्ने र जानेको काम मज्जाले गौरवका साथ गर्न पाइन्छ । मैले केवल शैक्षिक स्तर अनुसार काम गर्नु पर्ने कुरालाई जोड मात्र दिएको हुँ । 

‘म बाध्यताले गर्नु परेको छ, विदेश गएको ऋण छ, घरमा विवाह गर्न योग्य एक बहिनी पनि छिन्’, मसँगको संवादले उनले भने, ‘घरमा कुनै आम्दानीको श्रोत पनि छैन, आमा पनि बिरामी हुनुहुन्छ, बुवाको पनि कुनै आम्दानी छैन, त्यही कृषिको भरमा बस्नुको विकल्प छैन, लेबरको काम गर्न मन नहुँदा हुदैं पनि काम गर्छु ।’ लकडाउनको समयमा नै उनलाई जिल्लाका चिनेका केही व्यक्तिलाई कुनै जागिर भए दिन आग्रह पनि गरे, लकडाउनले सबैतिर अवस्था नाजुक भएको हुनाले तत्काल दिन नसकिने उत्तर पाएपछि उनलाई मैले म सकेको केही गर्ने आवश्वासन दिएको छु ।

 बेरोजगारको चरम अवस्थाको यो केवल प्रतिनिधि घटना मात्रै हो । यस्ता घटना घरमा हुँदा लगभग दिनँहु मैले अनुभव गर्नु परयो । कारण  थियो टेलिभिजनको पर्दा दैनिक देशको ठूला नेता, मन्त्री, नीति निमार्णकर्तासँग अन्र्तवार्ता लिदाँ एउटा झिनो आशा लिएर छोरालाई कुनै पनि जागिर लगाई दिन म कहाँ आउने मेरो गाँउका ती तमामलाई मैले आफू एउटा सामान्य पत्रकार भएको बुझाउँन गाह्रो हुन्थ्यो । 

यस्तो बेरोजागरी समस्याले मधेश मात्रै होइन, देश नै आक्रान्त बनेको जस्तो महसुस त पहिले पनि नगरिएको होइन तर प्रत्यक्ष रुपमा अनुभव गर्दा भोलीका दिनमा यसले विकराल समस्याको रुपमा देखापर्ने अनुभुती पनि गरियो । बेरोजागरी समस्या प्रति स्थानीय तहसँग कुनै पनि योजना छैन । 

केवल विकास निर्माण अथवा सडकमा माटो, ग्राभेलाई नै विकासको मुल ठान्ने भ्रममा स्थानीय तहका नेतृत्व रहेको पाइन्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, महिला सशक्तिकरण, स्वरोजगार लगायतको विषयमा लगभग शुन्य गतिविधि रहेको पाइन्छ । 

विदेश जाने युवाहरुका लागि पनि कुनै पनि सिपमुलक तालिम सञ्चालन पनि गरेको पाइएन ता कि विदेश जाने युवा दक्ष भएर विदेश गए राम्रो पैसा आर्जन गर्न सकोस । कोही कोही त लगभग महिनाको २० हजार तलबमा विदेशमा काम गरेको पाइएको छ । विदेश जाँदा ३६ प्रतिशतमा लिइएको ऋण तिर्न पनि धौंधौं परेको छ । 

एक अनुमानित गैरसरकारी तथ्याकंक अनुसार नेपालमा बर्षेनी ५ लाख बेरोजगार युवाहरु श्रमबजारको लागि तयार हुने गरेको पाइन्छ । जसमध्ये लगभग जनसंख्याको हिसावले बढी जनघनत्व भएको मधेशको २२ जिल्लाबाट ३ लाख बेरोजागर युवाहरु श्रम बजारको लागि तयार भएको पाइन्छ । मधेशमा बर्षेनी ३ लाख बेरोजगार युवाहरु उत्पादन हुने भएको हुँदा यसलाई महिनामा हिसाव गर्दा मासिक २५ हजार बेरोजगार युवाहरु काम बिहिन हुने गरेको छ । 

त्यस्तै दैनिक रुपमा हिसाव गर्दा लगभग ८ सय ३३ जना बेरोजगार युवाहरु काम विहिन बेरोजगार रहेका छन् । यसलाई प्रति घण्टाको दरले हिसाव गर्दा ३५ जना युवा प्रति घण्टा काम नपाएर बर्षेनी बेरोजगार हुनु परेको भयावह स्थिती उत्पन्न भएको छ । यसतर्फ कसैको ध्यान गएको देखिदैंन, केही लोभमा युवाहरु अहिले बेरोजगार भएर भौतारी रहनु परेको छ भने थोरै पैसाको लागि गलत क्रियाकलापमा संलग्न समेत हुने गरेका छन् । 

राजनीतिक अधिकारको कुरा गर्ने राजनीतिक दलको प्राथमिकतामा युवालाई रोजगार भन्दा मठ, मन्दिर र मस्जिदमा बढी ध्यान केन्द्रित भएको तथ्याकं प्रदेश २ को सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट बुक हेर्दा प्रष्टै थाहा हुन्छ । 

मधेशी नागरिक समाजका संयोजक गणेश मण्डलका अनुसार, मधेशका युवाहरुलाई नेताहरुले दलको लठैटको रुपमा प्रयोग गर्नु भन्दा पनि उनीहरुलाई स्वरोजगार जीवन उपयोगी तालिम प्रदान गर्नुतिर कसैको ध्यान नगएको प्रति खिन्नता प्रकट गरे । संयोजक मण्डलका अनुसार अहिले मधेश इन्भेष्टमेन्ट कम्पनी खोलेर स्वरोजगारको लागि निजी बैंकहरुको सहकार्यमा सर्वसुलभ तरिकाले सस्तो ब्याजदरमा बिना धितो साना तथा मझौला खालको उद्यमशिलताको विकास गर्न २ सय उद्योग सन्चालन गर्ने योजना रहेको बताए । 

उनले भने, यसले मधेशमा चाहना भएर स्वदेश मै केही गर्ने युवाहरुलाई आर्थिक रुपमा बलियो बनाउन सहयोग गर्नेछ । 

यता, कोरोना भाइरसको माहामारी फैलिदै जाँदा बेरोजगारी समस्या संबोधन गर्न सरकारले श्रम बैंकको अवधारण अघि सारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी तथा सार्वजनिक क्षेत्रको सहकार्यमा २० लाख कामदारका लागि श्रम बैंकको अवधारण अघि सारेको हो । कोरोना भाइरसका कारण स्वदेश तथा विदेशमा रोजगार गुमाएका र प्रत्येक वर्ष थपिने श्रमिकहरुलाई रोजगारी दिलाउन छलफल गरिने योजना रहेपनि यसले मुर्तरुप लिन सकेको छैन ।

(लेखक अनुराग एबीसी टेलीभिजनका पत्रकार हुनुहुन्छ)

तपाईको प्रतिक्रिया