Khadya Bibhag

मधेशमा जनमत पार्टीको प्रतिस्पर्धी कुनै दल छैन

तराई मधेशमा एउटा मात्र दल जनमत पार्टीले एक्लै चुनाव लडेको थियो । अरु सबै दल गठबन्धनबाट चुनाव लडेका थिए, हाम्रो प्रतिस्पर्धा गठबन्धनसँग छ ।

–विनोद यादव
नेता, जनमत पार्टी
विद्यार्थी कालदेखि राजनीतिमा लाग्नु भएका विनोद यादव लामो समय काँग्रेस पार्टीमा काम गर्नुभयो । तत्कालिन स्वास्थ्य राज्यमन्त्री सुरेशचन्द्र दास यादवको नीजि सचिवालयमा काम गरेको अनुभव बटुल्नु भएका विनोद यादव पछि तत्कालिन मधेशी जनअधिकार फोरममा पनि निकै समय काम गर्नुभयो । त्यो पार्टीबाट चुनाव लड्ने तयारी पनि गर्नुभएको थियो । तर पछि सुरेशचन्द्र दास यादव काँग्रस छाडेर माओवादीमा गएपछि उहाँले विनोदलाई लिएर पनि जानुभयो । तर त्यहाँ धेरै लामो समय बस्नु भएन । स्थानीय चुनाव–२०७९ पछि उहाँ सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गर्नुभयो । उहाँ सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव पनि लड्नुभयो । जसपा र काँग्रसलाई कडा टक्कर दिएर १६ हजार ९०२ मत ल्याएर पराजित हुनुभयो । प्रस्तुत छ, उहाँको चुनावी अनुभव, जनमतको जन्म, अगामी योजनालगायतका विषयमा सहारा टाइम्सले जनमत पार्टीका नेता विनोद यादवसँग गरिएको कुराकानीको सम्पादीत अंशः

प्रचण्ड नेतृत्वको सरकारमा जनमत पार्टी सहभागी भएको छ । जनमत पार्टीले यति छिटो सत्ताको यात्रा तय गर्छ भन्ने तपाईलाई लागेको थियो ?
–जनमत पार्टीले एउटा यो मन्त्रालयका लागि मात्र यात्रामा निस्केको पार्टी होइन । देशकै नेतृत्व गर्ने गरी अगाडि बढेको हो । जनमत बन्नुअघि एउटा देश नै निर्माण गर्ने उद्देश्य लिएर हिडेको कुरा विर्सिनु हुँदैन । सोही संगठनबाट जनमत बनेको हो । अलगै देश बनाउने उद्देश्य त होइन, तर जनताराज कायम गर्न देशकै नेतृत्व गर्न जनमत पार्टी सक्षम छ । यो यात्रा त्यसको एउटा सुरुवात मात्र हो । हामी सत्ताको सहयात्री दल बनेका छौं त्यसमा हामीलाई कुनै आश्चर्य लागेको छैन । हामीलाई के थाह छ भने तराई मधेशमा देखिएको समस्या सडकभन्दा पनि सरकारबाट समाधान हुन्छ । काम हुने ठाउँ सरकार मात्र हो । सडकले दवाव सृजना गर्छ तर काम सरकारले गर्छ । त्यसैले हामीले आफ्नो माग पुरा गराउने माध्यम सरकारलाई पनि बनाएका छौं ।

विगतमा के देखिएको हो भने दलहरु सरकारमा जाँदा आन्दोलन कमजोर भएको छ, पार्टी टुटफुट भएको छ, जनमतको आन्दोलन पनि यसैगरि कमजोर हुने, पार्टी फुट्ने त होइन ?
–पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान सरकारको मोर्चा सम्हाल्नु हुन्छ, डाक्टर साहब (सिके राउत) सदनको मोर्चा सम्हाल्नु हुन्छ र हामी सडकको मोर्चा सम्हाल्छौं । हामी तीनटै ठाउँमा संघर्षरत छौं । जनमत पार्टी १० वर्ष सडकमा मात्र संघर्ष गरेको थियो अब दुईटा ठाउँ सरकार र सदन थपिएको छ । त्यहाँबाट पनि हाम्रो संघर्ष जारी रहन्छ । रह्यो पार्टी फुटको कुरा त्यसको सम्भावना दुरदुरसम्म छैन । अहिलेसम्म जतिवटा पार्टी छन् सबभन्दा अनुशासित पार्टी जनमत पार्टी नै हो । गडबड गर्नेहरुलाई जनमत पार्टीमा कुनै गुन्जाइस छैन ।

तपाई लामो समयदेखि राजनीतिमा हुनुहुन्छ तर जनमत पार्टीबाट प्रथमपटक चुनावमा भाग लिनुभयो, चुनावको अनुभव कस्तो रह्यो ?
–हो म लामो समयदेखि राजनीतिमा संलग्न छु तर यसपटक मैले प्रतिनिधि सभाका लागि चुनाव नै लडे मेरो लागि त्यो नयाँ अनुभव रह्यो । राजनीतिक गर्ने जतिको सजिलो चुनावमा भाग लिनु सजिलो छैन । असली राजनीति जब हुन्छ तब कुनै नेताले चुनावमा भाग लिन्छन् । चुनावमा भाग लिएपछि मात्र असली राजनीतिको अनुभूति हुन्छ । जनता के हो, जनताको अवाज के हो, उसको चाहना र आकाँक्षा के छन्, उ के चाहन्छन् लगायतका सबै कुरा एकैपटक चुनावमा जानकारी हुन्छन् । नेताको आफ्नो औकात पनि चुनावबाटै थाह हुन्छ । त्यसैले यो मेरो पहिलो चुनाव भएको कारणले मेरो लागि यो नयाँ अनुभव थियो ।

हामी चुनावमा मत माग्न जाँदा जनताको गुनासो र पीडा दुवै सुने । सबैले ती दलहरुको गुनासो नै गरेका थिए । अबको भरोसा भनेको होरन (जनमत पार्टी) नै हो भनि मतदाताहरु खुलेर भन्थे । जनताको कस्ता कस्ता पीडा छन् ती सबै चुनावकै समयमा व्यक्त गर्दो रहेछ ।

कस्तो अनुभव रह्यो त ?
–यतिका वर्षदेखि जनताले परिवर्तनको अनुभूती गरेको थिएन । यसअघि फोरम अहिलेका जसपा, लोसपालगायतका मधेशवादी केन्द्रीत दलहरु त्यहाँबाट पटक पटक चुनाव जिते तर ती दलहरुले जनतालाई परिवर्तनको अनुभूती दिलाउन सकेनन् । हामी चुनावमा मत माग्न जाँदा जनताको गुनासो र पीडा दुवै सुने । सबैले ती दलहरुको गुनासो नै गरेका थिए । अबको भरोसा भनेको होरन (जनमत पार्टी) नै हो भनि मतदाताहरु खुलेर भन्थे । जनताको कस्ता कस्ता पीडा छन् ती सबै चुनावकै समयमा व्यक्त गर्दो रहेछ । ती पीडाहरु अब सिके राउतले मात्र समाधान गर्न सक्छन् भने कुरा धेरैले भनेको मैले सुने र अनुभव पनि गरे । जनताको गुनासो पनि थियो, पीडा पनि थियो, जनताको आक्रोश पनि थियो र भरोसा पनि थियो । त्यो मेरो लागि नयाँ अनुभव थियो ।

तपाईले सक्रिय राजनीतिमा हुनुहुन्थ्यो त्यो अनुभवले तपाईको चुनावी राजनीतिमा कतिको सहयोग गर्यो ?
–यसअघि म पर्दा पछाडि रहेर राजनीति गरेको थिए । तर यसपटक म पर्दा अगाडि आएर राजनीतिमा सक्रिय भए । पहिला पनि म जनताको सेवक नै थिए । जनतालाई आइपर्ने समस्याको समाधान गर्थे । उसको मुद्दाहरु उठाउँथे । तर चुनावमा जनतासँग म जति घुलमिल हुन पाए त्यति घुलमिल पहिला भएको थिइनन् । तर अहिले जसरी म चुनावमा आफ्नो पहिचान स्थापित गर्न सके, जनताको मन जित्न सफल भए त्यो मेरो पुरानो राजनीतिको योगदान पनि हो । म पहिलादेखि राजनीतिमा रहेको कारण चुनावमा जनतासँग घुलमिल हुन समय लागेन । अर्थात मैले पहिलादेखि गरेको राजनीतिले अहिलेको चुनावमा सहयोग पुर्याएको छ । तर म अहिले जति अनुभव गरेको छु त्यति अनुभव पहिला थिएन ।

तपाई काँग्रेसमा काम गर्नुभयो, फोरममा काम गर्नुभयो, केही समय माओवादीमा पनि काम गर्नुभयो । यी दलहरु चहार्दा चहार्दै अन्त्यमा तपाई जनमत पार्टी नै किन रोज्नुभयो ?
–हेर्नुस् स्कूलिङ भनेको धेरै ठूलो कुरा हो । जसको जस्तो स्कुलिङ हुन्छ उ अन्त्यमा गएर त्यही गएर सेट हुन्छन् । मेरो हकमा पनि त्यही भयो । विद्यार्थी विद्यालयमा पढ्न जान्छ । त्यो विद्यालय र त्यहाँको पढाई वा शिक्षक मन परेन भने अर्को स्कूल जान्छ । त्यो स्कूल मन परेन भने फेरि अर्को स्कूलमा पनि जान्छ । जहाँ उसलाई राम्रो लाग्छ त्यही पढ्न थाल्छन् र त्यहाँबाट अगाडि बढ्छ । हो म विभिन्न राजनीति दलमा काम गरे । त्यहाँको अनुभव लिए, त्यो पार्टीको विचार, सिद्धान्त र आचरण थाह पाए । ठिक न लागेर अर्कोमा गए, फेरि त्यो नराम्रो लागेपछि म अर्कोमा पनि गए । अन्त्यमा मलाई जनमत पार्टी राम्रो लाग्यो । सो पार्टीको विचार, सिद्धान्त र आचरण मन पर्यो यहाँ स्थिर भएको छु । यहीबाट चुनाव पनि लडे । जनताले मलाई निकै राम्रो मत दिए । जनताले मलाई मन पनि पराए । म पहिला पनि अन्य दलबाट राजनीति गरेका थिए तर यसरी मलाई मन पराएको थिएनन् ।

तपाईले काँग्रेस, फोरम र माओवादी के कारणले छाड्नु भयो त ?
–काँग्रेस पार्टीमा मधेशीलाई अगाडि बढ्न दिँदैन । जति लामो संघर्ष गरेपनि यहाँ जहाँको त्यही रहि रहनेछ भनि लाग्यो र मैले त्यो पार्टी छाडेर फोरममा गएको थिए । फोरम मधेशी पार्टी भएपनि सोच मधेशी जस्तो मैले त्यहाँ पाइनन् । त्यहाँ पनि खुट्टा तान्ने प्रवृति रहेको मैले पाए तैपनि मैले त्यही संघर्ष गर्ने सोच बनाएर बसेका थिए । संगठनको काममा लागेको थिए । चुनाव लड्ने तयारी गरिरहेका थिए ।

सुरेशचन्द्र दास यादवसँग मेरो पुरानो चिनजान थियो । उहाँ पनि काँग्रेसबाट चुनाव लड्ने सोच बनाउनुभयो । तर काँग्रेसले उहाँलाई टिकट दिएन । त्यसपछि उहाँ काठमाडौँस्थित मेरो कोठामा आउनुभयो । र, भन्नुभयो, एमाले र माओवादी केन्द्रको गठबन्धन बनेको छ म त्यहाँ जान्छु, तपाई पनि हिड्नुस् भन्नुभयो । मैले भने, ‘म जान्न, म पनि फोरमबाट चुनाव लड्ने तयारी गरिरहेको छु, मलाई त्यहाँबाट टिकट दिने सम्भावना छ, म तपाईसँग जान्न ।’

उहाँले होइन, यसपटक मलाई सहयोग गर्नुस् त्यसपछि अर्कोपटक तपाईको लागि मैले के गर्नुपर्छ गर्छु भन्नुभयो । त्यसपछि मैले उहाँलाई सहयोग गर्न थाले उहाँसँगै म पनि माओवादीमा गए । उहाँ चुनाव पनि जित्नुभयो । गत स्थानीय चुनावमा सुखिपुर नगरपालिकामा चुनाव लड्छु भनि कुराको जानकारी सुरेशचन्द्र यादवलाई गराए । मैले माओवादीका सिरहा जिल्ला इन्चार्ज अविनाश समक्ष पनि यो कुरा राखे । उहाँले हुन्छ भन्नुभएको थियो । पछि उहाँकै मुखबाट थाह पाए कि सुरेशचन्द्र दासले मलाई टिकट दिनका लागि मानिरहनु भएको छैन ।

मैले पनि यो कुराको पत्ता लगाए । वास्तवमा सुरेशचन्द्र दास यादवले मलाई मेयरको टिकट दिलाउन चाहनु भएको थिएन । अनि मैले उहाँलाई भेटेर तपाई आफ्नो बाटो लाग्नुस् म आफ्नो बाटो लाग्छु । मलाई तपाईको कुनै सहयोग चाहिदैन । भनि उहाँबाट अर्थात माओवादीबाट अलग भए । त्यसपछि जनमत पार्टीका महासचिव चन्दन सिंहसँग सम्पर्क भएको थियो । उहाँले डा.सिके राउतसँग भेटाउनुभयो । तीनैजनाको बीचमा छलफल भयो । सिके राउतले भन्नुभयो, तपाईको लामो राजनीतिक योगदान छ, तपाई चुनाव लड्नुस्, तपाई अब आफै नेता बन्नुस् तपाईको हरेक ठाउँमा आफ्नै पहिचान छ । तपाईको राजनीतिक भविष्य उज्जवल छ ।’

त्यसपछि म जनमत पार्टीमा सिके राउतसँग टिका लगाए । गोलबजारमा कार्यक्रम गरेर आफूसहित आफ्ना नेता तथा कार्यकर्तालाई लिएर जसपामा प्रवेश गरे । त्यसपछि सिके राउतको सल्लाहमा म चुनावको तयारीमा लागे । टिकट पाए । सिरहा २ नम्बर क्षेत्रमा चुनाव लडे । चुनाव हारे पनि जनताको राम्रै रेसपोन्स पाए । म चुनाव हारेको महसुस गरेको छैन ।

जनमत पार्टीको जुन पृष्ठभूमीबाट जन्म भयो त्यसको आलोचना अहिले पनि भइरहेको छ, तपाई चुनावमा भाग लिँदा त्यो कुराको फेस कतिको गर्नुपर्यो ?
–जनमत पार्टी गठन गरेर जब सिके राउतले मूलधारको राजनीति सुरु गर्नुभयो, त्यसको केही पछि मात्र म त्यो पार्टीमा आवद्ध भएको हुँ । त्यो पार्टीको विचार, सिद्धान्त मलाई मन पर्यो । पार्टीका अध्यक्ष सिके राउतले गर्ने कामको स्टाइल मन पर्यो त्यही भएर म त्यो पार्टीमा ज्वाइन गरेको हुँ । मूलधारको पार्टी बनेपछि स्थानीय तहको चुनावमा भाग लियो । त्यो चुनावमा राम्रै प्रगति गर्यो । यो आम चुनावमा पनि जनमत पार्टीले संघ तथा प्रदेशमा राम्रै प्रगति गर्यो । ‘नोट ब्याड’ को अवस्था रह्यो । पार्टीका नेता तथा कार्यकर्ताहरु सबै सन्तुष्ट छन् ।

जनमत पार्टी बन्नुअघि के थियो के थिएन त्यो मलाई थाह भएन । सुन्दैछु, अलग देश नै बनाउने अभियानमा सिके राउत लाग्नु भएको थियो रे । त्यो कुरा मेरो जानकारीमा छैन । म जनमत पार्टीमा लागेपछि पनि मलाई त्यो कुराको कहिले अनुभूति भएन त्यसको चर्चा पनि पार्टीमा हुँदैन । चुनावमा भाग लिँदा कसैले पनि कुनै ठाउँमा कुरा उठाएनन् । मलाई त्यो कुराको सामना कतै गर्नुपरेन ।

बालेन शाहले चुनाव जित्नुहुन्छ भने कुरा एकजनाको मुखबाट पनि सुनिएको थिएनन । तर उहाँ चुनाव जित्नुभयो । र, महानगरमा कसैले सोच्दै न सोचेका नयाँ नयाँ कामको सूरुवात गर्नुभएको छ ।

तपाई चुनावमा भाग लिँदा जनतालाई १० लाख रोजगारी दिने, मल कारखाना खोल्दिने, विदेशमा खट्नेहरुलाई स्वदेशमै रोजगारी दिने जस्तो आश्वासन बाँडेर आउनुभयो । त्यो पुरा गर्छु पनि भनेर आउनु भएको छ, यी प्रतिवद्धताहरु पुरा गर्ने आधार के छ जनमतसँग ?
–जनमत पार्टीले जेजे प्रतिवद्धता गरेका छन् । ती सबै अवश्य पुरा हुनेछ त्यो कुरा चुनावमा मात्र होइन अहिले पनि भनि रहेको छु । तर तुरुन्तका तुरुन्त होइन । ढिलो चाँडो ती सबै प्रतिवद्धता हामी पुरा गर्छौ । यो देशका सरकारलाई चलाउने ब्युरोक्राइटस् तथा शासकहरुलाई नानीदेखि लागेको बानी त्यति छिटो हट्दैन । केही समय लाग्छ । जनमत पार्टी संसदमा पुगेको छ । संसद हुँदै सरकारमा पुगेको छ । संसदमा अवाज उठाउने सरकारबाट काम गराउने काम जनमत पार्टीले गर्छ । धेरै कुरा म अहिले भन्न सक्दिन तर एउटा कुरा अवश्य भन्छु कि अरु पार्टी जस्तो जनमत पार्टी त्यहाँ कुर्सीमा निदाएर बस्दैन ।

जनतासँग गरेको प्रतिवद्धता पुरा गराउँछ । प्रतिवद्धता पुरा गराउन सकिएन भने पाँच वर्षपछि पुनः चुनाव हुन्छ त्यसको हिसाब किताब जनताले लिन्छ । त्यो कुराको जानकार जनमत पार्टी छ । १० लाख युवालाई मात्र होइन, त्यो भन्दा बढी युवालाई रोजगार दिलाउन सकिन्छ । नेपाल धेरै कुरामा सम्भावना भएको देश हो । जडिबुटी, पर्यटन, कृषि, जलस्रोतलगायतका क्षेत्रमा निकै सम्भावना छ । काम गर्नका लागि इच्छा शक्ति हुनुपर्छ । र, त्यो इच्छा शक्ति जनमत पार्टीसँग छ ।

यत्रो पुरानो र वर्षौको अनुभवी काँग्रस, एमाले, माओवादी जस्ता दलले यो देशमा केही गर्न सकेन तपाईको एउटा सानो पार्टीले यी प्रतिवद्धताहरु पुरा गराउन सक्ला भनि विश्वास गर्ने आधार के छ ?
–बालेन शाह पनि चुनाव जित्नुहुन्छ र काठमाडौँ महानगरपालिकाको मेयर बन्नुहुन्छ भनि कसैले सोचेका थिएनन् । बालेन शाहले चुनाव जित्नुहुन्छ भने कुरा एकजनाको मुखबाट पनि सुनिएको थिएनन । तर उहाँ चुनाव जित्नुभयो । र, महानगरमा कसैले सोच्दै न सोचेका नयाँ नयाँ कामको सूरुवात गर्नुभएको छ । यी सब काम उहाँको ‘नलेज’ले भएको हो । उहाँसँग नयाँ नयाँ प्राविधिक ज्ञान छन् । उहाँले आफ्नो ज्ञान र क्षमताले अहिले महानगर चलाई रहनु भएको छ । उहाँ स्वतन्त्र जित्नु भएको छ । उहाँसँग केही पनि छैनन् ।

न दल छ, न नेता छन् न कार्यकर्ता नै तैपनि उहाँ आफ्नो मिसनमा अगाडि बढी रहनु भएको छ । बालेन शाहले गर्न सक्नु हुन्छ भने जनमत पार्टीका सिके राउतले किन गर्न सक्नु हुन्न । सिके राउतसँग पनि भिजन छ, क्षमता छ र योजना छ । उहाँले मौका पाउनु भयो भने चमत्कार गरेर देखाई दिनुहुन्छ । काँग्रेस, एमाले र माओवादीले गर्न सकेनन् भने जनमतले पनि गर्न सक्दैन सोच गलत हो । गरेर देखाई दिन्छन् समयको इन्तजार मात्र छ । संसदमा नयाँ नयाँ शक्तिको जुन खालको उपस्थिति भएको छ । त्यसले अवश्य पनि परिवर्तन ल्याउने छ भन्ने कुरामा मलाई विश्वास छ ।

तराई मधेशमा जनमत पार्टीको कुन दलसँग प्रतिस्पर्धा छ ?
–कुनै पनि दलसँग प्रतिस्पर्धा छैन बरु गठबन्धनसँग प्रतिस्पर्धा छ । तराई मधेशमा एउटा मात्र दल जनमत पार्टीले एक्लै चुनाव लडेको थियो । अरु सबै दल गठबन्धनबाट चुनाव लडेका थिए, हाम्रो प्रतिस्पर्धा गठबन्धनसँग छ । एक्ला एक्लै चुनाव लडेको भए पो थाह हुन्थ्यो कि कुन दलको कति क्षमता छ । सबै दल गठबन्धन बनाएर चुनाव लडे । त्यसको हिसाब गर्ने हो भने जनमत पार्टी एक्लैले सबै दलभन्दा बढी मत ल्याएको छ

। गठबन्धनबाट चुनाव लडेर जति मत ल्याएको छैनन् त्यति मत जनमतले एक्लै ल्याएको छ । एक्ला एक्लै चुनाव लडेको भए जनमत पार्टी तराई मधेशमा एक नम्बरको पार्टी हुन्थ्यो । त्यसैले म भन्छु तराई मधेशमा जनमत पार्टीको कुनै दलसँग प्रतिस्पर्धा छैन ।

तर तराई मधेशमा अधिकाँश ठाउँमा जसपासँग जनमतको प्रतिस्पर्धा रहेको देखिन्छ, के आउने दिनमा जनमत र जसपाको प्रतिस्पर्धा हुन्छ त ?
–अब त जसपा पार्टी नै रहेन । जसपा एमालेसँग मिलिसक्यो । हामीले जसपासँग होइन एमालेसँग प्रतिस्पर्धा गरेका थियौं । जसपा भन्ने पार्टी छ भने हामीलाई थाह पनि छैन । जसपा एक्लै प्रतिस्पर्धा आएको भए हामी त्यो पार्टीलाई मान्थ्यौं तर उ अर्को पार्टीसँग मिलेर हामीसँग प्रतिस्पधाृ गर्न आयो अनि हामीले जसपाले कसरी प्रतिस्पर्धी दल मान्ने ? जसपा हाम्रो प्रतिस्पर्धी दल नै होइन ।

भनिन्छ, सिके राउतले विदेशी शक्तिले हरायो रे नि त ?
–यदि त्यसो हो भने सिके राउतसँग पनि बोराको बोरा पैसा आउथ्यो नि । अरु पार्टीका नेताहरुले १३–१४ करोड रुपियाँ खर्च गरे तर हाम्रा पार्टीका नेता तथा कार्यकर्ताहरु आआफ्नो घरबाट खाएर पार्टीका लागि खटे । यदि विदेश शक्तिको आडमा सिके राउतले चुनाव जित्नु भएको भए हामी पनि पैसाको खोलो बगाएर चुनाव जित्थ्यौं । सिके राउतलाई विदेशी शक्तिले हरायो भन्नु भनेको हारबाट घबराएकाहरुको बोली मात्र हो ।

यो देशमा काँग्रेस, एमाले, माओवादी, जसपालगायतका दलहरु विदेशको आडमा राजनीति गरिरहेका छन् । कोही भारतको नजिक छन् भने कोही चीनको नजिक छन् । ती देशको खुल्ला हस्तक्षेप यो देशमा देखिन्छ र यो मौका ती दलहरुले नै दिएका छन् तर जनमत पार्टीको नाम कतै सुन्नुभएको छैन । जनमत पार्टी नै एउटा यस्तो पार्टी हो जसले सबै देशसँग समान सम्बन्ध राखेको छ ।

तपाईको प्रतिक्रिया