Khadya Bibhag

गुटबन्दी गर्नेहरु गइसके अब २४ क्यारेटको सुन जस्तै नेताहरु मात्र बाँकी छन्

महन्थ ठाकुर एउटा यस्तो व्यक्ति हुनुहुन्छ जो हरेक प्रकारको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । हरेक प्रकारले उहाँ राष्ट्रपतिको लागि सक्षम व्यक्ति हुनुहुन्छ ।

–मनिष मिश्र
विद्यार्थी राजनीतिबाट मुलधारको राजनीतिमा आउनु भएका मनिष मिश्र लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता हुनुहुन्छ । स्थानीयस्तरबाट आफ्नो राजनीति यात्रा सुरु गर्नुएका उहाँ छोटा समयमा केन्द्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ । पहिचानको राजनीति सफल हुनमा केही समय लाग्छ तर त्यो परिपक्क भएर आउने कुरामा विश्वास गर्ने उहाँ लोसपा मधेशको पहिचानका लागि लड्ने पार्टी हो र ढिलै भएपनि लक्ष्यमा पुग्नेमा उहाँ विश्वस्थ हुनुहुन्छ । प्रस्तुत छ, राष्ट्रपतिमा महन्थ ठाकुरको चर्चा, लोसपाको अगामी यात्रा, स्ववियु चुनाव लगायतका विषयमा सहारा टाइम्सले लोकतान्त्रिक पार्टीका नेता मनिष मिश्रसँग गरिएको कुराकानीको सम्पादीत अंशः
राष्ट्रपतिमा महन्थ ठाकुरको चर्चा पुनः सुरु भएको छ । यसपटक त पार्टीबाट पनि यसको चर्चा भएको हो, के उहाँले उम्मेदवारी नै दिनुहुन्छ त ?
–राष्ट्रपतिका लागि जुन किसिमको बौद्धिकता, लगनशिलता, पहिचान, राजनीतिक लगावहरु चाहिन्छ ती सबै कुरा हाम्रो अध्यक्षज्युमा छन् । आदरणीय महन्थ ठाकुर एउटा यस्तो व्यक्ति हुनुहुन्छ जो हरेक प्रकारको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । हरेक प्रकारले उहाँ राष्ट्रपतिको लागि सक्षम व्यक्ति हुनुहुन्छ । राष्ट्रिय, अन्तराष्ट्रिय जगतले पहिचान गरेको व्यक्ति हुनुहुन्छ । नेपालको राजनीतिमा उहाँको लामो समयको योगदान छ । आजसम्मको मितिमा देशको अहित हुने कुनै पनि काम गर्नुभएको छैन । कुनै विवादमा पर्नुभएको छैन । स्वच्छ छवीको व्यक्तिको रुपमा उहाँ परिचित हुनुहुन्छ । सबै दलको साझा व्यक्तिको रुपमा चिनिनु हुन्छ । त्यही भएर लोसपाले उहाँलाई राष्ट्रपतिमा अघि सारिएको हो । केही दिनमै पार्टीको कार्यकारिणी समितिको बैठक बस्दैछ । त्यो बैठकबाट पनि यसको बारेमा केही आधिकारिक कुरा बाहिर आउने नै छ । अहिले पार्टीभित्र र बाहिर अनौपचारिक छलफल र सल्लाह मात्र भइरहेको छ ।
जबजब देशमा राष्ट्रपतिको बनाउने चर्चा हुन्छ, उपराष्ट्रपति, प्रधानमन्त्री बनाउने चर्चा सुरु हुन्छ तबतब महन्थ ठाकुरका नाम पनि चर्चामा आउँछ, सधै चर्चामा मात्र रहने हो कि उहाँलाई राष्ट्रपति बनाउने तयारी पनि छ ?
–उहाँ राष्ट्रपति, प्रधानमन्त्रीका लागि उपयुक्त पात्र हुनुहुन्छ, यसमा कुनै दुईमत छैन । कुनै पनि कारणले उहाँ हुनुहुँदैन भने होइन । हरेक योग्यतामा उहाँ अब्बल हुनुहुन्छ । तर राष्ट्रपतिमा चुनाव हुनका लागि सँख्या चाहिन्छ । जुन सँख्या लोकतान्त्रिक समाजवादी पार्टीसँग मात्र छैन । कमजोर पक्ष भनेको यति मात्र हो । तर लोकतान्त्रिक समाजवादी पार्टीले जोसँग गठबन्धन बनायो, चुनावमा सहकार्य गर्यो । सरकारलाई सहयोग र समर्थन गर्यो ।
ती सबैलाई मिलाएपछि एउटा शक्ति बन्न सक्छ र त्यो एउटा सम्भावना पनि हो । त्यसको आधारमा लोसपाले राष्ट्रपतिका लागि दावी गरिएको हो । सँख्याको खेलमा हामी कमजोर भएका छौं । संसदीय राजनीतिमा सँख्या निकै महत्वपूर्ण कुरा हो । जहाँ सँख्याको कुरा आउँछ, त्यहाँ व्यक्तित्व ओझेलमा पर्छ । तर हामीलाई विश्वास छ, अहिले देशको जुन अवस्था छ, जुन प्रकारको देशको राजनीति अगाडि बढी रहेको छ । गठबन्धन र तालमेलको राजनीतिक अगाडि बढी रहेको छ । त्यसमा महन्थ ठाकुरको अवश्यकता पर्छ जस्तो हामीलाई लाग्छ ।

३२ सीट भएको माओवादीले यो देशको नेतृत्व गर्छ भनि कसले सोचेका थिए र । १७ सीट भएको जसपाले मधेश प्रदेश सरकारको नेतृत्व गर्छ भनि कसले सोचेका थिए र ।

दलहरुको बीचमा सहमति भएपछि मात्र उहाँले उम्मेदवारी दिनुहुन्छ कि जेजस्तो भएपनि पार्टीको तर्फबाट उहाँ उम्मेदवार बन्नुहुन्छ, के छ तयारी ?
–उहाँ एउटा परिपक्क राजनीतिककर्मी हुनुहुन्छ । राजनीतिमा उहाँको जुन सोच र दुरदर्शिता छ त्यसको आधारमा उहाँ त्यतिकै हावा तालमा अगाडि बढ्नु हुन्न जस्तो मलाई लाग्छ । पार्टीले उहाँलाई भनेको छ कि तपाई आउनुपर्छ । पार्टीले उहाँलाई आग्रह गरेको छ तर आग्रह गरेर मात्र हुँदैन त्यस प्रकारको गृहकार्य पनि गर्नुपर्छ । उम्मेदवारी दिने वतावरण बनाउनुपर्छ । यदि उहाँको पक्षमा वतावरण तयार भयो, सँख्याले पनि साथ दियो भने हामीले उहाँलाई आग्रह गरेर भएपनि उम्मेदवार बनाउँछौं ।
अहिले पार्टीको जुन अवस्था छ, त्यही अवस्थामा राष्ट्रपति पाइहाल्ने, समर्थन पाइहाल्ने अवस्था छैन नि, अनि केको आधारमा उहाँलाई अघि सार्नुभएको छ त ?
–मैले अघि पनि भनेको थिए कि सँख्या हामीसँग मात्र छैन तर गठबन्धनसँग छ । हामीले जसरी विगतमा गठबन्धन गरेर चुनावमा गयौं, सरकार बनायौं । एक अर्कालाई सहयोग गर्यौं त्यसको आधारमा महन्थ ठाकुरज्यु पनि राष्ट्रपतिका लागि उपयुक्त उम्मेदवार हुनुहुन्छ । ३२ सीट भएको माओवादीले यो देशको नेतृत्व गर्छ भनि कसले सोचेका थिए र । १७ सीट भएको जसपाले मधेश प्रदेश सरकारको नेतृत्व गर्छ भनि कसले सोचेका थिए र ।
सुदुरपश्चिम प्रदेशमा सबै मेजरुटी हुँदाहुँदै एमालेको मुख्यमन्त्रीले राजिनामा दिनुपर्यो र काँग्रेसले मुख्यमन्त्री बनायो । अर्थात देशको संसदीय राजनीतिक नै यसरी अगाडि बढेको छ कि कुनबेला के हुन्छ कसैलाई थाह हुँदैन । त्यसैले भन्ने गरेको छ नेपालमा सम्भावनाको राजनीति मात्र हुन्छ । चुनावमा हामीले गठबन्धन दललाई सघायौं, हामीलाई उनीहरुले सघाए । एक अर्काको सहयोगबाट हामी यहाँसम्म आइपुग्यौं । हामीलाई माओवादी, काँग्रेसले मत दिएका छन्, हामीलाई माओवादी, काँग्रेसलाई मत दिएका छौं । हामी एक अर्काका लागि त्याग पनि गरेका छौं ।
यदि हामी एक्लाएक्लै चुनाव लडेको भए यति थोरै सीटमा लड्ने थिएनौं देशैभरि उम्मेदवारी दिन्थ्यौं होला । हुनसक्थ्यो कि यो भन्दा राम्रो नतिजा आउँथ्यो कि । हामीले थ्रेसहोल्ड कटाएनौ यदि सबै ठाउँमा उम्मेदवारी दिएको भए समानुपातिकमा यो भन्दा पनि राम्रो मत आउथे कि तर हामीले एक अर्कालाई सहयोग गर्न त्यति त्याग देखाएका छौं । त्यो हिसाबले राष्ट्रपतिमा सहमतिका लागि छलफल भयो भने महन्थ ठाकुरज्युको पनि सम्भावना हुन्छ । पार्टीले त्यसको लागि आन्तरिक तयारी सुरु पनि गरेको छ ।
तपाईहरु अहिले जुन गठबन्धन (काँग्रेस)मा हुनुहुन्छ त्यो त निकै कमजोर छ, त्यो गठबन्धनसँग पनि सँख्याको अभाव छ नि अनि तपाईले कुरा गरेको गठबन्धन कुन हो ?
–चुनावमा हामीलाई माओवादीका साथीले पनि भोट दिनुभएको छ । सरकार बन्दा माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीका लागि विश्वासको मत दिएका छौं । अहिले जुन सत्ता गठबन्धन छ । त्यो गठबन्धनबाट पनि हामी अपेक्षा गरेका छौं । तर अहिलेको राजनीतिमा धेरै खेल भइरहेको छ, कुनबेला कसरी सत्ता समिकरण परिवर्तन हुन्छ कसैलाई थाह छैन । सत्ता गठबन्धन यस्तै रहिरहन्छ भनि त्यसको पनि ग्यारेन्टी छैन । त्यही सबै सम्भावना देखेर हामी महन्थज्युलाई अघि सार्न लागेका हौं ।

हामीले थ्रेसहोल्ड कटाएनौ यदि सबै ठाउँमा उम्मेदवारी दिएको भए समानुपातिकमा यो भन्दा पनि राम्रो मत आउथे कि तर हामीले एक अर्कालाई सहयोग गर्न त्यति त्याग देखाएका छौं ।

आमचुनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउन सक्नु भएन अहिले आएर एकाएक राष्ट्रपतिमा दावी गर्न मिल्छ ?
–राष्ट्रिय पार्टी बन्नु र राष्ट्रपति बन्नु छुट्टा छुट्टै कुरा हुन् । राष्ट्रिय पार्टी बन्नु नबन्नुमा जनताको मतले निर्धारण गर्ने हो । राष्ट्रपति बन्न व्यक्तित्वका साथै जनप्रतिनिधिको मतले निर्धारण गर्ने हो । त्यसैले लोसपा राष्ट्रिय पार्टी होइन, यसबाट राष्ट्रपति बन्नु हुँदैन, बन्न सक्दैन भनि कतै उल्लेख छैन नि । कहि कतै बन्देज पनि लगाइएको छैन । त्यसैले राष्ट्रिय पार्टीसँग जोडेर हेर्नुहुँदैन । यो संसदीय खेलपेचमा धेरै राष्ट्रिय पार्टीको हावा टाइट भएको छ, तपाईले देखिरहनु भएको छ । हरेक कुरा सहमतिमा हुन्छ । यसअघि खिलराज रेग्मी मन्त्रीपरिषद्को अध्यक्ष (प्रधानमन्त्री) हुनुभएको थियो । यो देशमा कसैले यस्तो कल्पना गरेका थिए त, थिएन नि । तर दलहरुको बीचमा सहमति बनेपछि त्यो पनि सम्भव भयो । महन्थ ठाकुरलाई त राष्ट्रपति बनाउने धेरै सम्भावना र आधारहरु छन् । दलहरुले त्यसमा बिचार गरिरहेको होला जस्तो लाग्छ मलाई ।
राष्ट्रपतिको चर्चासँगै महन्थ ठाकुरका लागि एउटा के टिप्पणी हुन लागेको छ भने तमलोपादेखि लोसपासम्म आउँदा उहाँले पार्टीलाई ठिक ढंगले चलाउन सक्नुभएन, संगठन निर्माण राम्रोसँग गर्नसक्नु भएन भने एउटा सिगैं देशलाई कसरी चलाउन सक्नु हुन्छ । यसमा तपाईको भनाई के छ ?
–महन्थ ठाकुर नै एउटा यस्तो व्यक्तित्व हुनुहुन्छ जो एउटा पार्टीमा सबै पद, प्रतिष्ठालाई त्यागेर मधेशको राजनीतिमा आउनु भएको छ । मलाई लाग्दैन कि व्यक्तिगत रुपमा उहाँलाई काँग्रेसमा कसैले सम्मान नगरेको होला । पदीय जिम्मेवारी पनि उहाँले राम्रै पाउनुभयो । पटक पटक मन्त्री पनि बन्नुभयो । पार्टीले उहाँलाई सम्मानपूर्वक नै राखेको थियो तर त्यहाँ उहाँले मधेशको हित देख्नुभएन । मधेशको अधिकार र पहिचान त्यहाँबाट प्राप्त हुँदैन भनि लागेपछि ती सबै कुरा त्यागेर मधेशको राजनीतिमा उहाँ आउनुभयो ।
उहाँ आएको दिनदेखि जुन मिसनमा काम गर्नुभयो, मधेशको बारेको उहाँले जे सोचका साथ लाग्नुभयो, त्यो सोच अझै उहाँमा कायम छ । पार्टी सानो, ठूलो, बन्ने, बिग्रिने भइरहन्छन् तर उहाँ आफ्नो माग, एजेण्डा, मुद्दामा अहिलेसम्म अडिग हुनुहुन्छ । यो उमेरमा पनि मेधशको बारेमा चिन्तित हुनुहुन्छ । अहिले पनि राज्यसँग संघर्ष गर्न तयार हुनुहुन्छ । अहिले पनि सडकमा झण्डा लिएर हिड्न तयार हुनुहुुुन्छ ।
एउटा परिवारमा दुई दाजुभाइमा कुरा मिलिरहेको हुँदैन भने यत्रो विशाल पार्टीमा सबैलाई चित्त बुझाउनु, सबैलाई साथसाथ लग्नु समान्य कुरा होइन । मलाई लाग्छ अहिलेसम्म ती कुरामा उहाँ सफल नै हुनुभएको छ । उहाँ पार्टी सञ्चालन गर्नुभयो । तर त्यसमा पार्टीभित्रै विभिन्न अवरोधहरु भए । उहाँलाई असहयोग भयो । तैपनि उहाँ अहिलेसम्म पार्टीलाई बचाउनुभएको छ । उहाँ समक्ष जुन चुनौतीहरु आए ती सबै चुनौतीलाई सामना गदै अगाडि बढ्नु भएको छ । त्यो ठाउँमा अरु व्यक्तिहरु भएको भए उत्तिखेरै समाप्त भइसकेका हुन्थे । अब पार्टी ठिक ढंगले अगाडि बढेको छ । सबै प्रकारका गुट उपगुटहरु पार्टीमा समाप्त भइसकेका छन् । उहाँले पार्टीलाई एउटा विधि र प्रकृयामा अगाडि बढाउनु भएको छ ।
पार्टी गठन भएको डेढ वर्षभन्दा बढी भइसक्यो तर अहिलेसम्म एउटा केन्द्रीय समिति बनाउन सक्नु भएको छैन अनि कसरी पार्टी विधि प्रकृयामा अगाडि बढेको भन्नुहुन्छ ?
–लोकतान्त्रिक पार्टी र अलोकतान्त्रिक पार्टीमा यहीं एउटा फरक हुन्छ । हाम्रो लोसपा एउटा लोकतान्त्रिक पार्टी हो । यो पार्टी विधि र प्रकृयाबाट चल्छ । त्यहाँ सबैको विचारको कदर हुन्छ । सबैको राय सुझाव लिन्छ । हुनसक्छ नेताहरुको बीचमा छलफल जारी रहेकै कारणले केन्द्रीय समिति नबनेको होला । केन्द्रीय समिति नभएपनि पार्टी क्रियाशिल छन् । सबै नेताहरु आआफ्नो ठाउँबाट पार्टीमा क्रियाशिल छ ।
अर्को, कुरा पार्टी गठन हुने वित्तिकै चुनावमा जानु पर्यो । दुई–दुईटा चुनावमा लोसपाले भाग लियो । भर्खर चुनाव सकेको छ । सरकार निर्माणका कामहरु पनि सकेको छ । अब पार्टी निर्माणका लागि नेताहरु अगाडि बढी सक्नु भएको छ । केही दिनमै त्यसको परिणाम देख्नुहुन्छ । हामी खरायोको गतिमा होइन, कछुवाको गतिमा हिडिरहेका छौं । केही ढिलो भएपनि हामी आफ्नो गन्तव्यमा पुग्छौं ।
पार्टीमा गुटबन्दी छ र ?
–एक समयमा चरम गुटबन्दी थियो । राजपामा गुटबन्दी थियो, जसपामा पनि गुटबन्दी थियो तर ती सबै गुटबन्दी लोसपासम्म आइपुग्दा समाप्त भएको छ । अब पार्टी विधि र प्रकृयाबाट अगाडि बढ्दैछ । पार्टीका नेताहरुले आआफ्नो जिम्मेवारी अनुसार काम गरिरहनु भएका छ ।
तपाई राजपा, जसपामा गुटबन्दी भयो भन्नुभयो त्यही राजपा र जसपाका नेताहरु अहिले पनि लोसपामा हुनुहुन्छ उहाँहरु कसरी सुध्रिनुभयो त ?
–गुटबन्दी गर्नेहरु छैन हामीसँग । हामीसँग २४ क्यारेटको सुन जस्तै ठोकुवा नेताहरु हुनुहुन्छ । माननीय अध्यक्ष महन्थ ठाकुरको साथमा उहाँहरुले काम गरिरहनु भएको छ । गुटबन्दी गर्नेहरु गइसके अब जो जो हुनुहुन्छ पूर्णरुपमा २४ क्यारेटको सुन जस्तै हुनुहुन्छ । महन्थ ठाकुर नेतृत्वको पार्टी एक ढिक्काले अगाडि बढीरहेको छ । मधेशको अधिकार र पहिचानका लागि पार्टीले काम गरिरहेको छ ।

सबै चुनौतीलाई सामना गदै अगाडि बढ्नु भएको छ । त्यो ठाउँमा अरु व्यक्तिहरु भएको भए उत्तिखेरै समाप्त भइसकेका हुन्थे । अब पार्टी ठिक ढंगले अगाडि बढेको छ ।

पार्टीको जुन संरचना लिएर आमाचुनावमा भाग लिनु भएको थियो, अहिले पनि त्यही संरचना छ । त्यही संरचना लिएर स्ववियुको चुनावमा गइरहनु भएको छ । पार्टीको संरचनाका कारण आमचुनावमा असर गरेको थियो त्यही असर स्ववियुको चुनावमा गर्दैन भन्ने ग्यारेण्टी के छ ?
–स्ववियु चुनावमा जाँदाका अवस्थासम्म पार्टीको जुन संरचना हुनुपर्ने हो त्यो बन्न सकेको छैन । तथापी स्ववियु चुनाव भनेको विद्यार्थीको हक हितको कुरा हो, विद्यार्थीका लिडर चयन गर्ने चुनाव हो । विद्यार्थीमा नविनतम सोच ल्याउने चुनाव हो । त्यसैले त्यसमा पार्टीको संरचनाले त्यति प्रभाव पार्छ जस्तो मलाई लाग्दैन । पार्टी अहिले स्ववियु चुनावमा सहयोग गर्न थालेको छ । चुनावमा संगठनलाई कसरी सफल बनाउन सकिन्छ त्यसका लागि पार्टीका नेताहरु पनि गृहकार्य सुरु गर्नुभएको छ ।
स्ववियुको चुनावमा गठबन्धन वा चुनावी तालमेल हुने सम्भावना कतिको छ ?
–हुनसक्छ, विगतको चुनावमा जसरी विभिन्न दलसँग गठबन्धन बनेको थियो । चुनावी तालमेल भएका थियो त्यसरी नै स्ववियुको चुनावमा गर्ने सोच बनेको छ तर हेरौं के हुन्छ । साथीहरुले त्यसका लागि कुराकानी गरिरहनु भएको छ । मुद्दा मिल्ने, विचार मिल्नेसँग मोर्चाबन्दी गरेर जाने सोच बनेको छ ।
धेरैपछि स्ववियुको चुनाव हुँदैछ, त्यो चुनावमा कस्ता कस्ता शैक्षिक मुद्दा र एजेण्डा लिएर जाँदै हुनुहुन्छ ?
–हाम्रो संगठनले विगतदेखि नै समग्र मधेश एक शैक्षिक प्रदेशको एजेण्डा उठाएर अघि बढेको हो । अहिले पनि शिक्षाको कुरा गर्ने हो भने सबभन्दा कमजोर जिल्ला मधेश प्रदेशका नै छन् । हामीले यो मुद्दा १४ वर्ष पहिला उठायौं तर अहिलेसम्म मधेशको शिक्षाको अवस्था जस्ताको त्यस्तै छ । मधेशका जिल्लाहरुलाई शिक्षित कसरी बनाउने, त्यसमा विद्यार्थीले के भूमिका खेल्न सक्छ, त्यसका लागि काम गर्नेछ ।
नेता उत्पादन हुने ठाउँ नै विद्यार्थी राजनीति हो । विद्यार्थी नेताहरुको नेतृत्वको विकास कसरी गर्ने, सम्पूर्ण शिक्षामा शैक्षिक वतावरण कसरी तयार गर्ने जस्ता बारेमा संगठनले काम गर्ने एजेण्डा लिएर जाँदैछ । विद्यार्थीले जे शिक्षा लिन्छन्, त्यो अनुकुलको काम कसरी प्राप्त गर्ने, उत्पादनसँग मिल्ने शिक्षाको अभाव छ । त्यसको लागि कोर्स परिवर्तन गर्नुपर्ने अवस्था छ । तराई मधेश लगायत पिछडिएका ठाउँका लागि देश विदेशको शिक्षा नीतिसँग कसरी जोड्ने त्यसको उपाय र माध्यमहरु खोज्ने काम हुन्छ ।
कतिवटा कलेजमा उम्मेदवारी दिँदै हुनुहुन्छ ?
–त्रिविअन्तर्गत जतिवटा आगिंक क्याम्पसहरु छन् ती सबैमा हाम्रो संगठनले उम्मेदवारी दिन्छ ।

 

भिडियोमा सुन्नका लागि यहाँ क्लिक गर्नुहोस्

 

तपाईको प्रतिक्रिया