नेपालमा चीन तथा भारतबाट उच्चस्तरीय भ्रमण जारी छ । उच्चस्तरीय प्रतिनिधिहरुले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छैनन् ।
खासगरि भारतका तीनजनाको हालै भ्रमण सम्पन्न भएको छ तर तिनैजनामध्ये कसैले पनि प्रचण्डसँग भेटेका छैनन् ।
यो विषयलाई नेपाली राजनीतिमा गम्भीर रुपमा लिएको छ । नेकपामा विदेशीको चलखेल शुरु भएको कुरा यसबाट प्रष्ट भएको बुझ्न सकिन्छ । देशलाई नेतृत्व गरेको सबभन्दा ठूलो पार्टी नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई भारतका उच्चस्तरीय प्रतिनिधिले नभेट्नु यसलाई हल्का रुपमा लिन नसकिने विश्लेषकहरुको बुझाई रहेको छ ।
नभेट्नुमा दुईटा कारण हुनसक्छ । पहिलो कारण, भारतले अध्यक्ष प्रचण्डलाई नरुचाएको हुनसक्छ वा प्रधानमन्त्री केपी शर्मा ओलीले नै प्रचण्डसँग नभेट्न भनेको हुनसक्छ । अध्यक्ष प्रचण्डले भारतीय प्रतिनिधिसँग भेट्नका लागि इच्छा देखाउनु भएको थियो ।
त्यो अनुसारको तयारी पनि उहाँले गर्नुभएको थियो । भारतले नै प्रचण्डसँग भेट्न चाहेको छैन । भारतका प्रतिनिधिले प्रधानमन्त्री र अध्यक्ष दुवै हैसियतमा रहेका केपी शर्मा अोलीसँग भेटेका छन् । तर नेकपाका अध्यक्ष प्रचण्डसँग भेट्ने कुनै कार्यक्रम नै राखेनन् ।
शुरुमा भारतीय जासुस संस्था रअ का प्रमुख सामान्त गोयल, त्यसपछि भारतीय सैनिक प्रमुख मनोज मुकुन्द नरवणे आए अनि भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृगांल नेपालको भ्रमण सकेर मंसिर १२ गते फर्कि सकेका छन् । भारतको यी उच्चस्तरीय भ्रमणको विषयमा विभिन्न खाले टिकाटिप्पणी र विश्लेषण भइरहेका छन् । तर यी सबैबाट टाढा हुनुहुन्छ नेपाल कम्युनिस्ट पार्टी (नेकप) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । उहाँ कुनैपनि भेटघाटमा सहभागी हुनुभएन ।
अध्यक्ष प्रचण्डसँग कुनै पनि प्रतिनिधिले भेटघाट गर्न उचित ठानेनन् । स्रोतको दावीलाई सही मान्ने हो भने नेकपाका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले नै प्रचण्ड तथा उहाँ निकट नेताहरुलाई भेटघाटमा राख्न नमान्नु भएको हो । भारत र चीनबाट आउने प्रतिनिधिहरुलाई प्रचण्डसँग नभेट्ने खालको कार्यक्रम बनाउन सरोकारबालालाई भन्नु भएको बताइन्छ ।
भारतबाट आएका प्रतिनिधिहरुले बरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने उचित ठान्नुभयो तर सत्तारुढ दलका कार्यकारी अध्यक्ष प्रचण्डसँग भेट्न उचित मान्नु भएन । नेकपाका विदेश विभागका प्रमुख माधव कुमार नेपाल हुनुहुन्छ । उहाँलाई पनि विदेशबाट आएका प्रतिनिधिहरुले पनि भेट्न उचित मानेनन् । जब कि यसअघि कुनै विदेशी प्रतिनिधिहरु आउँदा अध्यक्ष प्रचण्डदेखि लिएर विदेश विभाग प्रमुख माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतसम्मलाई पनि भेट्नु हुन्थ्यो ।
विदेशबाट आउने प्रतिनिधिलाई कहिले ओली र प्रचण्ड सँगसँगै भेट्नु हुन्थ्यो भने कहिले एक्ला एक्लै भेट्नु हुन्थ्यो तर यसपाली त्यस्तो भएन जो जो प्रतिनिधि आए सबैले प्रधानमन्त्री ओली र उहाँ पक्षधर नेतालाई भेटेर मात्र फर्केका छन् । यसबाट प्रष्ट हुन्छ कि भारतले प्रचण्डसँग दुरी बढाउन चाहेको छ ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको साथ छाडेर भारतको साथमा गएको विश्लेषण भइरहेको छ । शुरुको दिनमा चीनको सहयोगबाट चुनाव जितेर देशको प्रधानमन्त्री बन्न सफल केपी शर्मा ओलीले अन्तिम समयमा आएर चीनलाई धोका दिनु भएको विश्लेषण भइरहेको छ ।
यसको छनक चीनले पनि पाइसकेको छ । त्यस्तै शुरुमा भारतलाई साथ दिनुभएका अध्यक्ष प्रचण्ड अहिले चीनको प्रिय पात्र हुनुभएको छ । एक समय थियो, बरु ओलीमाथि विश्वास गर्न सकिएला तर प्रचण्डमाथि विश्वास गर्न गाह्रो छ भन्दै चीनले प्रचण्डको टाउकोबाट हात हटाएको थियो ।
ओलीलाई खुलेर साथ दिएको थियो चीनले । तर अहिले सबै कुरा उल्टा भएको छ । स्रोतका अनुसार अध्यक्ष प्रचण्ड लगायतका नेताहरु चीनको अन्धभक्त भएका छन् । त्यो कुरा भारतलाई मन परेको छैन । त्यही भएर भारतले प्रचण्ड र उहाँका टीमलाई भेट्न नचाहेको उच्च स्रोतको दावी छ । यसले देशमा अन्तराष्ट्रिय राजनीतिको ध्रुवीकरण बढि रहेको कुरा पुष्टि हुन्छ ।
चीनका रक्षा मन्त्री वेइ फेंग्हे मंसिर १४ गते नेपाल भ्रमणमा आउनु भएको छ । मन्त्री वेइ फेंग्हे र अध्यक्ष प्रचण्डबीच भेटघाटको कार्यतालिका रहेको छ । सो भेटघाट हुने नहुने कुरा कात्तिक १६ गते मात्र थाह हुने बताइएको छ । तर हालसम्म त्यो कार्यतालिका कायम रहेको छ । प्रचण्डका सचिवालका एकजना सदस्यले रक्षामन्त्तीसँग भेट्ने कार्यक्रम रहेको भनि सुनिएको हो तर हालसम्म त्यस्तो कुनै जानकारी नआएको बताउनुभयो ।
नेकपाका स्थायी कमिटीका सदस्यले भन्नुभयो, नेकपामा अहिले विवाद चलिरहेको छ, यसमा अन्तराष्ट्रिय इन्ट्रेस्ट रहेको पनि भनिरहेका छन्, झन भेटघाट गर्यो भने झन विवाद उत्पन्न हुन्छ त्यही भएर भेटघाट नगरेको हुनसक्छ ।’
भारतीय रअ का प्रमुख गोयल नेपाल आएर सिधै प्रधानमन्त्री अोलीलाई भेट्ने बालुवाटार पुगेको कारण पार्टीमा विवाद उत्पन्न भएको छ । पार्टीलाई कुनै जानकारी नै नदिइकन रअ प्रमुखलाई भेट्नुले नेकपा झन विवाद बढेको छ । रअ का प्रमुखलाई प्रधानमन्त्री अोलीले भेट्नु आपत्तिजनक रहेको भन्दै प्रचण्डपक्षले त्यसको विरोध गरिरहेको छ । सो विषयलाई पार्टीको एजेण्डा नै बनाएको छ ।
ओलीले रअ का प्रमुखलाई भेटेको भन्दै अध्यक्ष प्रचण्डले विरोध गरिरहनु भएको छ र यस अवस्थामा आफै भेटघाट गर्न थाल्यो भने त्यसको झन विरोध हुन थाल्छन् त्यही भएर प्रचण्डले विदेशबाट आउने प्रतिनिधिलाई भेट्न नचाहेको उहाँ निकट नेताहरुको दावी छ ।
प्रधानमन्त्री अोलीले विदेशी प्रतिनिधिलाई कुन हैसियतमा भेट्नु भएको छ । त्यो कुरा प्रष्ट भएको छैन तर अोली निकट नेताको भनाई अनुसार उहाँले सरकार र पार्टी प्रतिनिधि दुवैको तर्फबाट भेट्ने गर्नुभएको छ ।
प्रधानमन्त्री अोली पार्टीका एक नम्बरका अध्यक्ष हुनुहुन्छ त्यही भएर पार्टीको तर्फबाट प्रतिनिधिहरुलाई भेट्ने गरेको बताइएको छ । उहाँले भारत तथा चीनबाट आउने प्रतिनिधिहरुलाई बालुवाटारमै बेलाएर भेट्ने गर्नुभएको छ । राजनीतिक विश्लेषकका अनुसार नेकपाको विवादमा चीन र भारतले खेलिरहेका छन् । भारतले नेकपा विभाजन होस् भनि चाहेको छ भने चीनले नेकपामा नफुटोस् भनि चाहेको छ ।
त्यसका लागि चीनका प्रतिनिधिहरुले दुवै पक्षलाई दवाव दिइरहेका छन् । चीनले एउटा पद छाडेर भएपनि नेकपालाई फुट हुनबाट जोगाउन प्रधानमन्त्री अोलीलाई सुझाव दिएको थियो जुन कुरा प्रधानमन्त्री ओलीलाई मन परेको छैन । त्यहीबेलादेखि प्रधानमन्त्री अोलीले चीनबाट दुरी बढाउँदै जानु भएको छ ।
चासो सीमा विवाद
भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृगांलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्षद्धय महन्थ ठाकुृर, उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतोसँग राजनीतिक रुपमा भेटघाट गर्नुभएको छ ।
हरेकको भेटमा नेपाल–भारतबीच रहेको समिा समस्याको एजेण्डा थियो । सीमा विवाद प्रमुख रुपमा उठ्ने गरेको थियो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र सचिव भरत पौड्यासँगको भेटघाटमा पनि मुख्य रुपमा सीमा विवादलाई नै उठाइएको छ ।
परराष्ट्र मन्त्री ज्ञवालीले भन्नुभयो, दुई देशको बीचमा देखिएका पछिल्लो समस्या सीमा विवाद नै हो, त्यसको विषयमा भेटघाटमा कुरा उठ्ने स्वभाविक नै हुन्छ । यसलाई विभिन्न तहमा छलफल गरेर समाधान गर्ने सहमति भएको छ ।’ सीमा विवाद समाधान गर्न जुन तह र स्तरको आवश्यकता हुन्छ, सबैमा छलफल हुने र समाधान गर्ने कुराकानी भएको उहाँले बताउनुभयो ।
जसपा नेपालका अध्यक्षद्धय महन्थ ठाकुृर, उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतोले विदेश सचिव श्रृगंलालाई द्वारिका होटलमै गएर भेट्नु भएको थियो । त्यसमा पनि विदेश सचिव श्रृगांलले नक्साको विषयमा मधेशवादी दलले देखाएको समर्थनमा प्रश्न गर्नुभएको थियो । नयाँ नक्सा जारी भएपछि भएको संविधान संशोधनमा जसपा नेपालले पनि समर्थन जनाएको थियो ।
भेटमा समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण गरेर बनेको जसपा नेपालका लागि विदेश सचिव श्रृगांलले बधाई दिनु भएको थियो । जसपा नेपालका नेताहरुले पनि दुई देशको बीचमा देखिएका सीमा समस्या चाँडै समाधान गर्न सुझाव दिएको एक नेताले बताउनुभयो ।



तपाईको प्रतिक्रिया