१७ पटक प्रधानमन्त्रीका लागि प्रयास गरेका रामचन्द्र एकैपटकमा राष्ट्रपति
२६ फाल्गुन २०७९, शुक्रबार ०९:४२
वीपी कोइरालालाई राजा महेन्द्रले २०१७ सालमा जेल हालेपछि त्यतिबेलाका १६ वर्षीय रामचन्द्र पौडेल राजनीतिमा छिर्नुभएको थियो । त्यसपछि उहाँ राजनीतिबाट कहिल्यै बाहिर निस्कन सक्नुभएन । बीपी कोइराला २०३३ सालमा भारतको निर्वासनबाट फर्केपछि रामचन्द्र पौडेल उहाँको निकट भएर काम गर्न थाल्नुभएको थियो । नेपाली काँग्रेसमा उहाँको राजनीतिक कहिले पनि सिधा रेखामा चलेन, जहिले पनि बक्र रेखामा नै चलिरह्यो ।
२००१ असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मनु भएका रामचन्द्र पौडेलले त्यहीं बक्ररेखाहरु पार गर्दै नेपालको तेस्रो राष्ट्रपति बन्ने सौभाग्य पाउनु भएको छ । लामो राजनीतिक विरासत बिताउनु भएका पौडेल यसअघि पनि देशको कार्यकारी पदका लागि कैयौँ पटक प्रतिस्पर्धा गरेर पनि सफल हुन सक्नु भएन । पाँच दशक लामो राजनीतिक जीवनमा पौडेल सभामुख र पटक पटक मन्त्री भइसक्नु भएको छ । पिता दुर्गाप्रसादमा पनि राजनीतिक चेतना भएका कारण पौडेलको झुकाव सानैदेखि राजनीतितिर बढेको उहाँका बालसखा ८६ वर्षीय फणीन्द्रराज मिश्र बताउनु हुन्छ ।
“बुबा आफू पनि पण्डित हुनुहुन्छ । उहाँलाई पनि शास्त्री पढाउनुभयो । तर उहाँ पढ्दै जाँदा रामचन्द्र राजनीतिमा लाग्नुभयो र जेल पनि बस्नुभयोे,” मिश्र भन्नुहुन्छ । “खान लगाउन समस्या नभए पनि” पौडेलले राजनीति सुरु गरेपछि आर्थिक अवस्थासँग समेत सङ्घर्ष गर्नुपरेको उहाँ निकट रहेर राजनीति गर्नेहरू बताउनुहुन्छ ।
१७ पटक असफल
गत असोजबाट ७८ वर्ष पूरा हुनुभएका पौडेलको राजनीतिक तथा निजी जीवन उतारचढावपूर्ण रहेको छ । पन्ध्र वर्षको उमेरमै विद्यार्थी राजनीतिमा सक्रिय हुनुभएका पौडेलले २०१८ सालयता पटक पटक गरी करिब १४ वर्ष जेल जीवन बिताउनु भएको छ । तत्कालीन समयमा शिक्षित परिवारमा हुर्किनु भएका पौडेल पढ्नका लागि सुरुमा पोखरा र पछि काठमाडौंसम्म आउनु भएको थियो । पोखरामा अध्ययन गर्दा सुरुमा पौडेलको झुकाव कम्युनिस्ट राजनीतिमा भएको थियो तर उहाँ कम्युनिस्ट राजनीतिमा आबद्ध हुनुभएन ।
“पोखरामा त्यस बेला कम्युनिस्टहरूको प्रभाव थियो । त्यसको प्रभाव उहाँमा भए पनि कम्युनिस्ट नै भएको चाहिँ होइन,” पूर्वसांसद अमरराज कैनी भन्नुहुन्छ । संस्कृतमा शास्त्री र नेपालीमा स्नातकोत्तरसम्म अध्ययन गर्नुभएका पौडेलले कैयौँ पुस्तक समेत लेख्नुभएको छ । पौडेल यसअघि कांग्रेसका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार बने पनि १७ पटकसम्म मतदान हुँदा पनि पराजित हुनुभएको थियो ।
पौडेलको राजनीतिक जीवनमा एउटा कालो धब्बाका रुपमा लिने गरेको छ । प्रधानमन्त्री चयनको कुरा जब आउँछ अनि रामचन्द्र पौडेलको त्यो घटनाको चर्चा अवश्य हुने गरेको छ । प्रधानमन्त्री पदमा १७ पटकको पराजय । २०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, एमाओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसदमा उम्मेदवारी दिएका थिए । तर, संवैधानिक प्रावधानअनुसारको मतसंख्या तीनैजनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीनजनाबीच प्रतिस्पर्धा भयो ।
आठौं प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैं बाहिर निस्किए । त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरे । यो चुनावी श्रृंखलाबाट कुनै परिणाम आउन नसकेपछि निर्वाचनसम्वन्धी नियमावली नै परिवर्तन गरियो । अर्को चरणमा झलनाथले बाजी मार्नुभयो र रामचन्द्र पौडेलले गर्नुभएको प्रतिस्पर्धा खेर गएको थियो ।
भट्टराईसँग मतान्तर
राजनीतिक जीवनको उत्तराद्र्धमा गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बन्न पौडेललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साथ दिनुभयो । तर पौडेल र देउवाबीच सहकार्य र अविश्वासको शृङ्खला धेरै लामो छ । लामो समय कांग्रेस संस्थापक मध्येका नेता कृष्णप्रसाद भट्टराईसँग निकट रहेका पौडेलले सरकारमा जाने विषयमा मतान्तर भएपछि भट्टराईको साथ छाड्नु भएको थियो । उहाँ गिरिजाप्रसाद कोइराला समूहसँग पनि निकट नभएका कारण स्वाभाविक रूपमा पार्टीमा फरक गुटको नेतृत्व गरिरहेका शेर बहादुर देउवासँग नजिक हुन पुग्नुभयो ।
२०५९ सालमा देउवाको नेतृत्वमा नेपाली कांग्रेस विभाजन भयो । पार्टी विभाजन गर्ने अन्तिम तयारीसम्म पौडेल देउवाको साथमै हुनुहुन्थ्यो । तर देउवाले पार्टी घोषणा गर्नुभन्दा केही घण्टाअघि मात्रै पौडेलले देउवालाई साथ नदिने निर्णय लिएको तत्कालीन कांग्रेस प्रजातान्त्रिकका नेता कैनी बताउनु हुन्छ । “उहाँले हामीलाई पनि प्रजातान्त्रिकमा जानुपर्छ भनेर मनाउनुभएको थियो । तर अन्तिम समयमा के भयो उहाँ पार्टी घोषणामा नआउने जानकारी दिनुभयो,” कैनी भन्नुहुन्छ । नेपाली कांग्रेस पुनः एकीकरण भएपछि भने पौडेल कोइराला समूहसँग निकट भए र देउवासँग उहाँको राजनीति प्रतिस्पर्धात्मक बन्यो । देउवासँग प्रतिस्पर्धा
राष्ट्रपति पौडेलले पार्टीको १३औँ महाधिवेशनमा पार्टी सभापतिका लागि शेरबहादुर देउवासँगै प्रतिस्पर्धा गर्नुभयो । पौडेल र देउवा बीचको रोचक प्रतिस्पर्धामा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणमा भएको मतदानमा देउवा निर्वाचित हुनुभएको थियो । लगत्तै कांग्रेस संसदीय दलको निर्वाचनमा पनि पौडेलले देउवासँग प्रतिस्पर्धा गर्नुभयो तर पराजित हुनुभयो । देउवा र पौडेल नेतृत्वको गुट कांग्रेसको १४औँ महाधिवेशनसम्मै कायम रहिरह्यो ।
तर गत वर्ष भएको पार्टीको १४औँ महाधिवेशनमा पौडेल तटस्थ रहँदा देउवा निर्वाचित हुनुभयो । पौडेलले आफ्नै पुरानो गुटका उम्मेदवार शेखर कोइराला र प्रकाशमान सिंह दुवैलाई समर्थन नगर्दा गुटभित्र उहाँको आलोचना समेत भएको थियो ।
गोविन्दराज जोशीसँग टकराब
२०४८ सालमा पहिलो पटक सांसद बनेका पौडेल त्यसपछिका लगातार चार वटा निर्वाचनमा तनहुँबाट निर्वाचित हुनुभयो । तर २०७४ को संसदीय निर्वाचनमा पौडेल पराजित हुनुमा तिक्ततापूर्ण सम्बन्ध भएका पार्टीका नेता गोविन्दराज जोशीलाई व्यवस्थापन गर्न नसक्नु पनि कारण रहेको नेताहरू बताउनु हुन्छ । पौडेल २०४८ सालमा तनहुँ १ बाट निर्वाचित हुनुभएको थियो । पहिलो संसदीय निर्वाचनमा सफल भएपछि पौडेल स्थानीय विकासमन्त्री हुनुभएको थियो ।
उहाँ मन्त्री भएका समयमा संसद्मा उपस्थित भएका बेला राष्ट्रिय सभामा उहाँमाथि गोल्छे सार्कीले हातपात गरेको बताइन्छ । तर उहाँले त्यसपछि जिल्लाकै नेता जोशीसँग निर्वाचन क्षेत्र साट्नुभयो । त्यस बेलासम्म राम्रो सम्बन्ध भएका दुवै नेताहरूबीचको सम्बन्ध त्यसपछि बिग्रियो । “उहाँहरूको सम्बन्ध बिग्रनुको कारण आन्तरिक प्रतिस्पर्धा नै हो,” कैनी भन्नुहुन्छ । कांग्रेसको राजनीतिमा अधिकांश समय पौडेल कृष्णप्रसाद भट्टराई र देउवा समूह नजिक रहे भने जोशी कोइराला समूह नजिक रहनुभयो ।
कांग्रेसद्वारा सञ्चालित २०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाउनु भएको थियो । २०१९ मा स्वतन्त्र विद्यार्थी आन्दोलनमा लाग्नु भएका उहाँ २०२३ मा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित हुनुभएको थियो । २०२४ मा उहाँ प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिवमा निर्वाचत भए । २०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापनामा पौडेल पनि सहभागी हुनुहुन्थ्यो । त्यस्तै २०४० मा पौडेललाई कांग्रेसले केन्द्रीय प्रचार समितिको संयोजक बनायो । २०४४ मा कांग्रेसको केन्द्रीय सदस्य बन्नुभएको थियो ।
२०४६ मा प्रजातन्त्रको पुनस्थापनापछि पौडेल २०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यसपछि बनेको सरकारमा स्थानीय विकासमन्त्री हुनुभयो । दोस्रोपटक २०४९ मा उहाँ स्थानीय विकास तथा कृषि मन्त्री बन्नुभयो । २०५१ को मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित हुनुभयो ।
२०५१ सालको प्रतिनिधिसभामा सभामुख निर्वाचित हुनुभएको थियो । रामचन्द्र २०५६ मा तनहुँ २ बाट संसद सदस्यमा तेस्रो पटक निर्वाचित भएपछि २०५७ मा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो । २०६२ सालमा कांग्रेस महामन्त्री हुनुभयो ।
माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयाको संयोजक हुनुहुन्थ्यो । २०६३ मा उहाँ शान्ति तथा पुनर्निमाण मन्त्री हुनुभयो । २०६४ सालमा कांग्रेसको उपसभापति हुनुभयो । सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ २ बाट चौथोपटक निर्वाचित हुनुभयो । २०६५ सालमा उहाँ कांग्रेस संसदीय दलको नेतामा निर्वाचित हुनुभयो । २०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौंपटक निर्वाचित हुनुभयो ।
२०७४ को प्रतिनिधि सभाको चुनाव हार्नुभएको पौडेल २०७९ मा प्रतिनिधि सभाको चुनाव जित्नुभयो । चुनाव जितेपछि शेरबहादुरको साथमा रहनुभएका उहाँ राष्ट्रपति बन्न सफल हुनुभयो ।
सहकर्मीलाई असहयोग
पौडेलका आलोचकहरूले उहाँ लोभी भएको टिप्पणी गर्नुभएको छ । तर पौडेलसँग करिब पाँच दशक सङ्गत गरेका कैनी उहाँ बाहिर टिप्पणी गर्ने गरिएको जस्तो लोभी नभएको बताउनुहुन्छ । बरु आफ्ना सहकर्मीहरूलाई राजनीतिमा सहयोग नगर्ने पौडेलको कमजोरी रहेको नेताहरुको गुनासो छ ।
“साथीका लागि सहयोग नगर्ने र राजनीतिमा स्थापित गराउन योगदान नगर्ने चाहिँ उहाँको कमजोरी जस्तो लाग्छ । पौडेललाई राजनीतिमा नैतिकवान् मान्नेहरू पनि छन् । लामो समय संसदीय राजनीतिमा पौडेलसँग काम गर्नुभएको जनता प्रगतिशिल पार्टीका नेता नेता हृदयेश त्रिपाठी पौडेल प्रजातान्त्रिक मूल्य मान्यतामा सम्झौता नगर्ने नेता भएको भन्नुहुन्छ ।
“उहाँ प्रजातन्त्रका लागि प्रतिबद्ध व्यक्ति हुनुहुन्छ । तर राजनीतिक बुझाइमा अलिकति सङ्कीर्णता छ,” पौडेल प्रतिनिधि सभाको सभामुख रहेका समयमा सार्वजनिक लेखा समितिको सभापति रहेका त्रिपाठीले भन्नुभयो ।
तपाईको प्रतिक्रिया