Khadya Bibhag

कञ्चनालाई पत्रकार बन्न बाध्य पारेको काठमाडौँ

यदि तपाई रेडियो मिथिला, हेडलाइन्स एण्ड म्युजिक एफ नियमित सुन्नुहुन्छ भने अवश्य पनि कञ्चना झाको कर्णप्रिय आवाज तपाईको कानमा गुञ्जिएको होला । कञ्चना झाले हिन्दी तथा मैथिली भाषामा सञ्चालन गर्ने ‘रजनीगन्धा’ र ‘फुलझरी’ कार्यक्रमले जो कोहीको मन मोहित बनाएको छ । तराई मधेशको मात्र होइन, काठमाडौँको मैथिली र हिन्दी भाषाका लागि लोकप्रिय कार्यक्रममध्येका त्यो कार्यक्रम हो ।

अहिले केही समयदेखि त्यो कार्यक्रम बन्द छ । उहाँ अहिले हिन्दी भाषाकै हिमालिनी अनलाइनमा कार्यकारी सम्पादकको भूमिकामा कार्यरत हुनु हुनुहुन्छ । काठमाडौँमा उहाँ विगत १२ वर्षदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । उहाँ लेख्ने र बोल्ने शैली गज्जबको छ तर उहाँ हिन्दी तथा मैथिली भाषामा पत्रकारिता गरेको कारण मूलधार नदेखिएको मात्र हो, नत्र एउटा मूलधारको पत्रकार जस्तै सक्रिय पत्रकारितामा नै हुनुहुन्छ । काठमाडौँ जस्तो शहरमा सक्रिय पत्रकारिता गर्ने कञ्चना झा आफ्नो पेसाप्रति सन्तुष्ट हुनुहुन्छ । तर सन्तुष्ट यो कारणले हुनुहुन्छ कि उहाँ कुनै काम गरिरहनु भएको छ । बेरोजगार हुनुहुन्न अर्थात तपाई बुझ्न सक्नुहुन्छ उहाँ आफ्नो पेसाप्रति भित्रैदेखि सन्तुष्ट हुनुहुन्न ।

पत्रकारिता चाहना कि बाध्यता
कञ्चना झा पत्रकारितामा आफ्नो इच्छा वा चाहनाले आउनु भएको होइन, बाध्यताले आउनु भएको हो । पढाईमा उहाँ मास्टर्स गर्नुभएको छ । पढाईमा अब्बल नै हुनुहुन्छ । यतिका पढी सकेपछि केही नकेही गर्नुपर्छ भनि सोचका साथ कामको खोजीमा रहेको बेला उहाँ पत्रकारितामा प्रवेश गर्नुभएको हो ।

कुरा २०६७ सालतिरको हो । एकदिन ललितपुरको पुल्चोकमा घुम्दै डुल्दै गर्दा उहाँको श्रीमान रञ्जन झाले हेडलाइन्स एण्ड म्युजिक एफएमको अफिस देखाउँदै भन्नुभयो उ हेर्नुस् रेडियोको अफिस । एफएम रेडियोको अफिस हो भनेपछि कञ्चना झालाई उत्सुकुता जाग्यो । रेडियो धेरै सुनेको छु तर त्यसको अफिस कस्तो हुन्छ थाह छैन एकपटक हेर्न जाउँ भनि आफ्नो श्रीमानलाई उहाँले भन्नुभयो ।

हेडलाइन्स एण्ड म्युजिक एफएममा जानुभयो । सो एफएमका मालिक गोपाल झा हुनुहुन्छ जो कञ्चना झाका श्रीमान रञ्जन झाका साथी हुनुहुन्छ । एफएममा लगेर कञ्चना झालाई रञ्जन झाले छाडेर कतै बाहिर निस्किनु भएको थियो । कञ्चना झालाई एफएमको बारेमा गोपाल झाले जानकारी दिनुभएको थियो । त्यतिकैमा कञ्चना झाले भन्नुभयो, ‘हामीले एफएममा काम गर्न पाउँदैनौं, हाम्रो लागि यहाँ कुनै काम छैन ।’ गोपला झाले किन छैन, तपाई गर्न चाहनु भयो भने हुन्छ, तपाईको अवाज यति मिठो छ, हिन्दी साहित्य पढ्नु भएको, तपाई प्रयास गर्नुस् सम्भव छ भन्नुभएको थियो ।

त्यही दिन गोपाल झाले प्रेमलाई साहित्यमा कसरी बर्णन गर्न सकिन्छ, एकपेज लेखेर ल्याउनु र त्यो सँग मिल्दो जुल्दो सन् १९६०–७० दशकको हिन्दी गीत पनि पाँच–सातवटा सेलेक्सन गरेर ल्याउन भन्नुभयो । कञ्चना झा खुशी खुशी त्यो दिन त्यहाँबाट फर्किनुभयो । त्यसको भोलीपल्ट कञ्चना झाले त्यो प्रेम साहित्य लखेर ल्याउनुभयो साथमा हिन्दी गीतको कलेक्सन पनि ।

एफएममा जागिर
गोपाल झाले कञ्चन झाले हिन्दी भाषामा लेख्नुभएको प्रेम साहित्य मन पराउनु भयो । गीतलाई त झन तारिफै गर्नुभएको थियो उहाँले । तर लेखेर मात्र हुँदैन एफएममा बोल्नुपनि पर्छ पनि भन्नुभयो । उहाँले लेख्नुभएको कुरालाई एफएममा रेकर्ड गराउन लगाउनु भयो । कञ्चना झाले आफ्नो अवाजमा त्यो प्रेम साहित्य रेकर्ड गरेर गोपाल झालाई दिनुभयो ।


त्यसको भोलीपल्ट गोपाल झाले मेहनत अझै पुगेन भनि प्रतिकृया दिनुभएको थियो । कञ्चना झाले फेरि आफ्नो आवाज रेकर्ड गराउनु भयो । यसैगरि उहाँले एक महिनासम्म गर्नुभयो । प्रत्येक दिन उहाँ अफिस जानु हुन्थ्यो । केही नकेही रेकर्ड गरेर आउनु हुन्थ्यो । तर गोपाल झाले अझै पुगेन भन्नुहुन्थ्यो । तर एफएमको अफिसमा उहाँको अवाजको तारिफ हुन्थ्यो । त्यहीं काम गर्ने पत्रकार अमरेन्द्र यादवले पनि कञ्चना झाको अवाजलाई तारिफ गर्नुभएको थियो ।

पत्रकार प्रियंका पाण्डे र स्नेहा झाले पनि प्रसंशा गर्नुभएको थियो । तर कहाँ के मिलेको थिएन कुन्नी गोपाल झाले ‘अन एयर’ गरिरहनु भएको थिएन । त्यहाँका कतिपय साथीहरु गोपाल झाको सामु पनि कञ्चना झाको अवाजलाई तारिफ गर्थे । त्यसपछि बल्ल कञ्चना झाले तयार गर्नुभएको ‘रजनीगन्धा’ कार्यक्रम ‘अन एयर’ भयो ।

जनकपुरको रेडियो मिथिला एफएममा त्यो कार्यक्रम प्रशारित भयो । त्यहाँबाट राम्रो प्रतिकृया आउन थाले । स्रोताहरुको चिठीपत्र तथा फोनहरु आउन थाल्यो कञ्चना झाका लागि । कञ्चना झा निकै खुशी हुनुहुन्थ्यो । त्यसपछि त्यही अर्को प्रोग्राम ‘फुलझरी’ पनि चलाउन थाल्नुभयो । विस्तारै विस्तारै कञ्चना झाको पनि परिचय बन्न थाल्यो । काठमाडौँमा पनि मान्छेले कञ्चना झालाई सोधखोज गर्न थाले । कार्यक्रमहरुमा बोलाउन थाले ।

हिमालिनीमा आवद्धता
एफएममा काम गरिरहनु भएका कञ्चनाको डिमाण्ड हिमालिनीमा पनि भयो । हिन्दी भाषामा राम्रो दखल भएका कञ्चना झाले २०६९ देखि त्यहाँ लेख्न सुर गर्नुभएको थियो । त्यसपछि कञ्चना झाको दिनचार्या व्यस्त भयो । तर आम्दानी थिएन । जागिरमा जति चमक धमक थियो, त्यो अनुसारको पारश्रमिक थिएन । एफएमले एउटा प्रोग्रामको ५०० रुपियाँ दिन्थ्यो । एक हप्तामा तीनवटा प्रोग्राम बनाउनु पथ्र्यो । हिमालिनीमा एउटा लेखको दुई हजार र अन्तरवार्ताको एक हजार दिन्थ्यो । अर्थात दुवै ठाउँ मिलाएर महिनाको आठदेखि १० हजार महिनाको कमाउनु हुन्थ्यो उहाँ ।


आफ्नो कमाईबाट सन्तुष्ट हुनुहुन्थेन तर कामबाट सन्तुष्ट हुनुहुन्थ्यो । कञ्चना झा भन्नुहुन्छ, ‘त्यतिबेला कामठमाडौँमा त्यतिकै बसिरहेका थिए के गरौं के गरौं जस्तो भएको थियो, त्यहीबेला एफएममा काम पाए त्यो नै मेरो लागि ठूलो कुरा थियो तर पारश्रमिक चित्त बुझ्दो थिएन । तर कामप्रति म सन्तुष्ट थिए ।’

पद्मकन्यामा पार्टटाइम
२०७१ मा पद्मकन्या क्याम्पसमा उहाँले उपप्रध्यापकमा पार्टटाइम जागिर पाउनुभयो । त्यसपछि उहाँले हिमालिनी छाड्नुभयो तर एफएममा उहाँको कार्यक्रम नियमित नै थियो । क्याम्पसमा उहाँले दुई–तीनवटा क्लाश मात्र लिनुहुन्थ्यो । त्यसबाहेकका समय उहाँले एफएममा दिनुहुन्थ्यो । तर कोरोना आएपछि क्याम्पस छाड्नुभयो । कोरोनापछि हिन्दीका विद्यार्थी नै भर्ना भएन त्यसपछि कञ्चना झालाई त्यहाँ बोलाएन ।

एन्टना फाउण्डेशनमा पनि काम गर्नु भएको थियो उहाँले । ‘हिलकोर’ कार्यक्रमका लागि मैथिली भाषाको स्क्रिप्ट लेखनमा उहाँले काम गर्नुहुन्थ्यो । त्यसपछि उहाँले हेडलाइन्स एफएममा पनि त्यति टाइम दिनसक्नु भएका थिएन । कहिले काही गएर एक दुईटा प्रोग्राम रेकर्ड गराएर फर्किनु हुन्थ्यो ।

एक वर्षपछि एन्टेना फाउण्डेशनको काम सकेपछि कञ्चना झा पुन त्यही एफएममा सक्रिय हुनुभयो । कार्यक्रमहरुलाई पुनः निरन्तरता दिन थाल्नुभयो । हेडलाइन्स एण्ड म्युजिक एफएमकै अर्को रेडियो थियो, रेडियो मिथिला । त्यसका प्रोग्राम पनि उहाँले बनाउनु हुन्थ्यो । रेडियो मिथिलाले बीबीसी, गोगो फाउण्डेशन, एनसीइ नेपालको प्रोजेक्ट पनि चलाइरहेको थियो । त्यसमा कञ्चना झा पनि संलग्न हुनुहुन्थ्यो । तर कोरोनापछि सबै कार्यक्रम बन्द भयो । कञ्चना पुनः एफएममै सिमित हुनुभयो ।

छ महिना अगाडि उहाँले एफएम पनि छाड्नुभयो । अहिले उहाँ हिमालिनी अनलाइनको कार्यकारी सम्पादकमा कार्यरत हुनुहुन्छ ।

सन् २०१८ मा अमेरिकाको सन डियागो युनिभर्सिटी तथा काठमाडौँस्थित लिडरसीप एकेडेमीको संयुक्त आयोजना सुरु भएको एक वर्षिय लिडरसीप स्नातक कोर्ष गर्नुभएका कञ्चना सन्तोष साह फाउण्डेशनको प्रवक्ता समेत हुनुहुन्छ । लिडरसीपको स्नातक कोर्स गरेपछि आफूमा निकै परिवर्तन आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो कोर्सले ममा आत्मविश्वास जगाएको छ ।’

माइती भारत
कञ्चना झाको माइती भारत विहारको मधुवनी पण्डौलको सोहराइमा पर्छ । उहाँको घर मधुवनीमा भएपनि लालन पालन, शिक्षा दिक्षा सबै भारत विहारको राजधानी पटनामा भएको हो । उहाँका बुवा उदयशंकर झाको कारोबार पटनामा थियो त्यही भएर उहाँहरु सबैजना पटनामा नै बस्नु हुन्थ्यो ।

शिक्षा
पटनाकै नारायणी कन्या उच्च विद्यालयमा एक कक्षादेखि १० कक्षासम्म अध्ययन गर्नुभएका कञ्चना त्यहीको गंगादेवी महिला कलेजबाट हिस्ट्री विषयमा बीए पास गर्नुभयो । २०४९ मा उहाँले १० कक्षा पास गर्नुभएको थियो भने २०५४ सम्ममा बीए पास गरिसक्नु भएको थियो ।

बीए पास गर्ने बित्तिकै उहाँ लोक सेवा (आइएएस–बीपीएससी)को तयारीमा लाग्नुभयो । र, त्यहीको महावीर प्रसाद द्वेवेदी हाइस्कूल (निजी स्कूल) मा पढाउन पनि थाल्नुभयो । कक्षा पाँचदेखि १० सम्म उहाँले मोरल साइन्स पढाउनु हुन्थ्यो । पढाउनुको साथै उहाँले लोक सेवाको तयारीमा पनि लाग्नु भएको थियो । दुई तीनवटा परीक्षा पनि दिनुभयो । तर लिखितमा पास भएपनि मौखिकमा छाटिनु हुन्थ्यो ।

यता, बीए पास गरेको कारण बिहेको प्रस्ताव पनि विभिन्न ठाउँबाट घरमा आउँथे । तर कञ्चनालाई बिहे गर्न हतार थिएन । उहाँको चाहना सरकारी जागिर गरेर मात्र बिहे गर्ने थियो । त्यसमा उहाँको बुवाले पनि साथ दिनुभएको थियो । विजनेश गरेर हामीले धेरै दुख पाइसक्यौं, छोराछोरीले विजनेश नगरोस् भनेर सबैलाई उहाँको बुवाले राम्रो शिक्षा दिक्षा दिलाउनु भएको थियो ।

कञ्चना झाले भन्नुभयो, ‘मेरो बुवाको चाहना पनि छोरी पढाई लेखाई सकाएर कुनै सरकारी जागिर गरोस् नै थियो त्यही भएर उहाँले विहेको लागि कहिले हतार गर्नुभएन ।’ जागिरका लागि तयार गर, तिमीलाई जहिले मन लाग्छ त्यहिले बिहे गर भन्नुभएको थियो उहाँको बुवाले । कञ्चना झाको प्रयास जारी थियो । बिहेको प्रस्तावहरु आइ नै रहेको थियो । कञ्चनाले टार्दै गइरहनु भएको थियो ।

नेपालबाट बिवाहको प्रस्ताव
२०५८ सालमा नेपालबाट विवाहको प्रस्ताव गयो । सप्तरीको राजविराजबाट कञ्चनाका सानी आमा प्रमिला झाले रञ्जन झासँग बिवाहका लागि प्रस्ताव लिएर पटना जानुभएको थियो ।

कञ्चना झाको सानीआमाले रञ्जन झा र उहाँका परिवारका बारेमा सबै कुरा जानकारी गराएपछि विहेका लागि राजिमा हुनुभएको थियो । त्यसपछि कञ्चन झाका बुवा उदयशंकर झा राजविराज आएर रञ्जन झाका बुवा डा.विद्यानन्द झासँग कुराकानी गर्नुभएको थियो । काठमाडौँ बस्दै आउनु भएका रञ्जनलाई पनि बोलाएर कञ्चनका बुवाले कुराकानी गर्नुभएको थियो । रञ्जन पत्रकार हुनुन्थ्यो त्यो थाह पाएर कञ्चनाका बुवा झन खुशी हुनुभएको थियो ।


सबै कुराका ठिक ठाक लागेपछि बिहेको कुरा तय भएको थियो । कञ्चना झा भन्नुहुन्छ, ‘सबै कुरा मिलेपछि मेरो विहे १० दिनको तयारीमा भएको थियो, कुनै लेनादेना भएन । त्यो बेला मेरो घरको आर्थिक अवस्था निकै कमजोर थियो । बिहेमा खर्च नगर्ने अवस्था थिएन तर रञ्जन सरको घरबाट कुनै खर्चबर्च गर्नुपर्दैन छोरी पठाई दिनु हामी त्यसैमा खुशी हुन्छौ भनेपछि बुवा तत्कालै बिहेका लागि तयार हुनुभएको थियो । नगद दिने त कुरै भएन, अन्य जिन्सी समान जो छोरीलाई दिने चलन छ त्यो पनि दिएन तैपनि रञ्जन सरको घर परिवारले स्विकार गरेर मलाई भित्र्यायो ।’

रञ्जनको एउटै इच्छा थियो, कम्तीमा बीए पढेकी केटी होस् । अरु दान दहेज केही चाहिदैन । डा.विद्यानन्द झाले पनि बुहारी पढे लेखेको होस् । कञ्चना बीए पास हुनुहुन्थ्यो तर त्यसमा विश्वास नलागेपछि रञ्जन झाको बुवाले बीए पास गरेको सर्टिफिकेट मगाएर हेर्नुभएको थियो । कञ्चना झा भन्नुहुन्छ, ‘मलाई अहिले पनि याद छ, उहाँहरुले बीएको सर्टिफिकेट मगाएर हेर्नुभएको थियो, मैले नै उता (पटना)बाट पठाएको थिए ।’

कञ्चना झाको त्यतिबेला पनि बिहे गर्ने इच्छा थिएन । जे सोचका साथ अगाडि बढी रहनु भएको थियो । जागिरको तयारीमा लाग्नुभएको थियो । त्यो अझै प्राप्त भएको थिएन । तर समय ढल्किदै गइरहेको थियो । कञ्चनाको उमेर पनि बिहे गर्न लायक भइसकेको थियो । अन्य वहिनीहरुको पनि विहे गर्न बेला हुन लागेको थियो ।

क्यारियरको प्रतिक्षामा बस्यो भने त्यसले अन्य कुरामा पनि असर गर्न सक्छ भन्दै सबैको सल्लाहमै विवाह गर्न कञ्चना राजि हुनुभएको थियो ।

बिहेपछि पनि कतिपयको नयाँ क्यारियर सुरुवात भएको उदाहरणहरु पनि छन् । बिहे गरेर पनि केही गर्न सकिन्छ भनि सोचेर नै कञ्चनाले रञ्जन झासँग बिहे गर्नुभयो । कञ्चनाको बुवाले पनि बिहे कुरा मिलाउने क्रममा छोरीलाई यति पढाए लेखाएको छु, बिहे गरेर आएपनि केही गर्न चाहे गर्न दिनु होला भनि रञ्जन झाको बुवालाई आग्रह गर्नुभएको थियो । छोरीले सासुर पनि केही गरोस्, त्यतिकै नबसोस् भनि चाहना उहाँको थियो ।

काठमाडौँमा गाह्रो
बिहे गरेर राजविराज आएपछि बढी उहाँ छ महिना बस्नुभयो । त्यसपछि श्रीमान रञ्जनसँग काठमाडौँ आउनुभयो । काठमाडौँ आएपछि कञ्चनलाई विहारको पटनाभन्दा बिल्कुल फरक र अनौठो लाग्यो । यहाँका रहन, सहन, बोली व्यवहार, सँस्कृति सबै फरक थियो । उहाँ भन्नुहुन्छ, ‘खुल्लापन ज्यादा देखियो, जुन कुरा मलाई त्यतिबेला मन परिरहेको थिएन ।’ कञ्चना झा पटनामा महिला स्कूल र कलेज पढ्नु भएको थियो । त्यही भएर काठमाडौँमा उहाँलाई अनौठो लागि रहेको थियो । काठमाडौँमा कञ्चनालाई सबभन्दा ठूलो समस्या भाषाको भयो । कञ्चनालाई न नेपाली बोल्न आउँथ्यो, न अरुले बोलेको बुझ्नु हुन्थ्यो ।

त्यसले गर्दा उहाँलाई घरबाट निस्किन पनि गाह्रो भइरहेको थियो उहाँलाई । रञ्जन झा पत्रकार हुनुहुन्थ्यो । त्यतिबेला उहाँ स्पेश टाइम्समा काम गर्नुहुन्थ्यो । बिहान कलेज पढाउनु त्यसपछि पत्रिकाको अफिस जानुहुन्थ्यो । रञ्जन झाले घरमा त्यति टाइम दिन भ्याइरहनु भएको थिएन । त्यसले कञ्चनालाई झन गाह्रो भइरहेको थियो । काठमाडौँको हावापानी सुट नगरेपछि उहाँ विरामी पर्नुभयो ।

कञ्चना झाले भन्नुभयो, ‘६ महिना मलाई काठमाडौँमा निकै गाह्रो भयो कहाँ आइपुग्यो जस्तो लाग्यो, भाषा मिल्दैन, बोली मिल्दैन, पढाई मिल्दैन, कल्चर मिल्दैन अर्कै दुनियाँमा आइपुगेको जस्तो लाग्यो । यी सब सहन नसकेर राजविराज फर्के ।’ राजविराज गएपछि एक वर्ष लगातार त्यही बस्नुभयो । उहाँलाई काठमाडौँ आउन मनै लागिरहेको थिएन । काठमाडौँको नाम सुनेर कञ्चनालाई रिङ्गटा लाग्थ्यो ।


एक वर्षपछि काठमाडौँ फर्केपछि फेरि त्यही ताल । कञ्चनालाई त्यतिबेला दुईटा कुरा निकै अनौठो लागेको थियो । पानी बोक्ने सिस्टम र रक्सीको पसल । पानीको अभावका कारण मान्छेहरु टाढा टाढाबाट पानी बोकेर ल्याउँथे । कोठामा पनि ड्रमहरुमा पानी भरेर राख्नुपथ्र्यो त्यो कुरा कञ्चनालाई अनौठो लागि रहेको थियो । रक्सी त काठमाडौँको हरेक पसलमा पाइन्छ । त्यसमा पनि कञ्चनालाई आश्चर्य लागि रहेको थियो ।

जीवनप्रति चिन्तित
पछि त कञ्चना डिप्रेशनमा जानुभयो । काठमाडौंको तनावपूर्ण जीवन । यतिका पढे लेखेको पनि केही गर्न सकिरहेको छैन । आमा–बुवाले यत्रो आश गरेर पढाउनु भयो, आफ्नो खुट्टामा उभिन सकिने हैसियतमा पुर्याई दिनुभयो तैपनि केही गर्न सकिरहेको छैन भनि चिन्ताले कञ्चनालाई सताइरहेको थियो । बिहेअघि नै आफ्नो क्यारियर बनाउन मेहनत गर्नुभएको कञ्चनाले बिहेपछि पनि केही गर्न सक्छु जस्तो लागेको थियो तर बिहे गरेर काठमाडौँ आएपछि सबै भताभुङ भएको जस्तो लागेको थियो । त्यसले कञ्चना निकै तनावमा बाँचिरहनु भएको थियो ।

त्यति नै बेला छोरीको जन्म भयो । छोरीको जन्म उहाँले जनकपुरमा दिनुभयो । छोरी जन्मेपछि कञ्चना झन झन बिरामी नै पर्न थाल्नुभयो । एक क्यारियरलाई लिएर तनाव, अर्कोतिर छोरीको जन्म, त्यसको स्यहार सुसार, अर्कोतिर आफै बिरामी । यी सबै कुराले निकै सताइरहेको थियो कञ्चनालाई ।

पढाईलाई निरन्तरता
बिहे गरेर आएपछि पढाईलाई निरन्तरता दिने सोच उहाँको थियो । तर त्यो भइरहेको थिएन । काठमाडौँको माहोल हेर्दा कञ्चनाले थाह पाइसक्नु भएको थियो कि यहाँ नेपाली नसिकेसम्म केही हुनेबाला छैन । रञ्जन झाले कञ्चनालाई पढ्नका लागि पत्रिकाहरु ल्याएर दिनुहुन्थ्यो । कञ्चनाले अक्षर मात्र पढ्नु हुन्थ्यो तर केही बुझ्नु हुन्थेन । राती रञ्जन झा कोठा फर्केपछि पत्रिकामा के के पढ्नु भएको भनि सोध्नु हुन्थ्यो । केही थाह हुँदैन्थ्यो । त्यसपछि रञ्जन झाले आफै पढेर सुनाउनु हुन्थ्यो र त्यसको अर्थ पनि सम्झाउनु हुन्थ्यो ।

बिस्तारै बिस्तारै केही बुझ्न थाल्नुभयो । त्यसपछि छरछिमेका बच्चाहरु बिस्तारै बिस्तारै बोल्नु थाल्नुभयो । छिमेकीसँग पनि चिनजान गर्न थाल्नुभयो । पछि त्यहाँ राजविराज, जनकपुरलगायतका ठाउँका मान्छेहरुसँग पनि उहाँको चिनजान भयो । त्यही उहाँको चिनजान डा.श्वेता दीप्तीसँग भयो । श्वेता हिन्दीको बोल्नुहुन्थ्यो । कञ्चनाका लागि निकै नै सजिलो भयो । उहाँ दुईजना बीच हिन्दी भाषामा नै कुरा हुन्थ्यो ।

श्वेताले नै कञ्चनालाई टियुमा हिन्दी पनि पढाई हुन्छ, त्यहाँ ज्वाइन गर्न सुझाव दिनुभएको थियो । टियुमा पढ्नका लागि कञ्चना पनि तयार हुनुभयो । छोरी सोम्या अढाई वर्षको हुँदा कञ्चनाले टियुमा हिन्दीमा मास्टर्स अध्ययन गर्न थाल्नुभयो । २०६५ मा टियु पढ्न थाल्नुभएका कञ्चन २०६७ मा मास्टर्स सकाउनुभयो । कञ्चना भन्नुहुन्छ, ‘२०५८ देखि २०६५ सालसम्मको दिन मेरो त्यतिकै खेर गएको थियो । आठ वर्ष मेरो कसरी बितेको थियो त्यो मलाई नै थाह छ ।’


मास्टर्स सकाउने बित्तिकै कञ्चनाले एफएममा काम गर्ने मौका पाउनु भएको थियो । पत्रकारिता गर्ने सोच कञ्चनाको थिएन । कहिले पनि पत्रकार बन्छु भनि उहाँले सोच्नु भएको थिएन तर बाध्यताले पत्रकार बनाई दिएको उहाँ बताउनु हुन्छ । बाल्यकालमा टीभीमा समाचार पढेको हेर्दा, रेडियो समाचार पढेको सुन्दा त्यस्तै गरौं गरौं जस्तो लाग्थ्यो ।

कहिले काही नक्कल पनि गर्थे, कञ्चनाले भन्नुभयो, ‘भविष्यमा पत्रकार नै बन्छु भनि सोचाई कहिले बनेनन् ।’ तर मास्टर्स पढ्दा १०० माक्र्सको पत्रकारिता उहाँले पढ्नु भएको थियो । त्यो पनि नपढ्न उहाँका श्रीमान रञ्जनले सुझाव दिनुभएको थियो । यदि पत्रकारिता नै पढ्नुछ भने मासकम्युनिशेन लिएर पढ्नु तर सय माक्र्सको पढेर केही हुँदैन भनि सम्झाउने प्रयास गर्नुभएको थियो तर जिद्द गरेर कञ्चनाले त्यही सय माक्र्सको पढनु भएको थियो आखिर पढाइ सकाएपछि त्यो काम पनि लाग्यो ।

श्रीमान पत्रकार भएपनि कञ्चनालाई पत्रकार बन्ने चाहना कहिले भएन । न त रञ्जन झाले कहिले पत्रकार बन्नका लागि भन्नुभएको थियो । परस्थितिले पत्रकार बनाई दियो । कञ्चना झा भन्नुहुन्छ, ‘म आफ्नो पेसाले खुस छैन तर गर्नु के त ? यदि म नेपाल नआएको भए सायद यो भन्दा राम्रो क्यारियर हुन्थ्यो कि जस्तो लाग्छ बेला बेला ।’ त्यति मात्र होइन, उहाँ आफ्नो श्रीमानलाई लिएर पनि चिन्तित हुनुहुन्छ । सायद उहाँ पनि भारतमै भएको भए यो भन्दा राम्रो गर्न सक्नुहुन्थ्यो । भारतबाट पत्रकारिता पढ्नु भएको छ । उहाँसँगै पत्रकारिता पढेकाहरु कहाँबाट कहाँ पुगि सक्नुभयो तर रञ्जन झा त्यहीको त्यही हुनुहुन्छ ।

कञ्चना झा भन्नुहुन्छ, ‘तर मेरो श्रीमान भन्नुहुन्छ म ठिक छु, मलाई यसैमा आनन्द छ ।’

परिवार
कञ्चना झाका छोरी सोम्या झा १८ वर्षकी भइसकेकी छिन् । उनी प्लस टु सकाएर इन्जिनियरिङको तयारीमा लागेकी छिन् । कञ्चना झाका कल्पना झा, अर्चना झा, साधना झा गरी तीन दीदी वहिनी र एक जना भाइ रजनी झा हुन् ।

तपाईको प्रतिक्रिया