महन्थ ठाकुरको गुनासोः तपाईलाई उपेन्द्र यादव भए पुग्छ !

‘तपाईहरुलाई उपेन्द्र यादव भए पुग्छ भने केही छैन, तर तपाईहरुको पार्टीलाई यो अवस्थामा ल्याउन हाम्रो पार्टीको पनि योगदान छ त्यो कुरा तपाई बिर्सिनु हुँदैन ।’ लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट्नु भएको बेला गर्नुभएको गुनासो हो यो ।
अन्तिम समयमा उपेन्द्र यादव तपाईहरुको गठबन्धन छाडेर गएपछि लोसपाले नै मधेशमा इज्जत धान्दिएको थियो, लोसपाका अध्यक्ष महन्थ ठाकुरले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग गुनासो गर्दै भन्नुभयो, ‘हामीले आफूलाई कमजोर गरेर काँग्रेस र माओवादी केन्द्रलाई मत दिएर जिताएको हौं, कतिपय ठाउँमा लोसपा जित्ने अवस्थामा पनि आफ्नो उम्मेदवारलाई बसाएर काँग्रेस र माओवादीलाई सहयोग गरेका हौं त्यो कुरा तपाईहरु बिर्सिनु भएन नि ।’
प्रधानमन्त्री प्रचण्डका निजी सचिवालयका एक सदस्यका अनुसार पार्टीका नेताहरुले अहिले पनि गुनासो गरिरहेका छन् कि एक्लै चुनाव लडेको भए यो भन्दा बढी सीट आउँथ्यो र राष्ट्रिय बन्थ्यो तर लोकतन्त्रको रक्षाका लागि लोसपाले त्यति योगदान दिएको हो भनि लोसपाका नेताहरुको गुनासो बालुवाटारमा सुन्न पाइन्छ ।
सायद लोसपा एक्लै चुनाव लडेको भए, यो भन्दा बढी सिट आउँथ्यो । राष्ट्रिय पार्टी बन्थ्यो तर गठबन्धनका लागि लोसपाले त्याग देखाएको हो, यो कुरा तपाईहरुले कसरी बिर्सिनु भयो भनि लोसपा अध्यक्ष महन्थ ठाकुरको गुनासो थियो । जसपाका अध्यक्ष उपेन्द्र यादव गठबन्धन छाडेर गइसकेपछि पाँच दलीय गठबन्धनमा लोसपा हरहमेशा साथमा रह्यो ।
तर गठबन्धन छाडेर गइसकेका उपेन्द्र यादव पुनः फर्केर आएपछि पनि उच्च सम्मान दिएको भनि लोसपाका नेताहरुको गुनासो रहेको छ । लोसपाले गठबन्धनको साथ कहिले छाडेन तर काँग्रेस र माओवादीका लागि उपेन्द्र यादव प्यारो भयो, लोसपा दुश्मन भयो भनि गुनासो उहाँले गर्नुभएका काँग्रेसका एक नेताले बताउनुभयो ।
ती नेताका अनुसार सँख्या मुख्य कुरा होइन, मुख्य कुरा विश्वास र प्रतिवद्धता हो जसमा लोसपा हरहमेशा अडिग रह्यो तैपनि काँग्रेस र माओवादी केन्द्रका लागि उपेन्द्र यादव नै प्यारो किन भनि लोसपाका अध्यक्ष महन्थ ठाकुरले प्रश्न गर्नुभयो ।
जुनसुकै परस्थितिमा पनि लोसपा काँग्रेस र माओवादीको साथमा थियो र छ पनि तर एउटा दललाई काखा र अर्को दललाई पाखा गरिएको छ भनि गुनासो गर्दै लोसपालाई पनि सम्मानजनक सहभागिता सरकारमा चाहिन्छ भनि धारणा उहाँको थियो । एउटै दलले प्रदेश सरकारको नेतृत्व पनि पाउने, उपराष्ट्रपति पनि पाउने, सरकारमा मन्त्रालयको भागबण्डा पनि पाउने तर अर्को दल (लोसपा) सधै साथमा रह्यो उसलाई वास्ता पनि नगर्ने भनि लोसपाका नेताहरुको गुनासो रहेका काँग्रेसका एक नेताले बताउनुभयो ।
लोसपाका नेताहरुले चार दलीय गठबन्धनलाई ब्युत्याएको र त्यसमा लोसपालगायतका दललाई भूमिकाविहिन बनाएकोमा पनि गुनासो गरेको स्रोतले जनाएको छ ।
जसपाले केन्द्रमा दुईटा मन्त्रालय तथा मधेश र लुम्बनी प्रदेशमा सम्मानजनक सहभागिताको लागि प्रधानमन्त्री प्रचण्डसमक्ष प्रस्ताव गरेको छ । त्यति मात्र होइन, मधेश प्रदेशमा आलोपालोमा सरकारको नेतृत्व लोसपाले पनि गर्न पाउनुपर्ने प्रस्ताव गरेका काँग्रेसका ती नेताले सहारा टाइम्सलाई बताउनुभयो । तर प्रधानमन्त्री प्रचण्डले एउटा मन्त्रालय मात्र दिन सकिने जवाफ दिएको स्रोतले दावी गरेको छ ।
थुप्रै दलहरु छन्, सबैलाई चित्त बुझाउनुपर्छ, लोसपाको भागमा एउटा कुनै राम्रो मन्त्रालय पर्न सक्छ भन्दै प्रचण्डले पछि अरु कुराहरुमा सल्लाह गरौंला भनि जवाफ दिएको स्रोतले दावी गरेको छ तर लोसपाले दुईटा मन्त्रालयका लागि आफ्नो अडान कायम राखेको छ ।

तपाईको प्रतिक्रिया