Khadya Bibhag

सिके राउतका कारण संघीयता र गणतन्त्र खतरामा छ

सिके राउतजीले जुन माइका लाल शब्द प्रयोग गर्नुभएको छ । त्यो शब्द बाराका एक जना बच्चाले पनि मन पराएको छैन । त्यो घोर आपत्तिजनक शब्द हो बारावासीका लागि । सबैलाई अनफिट लागेको छ ।

–प्रमोद गुप्ता
–राजनीतिक समिति सदस्य, जनता समाजवादी पार्टी नेपाल,-
बारा–२ मा बैशाख १० गते भइरहेको उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपाललगायत अन्य दलहरु भाग लिएका छन् । त्यहाँ जति दलले उम्मेदवारी दिएपनि समाजिक सञ्जालदेखि मिडियामा सिर्फ जसपा र जनमत पार्टीको मात्र चर्चा छ । जसपाका अध्यक्ष उपेन्द्र यादव त्यहाँ उम्मेदवारी दिनुभएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले शिवचन्द्र कुशावाहालाई उठाउनु भएको छ । कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रस्तुत छ, बारा निवासी एवं जसपाका राजनीतिक समिति सदस्य प्रमोद गुप्तासँग त्यहाँको उपनिर्वाचनको बारेमा गरिएको कुराकानीको सम्पादीत अंश

अहिले तपाईहरु बारा–२ को चुनावमा होमिनु भएको छ, कस्तो अवस्था पाउनु भएको छ त्यहाँ ?
–हो बारा–२ मा उपचुनाव हुँदैछ, बारावासीका लागि सुखद र गौरवपूर्ण अवस्था हो । बारावासीले उपराष्ट्रपति पाएको छ, मुख्यमन्त्री पाएको छ । र, त्यसलगतै राष्ट्रिय तथा अन्तराष्ट्रिय छवी बनाउनु भएका, संघीयता र गणतन्त्रका लागि लड्नु भएका, मधेशलाई विश्वमा चिनाउनु भएका, मधेश मुक्तिका लागि अझै लडि रहनु भएका जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव पनि बारा–२ को उपचुनावमा भाग लिनुभएको छ । त्यो बारावासीको लागि सौभाग्यको कुरा हो यसमा हामी गर्व गर्नुपर्छ । जनता उत्साहित छन् । उपेन्द्र यादवलाई जिताउनका लागि तयार भइसकेका छन् । जनताले भन्न थालेका छन् अहिले मत लिनुहुन्छ भने लिनुस् हातमै दिन्छौं । त्यसैले अवस्था धेरै नै राम्रो छ । मिडिया र समाजिक सञ्जालमा अरु अरु पार्टीहरु पनि कुदफान (दौडधुप) मात्र गरिरहेका छन् ।

जसपा पार्टीको कुन दलसँग प्रतिस्पर्धा छ त ?
–सिधा कुरा भन्ने हो भने हाम्रो प्रतिस्पर्धा कसैसँग, कुनै पनि दलसँग छैन तर चुनाव हो यो प्रतिस्पर्धाको खेल हो । चुनाव हुन्छ, प्रकृयामा जान्छ मतगणना गरेर व्यक्ति चयन हुन्छ त्यसैले प्रतिस्पर्धा छ भनि मान्नै पर्छ । हामीले हाम्रो प्रतिस्पर्धी एमालेलाई देखेका छौं । थोरै मत भएपनि एमाले मात्र हो जसपाको प्रतिस्पर्धी । उपचुनावमा भाग लिएका अरु कुनै पनि दलसँग मत छैन । काँग्रेस, माओवादी, नेकपा (एस)ले जसपाका उम्मेदवार उपेन्द्र यादवलाई नै सघाएका छन् । त्यसबाहेक अलिकति मत छन् भने एमालेसँग मात्र छन् । त्यो दलसँग मात्र हाम्रो प्रतिस्पर्धा हुन्छ ।

मिडिया र समाजिक सञ्जाल हेर्दा त जसपा र जनमत पार्टीबीच ठूलो टक्कर रहेको देखिन्छ त्यो कसरी ?
–हो, जनमत पार्टी समाजिक सञ्जाल र मिडियामा मात्र देखिएका छन् । जनमत पार्टीले सारा शक्ति त्यसैमा लगाएको छ । त्यो पार्टीको दौडधुप लहकछहक बढी देखिएका छन् । दिनभर सिके राउत घुमिरहनु हुन्छ तर उहाँका पछाडि हिड्ने कार्यकर्ता पनि बाराका छैनन् । शिवचन्द्र कुशवाहाका अगाडि पछाडी गर्ने पनि बाराका होइनन् । जनमत पार्टीलाई बुथमा राख्ने मान्छे पनि भेट्दैन । तर एउटा कुरा मान्छु जनमत पार्टी र सिके राउत समाजिक सञ्जालमा खुब जम्नु भएको छ । तर मत समाजिक सञ्जालले खसाउँदैनन् नि । मत त बारा–२ का मतदाताले खसाउने हो नि ।

बारा–२ मा पस्ने बित्तिकै जनमत पार्टीका अध्यक्ष सिके राउतले भन्नुभयो, ‘बारामा कोइ माइका लाल छैन कि चुनाव लडोस्’ । उपेन्द्र यादव नै किन यहाँ चुनाव लड्न आउनु पर्यो, के बारा–२ मा जसपाका कोही उम्मेदवार थिएनन् ?
–सिके राउतजीले जुन माइका लाल शब्द प्रयोग गर्नुभएको छ । त्यो शब्द बाराका एक जना बच्चाले पनि मन पराएको छैन । त्यो घोर आपत्तिजनक शब्द हो बारावासीका लागि । सबैलाई अनफिट लागेको छ । सिके राउतको बोलीमा लगाम छैन भनि बाराका जनताले थाह पाइसके । अर्को कुरा, आज बाहिरबाट आएर उपेन्द्र यादवले मात्र चुनाव लड्नु भएको छैन । यसअघि काँग्रेसबाट पनि पटक पटक बाहिरबाट आएर चुनाव लडेर जितेका हुन् । त्यसको बारेमा सिके राउत कहिले बोल्नु भएन, कहिले अवाज उठाउनु भएन तर उपेन्द्र यादव सबै प्रकृया पुरा गरेर विधिसंवत ढंगले उपनिर्वाचनमा भाग लिनुभएको छ ।

माइकालाल, धर्तीपुत्र, बहरिया जस्ता शब्द प्रयोग गर्ने कुनै आवश्यकता नै थिएन । यो आरजकता हो, जनतालाई भड्काउने, भ्रममा राख्ने काम हो यो । राजनीतिमा हारजीत आफ्नो ठाउँको कुरा हो तर मित्रवत प्रतिस्पर्धा हुनुपर्छ । जनता जसलाई मन पराउँछ, त्यसैले जित्ने हो । तर यो प्रकारको बोल्ने शैली, प्रचार समाग्री बनाउनु हुँदैन । चुनावको प्रतिस्पर्धी, मित्रवत प्रतिस्पर्धी स्विकार गर्दै मैदानमा रहनुपर्छ । कसैलाई होच्याउने, गाली गर्ने, विभिन्न नाम राख्ने काम जिम्मेवार राजनीतिक दलका नेताको होइन । हो, मञ्चमा भाषण दिनुपर्छ तर राजनीतिक र सैद्धान्तिक कुरा गर्नुपर्छ । विचार र तथ्यले एक अर्काको मत काट्नु पर्छ । मत तान्नुपर्छ तर सिके राउतको यो तरिका ठिक होइन यो कुरा जनताले पनि भन्न थालेका छन् ।

त्यसो भए उहाँले गर्दा आज कुन भ्रष्टाचारी पक्राउ परे, कसलाई कारवाही गराउनु भयो, भ्रष्टाचार कहाँ कम भयो, उहाँका कारण कुन युवाले रोजगारी पाएका छन् ? एउटा पनि उदाहरण होला नि । कहिले आफ्नै सेनाका लागि भन्दै विज्ञान गर्नुभयो । कहिले रोजगारी दिन्छु भनि मधेशबाट नाम संकलन गर्नुभयो कहिले आफ्नै पार्टी कार्यालयमा रोजगारी दिन्छु भनि विज्ञापन गर्नुभयो आजसम्म एकजनालाई पनि कतै रोजगारीमा राख्नु भएको सुन्नु भएको छ ?

चुनाव हारेको पाँच महिना भएको छ । जनताले एक पटक हराई सकेपछि एक कार्यकाल अर्थात पाँच वर्ष जनताको सेवा गरेर बस्नुपथ्र्यो चुनावै लड्ने आवश्यकता किन पर्यो उपेन्द्र यादवलाई ?
–मलाई लाग्छ अहिलेको संसद मधेशविहन भएको छ । मधेशी, आदिवासी जनजाति, मुस्लिम, थारुको कुरा उठाउने त्यहाँ कोही भएन । प्रचण्ड, केपी शर्मा अ‍ोली, शेरबहादुर देउवासँग आँखामा आँखा जुधाएर बोल्ने एक जना व्यक्ति उपेन्द्र यादव मात्र हुनुहुन्छ । नीति निर्माण तहमा मधेशको कुरा लगि दिने व्यक्ति उपेन्द्र यादव मात्र हुनुहुन्छ । मधेशका थुप्रै नेता संसदमा छन् । सबैको त्यो हैसियत पुग्दैन ।

राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने व्यक्ति हुनुहुन्छ उहाँ । उपेन्द्र यादवमा त्यो क्षमता नभएको भए आज उपराष्ट्रपति र मुख्यमन्त्री पाउनु हुन्थेन । उपेन्द्र यादवको क्षमता र कौशलता देखेर नै दिएको होला नि । उपेन्द्र यादवलाई जिताउनका लागि काँग्रेस, माओवादी, नेकपा (एस), लोसपा जीउ ज्यान लगाई सकेका छन्, त्यो त उपेन्द्र यादवको क्षमता देखेर नै त्यस्तो गरेका होलान् नि । त्यसैले उपेन्द्र यादव संसदका लागि आवश्यक व्यक्ति हुनुहुन्छ त्यही भएर उहाँ बाध्य भएर चुनाव लड्नु भएको हो ।

के उहाँ जस्तो नेता बारा–२ मा जसपामा कोही छैनन् त ?
–नेताहरु धेरै छन् सब एक से एक हुनुहुन्छ, सबैको आआफ्नो क्षमता छन् । तर उपेन्द्र यादवमा जे क्षमता छ त्यो अरुमा छैन जस्तो मलाई लाग्छ । त्यही भएर ती सबै नेताले उपेन्द्र यादवलाई जिताउनका लागि बारा बोलाउनु भएको हो । उपेन्द्र यादवजी त्यतिकै यहाँ आउनु भएको होइन । उहाँ आउन चाहनु नै भएको थिएन । बाराका जनता र नेताले उहाँलाई यहाँ आउन भनेको कारणले नै उहाँ यहाँ आउनु भएको हो । बाराका जनता आज मात्र होइन, मंसिर १० गते भएको चुनावमा पनि बाराबाट चुनाव लड्न विशेष आग्रह गरेको थियो ।

अहिले फेरि त्यो मौका आयो र हामीले उहाँलाई बोलाएर ल्यायौं । उहाँको जस्तो क्षमता, कौशलता, बौद्धिककता कमै नेतामा छन् । त्यो बारामा मात्र होइन राष्ट्रिय स्तरमा उपेन्द्र यादव जस्तो क्षमतावान नेता छैन । त्यही भएर उहाँ जस्तो नेता संसद र सडक दुवैमा चाहिन्छ ।

तपाईका प्रतिपक्षी जनमत पार्टीका अध्यक्ष सिके राउतले त २०६४ देखि २०७९ को माघ–फागुनसम्म उपेन्द्र यादव संसदमा लगातार रहनु भयो मधेशका लागि के गर्नुभयो भनि आरोप लगाइ रहनु भएको छ, त्यस्तो किन ?
–आज सिके राउतले मधेशमा जसरी शानले बोलिरहनु भएको छ, हिडि रहनु भएको छ, आफ्नो कुरा राख्न पाउनु भएको छ त्यो सबै उपेन्द्र यादवको देन हो । उपेन्द्र यादवले बनाउनु भएको मधेशमा सिके राउत आउनु भएको हो । उपेन्द्र यादवले लडेर ल्याउनु भएको संघीयतामा उहाँले अहिले भाग खोज्नु भएको छ । उपेन्द्र यादवले ल्याउनु भएको समानुपातिक समावेशी प्रणालीको आधारमा अहिले उहाँले आफ्नो दाजु जयकान्त राउतलाई राष्ट्रिय योजना आयोगको सदस्य बनाउन पाउनु भएको छ । उपेन्द्र यादवले बनाउनु भएको प्रदेशमा सिके राउतले आफ्नो भाउजुलाई प्रदेश सांसद र उपसभामुख बनाउन पाउनु भएको छ ।

उहाँले नेपाललाई टुक्रयाउन, नेपालबाट मधेशलाई अलग गर्नका लागि अमेरिकाबाट नेपाल आउनु भएको होइन ? नेपाल आमालाई बेश्या भन्ने शब्द उहाँले प्रयोग गर्नुभएको होइन ? संघीयता, गणतन्त्र, समावेशी लोकतन्त्रलाई संस्थागत गर्न भइरहेको चुनावलाई उहाँले बहिष्कार गर्नुभएको होइन ? कोठलीबाहर मतको अभियान चलाएर चुनावमा मधेशलाई कमजोर बनाउने काम उहाँले गर्नुभएको होइन ? त्यसैले आज सिके राउतले उपेन्द्र यादवलाई यत्रो दिन संसदमा रहेर के गर्नुभयो भनि प्रश्न गर्ने अधिकार छैन । जनताले उहाँलाई नै सोध्न थालेका छन् ‘तपाई अमेरिकाबाट नेपाल आएर आन्दोलन गर्नुभयो मधेशका लागि के गर्नुभयो ?’ सिके राउतले यसको जवाफ दिनुपर्छ ।

सिके राउतले म किसानका लागि लडे, भ्रष्टाचारीको विरुद्धमा लडे, मधेशको मुक्तिका लागि लडे, युवाको रोजगारीका लागि लडे भनि भाषण तपाईकै बारामा नै भाषण दिइरहनु भएको छ अनि उहाँले केही गर्नुभएको छैन भनि तपाई कसरी भन्नुहुन्छ ?
–त्यसो भए किसानका लागि उहाँले के गर्नुभएको छ, किसानले के पाएका छन् केही उदाहरण त होला नि । उहाँले भ्रष्टाचारी विरुद्धमा आन्दोलन गर्नुभयो रे, त्यसो भए उहाँले गर्दा आज कुन भ्रष्टाचारी पक्राउ परे, कसलाई कारवाही गराउनु भयो, भ्रष्टाचार कहाँ कम भयो, उहाँका कारण कुन युवाले रोजगारी पाएका छन् ? एउटा पनि उदाहरण होला नि । कहिले आफ्नै सेनाका लागि भन्दै विज्ञान गर्नुभयो । कहिले रोजगारी दिन्छु भनि मधेशबाट नाम संकलन गर्नुभयो कहिले आफ्नै पार्टी कार्यालयमा रोजगारी दिन्छु भनि विज्ञापन गर्नुभयो आजसम्म एकजनालाई पनि कतै रोजगारीमा राख्नु भएको सुन्नु भएको छ ? बरु अहिले उहाँले बनाउनु भएको मन्त्री र सांसदहरुको निजी सचिवालयमा उहाँले आफ्नै आफन्तहरुलाई राख्नुभएको छ । त्यसैले छोड्दिनु त्यस्तो बकमफुँसे कुरा ।

राजनीतिमा धेरै आए, धेरै गए तर उहाँ जतिको बकमफुसे र ठग नेता कोही आएनन् । उहाँले जनताको मन जितेर ठगि रहनु भएको छ । जुन दिन जनताले यो कुरा थाह पाउछन् त्यतिबेला धेरै कुरा खराब भइसकेका हुन्छन् । त्यस्ता ठग र नौटङ्कीवाजबाट मधेशलाई बचाउनु छ । उहाँका कारण संघीय लोकतन्त्र खतरामा छ ।
कसरी ?
–संघीय लोकतान्त्रिक गणतन्त्र उहाँको एजेण्डा नै होइन । नपत्याए तपाई उहाँका पार्टीका दस्तावेजहरु हेर्नुस् । कही स्पष्टता पाउनु हुन्न । उहाँ यो गणतन्त्रप्रति स्पष्ट हुनुहुन्न । उहाँले दिने मञ्चका भाषणहरु सुन्नुस् कहिले पनि गणतन्त्र र संघीयताको पक्षमा बोल्नु भएको छैन । उहाँ अरु देशका पालित पोषित नेता हुनुहुन्छ । उहाँ अरु देशको एजेण्डामा काम गरिरहनु भएको छ । अहिले उहाँले मधेशी जनतालाई भ्रममा पार्ने काम मात्र गरिरहनु भएको छ अरु केही गर्नुभएको छैन ।

तपाईले अघि भन्नुभयो, जसपाको प्रतिस्पर्धा एमालेसँग मात्र छ एमालेलाई मधेशमा बलियो बनाउने काम तपाईहरुकै पार्टीले गरेको हो नि ?
–जसपाले कसैलाई बलियो वा कमजोर बनाउने काम गरेको छैन । जसपा जहिले पनि आफ्नो मिसनमा काम गरेको हो । मधेशी जनताको कल्याणका लागि काम गरेको हो । मधेशको विकास र समृद्धिका लागि काम गरेको हो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसरी बलियो बनाउने त्यसका लागि काम गरेको हो ।

तपाईहरु यो उपचुनावमा मतदाता समक्ष के एजेण्डा लिएर जानुभएको छ ?
–पहिलो कुरा त यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसरी बलियो बनाउन सकिन्छ, कसरी अझ सुनिश्चित गर्न सकिन्छ त्यसका लागि जसपाले काम गर्छ गरिरहेको छ त्यसको प्रतिवद्धतासहित हामी जनतामा गएका छौं । संविधानमा समानुपातिक समावेशीको कुरा भएपनि त्यो पूर्ण रुपमा कार्यान्वयनमा गएको छैन । त्यसलाई कसरी कार्यान्वयनमा लैजाने त्यसको लागि जसपाले गम्भीर रुपमा काम गरेको छ । देशको हरेक निकायमा अहिले पनि मधेशीले पहुँच पाएको छैन । त्यहाँसम्म मधेशीलाई कसरी पुर्याउने त्यसको बारेमा पनि जसपा हरहमेशा काम गरिरहेको छ आउने दिनमा कसरी अझ सशक्त रुपमा यो कुरालाई उठाउने त्यो प्रतिवद्धता पनि गरेको छ ।

नेपाल देशको मधेशको राजस्वबाट चलेको छ तर देशले मधेशलाई त्यसवापत केही पनि दिएको छैन । मधेशबाट उठ्ने राजस्वको फिफटी पर्सेन्ट मधेशमै खर्च हुनुपर्छ । अर्थात मधेशको विकासे खर्चमा वृद्धि गर्नुपर्छ । मधेशका छोराछोरीलाई मधेशमै उच्च शिक्षा हासिल गर्ने वतावरण तयार गर्नुपर्छ । मधेशी जनतालाई मधेशमै उपचार गराउने व्यवस्था गर्नुपर्छ । मधेशको मेरुदण्ड कृषि हो, कृषिलाई आधुनिकीकरण गर्दै व्यवसायीकरण गर्नुपर्छ ।

कृषिका ठूला ठूला उद्योग सञ्चालन गर्नुपर्छ । सामुहिक तथा चकलाबन्दीको आधारमा खेती हुनुपर्छ । किसानका लागि मल, बीउ र सिँचाईको सुनिश्चितता हुनुपर्छ लगायतका एजेण्डा लिएर हामी जनता समक्ष गएका छौं । बारा–२ नम्बर क्षेत्र निकै पिछडिएको क्षेत्र हो । त्यसलाई कसरी समृद्ध बनाउने, त्यहाँ जनताले शिक्षा, स्वास्थ्य, सडकलगायतका सुविधा कसरी सुलभ रुपले पाउने ती सबै कुराका लागि हामी प्रतिवद्ध छौं र जसपाले यी सबै काम गर्छ र गरिरहेको छ ।

तपाईको प्रतिक्रिया