भुँइचालो र कोरोनाले समेत भत्काउन नसकेको प्रतिमाको पत्रकारिता

यदि तपाई रेडियो वीरगञ्जको नियमित स्रोता हुनुहुन्छ भने पक्कै पनि ‘खटमिठी’ कार्यक्रम सम्झनु भएको होला । त्यसपछि पक्कै पनि त्यसमा मिठी (मिठो) अवाज दिने बारा कोल्हवीका प्रतिमा चौधरीलाई सम्झनु हुन्छ । अहिले त्यो रेडियोमा प्रतिमा चौधरीको सुरिलो र मिठी अवाज सुन्न पाइदैन तर त्यसको मिठो सम्झाना पक्कै पनि वीरगञ्जवासी तथा त्यस वरपरका स्रोताहरुसँग छन् होला ।
‘खटमिठी’ कार्यक्रम यति पपुलर थियो कि प्रत्येक दिन रेडियोको अगाडि प्रतिमा चौधरीलाई एक झलक हेर्नका लागि स्रोताहरुको भिड हुने गथ्र्यो । कहिले काही प्रतिमालाई चोर बाटोबाट निस्केर जानु पथ्र्यो । एकपटक एकजना वृद्धले आठ विघा जमिनको लालपूर्जा लिएर प्रतिमा चौधरीलाई भेट्न रेडियोमा पुग्नु भएको थियो ।
एकजना कसैले प्रतिमा चौधरी ओम आश्रमतिर जानुभयो भनेपछि उहाँ त्यतितिर कुदेर जानुभएको थियो । उहाँ प्रतिमालाई भेट्नका लागि करिब महिनासम्म रेडियोमा दौडधुप गर्नुभयो । तर प्रतिमासँग उहाँको भेट भएन । प्रतिमा भन्नुहुन्छ, ‘त्यतिबेला मेरो यस्तो क्रेज थियो कि मन पराएका स्रोतले मेरो लागि जे पनि गर्न सक्थे त्यही डरले म अगाडि जाँदैन्थे ।’
प्रतिमाको त्यो कार्यक्रमको लागि पत्रहरु बोराका बोरा आउथे कतिपय स्रोतले आफ्नो रगतले समेत चिठी लेखेर पठाउथे । प्रतिमालाई विभिन्न प्रस्तावसहित गिफ्टहरु आउथे । त्यो रेडियोमा सबभन्दा बढी स्पोन्सर सोही कार्यक्रममा थिए । त्यही कार्यक्रमका कारण रेडियो चर्चित पनि थियो र आर्थिक रुपले सबल पनि । ‘खटमिठी’ कार्यक्रममा प्रतिमा ‘विजुलीया’को भूमिका हुनुहुन्थ्यो भने अर्को एकजना केटा प्रवेज आलम ‘रामलखन’को भूमिकामा हुन्थ्यो । तीन वर्षसम्म त्यो कार्यक्रम चल्यो । त्यसपछि त्यस्तै कार्यक्रम ‘नोकझोक’ पनि चलाउनुभयो । नोकझोक पनि सुपरहिट प्रोग्राम भयो तर ‘खटमिठी’ को ठाउँ लिन सकेन ।
प्रतिमा चौधरीले त्यो रेडियोमा ‘ताल से ताल मिला’, ‘जिन्दगी के सफर’, ‘धुम मचाले रंग जमादे’, ‘संगित बाहार’, ‘अपन प्लेउड’, ‘बायोग्राफि’, ‘मस्ती मस्ती’, ‘नाइन्टी नाइन म्यासेज अनलाइन’, ‘इग्लिसबाबु देशी मेम’, ‘मनको झङ्कार’ लगायतका थुप्रै कार्यक्रम चलाउनु हुन्थ्यो ।

इच्छा बैंक कर्मचारी बन्ने
प्रतिमा चौधरीको इच्छा कुनै बैंकको कर्मचारी बन्ने थियो । त्यही अनुसारको पढाई लेखाई पनि सुरु गर्नुभयो । आमा–बुवालाई पनि छोरी बैंकको कर्मचारी बनोस् भनि चाहना थियो । सोही अनुसार शिक्षा दीक्षा पनि उहाँहरुले दिनुभयो । २०५२ सालमा एसएलसी पास गर्नुभएका प्रतिमा चौधरी वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा आइ.कम.मा नाम लेखाउनुभयो ।
आइ.कम. पास गरेपछि उहाँले वीरगञ्ज क्याम्पसमा बी.बी.एस.मा नाम लेखाउनुभयो । बी.बी.एस.सकाएपछि पुनः ठाकुराम क्याम्पसमा गएर एम.बी.एस पढ्न थाल्नुभयो । २०६३ मा एम.बी.एस.पास गरेपछि उहाँ बैंकको जागिरतिर जानु पथ्र्यो तर यात्रा सुरु भयो, पत्रकारितातिर, जुन यात्रा अझै जारी छ ।
विज्ञापनले बनायो पत्रकार
प्रतिमा चौधरी बी.बी.एस.मा अध्यनरत रहँदा २०६० सालतिर रेडियो वीरगञ्जले एउटा विज्ञापन निकालेको थियो । तालिम पनि रोजगार पनि । तालिममा उत्कृष्ट हुनेलाई रोजगारी पनि दिने भनिएको थियो । त्यसले प्रतिमाको ध्यान तान्यो । उहाँले त्यसमा फर्म भर्नुभयो । त्यतिबेला उहाँको ब्याचलर सकिन लागेको थियो ।
तालिम लिनुभयो । तालिम १५ दिन चलेको थियो । त्यसमा उत्कृष्ट १० जनाको नाम छनौट भए । एक नम्बरमा प्रतिमाको नाम नै निस्केको थियो । प्रतिमासँग खुशीको सीमा थिएन । जागिर पाए त्यसको खुशी थिएन । रेडियोमा काम गर्ने मौका पाएकोमा उहाँ खुशी हुनुहुन्थ्यो । त्यही तालिमले उहाँलाई पत्रकार बनायो र रेडियो वीरगञ्जको उत्कृष्ठ प्रोग्राम सञ्चालिका पनि । भोजपुरी, नेपाली, हिन्दी समाचार पढ्नुको साथै ‘खटमिठी’ कार्यक्रम पनि सञ्चालन गर्न थाल्नुभयो ।
त्यो कार्यक्रमको कारण वीरगञ्जमा रेडियोको बिक्रि पनि बढेको प्रतिमा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कार्यक्रमका कारण रेडियोको बिक्रि यसरी बढ्यो कि मेरै घरमा जतिजाना हुनुहुन्थ्यो त्यतिवटा रिडियो थिए ।’ उहाँको आमा जहाँ जाँदा रेडियो साथमै लिएर जानुहुन्थ्यो । हजुरबुवा पनि रेडियो काँखमा च्यापैकै हुनुहुन्थ्यो ।
रेडियोमा तालिमसँगै रोजगारको विज्ञापन निस्किदा सबभन्दा बढी उहाँका आमा र हजुरबुवाले कर गरेर फर्म भर्न लगाउनु भएको थियो । प्रतिमा स्कूलका कार्यक्रमहरुमा गाउनु हुन्थ्यो, बोल्नु हुन्थ्यो, त्यो कुरा उहाँका आमा, बुवा र हजुरबुवालाई पनि थाह थियो ।
घरमा समाचारपत्रहरु पनि प्रतिमाले पढ्नु हुन्थ्यो । रेडियो सुन्ने र त्यसरी नै गुनगुनाउने काम प्रतिमाले गर्नुहुन्थ्यो । यी सबका कारणले आमा र हजुरबुवाले रेडियोमा फर्म भर्न लगाउनु भएको थियो । प्रतिमा रेडियोमा जागिरे भएपछि घरमा सबैले रेडियो सुनेर समय बिताउँथे ।
पत्रकारिता र अध्यापिका
प्रतिमा चौधरी रेडियोमा काम गर्नुको साथै वीरगञ्ज कमर्श क्याम्पसमा पढाउन पनि थाल्नुभयो । एम.बी.एस. पास गरेपछि उहाँले मार्केटिङ पढाउनु हुन्थ्यो । विहान कलेज पढाउनु हुन्थ्यो र दिनभर एफएममा काम गर्नुहुन्थ्यो ।
एफएममै काम गरिरहेको बेला उहाँलाई तराई टेलिभिजनबाट कामका लागि अफर आयो । तराई टेलिभिजन भर्खर भर्खर खुलेको थियो । सायद अनइयर पनि भएको थिएन । उहाँ रेडियोमा काम गर्दा गर्दै टिभी पनि ज्वाइन गर्नुभयो । टिभीमा समाचार पढ्नुदेखि लिएर समाचार संकलनसम्मको काम गर्नुहुन्थ्यो ।
रेडियो र टिभी दुवैतिर फुलटाइम जागिर भएको कारण प्रतिमालाई समय म्यानेज गर्न गाह्रो भइरहेको थियो । न रेडियोले प्रतिमालाई छाड्न चाहन्थ्यो, न टिभीले नै । प्रतिमालाई भ्याइ न भ्याइ थियो । उहाँलाई रेडियोमा काम गर्न गाह्रो हुन थाल्यो ।
त्यसपछि उहाँले रेडियो छाडेर टिभीमा नै पुरा समय दिन थाल्नुभयो । तराई टिभीमा पहिलो फेस प्रतिमा चौधरीको नै देखिएको थियो । कुनै पनि लाइभ गर्नुपर्दा प्रतिभालाई नै पठाईन्थ्यो ।
आमाको निधनले डिप्रेसन
रेडियोमै काम गरिरहँदा २०६८ मा प्रतिमाको साथमा एउटा घटना भयो । उहाँलाई सबभन्दा बढी माया गर्ने आमा देवकाला चौधरीको निधन भयो । बारामै हुँदा बेहोस् भएर लडेपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो । उहाँको आमा १५ दिनसम्म कोमामा रहनु भयो । त्यसपछि निधन भयो ।
आमाको निधनपछि प्रतिमाका लागि सर्वस्व नै हरण भएको जस्तो भयो । प्रतिमाको मन अशान्त भयो । प्रतिमा भन्नुहुन्छ, ‘आमाको निधन भएपछि मलाई पनि मर्न मन लाग्थ्यो, बाँच्ने मनै थिएन तर सानी छोरीको मुख हेरेर बाँचे ।’ प्रतिमा डिप्रेशनमा गइसक्नु भएको थियो । त्यति हुँदाहुँदै पनि उहाँले आफ्नो काममा कहिले असर हुन दिनुभएन । अध्यापन र पत्रकारितालाई निरन्तरता दिनुभयो । टीभीमा आफ्नो पीडा लुकाएर अरुलाई खुशी दिनुहुन्थ्यो ।
काठमाडौँको यात्रा
त्यसको केही समयपछि तराई टीभी काठमाडौँ सार्ने कुरा भयो । टिभीले प्रतिमालाई पनि काठमाडौँ जान भन्यो । आमाको निधनले गर्दा प्रतिमालाई त्यतिकै पनि वीरगञ्ज राम्रो लागि रहेको थिएन । टिभीले त्यस्तो अफर दिएपछि प्रतिमा काठमाडौँ जानका लागि तयार हुनुभयो । तर उहाँका सासु आमा र श्रीमान् काठमाडौँ पठाउनका लागि तयार हुनुहुन्थेन ।
वीरगञ्जमै राम्रो छ, यहाँ पनि राम्रो काम पाइहालिन्छ भने किन काठमाडौँ जानु पर्यो भने उहाँको सासु आमाको तर्क थियो । त्यसमा उहाँका श्रीमान सुजोय योङ पनि सहमत हुनुहुन्थ्यो । तैपनि प्रतिमाले जिद्दी गरेर काठमाडौँका जान तयार हुनुभयो । प्रतिमाले तीन वर्षकी सुप्रिना योङलाई काँखमा लिएर काठमाडौँ आउनुभयो ।
काठमाडौँमा उहाँको दीदी सीमा बस्नु हुन्थ्यो । त्यही गएर कोठा भाडामा लिनुभयो र आमा छोरी बस्नु थाल्नु भयो । दिदीसँग बस्नु प्रतिमाको एउटै स्वार्थ थियो छोरीको हेरचाह । पत्रकार जागिरको ड्युटीको भर हुँदैन, त्यसबेला छोरीको देखभाल दिदी भिनाजुले गर्नुहुन्छ भनेर प्रतिमा त्यहाँ बस्न थाल्लुभयो ।
तर प्रतिमाले सोचेको जस्तो भएन काठमाडौँ । साँच्चै काठमाडौँ सपनाको शहर जस्तो उहाँलाई लाग्न थाल्यो । वीरगञ्ज छाड्दा प्रतिमाले कस्ता कस्ता सपना देख्नुभएको थियो । तर सब भताभुङ्ग हुने नजर आइरहेको थियो उहाँलाई । तराई टिभी काठमाडौँ आएपछि तलब दिन छाडेको थियो । वीरगञ्जदेखि नै तलब नियमित दिइरहेको थिएन । काठमाडौँ आउँदा त पुरै ठप्प भयो । प्रतिमाले ५–६ महिनादेखिको तलब पाउनु भएको थिएन ।
काठमाडौँ आएपछि तराई टिभीबाहेक अरु ठाउँमा कुनै काम पनि थिएन । तलब नदिएको कारण प्रतिमको हात पुरै खाली थियो । धन्न दिदी भिनाजु हुँदाको छोरीको हेरचाह हुन्थ्यो । उहाँका दिदी सीमाले कहिले काही पकेट खर्च पनि दिनुहुन्थ्यो । त्यो पकेट खर्च बचाउनका लागि उहाँ गाडी पनि चढ्नु हुन्थेन । पैदल हिडेर महाराजगञ्ज डेरा जानु हुन्थ्यो तीनकुने आउनु हुन्थ्यो । कहिले काही अफिसको गाडि लगि दिन्छ भनि घण्टौ कुरेर बस्नु हुन्थ्यो ।

पैसा नहुँदा गाडी पनि चढ्न नपाउँदा प्रतिमा कतियौं दिन बाटैमा पनि रुनु भएको छ । कहिले काही छोरीले ‘मम्मी अफिसबाट आउँदा चिची ल्याइ दिनु ल’ भनेपछि प्रतिमाको आँखाबाट त्यतिकै आँसु झथ्र्यो । गाडी नचढी ५–१० रुपियाँ बचाएर छोरी सुप्रिनाको लागि कहिले विस्कुट त कहिले चाउचाउ लिएर जानु हुन्थ्यो ।
यो पीडा समस्या उहाँले न आफ्नो श्रीमानलाई भन्नुभयो न बुवालाई । सासु आमा र श्रीमानसँग रिसाएर आएको कारण त्यहाँबाट खर्च माग्न प्रतिमालाई मन गरेन । बुवासँग त झन लिनु नै हुँदैन भनि उहाँ आफै दुख झेल्नु हुन्थ्यो । रेडियो वीरगञ्जमा काम गर्दा प्रतिमालाई एक झलक हेर्न अफिसको अगाडि मान्छेको भिड हुन्थ्यो । त्यही प्रतिमा काठमाडौँमा एक्लो हुनुभएको छ । गाडी चढ्नेसम्मको पैसा प्रतिमासँग थिएन । यता, टिभीले आज पैसा दिन्छु, भोली पैसा दिन्छु भन्दा भन्दै दिन टारिरहेको थियो । तलब नदिएको कारण अफिसमै धेरै पटक रुनु भएको प्रतिमा । उहाँ भन्नुहुन्छ, ‘यदि म अझै केही दिन तराई टिभीमा बसिरहन्थे भने म पागल हुन्थे ।’
राजधानी एफएमको जागिर
उहाँले तराई टीभी छाड्नुभयो । धुम्बाराहीमा रहेको राजधानी एफएममा जागिर पाउनुभयो । त्यतिबेला महिनाको आठ हजार तलब दिन्थ्यो प्रतिमालाई । प्रतिमाका लागि त्यो पनि धेरै लाग्थ्यो । किनभने बिना पैसाको जिन्दगी काटिरहेको प्रतिमाको हातमा महिनाको आठ हजार आउन लाग्यो । धेरै नै राहत भयो उहाँलाई । पाँच हजार महिनाको कोठा भाडा तिर्नुहुन्थ्यो । बाँकी पैसाले घरखर्च चलाउनु हुन्थ्यो । जसोतसो चल्थ्यो प्रतिमाको जिन्दगी ।
एक वर्षपछि प्रतिमाका श्रीमान सुजोय पनि काठमाडौँ आउनुभयो । जुन दिन प्रतिमाको जन्मदिन थियो त्यही दिन उहाँ आउनुभयो । प्रतिमाले भन्नुभयो, ‘मेरो जुन दिन जन्मदिन थियो त्यही दिन मेरो श्रीमान आउनुभयो । मेरो लागि ठूलो सप्राइज गिफ्ट थियो ।’ प्रतिमा र सुजोयसँगै बस्न थाल्नुभयो । तर सुजोयको पनि कुनै रोजगार थिएन । उहाँ पनि काठमाडौँमा कुनै रोजगारी खोज्न थाल्नुभयो । एउटा साथीको सहयोगमा काम पाउनुभयो ।
प्रतिमा राजधानी एफएममा न्युज कोर्डिनेटर हुनुहुन्थ्यो । त्यहाँ समाचार मुलक कार्यक्रम सञ्चालन गर्नुहुन्थ्यो । प्रतिमाको श्रीमान आएको करिब छ महिनापछि प्रतिमाले कलेज पढाउन सुरु गर्नुभयो । एभरेष्ट कलेजमा उहाँ म्यानेजमेन्ट र मार्केटिङ पढाउनु सुरु गर्नुभएको थियो । जुन अहिलेसम्म पनि जारी छ । प्रतिमाको जीवन ट्रयाकमा आयो । श्रीमान पनि अलिअलि कमाउनु थाल्नुभयो । प्रतिमा आफै पनि दुई ठाउँ काम गर्नुहुन्थ्यो ।
टिभीको यात्रा
डेढ वर्षजति एफएममा काम गर्दै गर्दा प्रतिमा एबीसी टेलिभिजन पनि ज्वाइन गरिसक्नु भएको थियो । तर तीन ठाउँ जागिर भएको कारण समय म्यानेज गर्न गाह्रो भइरहेको थियो प्रतिमालाई । त्यसपछि उहाँले राजधानी एफएम छाड्नुभयो ।
त्यतिबेला एबीसी टेलिभिजनमा प्रतिमाको ड्युटी १–९ वजे राती नौवजेसम्म हुन्थ्यो । समाचार पढ्नुको साथै महिलासँग मनको कुरा, विज वजार, विज टक जस्ता कार्यक्रम पनि सञ्चालन गर्नुहुन्थ्यो । एबीसी टेलिभिजनमा लगातार पाँच वर्ष काम गर्नुभयो । त्यहाँ पनि तलबको समस्या भयो । टाइममा कहिले तलब दिएन । ६–६ महिनाको तलब बाँकी हुन थाल्यो । त्यही काम गर्दै गर्दा नयाँ खुलेको जनता टेलिभिजनबाट उहाँलाई काम गर्न अफर आयो ।
उहाँ एबीसी छाडेर २०७३ मा जनता टेलिभिनमा जानुभयो । त्यहाँ उहाँलाई एङ्कर चिफको जिम्मेवारी दियो । एकवजेदेखि राती नौ वजेसम्मको ड्युटी त्यहाँ पनि थियो । एउटा प्रेरणा कार्यक्रम सञ्चालन गर्नुको साथै भोजपुरी तथा नेपाली भाषाको समाचार पढ्नु हुन्थ्यो । त्यसका साथै विभिन्न टक शो पनि सञ्चालन गर्नुहुन्थ्यो ।
जनता टीभीमा विद्रोह
त्यहाँ ५–६ वर्ष काम गरेपछि खटपट सुरु भयो । नयाँ न्युज चिफ आएपछि प्रतिमासँग कुरा नै मिलेन । टंक पन्त प्रतिमाप्रति निगेटिभ हुनुभयो । प्रतिमा भन्नुहुन्छ, ‘तीन चार वर्ष मज्जाले काम गरियो, कुनै किसिमको अब्जेक्सन वा कम्पलेन थिएन, जब टंक सर आउनुभयो अनि विवाद सुरु भयो ।
उहाँको बोल्ने शैली, हेर्ने शैली काम लगाउने शैली मलाई मन परेको थिएन त्यसलाई मैले पटक पटक प्रतिवाद गरे तर पछि उहाँ अभद्र व्यवहारमा नै उत्रिनुभयो ।’
यो कुराको जानकारी उहाँले टिभीका मालिकसम्म पनि पुर्याउनु भयो । उहाँले यसलाई पटक पटक मिलाउने प्रयास गर्नुभयो तर टंक पन्तले कहिले मिल्न दिनुभएन । प्रतिमा चौधरील निवेदन पनि दिनुभयो । त्यसको पनि केही सुनुवाई भएन । पछि त प्रतिमाको जिम्मेवारीहरु पनि खोस्न थाल्नुभयो टंक पन्तले ।
उहाँ एङ्कर चिफ हुनुहुन्थ्यो तर उहाँलाई न सोधी नयाँ नयाँ एङ्कर केटीहरु ल्याउने लाइभ समाचार पढ्न लगाउने जस्ता काम टंक पन्तले गर्न थाल्नुभएको थियो । त्यसमा प्रतिमाले पटक पटक अब्जेक्सन जनाउनु भयो तर टंक पन्तले उल्टै प्रतिमालाई नै गाली गर्नुहुन्थ्यो । प्रतिमाले भन्नुभयो, ‘त्यो क्रममा टंक सरले मसँग पटक पटक मिसविहेव गर्नुभयो, म सहदै गए आज मिल्छ, भोली मिल्छ वेट गरे तर झन बिग्रिदै गयो ।’

त्यही विवादको विषयमा छलफल गर्न एकदिन स्टाफ बैठक बोलाइएको थियो । त्यसमा टंक पन्तले झन रुखो शब्द प्रयोग गर्दै औला ठडाएर जथाभावी प्रतिमामाथि बोल्न थाल्नुभयो । मधेशी भनेर पटक सम्बोधन गर्दै अभद्र व्यवहार समेत गर्यो । त्यसपछि प्रतिमाले सहन नसकेपछि यस्ता व्यक्तिलाई जुत्ता निकालेर कुट्न मात्र बाँकी छ भनि जोड जोडले कराउन थाल्नुभयो । विवाद झन बढ्यो । त्यसपछि उहाँले त्यहाँ आन्दोलन नै शुरु गर्नुभयो । तलब लगायतका विषय लिएर त्यहाँ एउटा आन्दोलन गर्ने टिम नै बन्यो ।
टेलिभजनको अगाडि हरेक दिनजसो नारा जुलुस गरी धर्ना बस्ने काम उहाँले गर्नुहुन्थ्यो । आन्दोलन अरुअरुले पनि गरेका थिए तर टंक पन्तले प्रतिमालाई मात्र टार्गेट बनाउनुभयो । पछि अन्य अन्य आन्दोलनकारी मिल्दै गए प्रतिमा एक्लै हुनुभयो । टेलिभिजनले गच्छेका सुविधाहरु पनि दिएन । प्रतिमाले चार–पाँच लाख रुपियाँ त्यहाँबाट पाउनुपर्ने थियो तर अन्तिममा दुई लाख मात्र दियो । त्यो रुपियाँ लिएर प्रतिमा जनता टेलिभिजन छाड्नुभयो ।
जनता टिभी छाडेपछि प्रतिमालाई कही कामै गर्न मन लागेन । उहाँको बारेमा बजारमा नानाथरीका कुरा प्रचार गरिएको थियो । एक दुई ठाउँमा जागिरका लागि जाँदा टंक पन्तले बिगार्ने काम गर्नुभएको प्रतिमाले बताउनुभयो । त्यसपछि प्रतिमा निकै तनावमा जानुभयो । अब पत्रकारिता नै छाड्ने मुड बनाउनुभयो । नौ महिना घर बस्नुभयो । तर उहाँलाई पत्रकारिता छाड्न मन मानेनन ।
वीरगञ्जदेखि काठमाडौँसम्म यत्रो संघर्ष गरेर पत्रकारितामा टिकी रहनुभयो । कोभिड र भुइँचालो जस्ता विपतिमा उहाँले पत्रकारिता छाड्नुभएन । अब त अवस्था सहज भएको छ, उहाँले फेरि उठ्नुभयो । त्यतिबेला उहाँलाई नेपाल नेटवर्क टिभीबाट कामका लागि अफर आइरहेको थियो । उहाँ त्यसमा ज्वाइन गर्नुभयो । अहिले उहाँ त्यहाँ सिनियर प्रड्युसर तथा प्रेजेन्टर हुनुहुन्छ ।
प्रेम विवाह
प्रतिमा र सुजोयको प्रेम विवाह हो । प्रतिमा वीरगञ्जमा एफएममा कार्यरत रहँदा सुजोयसँग चिनजान भएको थियो । रेडियो वीरगञ्जमा विवेक खतिवडा काम गर्नुहुन्थ्यो । खतिवडा र सुजोय साथी हुनुहुन्थ्यो । सुजोयको कलेज छुट्टी भएपछि कफी खानका लागि जहिले विवेकलाई एफएमको ल्याण्डलाइनमा फोन गर्नुहुन्थ्यो । संयोग त्यो फोन जहिले प्रतिमा नै उठाउनु हुन्थ्यो ।
धेरैपटक त्यस्तो भयो । प्रतिमालाई पनि लाग्न थाल्यो कि यो सुजोय कस्तो होला । सुजोयलाई पनि लाग्न थाल्यो कि यो यति मिठो अवाज भएको प्रतिमा कस्तो होला । विवेकसँग प्रतिमाको बारेमा सुजोयले सोध्नु पनि भएको थियो । उहाँहरु बीच त्यतिबेला समान्य चिनजान भएको थियो । तर एक अर्काप्रति आकर्षण थिएन ।
२०६२ सालमा एउटा कलेजमा इन्टर कलेज टाइलेन्ट हन्ट कम्पीटिशन भएको थियो । त्यसको होस्ट प्रतिमाले गर्नुभएको थियो । त्यसमा सुजोयले पनि भाग लिनुभएको थियो । त्यतिबेला उनी बीबीएसमा पढी रहनुभएको थियो । प्रतिमाले पार्टीसिपेट्सलाई अनुशासनलगायत बोल्ने कसरी, माइक कसरी समात्ने जस्ता कुरा पनि सिकाउनु भएको थियो ।
त्यहाँ दुईजनामा गहिरो चिनजान भयो । सुजोयले मन पराई सक्नु भएको थियो । तर प्रतिमाले त्यसलाई सिरियस लिनुभएन । त्यो टाइलेन्ट जितको खुशीमा सुजोयले पाटी दिनुभएको थियो । त्यहाँ प्रतिमा पनि जानुभयो । त्यो पाटीमा सुजोयले प्रतिमासँग प्रेमको प्रस्ताव राख्नुभयो । तर प्रतिमाले त्यो दिन कुनै प्रतिकृया दिनुभएन ।
सुजोयको एउटा अलरेडी गर्लफ्राइन्ड थियो । तर सुजोय प्रतिमालाई मन पराउनु हुन्थ्यो उहाँसँग जीवन बिताउन चाहनु भएको थियो ।
तर प्रतिमाले त्यति वास्ता गर्नुभएको थिएन । तैपनि सुजोय प्रतिमाको पछि लाग्नुभएको थियो । पटक पटक प्रेम प्रस्ताव गर्नुभएको थियो । तैपनि प्रतिमालाई आफूतिर आकर्षित गर्न सक्नुभएको थियो । एक दिन गीता मन्दिर रोडमा रहेको बेकरी कर्नरमा उहाँ दुईजनाको भेटभयो । एउटा कार्यक्रम सकाएर त्यहाँ कफी खान प्रतिमा पुग्नुभएको थियो । त्यहाँ सुजोय पनि पुग्नुभयो ।
सुजोयले टिस्यु पेपरको गुलाफ फूल बनाउनुभयो । प्रतिमाको अगाडि एउटा घुँडामा बसेर प्रेम प्रस्ताव गर्नुभयो । त्यो दिन प्रतिमा निकै भावुक हुनुभयो । ‘यो केटामा केही त दम छ, यत्रो दिनदेखि मेरो पिछा गरिरहेका छन्, यसले मलाई वास्तवमा प्रेम गरिरहेका छन् योसँग मैले जीवन बिताउनु पर्छ भन्दै प्रतिमाले सुजोयको प्रेम प्रस्ताव स्विकार गर्नुभयो ।
आठ–नौ महिना उहाँहरु डेटिङमा रहनुभयो । त्यसपछि उहाँहरु मन्दिरमा गएर विहे गर्नुभयो । विहे गर्न प्रतिमाको बुवाले मान्नुभएको थिएन ।
प्रतिमाको बुवाले निकै रिसाउनु भएको थियो । प्रतिमाका बुवा गिरीधारी चौधरी पटक पटक प्रधानपंचमा जित्नुभएको थियो । उहाँ अहिले पनि राप्रपा हुनुहुन्छ । गाउँमा उहाँको आफ्नै प्रतिष्ठा छ । बाराका भए पनि छोरा छोरीलाई पढाउनकै लागि उहाँले वीरगञ्जमा पनि घर बनाउनु भएको छ ।
छोरीलाई यति मेहनत गरेर पढाए लेखाए अहिले आएर प्रेम विवाह गर्छु भन्दा उहाँको चित्तै बुझिरहेको थिएन । तर प्रतिमाका आमाले मान्नुभएको थियो । पछि प्रतिमाका आमाले बुवाको चित्त बुझाउनु भयो । तर छरछिमेक तथा आफन्तले स्विकार गरेका थिएनन् । त्यही भएर उहाँहरु मन्दिरमा गएर विहे गर्नुभएको थियो ।
एक हप्तापछि प्रतिमाले विहेको पाटी आफ्नो घरमा नै दिएपछि त्यहाँ थारु परम्परा अनुसार फेरि विहे भयो । सुजोय क्रिश्चयन भएको कारणले चर्चमा पनि विहे गर्ने कुरा उठेको थियो तर प्रतिमाले मान्नु भएन । हिन्दु परम्परालाई नै आफूले मान्ने धर्म परिवर्तन नगर्ने भनेपछि सुजोयले पनि जिद्द गर्नुभएन ।
रेडिया वीरगञ्जमा जागिर गर्न थालेपछि प्रतिमा वीरगञ्जस्थित सुजोयको घरमा बस्न थाल्नुभयो । त्यहीबाट दुवैजना एउटै एफएममा काम गर्न थाल्नुभयो । प्रतिमा र सुजोयको अफेयर चलेदेखि नै दुवैजना एफएममा काम सुरु गर्नुभएको थियो । एफएममा उहाँ दुवैजनाले ‘इङ्गलिस बाबु देशी मेम’ कार्यक्रम चलाउनु हुन्थ्यो । कार्यक्रम निकै चर्चित थियो । त्यसले गर्दा दुवैजनाको लभको बारेमा बजारमा निकै चर्चा थियो ।
विहेपछि पनि दुवैजना त्यही एफएममा लामो समय काम गर्नुभयो ।
गिती एल्बम
प्रतिमा नेपालको पहिला महिला भोजपुरी कार्यक्रम सञ्चालिका हुनुहुन्छ र थारुमा पहिलो महिला हुन् जसले टिभीमा समाचार पढ्न सुरु गर्नुभएको थियो । उहाँले रेडियोमा काम गरिरहँदा हाइ रे तोहर कजार, हम बानी पिओर देहाती, तोहरे जवनियाँ पर इण्डिया नेपाल मरता जस्ता गीति एल्बम पनि निकाल्नुभएको थियो ।
पछि टिभीमा समाचार तथा कार्यक्रमहरु सञ्चालन गर्न थालेपछि गीत गाउन छाड्नु भएको थियो । अर्थात वीरगञ्ज छाडेपछि गायन पनि छुट्यो । रेडियोमै कार्यक्रम सञ्चालन गरिरहँदा साँस्कृतिक कार्यक्रम सन्चालनका लागि दुई पटक कतारसम्म पुग्नु भएका प्रतिमा वीरगञ्जमा हुने अधिकाँश कार्यक्रमको होस्ट गर्नु हुन्थ्यो ।
जुनसुकै कार्यक्रमको होस्ट गर्नका लागि प्रतिमाको माग हुन्थ्यो । जब वीरगञ्ज छाडेर काठमाडौँ आउनु भयो र टिभीमा रमाउन थाल्नुभयो अनि ती सबै कामहरु छाड्नुभयो । थारु पत्रकार संघका उपाध्यक्ष तथा मधेश प्रदेशका इन्चार्ज समेत रहनु भएका प्रतिमा प्रेस मञ्च नेपालका केन्द्रीय कोषाध्यक्ष र आम सञ्चार प्राधिकारण मधेश प्रदेशको बोर्ड मेम्बर पनि हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया