बाटो घाटो विकासको पूर्वाधार हो, विकासको मुल हो । कुनै ठाउँको विकास गर्नुछ भने त्यहाँ बाटो मात्र बनाइ दिनुहोस् विकासको अनेक आयामहरु त्यहाँ आफै देखिन थाल्छन् । तर कुनै ठाउँ निकै सम्भावना भएको ठाउँ हो, विकासका प्रचुर सम्भावना भएको छ तर बाटो छैन भने त्यहाँ केही सम्भव छैन । त्यसैले भन्छन्, विकास निर्माणको पहिलो खुड्किला बाटो हो । कुनै पनि काम गर्न पहिला त्यहाँसम्म बाटो खन्नुपर्ने हुन्छ ।
किसानले कृषि उपज उत्पादन गर्छन् तर बजारसम्म पुर्याउन सकेको छैन । त्यसको कारण हो सडक बाटो । अहिले दूधको अभाव छ भन्छन् तर ग्रामिण भेगमा घरघरमा दूध छन् तर ल्याउन सकिरहेको छैन, त्यसको कारण हो सडक बाटो । अहिले पनि यस्ता ठाउँहरु छन् जहाँ मान्छे विरामी हुन्छ तर उपचार नपाएर त्यसको मृत्यु हुन्छ, त्यसको कारण हो सकड बाटो ।
अहिले पनि पहाड तथा तराईका यस्ता ठाउँहरु छन् जहाँ गाडी हिड्ने सडक बाटो पुगेको छैन । मान्छे हिडेर गन्तव्यसम्म जान बाध्य छन् । त्यहाँ गरिबी, बेरोजगारी र बेथितीको चाङ छन् । यदि त्यस ठाउँमा एउटा बाटो मात्र पुर्याइ दिएको भए आफ्नो बारीको एक मुठ्ठा साग, आफ्नो भैसीको दुई लिटर दूध बजारमा गएर बेच्न सक्थे र त्यसले गुजारा गर्न सकिन्थ्यो । उसको जीवनशैलीमा परिवर्तन आउन सक्थ्यो ।
अहिले स्थानीय तहका जनप्रतिनिधिहरुले बाटोघाटो फराकिलो गर्न खोज्दा ठाउँ ठाउँमा स्थानीयबाट त्यसको अवरोध हुने गरेका छन् । कही कुनै ठाउँमा सहज रुपमा काम गर्न पाएको छैन । कतै मुद्दा हालेका छन् भने कतै विभिन्न तरिकाले त्यसको अवरोध गरेका छन् । तर विभिन्न अवरोधका कारण जब त्यो बाटो बन्छन्, त्यसपछि सबै दुख दर्द बिर्सेर स्थानीय खुशी हुने गरेका धेरै उदाहरण छन् । गाउँमा सहज रुपमा गाडी जाने गरेका छन् । आउजाउँमा सहज हुने गरेका जनता पछि खुशी भएर प्रतिनिधिलाई बधाई दिएका छन् ।
एम्बुलेन्सदेखि लिएर हरेक प्रकारका गाडीहरु आफ्नो घरसम्मै पुग्दा अघिपछि रिस गर्ने स्थानीय पनि खुशी भएका छन् । काठमाडौँमा सडक फराकिलो गराउँदा यहाँका जनता त्यसको विरोध गरेका थिए, काममा अवरोध गरेका थिए । मुद्दसम्म हालेका थिए तैपनि त्यो काम अगाडि बढ्यो । सडक बन्यो, त्यही जनता आज बाबुराम भटट्राईलाई धन्यवाद दिइरहेका छन् । घर भत्काए पनि सडक चौडा भएको छ, त्यसले स्थानीहरु खुशी छन् । अर्थात केही गर्नका लागि केही भत्काउनुपर्छ । अवरोध आउँछन्, त्यसलाई समाधान गर्दै अगाडि बढ्नुपर्छ त्यसले पछि जनतालाई दिइने सुविधाले गर्दा ती सबै रिस राग बिर्सन्छन् ।
स्थानीय सरकारले गाउँघरको सडक पेटीहरु फराकिलो गर्दा अहिले त्यहाँ विभिन्न बोर्डिङ स्कूलका बसहरु गाउँमै पुग्न थालेका छन् । एम्बुलेन्स घरसम्मै पुग्न थालेका छन् । विभिन्न किसिमका व्यपहारहरु वृद्धि भएका छन् । अर्थात एउटा बाटोले गर्दा ती गाउँ टोेलका जनताको जीवन शैलीमा नै परिवर्तन ल्याएको छ ।
अहिले पनि यस्ता पालिकाहरु छन् जहाँ सडक, बाटो घाटो छैन । त्यसलाई बनाउन न सरकारले ध्यान दिएको छ न स्थानीय तहले । बाटो घाटोको अभावका कारण नर्कको जीवन बाँच्न बाध्य छन् । बाटो घाटो बनाउँदा त्यो ठाउँको, त्यो क्षेत्रको, त्यो समाजको विकास मात्र हुँदैन, त्यहाँका स्थानीयले तत्कालै रोजगार पनि पाएका हुन्छन् । पहिला पहिला गाउँ घरमा रोजगार सृजना गर्नपर्दा सरकारको तर्फबाट बाटो घाटो बनाउने मर्मत संभार गर्दा त्यहाँ थोरै समयका लागि भएपनि रोजगार पाउँथे ।
केही पहिले एउटा समाचार आएको थियो, प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् बैतडीका स्थानीय तहले बाटो घाटो बनाएका थिए । बेरोजगारलाई गाउँमै रोजगारी दिने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तरर्गत बाटो घाटोको निर्माणलाई प्राथमिकता दिएका थिए । त्यसैले देश विकासको मुख्य कुरा सडक, बाटो घाटो नै हो सरकारले एकचरण बाटो घाटो र सडक विस्तारलाई प्राथमिकतामा राखेर काम गर्यो भने विकासका बाटाहरु आफै खुल्दै जान्छ ।
तपाईको प्रतिक्रिया