राज्य संयन्त्रमा छोराछोरीको हालीमुहाली (फरकमत)

नक्कली शरणार्थी बनाउने आरोपमा पक्राउ परेकामध्ये कतिपयका छोराछोरीहरु बाउसँग शरणार्थी बनाउनमा सयोगी भूमिका खेलेका छन् । तर उनीहरुको नाम बाहिर आएका छैनन् ।

भोला यादव,
नक्कली भुटानी शरणार्थी अमेरिका पठाएको कुरा बाहिर आएपछि राज्य संयन्त्रमा पारिवारीक जालो कस्तो हुँदो रहेछ त्यो कुराको पनि उदाङ्गो भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुबाट लिएको बयान हेर्दा नेता तथा मन्त्रीका छोराछोरी, श्रीमती, बुहारीलगायत आफन्तहरु मन्त्रालयदेखि अन्य विभाग र कार्यालयमा कसरी जडा गाडेका छन् त्यो कुरा पनि सबैले बुझ्ने गरि बाहिर आएको छ ।
यो त बाहिर आएको कारण यी कुरा थाह पाइएको हो तर कतिपय यस्ता कुरा छन् जो बाहिर आएका छैनन् । पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणका श्रीमती मञ्जु खाँण, एमालेका नेता तथा पूर्व मन्त्री टोपबहादुर रायमाझीको छोरा सन्दिप रायमाझी, एमालेका नेता एवं पूर्व गृहमन्त्री प्रतिक थापा, रामबहादुर थापाको पूर्व सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज राइ मुछिएका छन् । यसमध्ये अधिकाँश पक्राउ परिसकेका छन् । नक्कली शरणार्थी बनाउने आरोपमा पक्राउ परेकामध्ये कतिपयका छोराछोरीहरु बाउसँग शरणार्थी बनाउनमा सयोगी भूमिका खेलेका छन् । तर उनीहरुको नाम बाहिर आएका छैनन् । कतिपय पक्राउ पर्ने डरले लुकी लुकी हिडिरहेका छन् । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी आरजु देउवाको नाम पनि बाहिर आएको छ तर हालसम्म उहाँलाई पक्राउ गरेको छैन । तर जनस्तरबाट दबाव बढी रहेको छ । शेरबहादुर देउवाले आफ्नो बलमा आरजुलाई बचाइ राख्नुभएको कुरा सञ्चारमाध्यमहरुबाट थाह पाउन सकिन्छ ।
प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, सांसददेखि अन्य संवैधानिक निकायसम्ममा परिवारका जालो ओछ्याइएको छ । प्रधानमन्त्रीको कार्यालयदेखि स्थानीय तहको वडाअध्यक्षसम्ममा परिवारको हालीमुहाली हुन्छन् । छोराछोरी, श्रीमती, बुहारी, भाइ, भतिज, भाञ्जाहरुको रजगज त्यहाँ हुन्छन् । सांसदहरुको स्वकीय सचिवको लिस्ट हेर्नुभयो भने अधिकाँशमा आफ्नो नातेदारलाई राखेका हुन्छन् । स्थानीय तहमा पनि हेर्नुभयो भने अधिकाँश मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षको वरिपरी उसको आफन्तै हुन्छन् । अधिकाँश महिला उपमेयर, उपाध्यक्षका सहयोगी उनका श्रीमान हुन्छन् । कतिपय ठाउँमा त सहयोगीको रुपमा नियुक्ति नै गरेको समाचारहरु बाहिर आएका छन् ।
यहाँ कसैको नाम उल्लेख गर्न उपयुक्त ठान्दिन तर अधिकाँश कहलिएका ठूला ठूला नेता जो यो देशका प्रधानमन्त्री भइरहेका छन्, उपप्रधानमन्त्री भइसकेका छन्, मन्त्री भइसकेका छन् त्यसले आफ्नो सचिवालयमा छोरा वा छोरीलाई तलब खुवाएर राखेका धेरै उदाहरणहरु पाइन्छन् । मन्त्रालयहरुमा जानु भयो भने अहिले पनि कतिपय ठाउँमा छोराहरुको, छोरीहरुको नाम प्लेट नै पाउनु हुन्छ । देशको सबभन्दा बिकृति नै यही हो ।
आफ्ना छोराछोरीलाई स्वकीय सचिव बनाउन, सचिवालमा राख्ने र त्यहाँबाट मनपरी गर्ने काम भइरहेका हुन्छन् । भ्रष्टाचार गर्नका लागि भरपर्दो र विश्वासिलो व्यक्ति चाहिन्छ । छोराछोरी, श्रीमती, बुहारी अर्थात आफन्तभन्दा कोही अरु विश्वासिलो हुनसक्दैन । र, सबभन्दा बढी भ्रष्टाचार त्यही हुन्छ जहाँका प्रधानमन्त्री, मन्त्री, सांसद, मेयर, उपपेयरले आआफ्ना छेउछाउ आफ्ना आफन्तलाई राखेका हुन्छन् । त्यो कुराको प्रमाण नक्कली भुटानी शरणार्थी प्रकरणले दिइसकेको छ । कोही मन्त्री बने भने त्यसको छोराछोरीको चुरीफुरी हेरी साध्य हुँदैन । श्रीमतीको चुरुफुरी हरी साध्य हुँदैन ।
छोराछोरी, श्रीमतीहरुले नै एजेन्ट र दलालको काम गरिरहेका हुन्छन् । बिचौलियाका काम गरिरहेका हुन्छन् । जसले देशमा ठूला ठूला भ्रष्टाचारका घटनाहरु भएका छन् । कतिपय बाहिर आएका छन्, कतिपय बाहिर आएका छैनन् । अब सरकारले नीति नै बनाउनु पर्छ कुनै नातेदार, आफन्तलाई आफ्नो निजी सचिवालयमा राख्न पाउँदैनन् । यो नीति बनाई दियो भने देशमा धेरै हदसम्म भ्रष्टाचार कम हुन्छ ।
प्रतिनिधिसभामा कम्तीमा ४८ सांसदले श्रीमान्, श्रीमती, भाइ, बहिनी, भतिजा, साला, भान्जा, भान्जीलाई स्वकीय सचिव बनाएर अधिकृतस्तरको तलब खुवाइ रहेका छन् । स्वकीय सचिवका रूपमा आफन्त नियुक्त गर्नेमा सबभन्दा अगाडि एमाले देखिएका छन् । प्राप्त तथ्यांक अनुसार एमालेका २० जना सांसदले आफन्तलाई नियुक्त गरेका छन् । कांग्रेसले १६, माओवादी केन्द्रले ६, राप्रपाले २ तथा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, जनमत र लोसपाका एक÷एक जना नियुक्त गरेका छन् । स्वकीय सचिवमा भाइ, बहिनी, सालोलाई राख्ने सांसदको सँख्या नौ रहेका छन् । कांग्रेस सांसद दिनेशकुमार यादवले सालो अनिलकुमार यादव, दोलखाका एमाले सांसद ईश्वरबहादुर रिजालले सालो कुमार विश्वकर्मा र सिन्धुलीका कांग्रेस सांसद श्यामकुमार घिमिरेले सालो दिवाकर पौडेललाई स्वकीय सचिव नियुक्त गगर्नुभएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले भतिज भानु, नुवाकोटका कांग्रेस सांसद अजुर्ननरसिंह केसीले भतिज सरोज, सल्यानका एस सांसद प्रकाश ज्वालाले भतिज सन्तोष बीसी, दैलेखका कांग्रेस सांसद दिक्पालकुमार शाहीले भतिज मिलन, भोजपुरका एमाले सांसद हेमराज राईले भतिज चन्द्रविक्रम, बागलुङका माओवादी सांसद देवेन्द्र पौडेलले भतिज राजन, सर्लाहीका लोसपा सांसद रामप्रकाश चौधरीले भतिज आशिष चौधरी र कपिलवस्तुका एमाले सांसद मंगलप्रसाद गुप्ताले भतिज वृजेशकुमारलाई स्वकीय सचिवमा नियुक्ति दिनु भएको छ । सर्लाहीका माओवादी सांसद महिन्द्र राय यादवले भान्जा सत्यप्रकाश यादवलाई स्वकीय सचिव बनाएका छन् ।
तर सबै सांसद, मन्त्री, प्रधानमन्त्री त्यस्तै हुँदैनन् भनि उदाहरण पनि छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निशा डाँगीले बिज्ञापन गरेर स्वकीय सचिव राख्नु भएको छ । जहाँ छोराछोरी, आफन्तको रजगज हुन्छ त्यहाँ विज्ञापन गरेर स्वकीय सचिव राख्नुभयो । त्यसले राजनीतिमा एउटा आशा जगाएको भन्न सकिन्छ ।

तपाईको प्रतिक्रिया