Khadya Bibhag

नेपालमा अमेरिकासँग आरएसएसको कनेक्सन

संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता सम्बन्धी प्रतिवदेन सार्वजनिक गर्दा नेपालमा चर्चाको विषय बन्यो । अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिंकेनले सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन’मा नागरिक समाजका अगुवाहरूलाई उद्धृत गर्दै हिन्दूराष्ट्रका पक्षमा बोल्न नेपालका नेताहरूलाई भारतीय जनता पार्टी (भाजपा)सँग सम्बन्ध भएका धार्मिक समूहले पैसा दिँदै आएको दाबी गरेको हो ।
यसको खण्डन भारत सरकारको विदेश मन्त्रालयले गर्यो तर त्यसमा जसले नेपालमा हिन्दु राष्ट्र निर्माण अभियानका लागि काम गरिरहेको छ त्यो संस्था मौन रहनुले विभिन्न प्रश्न उठाएको छ । भारतको सबभन्दा ठूलो संगठन ‘राष्ट्रिय स्वयमसेवक संघ (आरएसएस)’ सँग सिधा सम्बन्ध राख्ने नेपालस्थित ‘हिन्दू स्वयमसेवक संघ’ ले हालसम्म यसको बारेमा बोलेको छैन । हिन्दु स्वयंसेवक संघको फेसबुक र अनलाईन सर्च गर्दा त्यो प्रतिवेदनमाथि बोलेको डकुमेन्ट्स कही फेला पार्न सकिएको छैन ।
यसको दुईटा अर्थ लाग्छन् या यो संघले आरएसएसमार्फत नेपालका दलहरुलाई पैसा दिएर हिन्दु राष्ट्रका लागि ‘कन्भिन्स’ गरिरहेको छ या अमेरिकाको त्यो प्रतिवेदनलाई समर्थन गरेको छ । भारतीय जनता पार्टीले हिन्दु धर्मका लागि आरएसएसमार्फत काम गरिरहेको कुरा जगजाहेर छ । र, त्यही आरएसएसले नेपालमा आफ्नो अभियानलाई हिन्दु स्वयंसेवक संघमार्फत चलाई रहेको छ ।
नेपालमा भाजपाले हिन्दु मिसन चलाई रहेको छ भन्नुको अर्थ त्यसमा आरएसएसको प्रत्यक्ष संलग्न रहेको पुष्टि हुन्छ र आरएसएसले नेपाल हिन्दु स्वयंसेवक संघमार्फत काम गरिरहेको कुरा पनि छर्लङ छ । अमेरिकी प्रतिवेदनमा भनिएको छ, ‘नागरिक समाजका अगुवाहरूले उनीहरूले दक्षिणपन्थी भन्ने गरेको भारतको भाजपासम्बद्ध धार्मिक समूहहरूले सबै राजनीतिक दलका प्रभावशाली नेताहरूलाई हिन्दूराष्ट्रका समर्थनमा बोल्न निरन्तर रूपमा रकम उपलब्ध गराउने गरेका छन् ।’
अमेरिका जस्तो शक्तिशाली देशले प्रतिवेदन सार्वजनिक गरेर यस्तो ठूलो आरोप लगाउँदा नेपालका हिन्दु स्वयंसेवक संघ मौन रहनुले धेरै प्रश्न उठाएको छ । हिन्दु स्वयंसेवक संघ र अमेरिकाबीच कनेक्सनले रहेको कुरा विभिन्न तथ्यले प्रमाणित गरेको छ ।
पछिल्लो समय नेपालमा विभिन्न कारणले नेपाल–भारत सम्बन्ध विवादमा आइरहेको छ । कहिले अखण्ड भारतको कुरा आउँछ त कहिले ग्रेटर नेपालको त कहिले लिपुलेक कालापानी त कहिले चुच्चै नक्सा, कहिले आदिपुरुषको प्रर्दशनको विवाद आउँछ तर हिन्दु स्वयंसेवक संघले कुनै प्रतिकृया दिँदैन बरु त्यसलाई मलजल गर्ने गरि गतिविधि गरेको गुनासो आइरहेका छन् ।
भारतको सबभन्दा ठूलो संगठन ‘राष्ट्रिय स्वयमसेवक संघ’सँग सिधा सम्बन्ध राख्ने नेपालस्थित ‘हिन्दू स्वयमसेवक संघ’ले दुई देशबीच जनस्तरमा बेलाबखत हुने असमझदारीलाई झन् मलजल गर्ने गरेको हिन्दु राष्ट्र अभियानमा लागेका एक स्वयंसेवकले आरोप लगाउनु भएको छ । उहाँले सहारा टाइम्ससँग कुरा गर्दै भन्नुभयो, ‘संघले यस्ता असमझदारीहरुलाई चिर्नुको सट्टा उल्टै आँगोमा घिउ थपे झै भारत–नेपाल सम्बन्ध बिगार्ने विचारहरुलाई प्रोत्साहन गर्ने गरेको छ ।’
काठमाडौं महानगरपालिकाको प्रमुख बालेन्द्र साहले काठमाडौं उपत्यकामा हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका छन् । उक्त घोषणालाई हिन्दू स्वयमसेवक संघको एक महत्वपुर्ण संस्था ‘नीति अनुसन्धान प्रतिष्ठान’ को कार्यालय प्रमुख सन्तोष आचार्यले सर्मथन गर्दै आफ्ना फेसबुकमार्फत भारतले नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाउनु भएको छ ।
र त्यसलाई हिन्दू स्वयससेवक संघको प्रमुख वेद प्रकाशले लाईक गर्नुभएको छ । आचार्यले नेपालमा सो चलचित्र काठमाडौंमा चल्न नदिने बालेन्द्र साहको भनाईलाई ‘गुड जब’ भन्नुभएको छ । नीति अनुसन्धान प्रतिष्ठान दिपक अधिकारीकै नेतृत्वमा चल्ने संस्था हो । स्रोतहरु भन्छन्, ‘दिपक अधिकारी भारत मणिपुरका हुनुहुन्छ ।’
दिपक अधिकारी समेतले आचार्यको भारत–नेपाल सम्बन्ध विरोधी टिप्पणीहरुलाई मौन समर्थन गर्ने गरेको सहजै बुझ्न सकिन्छ । जबकी आचार्य सो प्रतिष्ठानको तलबी कर्मचारी हुनुहुन्छ । सन्तोष आचार्यलगायत हिन्दू स्वयमसेवक संघका अन्य तलबी कर्मचारीले विभिन्न समयमा भारत–नेपालबीच हुने असमझदारीलाई मलजल गर्ने गरेको आरोप लाग्दै आएको छ ।
उहाँहरुले कालापानी लिपुलेक विवाद र गे्रटर नेपालको नक्सा प्रकरणमा असमझदारीहरु चिर्न पहल गर्नुभन्दा पनि त्यसलाई झन् बढाउने कार्य गरेको भन्दै आलोचना भएको थियो । नेपालस्थित हिन्दू स्वयमसेवक संघका पुराना कार्यकर्ताहरुले यस संस्थामा भारत र नेपालबिरोधी व्यक्तिहरुको घुसपैठ भएको आशंका गर्ने गरेका छन् ।
अमेरिकाद्धारा प्रकाशित नेपालको धार्मिक स्वतन्त्रता सम्बन्धि प्रतिवदेनमा राष्ट्रिय स्वयमसेवक संघले आफ्नो उपकरणमार्फत नेपालमा हिन्दू राष्ट्र स्थापनाको लागि पैसा दिने गरेको उल्लेख गर्दा समेत संघको प्रमुख प्रचारक दिपक अधिकारी सो प्रतिवेदनमाथि मौन रहनाले समेत संघका कार्यकर्ताहरुको आशंकालाई बल पुगेको देखिन्छ ।
नेपालस्थित अमेरिकी राजदुतावाससँग दिपक अधिकारीको निकटताले समेत नेपालस्थित हिन्दू स्वंयमसेवक संघमा घुसपैठ रहेकोे आरोपलाई बल पुग्छ । अधिकारीले नीति अनुसन्धान प्रतिष्ठानको विभिन्न कार्यक्रमहरुमा अमेरिकी राजदूतलाई प्रमुख अतिथी बनाएपछि प्रतिवेदनमाथि मौन समर्थन रहेको प्रष्ट बुझ्न सकिन्छ ।

–सहारा टाइम्स पत्रिकाबाट

तपाईको प्रतिक्रिया