गत असार १० गते पार्टीको विधान अधिवेशन कार्यक्रमलाई उद्घाटन गर्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भन्नुभएको थियो, ‘यो विधान अधिवेशन एउटा अधिवेशन मात्र होइन, संविधान सभा जस्तै हो जहाँ पार्टीलाई जिवन्त राख्न, प्रगतिशिल बनाउन उत्कृष्ट विधान बनाउने काम हुन्छ ।’ सोही लक्ष्य अनुसार तीन दिनसम्म विधानमाथि छलफल र बहस भयो । १० वटा समूह बनाएर छलफल भयो । ती समूहहरुबाट एक–एक जनाले आआफ्नो समूहका कुरा राखे । अधिवेशनबाट उठेका विषय वस्तुलाई समेटेर त्यसलाई अन्तिम रुप दिइ प्रमाणिकरण गरेर विधानलाई कार्यान्वयमा ल्याउन अध्यक्ष यादवको नेतृत्वमा एक समिति बनेको छ । त्यो समितिले आफ्नो काम गर्दैछ । तर यथार्थमा पार्टीको यो विधान जसमा तीन दिनसम्म छलफल भयो । त्यसमा युवाको लागि के कस्तो व्यवस्था छ । प्रस्तुत छ, जसपाको विधान अधिवेशनमा सहभागि भएका युवाको भनाइ जस्ताको त्यस्तैः

प्रगतिशिल र अत्यन्त समावेशी
–विकास तिवारी
युवाको परिभाषा विवादित विषय बनेको छ । विधान अधिवेशनमा पनि युवा कसलाई भन्ने, कति वर्षको उमेरका लागि भन्ने प्रश्न उठेको थियो । ५० वर्षलाई पनि युवा भनिएको छ, ४५ वर्षलाई पनि युवा भनिएको छ, ४० वर्षलाई पनि युवा भनिएको छ । युवाको उमेरमा नै अन्योल रहेको छ । पार्टीले त्यसलाई स्पष्ट पारेको छैन । यद्यपी छलफलको क्रममा विभिन्न सुझावहरु आएका छन् । त्यसको आधारमा पार्टीले केही तय गर्ला तर समग्रमा पार्टीको प्रस्तावित विधान युवा मैत्री रहेको कुरामा दुईमत छैन । यो विधानले पार्टीलाई नयाँ सोच नयाँ भिजनका साथ अगाडि बढाउनेमा हामी विश्वस्त छौं । त्यस्तै, ७० वर्षको उमेर हद तोक्नु पनि युवाको पक्षमा आएको निर्णय हो । भोली त्यो कार्यान्वयन हुन्छ या हुँदैन त्यो बेग्लै कुरा हो तर अहिलेको विधानमा उमेर हद तोकिएको छ । त्यसले युवालाई पार्टीप्रति आकर्षण गर्नसक्छ । कुनै पनि पदाधिकारी दुई कार्यकालभन्दा बढी रहन नपाउने प्रावधान पनि ल्याएको छ । पार्टीका हरेक कमिटी, हरेक कलस्टरमा ४० प्रतिशत युवालाई समावेश गराउने प्रावधान ल्याएको छ । यो लागु भयो भने जसपाका लागि एउटा युवा क्रान्ति नै हुन्छ । विधानको प्रस्तावनादेखि अनुसूचीसम्म अध्ययन गर्नुभयो भने ठाउँ ठाउँमा युवालाई टच गरेको भेटिन्छ । युवालाई हरेक ठाउँमा समावेश गराएको छ । मानौं जसपा युवाका लागि बनेको छ, युवा जसपाका लागि बनेको छ । यी सबै कुरा युवालाई लक्षित गरी नै ल्याएको हो । यो विधान अत्यन्त प्रगतिशिल र अत्यन्त समावेशी रहेको छ ।
अधिकार र पहिचानका लागि आन्दोलन
–बिक्की यादव
मधेश आन्दोलनलगायत विभिन्न आदिवासी जनजातिको आन्दोलनबाट प्राप्त उपलब्धीलाई कसरी रक्षा गर्ने त्यसमा विधान विशेष फोकस गरेको छ । अझै अधिकार र पहिचानका लागि आन्दोलन बाँकी छ । त्यो प्राप्ति नभएसम्म कसरी आन्दोलनलाई अगाडि बढाउने त्यसको दिशा निर्देश गर्ने काम विधानले गरेको छ । मधेश, आदिवासी, जनजातिलाई कसरी अधिकार दिलाउने, त्यसलाई कसरी संगठित गरेर पार्टीलाई परिचालन गर्ने जस्ता विषयमा पार्टीले विधानमा नै चित्रन गरेको छ । विधानलाई अध्ययन गर्नुभयो भने पहिचानवादी आन्दोलन कसरी सफल त्यसमा पार्टीले विशेष जोड दिएको छ । र ती आन्दोलन सफल बनाउनका लागि युवा नै चाहिन्छ । बिना युवाले कुनै पनि आन्दोलन सफल भएको छैन । त्यही भएर हरेक कार्यक्रम, हरेक कमिटी, हरेक मोर्चामा युवालाई कसरी सहभागी गराउने त्यसमा पार्टीले विशेष फोकस गरेको छ । केन्द्रीय समितिदेखि लिएर हरेक समितिमा ४० प्रतिशत युवा अनिवार्य हुनुपर्छ भनि व्यवस्था गरिएको छ । त्यसले नै सबै कुरा स्पष्ट पार्छ कि जसपाका लागि युवा कति महत्वपूर्ण छ । ७० वर्ष उमेर हद तोकेको छ, त्यो पनि युवाका लागि नै हो । यदि अहिलेकै विधान हुबहु लागु भयो भने जसपाप्रति युवाको आकर्षण ह्वातै बढ्छ । यो विधानको मस्यौदा बनाउनेहरुको लक्ष्य पनि नै त्यही देखिएको छ । राजनीतिको प्याटर्न परितर्वन भइरहेको छ । अब पनि युवालाई आकर्षण गर्न सकिएन भने पार्टी सञ्चालन गर्न मुस्किल हुन्छ । राजनीति गर्न असम्भव नै हुन्छ । त्यसैले समग्रमा भन्ने हो भने यो विधान युवा मैत्री नै हो । कार्यान्वयनमा आएपछि थप बहस गरौंला तर अहिले समग्रमा हेर्दा पार्टीका लागि उत्कृष्ट विधान नै हो ।
युवा मैत्री विधान
–संजय यादव
देशमा जति वटा पार्टीहरु छन् ती सबै पार्टीको विधानभन्दा जसपाको यो विधान अग्रगामी रहेको छ । मलाई लाग्दैन कि यो भन्दा राम्रो विधान कसैको छ । अत्यन्त समावेशी, प्रगतिशिल र युवा मैत्री विधान रहेको छ । यो विधान कार्यान्वयनमा आयो भने जसपा पार्टी युवाको पार्टी हुनेछ । नीति निर्माण तहदेखि लिएर हरेक ठाउँमा युवाको उपस्थिति अनिवार्य जस्तै बनाएको छ । हरेक समितिमा ४० प्रतिशत युवाको आरक्षण फिक्स गरेको छ । कति उमेरकालाई युवा मान्ने त्यो बेग्लै कुरा हो तर जसपाका लागि युवा अनिवार्य व्यवस्था भएको छ । त्यस्तै ३३ प्रतिशत महिला पनि सहभागी हुनुपर्ने अनिवार्य जस्तै बनाएको छ । राजनीतिमा पछाडी परेका युवालाई कसरी पार्टीमा समावेश गराउने, त्यसलाई कसरी अगाडि बढाउने त्यसको बारेमा विधान नै गम्भिर भएको देखिन्छ । तीन दिनसम्म प्रज्ञा भवनमा चलेको बहसमा अधिकाँश युवा नै सहभागी थिए । प्रज्ञाको हलमा उपस्थित चेहरा हेर्नुभयो भने ९० प्रतिशत युवा नै सहभागि थिए । पार्टी अहिले पनि युवा मैत्री नै छ । तर यो विधानले अझै व्यवस्थित गरेको छ । ७० वर्ष उमेर पुगेका व्यक्ति पार्टीको कुनै पनि समितिमा बस्न पाउँदैन भन्ने व्यवस्था गरेको छ । त्यो शतप्रतिशत युवा लक्षित व्यवस्था नै हो । रिटायर्ड भएर कोही ठाउँ छाड्छ भने त्यहाँ जाने कुनै युवा नै हुन्छ । त्यसैले समग्रमा भन्ने हो भने यो युवा मैत्री विधान हो ।
युवालाई अझ व्यवस्थित गर्ने विधान
–जेपी यादव
अहिलेको यो प्रस्तावित विधान पढ्नु भयो भने युवाकै लागि नै बनाएको हो भनि महसुस हुन्छ । विधान कार्यान्वयनमा आएपछि नेतृत्वदेखि लिएर हरेक सेक्टरमा युवाको पहुँच हुन्छन् । यद्यपी विधानमाथि भएको छलफल र त्यहाँ उठेको कुरा समावेश गर्ने कि नगर्ने, के गर्ने, के नगर्ने विषयमा छलफल गरी समावेश गर्नका लागि पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा एक समिति बनेको छ । सायद समितिले आफ्नो काम सुरु गरिसकेको छ । हरेक समितिमा ४० प्रतिशत युवा अनिवार्य गरेको छ । यदि यो कार्यान्वयन भयो भने नेपालको राजनीतिमा एउटा क्रान्ति नै हुन्छ । अहिले यो प्रस्तावित मात्र हो । भोली गएर हट्न पनि सक्छ, रहन पनि सक्छ तर प्रस्तावित विधान अर्थात विधानको मस्यौदामा यो कुरा उल्लेख छ । युवाको उमेर कति रहने त्यो बहसको विषय बनेको छ । त्यो पनि छलफलमा आएको विषय हो । कसैले ४५ भनेको छ भने कसैले ४९ भनेको छ । अरु अरु कुरा पनि आएको छ । पार्टीले अध्ययन गरी एउटा उमेर हद तोक्न सक्छ । आउने दिनमा युवालाई आकर्षित गर्ने एक मात्र पार्टी जसपा हुन्छ । ७० वर्षको उमेर हद तोक्नु पनि युवा लक्षित नै हो । अहिले पनि जसपामा युवाको आकर्षण छ तर यो विधानले झन व्यवस्थित गर्ने भएको छ ।
युवाको काँधमा जिम्मेवारी
–रेणु यादव
जसपा पार्टीले आफ्नो विधानमार्फत युवालाई आकर्षित गर्ने काम गरेको छ । विधानमा जति पनि प्रावधानहरु राखिएका छन् युवा केन्द्रीत नै हो जस्तो लाग्छ मलाई । जसपाको यो विधान प्रतिगतिशिल, समाजवादी, समावेशी समानुपातिक आधारमा तयार गरिएको हो । पार्टीका हरेक समितिमा युवाका लागि ४० प्रतिशत सीट अनिवार्य गरिएको छ । महिलाका लागि ३३ प्रतिशत सीट अनिवार्य गरेको छ । दलित, शिल्पी, आदिवासी जनजाति, पिछडिएका समुदायका लागि विशेष व्यवस्था गरेको छ । अर्थात समावेशी र पहिचानको पूर्ण प्याकेज हो जसपाको विधान । सबभन्दा बढी चर्चामा रहेको ७० वर्षे उमेर हद, यो पनि युवाकै लागि ल्याएको हो जस्तो लग्छ । यो लागु हुन्छ कि हुँदैन त्यो बेग्लै कुरा हो यदि यो कायम रह्यो भने जसपामा युवाहरु चाँडै नै नेतृत्वमा पुग्छन् । ७० वर्षीय उमेर हद कायम राख्यो भने युवालाई नेतृत्वमा पुग्न १० वर्ष पनि लाग्दैन । त्यस्तै, अहिलेको विधान मस्यौदामा एक जना व्यक्ति पदाधिकारीमा दुई कार्यकालभन्दा बढी बस्न पाउँदैन भनि प्रावधान राखिएको छ । भोली गएर के हुन्छ थाह छैन तर त्यो प्रावधान पनि कायम रह्यो भने युवा पार्टीको नीति निर्माण तहमा चाँडै पुग्ने विश्वास गर्न सकिन्छ । त्यसैले यो विधान पूर्णत युवा मैत्री विधान हो । आउने दिनमा जसपाको नेतृत्व युवाको काँधमा आउनेमा हामी ढुक्क छौं ।
नीति निर्माण तहमा युवा
–खेमनारायण यादव (राहुल)
तीन दिनसम्म समूह बनाएर गराइएको छलफलमा सबभन्दा बढी उठेको कुरा युवाकै हो । सबै समूहमा युवाकै बर्चस्व थियो । जसपामा युवालाई माथिल्लो तहसम्म लैजानुपर्छ । जसपाको नेतृत्व युवाले गर्नुपर्छ भनि चर्चा व्यापक भयो । त्यही अनुसारको सुझाव पनि पार्टीलाई गएको छ । मधेश आन्दोलन होस् या जनआन्दोलन, वा माओवादी जनयुद्ध होस् या थरुहट आदिवासी जनजातिको आन्दोलन सबैमा युवाको सक्रिय सहभागिता रहेका थिए । सहादत दिनेमा पनि युवा नै देखिन्छ । त्यसैले विधानको प्रस्तावनामा नै युवालाई समावेश गर्ने सुझावहरु पनि पार्टीलाई गएको छ । विधानको अन्य भागमा पनि युवाको बारेमा व्यापक कुरा उल्लेख छन् । युवालाई ४० प्रतिशतको आरक्षण यो त जसपाका लागि क्रान्तकारी कदम नै भएको छ । सायद यस्तो प्रावधान अन्य पार्टीमा पनि छैन । हामी चाहन्छौं कि यो लागु होस् । ७० वर्ष उमेर पार गरेका व्यक्ति पार्टीको कुनै पनि समितिमा रहन पाउँदैन जुन प्रावधान राखिएको छ त्यो पनि काबिले तारिफ छ यद्यपी यसको बारेमा मिश्रित धारणा आएको छन् । विधानमा युवालाई जसरी समावेश गरिएको छ त्यसरी नै अन्य कुरामा पनि युवालाई समावेश गरिनुपर्ने आवाज पनि उठेको छ । पार्टीबाहेक अन्य ठाउँमा पनि विभिन्न अवसरहरु हुन्छन् त्यहाँ पनि युवालाई सहभागी गराउनु पर्छ । युवा आन्दोलनका लागि मात्र होइन कि आन्दोलनपछि आउने अवसरका लागि पनि चाहिन्छ भनि सन्देश दिनु आवश्यक छ ।
क्रान्तकारी र समावेशी विधान
–सन्तोष सिलवाल
जसपा युवा मैत्री पार्टी हो भन्ने कुरामा अब कुनै आशंका रहेन । सांसददेखि मन्त्रीसम्मको नामावली हेर्नुभयो भने त्यो कुरा थाह हुन्छ । पार्टीको अन्य कमिटी पनि हेर्नुभयो भने युवाको सहभागिता ज्यादा भन्दा ज्यादा छन् । अधिकाँश पदमा ५० भन्दा कम उमेरकाहरु पनि छन् । र, त्यसलाई अझै समावेश र प्रगतिशिल बनाउन नयाँ बन्न लागेको विधानले भूमिका खेल्नेमा हामी विश्वस्त छौं । संगठन विस्तारदेखि लिएर पार्टीको हरेक गतिविधिमा युवाको संलग्नता रहदै आएको छ । युवा विद्यार्थीले हरेक मोर्चा सम्हाल्दै आएका छन् । अब मोर्चा सम्हाल्ने मात्र होइन, नीति निर्माणको तहमा पनि युवा आउनुपर्छ भन्ने कुराको बोध भएको छ । त्यही भएर अहिले युवाका लागि विधानमै विशेष व्यवस्था गर्न लागेको हो । हरेक कमिटीमा युवाको संलग्नता अनिवार्य गरेको छ यो युवाका लागि ठूलो अवसर हो । ७० वर्षका बुढापाकाहरु पार्टीबाट रिटायर्ड हुने व्यवस्था पनि विधानको मस्यौदा रहेको छ । ४० प्रतिशत युवा पार्टीको हरेक समितिमा अनिवार्य समावेश गराउने प्रावधान पनि पार्टीमा राखिएको छ । यो ऐतिहासिक काम नै हो । यदि त्यो कार्यान्वयनमा आयो भने नेपालको राजनीतिमा एक खालको क्रान्ति नै हुन्छ । हाम्रो पार्टीको यो मस्यौदाले युवाका लागि मात्र होइन, पहिचानका लागि विशेष व्यवस्था गरेको छ । पहिचानका आधारिक राष्ट्रिय समिति बनाउनुको साथै प्लस वानको अवधारणमा प्रदेश समिति पनि बनाएको छ । त्यसैले यो विधान अन्य पार्टीको विधानभन्दा धेरै कुारमा फरक छ । मस्यौदा नै यति प्रतिगतिशिल र युवा मैत्री छ भने पूर्ण रुपमा तयार भइ कार्यान्वयनमा आयो भने त्यो कस्तो हुन्छ अनुमान गर्न सक्नु हुन्छ । विधान अधिवेशनको समयमा आएका सुझावहरुलाई विश्लेषण गर्दै थप परस्कृत बनाउन समिति नै बनाएको छ । त्यो समितिमा सबैजना अनुभवी नै हुनुहुन्छ । उहाँहरुले त्यसलाई तयार गरी कार्यान्वयनमा ल्याउने छ भनि सबैले विश्वास गरेको छ । त्यो समितिले तत्कालै आफ्नो काम सुरु गर्ने भनेको छ । विधानले पूर्णता पाएपछि त्यसलाई प्रमाणिकरण गरेर कार्यान्वयनमा ल्याउने भनिएको छ ।
नीति निर्माण तहसम्म युवा
–सुरेश मण्डल
हाम्रो पार्टीको विधानमा युवाका लागि कतिपय यस्ता कुराहरु समावेश गरिएको छ कि ती कुराहरु नेपालका कुनै पनि पार्टीको विधानमा छैन । पार्टीका हरेक समिति, हरेक कलस्टरमा ४० प्रतिशत युवा समावेश गराउने भनिएको छ । मलाई लाग्छ कि यो कुरा नेपालको कुनै पनि पार्टीमा छैनन् । ७० वर्षको उमेर हदले पनि पार्टीमा मात्र होइन बाहिर मिडियामा पनि चर्चा पाएको छ । एमालेले महाधिवेशनमार्फत यो प्रावधान ल्याएको थियो तर अहिले त्यसलाई हटाएको छ । जसपाले आफ्नो विधान मस्यौदामा राखेको छ । अर्थात विधान अधिवेशनमा प्रस्ताव गरिएको छ । यसको विषयमा अधिवेशनमा व्यापक छलफल पनि भयो । मिश्रित प्रतिकृया आएका छन् । त्यो प्रतिकृयाका आधारमा विधान तयार हुने अपेक्षा सबैतिरबाट भइरहेको छ । जसपा आज मात्र होइन, जहिले पनि युवा मैत्री नै हो । प्रदेशमा प्रदेश सभाका सदस्य हेर्नुस्, त्यहाँ बनेका मन्त्रीहरु हेर्नुस् ती सबै युवा छन् । यसअघिका प्रदेशसभामा पनि युवा नै युवा थिए । पहिलो संविधान सभाका सदस्यको लिस्ट हेर्नुभयो भने जसपा अर्थात तत्कालिन फोरमबाट ज्यादा युवाको नै सहभागी थिए । त्यसपछि हरेक चुनाव वा सरकार हेर्नुभयो भने युवा नै अगाडि देखिएका हुन्छन् । पार्टीमा पनि हेर्नुभयो भने युवाको भूमिका कम्ती छैन । अब अहिले विधानमार्फत नै व्यवस्थित ढंगबाट त्यसलाई अगाडि बढाउने काम गरेको छ । अब सरकारदेखि लिएर पार्टीमा युवा नीति निर्माण तहसम्म पुग्ने विश्वास लिएको छ । विधानमा राखिएको प्रावधानका कारण सम्भावनायुक्त युवाहरु अगामी नेतृत्वमा आउन सक्छ । त्यसैले पनि जसपाको यो विधान सबभन्दा प्रगतिशिल रहेको छ ।
युवामा पनि समानुपाति समावेशी
–पेशल ढकाल
पार्टीका हरेक निकाय तथा समितिमा ४० प्रतिशत युवा सहभागी गराउने भनेको छ । विधानको मस्यौदामा नै त्यो कुरा उल्लेख गरिएको छ । त्यो लागु हुनेमा शंका पनि छ । मस्यौदामा उल्लेख छ तर अहिले जुन समिति बनेको छ त्यो समितिले त्यसलाई तलमाथि गर्न सक्छ । विधानमा धेरै कुराहरु युवाको पक्षमा छन् । तर कार्यान्वयन हुन्छ कि त्यसमा धेरै ठाउँबाट आशंका भइरहेको छ । विधान मस्यौदामा आएको कुराहरु हुबहु कार्यान्वयनमा आए भने त्यो लागु हुन्छ कि विधानमै सिमित हुन्छ त्यो पनि मननीय कुरा हो । विधान नेता केन्द्रित होइन, नीति केन्द्रित हुनुपर्छ । विधान व्यक्ति केन्द्रित होइन, कार्यकर्ता केन्द्रित हुनुपर्छ अनि मात्र त्यसमाथि अपनत्व फ्लि गर्न सकिन्छ । यहाँ संविधानमा लेखिएको कुरा कार्यान्वयनमा आएको छैन भने विधानमा लेखिएको कुरा व्यवहारमा कति लागु हुन्छ त्यसमा पनि बहस हुने कुरा हो । ४० प्रतिशत युवालाई विधानमा आरक्षित गरिएको छ । ल त्यो लागु भयो भोली गएर ती युवालाई पार्टीको नीति निर्माण तहमा लैजान्छ कि लैजाँदैन त्यसमा पनि विचार गर्नुपर्ने कुरा आएको छ । ४० प्रतिशत युवा राखेर मात्र हुँदैन, त्यो पनि ४० प्रतिशत पनि समावेशी हुनुपर्छ । त्यो युवा कुनै नेताको गोजीको हुनुहुँदैन । यो विधानले नेता तथा कार्यकर्तामा जागृत ल्याएको छ तर त्यो कन्टिन्यु हुन्छ कि हुँदैन त्यो हेर्नुपर्छ । पार्टीमा युवालाई थन्काएर मात्र हुँदैन त्यसलाई पनि विजनेश दिनुपर्छ । जिम्मेवारी दिनुपर्छ अनि मात्र त्यो विधान प्रगतिशिल र समावेशी हुन्छ । युवालाई भूमिका विहिन राख्यो भने रवि लामिछाने, रेशम चौधरी, सिके राउत जस्ताको नेतृत्व जस्तै अरु पनि पार्टी जन्मिन सक्छ । युवाका आकर्षण अहिले ती पार्टीतिर बढ्दै गएको छ । त्यसलाई रोक्नका लागि पार्टीमा युवालाई समावेश गराई जिम्मेवारीका साथ इङ्गेज गराउनुपर्छ ।
तपाईको प्रतिक्रिया