–मातृका यादव
विश्वबाट लगभग कम्युनिस्ट पार्टी समाप्त भइरहेको बेला नेपालमा शाक्तिशाली रुपमा उदय भएपछि एकखालको तरंग नै ल्यायो । नेपालमा माओवादीले गरेको जनक्रान्ति, जनयुद्धलाई विश्वले उदाहरण दिइरहेका छन् । माओवादीका कारण देशमा यस्तो परिवर्तन आयो ।
परिवर्तनपछि वामएकताका लागि धेरै पटक प्रयास भयो । विभिन्न दुई धार, दुई विचार, दुई सिद्धान्तमा रहेका तत्कालिन माओवादी र एमालेबीचमा एकीकरण भएपछि विश्वलाई आश्चर्यमा मात्र पारेको छैन, नेपालको राजनीतिप्रति सोच्न बाध्य बनाएको छ । पार्टी एकीकरण भएपछि एउटै दस्तावेज बन्यो । र, एउटै विचार र सिद्धान्तबाट पार्टीलाई अगाडि बढाउने सहमति पनि भयो । पार्टीका नीति, सिद्धान्त, विधान सबै एकीकृत पार्टीको रुपमा तयार भयो तर एकीकृत पार्टीका सबै कुरा एउटै भएपनि व्यक्तिवादी चरित्र हावी भयो ।
अहिले नेकपामा पार्टीको विधि विधान, सिद्धान्तलाई मान्ने कि व्यक्तिको हैकमवादी सोचलाई मान्ने बीच संघर्ष भइरहेको छ । एउटा धार आफू खुशी हिड्न् खोज्नका छन् भने अर्को धार पार्टीको विचार, पद्धती, सिद्धान्त अनुसार हिड्न खोजेका छन् ।
पार्टी निर्माणको क्रममा यो खालको धार देखिएको थिएन तर जब जब पार्टी निर्माण कार्यले पूर्णता पाउँदै गयो । पार्टी समायोजनको काम अगाडि बढ्दै गयो अनि विस्तारै विस्तारै दुईटा धारले आफ्नो रंग देखाउन शुरु गरेका थिए । अहिले नेकपामा मुख्य लडाई भनेको व्यक्तिको सोच अनुसार पार्टी सञ्चालन गर्ने कि पार्टीलाई विधि, पद्धति र सिद्धान्त अनुसार पार्टी चलाउने, त्यसमा बहस भइरहेको छ ।
पार्टीले सरकारे चलाउने हो कि सरकारले पार्टी चलाउने हो त्यसमा पनि मतदभेद दखिएको छ । सरकारलाई नेतृत्व गरेको व्यक्ति केपी शर्मा अोली र अर्को पार्टी सिद्धान्त, विचारलाई नेतृत्व गरेको व्यक्ति प्रचण्डबीच यसै कुरामा संघर्ष चलिरहेको छ । यसलाई कतिपयले पदका लागि भइरहेको लडाई पनि भनिरहेका छन् । तर त्यस्तो विल्कुल होइन, पार्टीमा विधि र पद्धती निर्माण गर्नका लागि यो संघर्ष भइरहेको हो ।
पार्टीको विधि विधानलाई पार्टीका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले नमान्ने भनिरहनु भएको छ । पाटीको बैठक नै नबस्ने, पार्टीले गरेको निर्णय पनि नमान्ने, पार्टी कमिटीको बैठक बस्यो भने त्यही दिन पार्टी दुई टुक्रा हुन्छ सम्मको कुरा भन्नु भनेको पार्टीमा व्यक्तिलाई शक्तिशाली बनाउन खोज्नु हो । पार्टीका निरकुंश ढंगबाट सञ्चालन गर्न खोज्नु हो ।
त्यसैलाई अहिले विरोध भइरहेको छ । यहाँसम्म कि अहिले त संघीय लोकतान्त्रिक गणतन्त्र आवश्यक नै थिएन किन मान्ने, द्धन्द व्यवस्थापन गर्नका लागि मानि दिएको कुरा पनि तत्कालिन एमालेका कतिपय नेताहरु भनिरहनु भएको छ ।
यो जतिको अराजक र गैरजिम्मेवार अभिव्यक्ति के हुन्छ । पार्टी सिद्धान्त र विचारबाट चलाउन नखोजेकेको यो भन्दा अर्को प्रमाण अरु के चाहिन्छ । अहिले आएर त्यो कुरा पुष्टि भयो कि केपी शर्मा अोलीलाई प्रधानमन्त्री बन्नु थियो र त्यही भएर फास्टट्रयाकबाट संविधान निर्माण गर्यो । संविधान निर्मांणको समयमा सुशिल कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो ।
त्यतिबेला केपी शर्मा ओलीले संविधान निर्माणमा त्यही सर्तमा सहयोग गर्नुभयो कि अगामी प्रधानमन्त्री आफूले मात्र बन्नुपाउनुपर्छ । सुशिल कोइराला र केपी शर्मा ओलीबीच सहमति भइसकेको थियो कि संविधान निर्माण भएपछि ओली प्रधानमन्त्री बन्नुहुन्छ । त्यही भएर हतार हतारमा संविधान निर्माण गर्नुभएको थियो । आज पुष्ट भयो कि संविधान पनि प्रधानमन्त्री बन्नका लागि मात्र उहाँले मान्नुभएको थियो ।
पार्टी एकतामा पनि दुई पक्षको बीचमा जुन सहमतिमा हस्ताक्षर भयो, जुन प्रतिवेदनमा हस्ताक्षर भयो त्यो पनि प्रधानमन्त्री बन्नकै लागि भएको कुरा अहिले आएर पुष्टि भएको हो । पार्टी एकता गरेर शक्तिशाली प्रधानमन्त्री बन्ने चाहना केपी शर्मा अोलीको थियो भने कुरा अब जनताबाट पनि यो कुरा लुकेको छैन ।
नत्र जे सहमति भएको छ, जुन प्रतिवेदन सर्वसम्मतिले पास भएको छ, त्यसलाई व्यवहारमा लागु गर्नुपर्ने हो नि तर उहाँले विभिन्न बहाना बनाइरहनु भएको छ । जे कारणले केपी शर्मा ओलीले त्यतिबेला पार्टी एकीकरण गर्नुभएको थियो त्यो कुरा अहिले आफै बाहिर आइरहेका छन् । सबै कुरा छर्लङ भएको छ । ऐना जस्तो साफ छ ।
जे छु मै छु, अरु कोही छैन । मैले नै यो पार्टी बनाएको हुँ, मैले नै सबै थोक गरेको हुँ, मलाई नै जनताले प्रधानमन्त्री बनाई दिएको हो, जनताबाट निर्वाचित भएर प्रधानमन्त्री बनेको हुँ जस्ता अभिव्यक्ति दिनैपिच्छे दिनुहुन्छ तर यो कुरा उहाँले कहीँ भन्नु भएको छैन कि आज जे छु पार्टीका कारणले छु । जनताले व्यक्तिलाई होइन, पार्टीलाई मत दिएको हो । तर ओलीमा एउटा दम्भ के छ भने यी सबै चिज आफैले गरेको हुँ ।
जनताको जनवाद अहिलेको राजनीतिक कार्यदिशा हो । तर ओलीले अहिले जनताको बहुदलीय जनवादका लागि हल्ला गरिरहनु भएको छ । सहमति गर्ने बेलामा जनताको जनवादमा गर्नुभयो अहिले आएर जनताको बहुदलीय जनवादको अडानमा उहाँ बस्नु भएको छ ।
यो गलत साचे हो । सोच अग्रगामी हुनु पर्यो पश्चगामी होइन, अगाडिको कुरा सोच्नु पर्यो पछाडीको होइन । पार्टीको विधि, विधान र प्रतिवेदनलाई उहाँले स्वीकार गर्न चाहनु भएको छैन । पार्टीभित्रको विवादको मुख्य जडो नै यही हो ।
पार्टीको लाइन र विचारलाई सबैले मान्नु पर्छ । पार्टीको पद्धती, विचारभन्दा बाहिर गएर कसैले कुरा गर्न मिल्दैन । व्यक्तिवादी सोचले न देश बन्छ न पार्टी बन्छ ।
पार्टी के को लागि, सरकार के को लागि देश बनाउनका लागि न हो । जनतालाई सुख सुविधा, विकास दिन सकिएन भने किन चाहियो पार्टी, किन चाहियो सरकार । नेकपाले आम रुपमा जनताले प्रश्न उठाउन थालेको छ । यसको जवाफ कसले दिने, यसको दायित्व कसले लिने, यसको जिम्मेवारी कसले लिने । व्यक्तिवादी सोचले कुनै पनि समस्या समाधान हुँदैन ।
केपी शर्मा ओलीको व्यक्तिगत सोचले नेता तथा कार्यकर्ताको ज्यान पनि जान थालेका छन् । तत्कालिन एमाले पार्टीले आज मात्र होइन वितगमा पनि मान्छे मार्ने काम गरेको छ । हाम्रै गाउँमा उहाँकै समर्थकले दुईजना मान्छे मारेको हो । आफ्नै पार्टीको मान्छेलाई मारेको हो ।
तर अझै उहाँले नेता बनाइ राख्नुभएको छ । कम्युनिस्ट आन्दोलन पनि त्यस्ता व्यक्तिहरु छन् । आफ्नै पार्टीका नेतालाई मार्न लगाउने जस्ता घृणित काम भएको छ । बारामा एमालेकै मान्छे मारिएको छ र एमालेकै मान्छे जेलमा रहेको छ । यस्ता धेरै घटनाहरु छन् जसको छानविन हुनुपर्ने आवश्यक छ । दुश्मनले एक अर्कालाई मार्नु र मार्न लगाउनु अर्कै कुरा हो तर पार्टीभित्रै नेताले अर्को नेतालाई मार्न लगाउनु जघन्य अपराध नै हो ।
यसको सत्यतथ्य छानविन हुनुपर्छ । एउटा कमरेड मारिए पछि सबैको छाती पोल्नुपर्ने हो, सबैको मन रुनु पर्ने हो । सबैले न्यायका लागि उठ्नुपर्ने हो । तर पार्टीका मान्छे मारिएका छन् तर पार्टीकै अर्को मान्छेले मुद्दा दर्ता हुन दिँदैन । रमिता हेरेर बस्छ । उल्टै पीडितमाथि मुद्दा दर्ता गराएको छ । यो जघन्य अपराधमा पनि पार्टीले न्याय दिलाउन सकेन भने त्यो कम्युनिस्ट पार्टी हुनै सक्दैन । पर्साको घटनाको बारेमा अन्तराष्ट्रिय स्तरको छानविन हुनुपर्छ ।
(मातृका यादवसँग सहारा टाइम्सले गरेको कुराकानीमा आधारित)



तपाईको प्रतिक्रिया