Khadya Bibhag

आरती हत्या प्रकरण: हत्या कि आत्महत्या !

गत जेठ ७ गते साँझ ६ः३० बजेतिर धनुषा जिल्लाको नगराइनका विनोद प्रसाद साहलाई उहाँकै सम्धीको नम्बरबाट फोन आयो, ‘आरती बेहोस भएकाले उसलाई जनकपुरको काव्या अस्पताल ल्याएका छौँ, तपाई छिट्टो आउनुप¥यो ।’
छोरीको बारेमा यसरी सम्धीको मोबाइलबाट फोन आएपछि हतारिदै विनोदले जनकपुरमा रहनु भएका आफ्नो कान्छी छोरी मनिषा साहलाई फोन गरेर कब्या अस्पताल पठाउनु भयो र आफू पनि श्रीमती निर्मलादेवीलाई साथ लिएर आठ किलोमिटर टाढा रहेको जनकपुरका लागि हिड्नुभयो । बाटोमा हुँदा नै मनिषाले आरती बहोस भएर अस्पतालमा भर्ना हुनुभएको कुरा आफ्नी आमालाई बताई सक्नुभएको थियो ।
तर दिदीको खुट्टा, हात छाम्दा केही चाल पाएको छैन त्यति भनेपछि निर्मलादेवीले फोन काट्नुभयो र टेम्पोबालालाई रुदै भन्नुभयो, ‘छिट्टो टेम्पो कुदाउनु न मेरी छोरीलाई उनीहरुले मारिसके ।’ त्यो दिन निर्मलाको आँखामा आएको आँसु आजसम्म रोकिएको छैन, जीउ सुकि सक्यो आँसु सुकेको छैन ।

त्यो दिन मनिषा अस्पताल पुग्दासम्म आरतीको मृत्यु भइसकेको थियो । त्यो कुराको जानकारी मनिषाले अस्पताल पुग्ने बित्तिकै थाह पाइसक्नुभएको थियो । तर आमालाई मृत्युको बारेमा भन्नुभएको थिएन तर आमा न हो, मनिषाको कुराबाट नै थाह पाइक्नु भएको थियो कि आरतीको मृत्यु भइसकेको छ ।’ आरतीको ससुराको व्यवहारका कारण नै थाह पाइसक्नु भएको थियो छोरीमाथि पक्कै पनि केही जोर जुलुम भएको हो । र, त्यही भएर अचानक अस्पताल भर्ना भएको हो ।
मोटरसाइकल र दराज माग्दै ससुरा र श्रीमानले कुटपिट गरेपछि बैशाखमा आरती माइती पुग्नुभएको थियो । आमा–बुवालाई सबै कुरा विस्तार सुनाउनु भएको थियो । त्यसरी दहेजका लागि कुटपिट गरेको त्यो पहिलो थिएन । त्यसअघि पनि उहाँमाथि कुटपिट भएको थियो । यी कुराहरु आरतीले फोनमै आफ्ना आमाबुवालाई भन्नुहुन्थ्यो । तर अलि बढी नै भएपछि गत बैशाखमा आरती आमा–बुवासँग भेटेरै कुरा गर्नुभएको थियो ।
आरतीको कुरा सुनेर उहाँका आमाबुवाले मोटरसाइकल र दराजको व्यवस्थामा लाग्नुभएको थियो । त्यहीं बीचमा श्रीमान मोतीबाबु साह आरतीलाई लिन नगराइन पुग्नुभएको थियो । अब केही हुँदैन, केही दुख दिन्न भन्दै मोतीबाबुले श्रीमती आरतीलाई साथमा लिएर घर फर्किनु भएको थियो । त्यसका १० दिनपछि त्यो घटना भएको थियो । घटना सुन्ने बित्तिकै विनोद र निर्मलाको आत्माले भन्यो ‘छोरी आरतीलाई हत्या गरेको हो ।’
प्रहरीको दावी
छोरीको हत्या भएको भन्दै आरतीका आमा बुवाले रुन कराउन थाल्नुभएको थियो । आरती साहका ससुरा मदन मोहन साहले मोती बाबुले घरमै झुन्डिएको अवस्थामा आरतीलाई फेला पारेकाले उद्धार गरी अस्पताल ल्याएको तर अस्पताल ल्याउँदा डाक्टरले मृत्यु भइसकेको भनी घोषणा गरेको दावी गर्नुभएको थियो । तर आरतीको आमा बुवाले त्यो मान्न तयार हुनुभएको थिएन । प्रहरी पनि घटना पुगेको थियो । घरको एक कोठाको सिलिङ फ्यानमा एउटा सल भेटिएको थियो, जसको प्रयोग गरी आरतीले झुन्डिएर आत्महत्या गरेको प्रहरीले दावी गरेको छ ।
आरतीका माइती पक्षले त्यो आत्महत्या हुँदै होइन, आरतीको ससुरा र श्रीमानले हत्या गरेको दावी गर्न छाड्नु भएन । माइतीपक्षले प्रहरीमा आरतीका ससुरा र श्रीमानविरुद्ध कर्तव्य ज्यानको जाहेरी दिन खोजे तर प्रहरीले लिन मानेन । घटना हेर्दा आत्महत्या जस्तो देखिएकाले बरु आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गर्न सकिने प्रहरीको भनाइ थियो । तर कर्तव्य ज्यानको किटानी जाहेरी दिने अडान लिएपछि पोस्टमार्टम रिपोर्ट नआएसम्म जाहेरी दर्ता नगर्ने प्रहरीले बताएको थियो । जेठ ८ गते अपराह्न १ बजे आरतीको शवको पोस्टमार्टम भयो । रिपोर्टले झुन्डिएको र त्यो आत्महत्या हुन सक्ने प्रहरीले दावी गरेको थियो ।
तर हत्या नै हो भनि किटानी उजुरी दिँदा पनि प्रहरीले लिन नमानेपछि माइतीपक्षले जिल्ला प्रहरी कार्यालयअगाडि शव राखेर आन्दोलन गर्यो । प्रहरीले कर्तव्य ज्यानमा जाहेरी दर्ता गरेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएपछि मात्र शवको दाहसंस्कार गरिएको थियो । दाहसंस्कार सकिएलगत्तै प्रहरीले आरतीका ससुरा मदन मोहन साह र श्रीमान मोती बाबु साहलाई पक्राउ ग¥यो ।
अनुसन्धानका क्रममा मोतीबाबु साहले झगडा हुँदा आफूले तीन झापड हानेर बाहिर गएको तर साँझ आउँदा घरमा भित्रबाट चुकुल लागेको थियो । ढोका फुटालेर भित्र जाँदा आरती झुण्डिएको अवस्था भेटिएको र अस्पताल ल्याउन मृत घोषणा गरेको बयान उहाँले दिनुभएको छ ।
तर जेठ ७ गते साँझ ५ः१५ बजे सलको पासो लगाएको अवस्थामा आरतीलाई फेला पारिएको र अचेत अवस्थामा रहेको भनिए पनि जेठ ८ गते अपराह्न १ बजेको आएको पोस्टमार्टम रिपोर्टमा आरतीको मृत्यु २४ देखि ३६ घन्टा पहिले भइसकेको भनि उल्लेख छ । त्यसलाई आधार भन्दा पनि छोरी आरतीको हत्या भएको पुष्टि भएको निर्मलादेवी बताउनुहुन्छ ।
प्रहरीको क्रियाकलाप शंकस्पद रहेको दावी माइती पक्षको रहेको छ । आरतीका बहिनी मनिषा साह भन्नुहुन्छ, ‘ कागज गर्न बोलाएपछि हामी त्यहाँ गयौँ तर प्रहरीले पहिले नै कागज तयार पारेर राखेको रहेछ । हामीले भनेको भन्दा फरक कुरा उल्लेख गरेर हस्ताक्षर गराउन खोज्यो । हामीले त्यस्तो कागजमा हस्ताक्षर गर्न मानेनौँ । मध्यराती हामीलाई उल्टो खुट्टा ढोगेर माफी माग्न लगाएको थियो । प्रहरीले कुटपिट गरेर हामीलाई जबर्जस्ती हस्ताक्षर गर्न लगायो । मैले मोवाइलबाट भिडियो खिच्न खोज प्रहरीले मेरो मावाइल पनि खोस्यो । मेरो मोवाइल प्रहरीले अझै फिर्ता दिएको छैन ।’

आरतीको न्यायका लागि संघर्षमा लाग्नुभएका एमालीका नेतृ एवं प्रदेश सभाका पूर्व सांसद डा.रिना यादवले यो केसमा प्रहरीले बदमासी गरिरहेको आरोप लगाउनुभयो । प्रहरीले निष्पक्ष छानविन गर्यो भने सबै कुरा बाहिर आउँछ तर उनीहरुले नै सुरुदेखि घटना लुकाउन खोजेको कारण यस्तो भएको दावी उहाँले गर्नुभयो । आरतीको हत्या भएको कुरामा कुनै शंका छैन, दहेज पनि एउटा कुरा हो मुख्य कुरा आरतीका मोतीबाबु चरित्र राम्रो थिएन, आरतीसँग बिहे गरेपनि बाहिर अरु अरु केटीसँग सम्बन्ध थियो, त्यो कुरा आरतीले थाह पाएपछि अवाज उठाउन थाल्नुभयो पछि दहेजको नाममा यातना दिन थाल्नु भयो त्यसले आरतीको मृत्यु भएको नेतृ यादवको दावी रहेको छ ।
त्यो घटनाको बारेमा अझै अनुसन्धान भइरहेको छ । काठमाडौँबाट सीआइबीको टोलीले पनि त्यसको बारेमा अनुसन्धान गरिरहेको छ । हाल आरतीका श्रीमान र ससुरा प्रहरीको हिरातमा रहेका छन् । तर आरतीको माइतीपक्षले आरतीका सासु आमा र देवरलाई पनि हिरासतमा लिनुपर्ने माग गरेर विगत एक महिनादेखि काठमाडौँको माइतीघरमा धर्ना बसेका छन् । माइतीघर मण्डलमा सडकको एउटा कुनामा एक महीनादेखि आरतीका बुवा विनोदप्रसाद साह, भाइहरु सन्तोष कुमार, धीरज, छोरी मनीषालगायत धर्नामा छन् ।
कहिले झरी, कहिले टन्टलापुर घाम त कहिले सवारी साधनको चर्को ध्वनिले उहाँहरुको धर्नालाई बिथोल्ने प्रयास गरिरहेका हुन्छन् तर आरतीको न्यायका लागि ती सबैसँग उनीहरु जुधिरहेका छन् । आरतीका आमा निर्मलादेवी दिनभर सडकमै बस्नु हुन्छ । जब रात पर्छ, त्यहीं छेउमा बनाएको त्रिपालको छाप्रोमा छिर्नुहुन्छ । सत्ने जस्तो गर्नुहुन्छ तर निद्रा पर्दैन, अनि छटपटिंदै बिहानीको बाटो पर्खिन्छन् ।
स्नातक पढेका छोरीलाई इञ्जिनियर ज्वाँइ पाएपछि खुशी हुनुहुन्थ्यो निर्मलादेवी र विनोद । तर विवाहकै सुरु दिनदेखि नै लफडा चलिरहेको थियो । आरतीको परिवारले छोरीको खुशीका लागि केटा पक्षको बखेडा पनि स्विका¥यो । २५ लाख ऋण गरेर छोरीको विहे गरेका निर्मलादेवी र विनोदलाई थाह थिएन कि दहेजकै कारण छोरीको हत्या हुन्छ । छोरीले न्याय नपाएसम्म घर नफर्किने बताउनुहुन्छ निर्मलादेवी । उहाँले भन्नुभयो, ‘मेरो छोरीको हत्या गर्नेहरु खुल्लेआम घुमिरहेका छन् र म चुपचाप कसरी बस्नसक्छु न्याय नपाएसम्म घर फर्किन्न ।’

तपाईको प्रतिक्रिया