काठमाडौँ भदौं ११ गते । भारतलगायत विभिन्न ठाउँमा विरामीको उपचार गराई घरमा समेत उपचारमै रहनु भएका वरिष्ठ पत्रकार एवं स्वतन्त्र सेनानी राजेश्वर नेपालीको निधन भएको छ ।
नेपाली, मैथिली र हिन्दी साहित्यमा कलम चलाउदै आउनु भएका राजेश्वर नेपाली आफ्नो लेखनमा प्रजातन्त्र, मानवता, शान्ति र राष्ट्रप्रेमलाई प्राथमिकतामा राख्नु हुन्थ्यो । समाजलाई कसरी परिवर्तन गर्न सकिन्छ भनि सोचका साथ उहाँले पत्रकारिता तथा साहित्यमा लाग्नु भएको थियो । विमारी भएर सिकस्त रहेको बेला उहाँले भेटघाटको क्रममा समाजकै बारेमा चिन्ता गर्नुहुन्थ्यो । चिन्ता गर्दा गर्दा आज उहाँ सबैको माझबाट सादाका लागि अस्ताउनुभयो ।
‘नेपाली’ उहाँको वास्तविक थर होइन । भारतमा स्वतन्त्रता आन्दोलन चलिरहँदा भारतका कतिपय मानिसले आफ्नो थर बदलेर भारती राख्नुभएको थियो । नेपालमा राणा शासनको विरुद्ध आन्दोलन चर्किरहँदा कतिपय नेपालीले पनि आफ्नो थरको पछाडि ‘नेपाली’ लेख्न थालेका थिए । ती मध्येका एक हुनुहुन्छ राजेश्वर नेपाली । बाबु रामदुलार साह र आमा इन्द्रमणिदेवी साहको कोखबाट वि.सं. २००२ साल भदौ १९ गते धनुषाको बेलग्राम बिन्धी गाविस वडा नं. १ मा जन्मनु भएका नेपाली कलमवीर मात्र होइन प्रजातन्त्र सेनानी पनि हुनुहुन्थ्यो ।
उहाँका पितालगायतका २२ जना युवकले १९९२ साल वैशाख २२ गते रगतले हस्ताक्षर गरेर राणा शाही ढाल्ने कसम खाएका थिए । उहाँका पितामा गान्धीको प्रभाव पनि थियो, त्यसको असर नेपालीमा पनि प¥यो । लोकतन्त्रलाई सबैभन्दा प्यारो ठान्नुहुने नेपाली सानै उमेरदेखि सूचना आदान–प्रदान गर्ने कार्यमा सक्रिय रहनुभयो । २००७ सात सालको जनक्रान्तिमा उहाँ सानै हुनुहुन्थ्यो तर पनि मुक्ति सेनाका लागि रसदपानी के कस्तो छ भनेर लेखिएको चिठी मन्दिरबाट घरसम्म लैजाने कार्य गर्नुहुन्थ्यो ।
उहाँका पिताजी रामदुलार साहले मुक्ति सेनालाई आवश्यक पर्ने खाद्यान्न आपूर्ति गर्ने काम गर्नुहुन्थ्यो । सीमापारि कमाण्डर सुवर्ण शमशेर बस्नुभएको थियो, त्यहाँबाट नेपालीको घर झण्डै एक किलो मिटर ढाटा थियो । ठूला मान्छे ओहोर दोहोर गर्दा शंका हुने भएकाले मन्दिरसम्म मुक्ति सेनाका मान्छेले पत्र ल्याउने र त्यहाँबाट घरसम्म लैजाने काम नेपालीलगायत अन्य बालकको गर्दथे । उहाँ विगत ५१ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ भने प्रजातान्त्रिक÷लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय रहँदा प्रहरीको हिरासत उहाँका लागि पानी पँधेरोजस्तै बन्न पुग्यो भने जेल पनि उहाँका लागि बिरानो छैन । उहाँ ३९ पटक प्रहरी हिरासत र तीन पटक जेल पनि पर्नुभएको छ, त्यो पनि समाचार लेखेकै कारण । तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते शासनसत्ता आफ्नो हातमा लिएपछि निकै दुखित हुनुभएका नेपालीले २०१८ सालदेखि सुरु गर्नुभएको पत्रकारिताको यात्रा अहिलेसम्म पनि कायम छ ।
२०२६ साल कात्तिक गते कांग्रेसले गरेको भद्रअवज्ञा आन्दोलनको समाचार पटनाबाट प्रकाशित हुने ‘नेपाल सन्देश’ मा उहाँले पहिलो समाचार लेख्नुभयो । त्यतिबेला जनकपुरमा कुनै पत्रिका थिएनन् र काठमाडौं समाचार पठाउन पनि त्यति सजिलो थिएन । बरु पटनाबाट छापिने अखबार देशका मुख्य सबै सहरमा त्यही दिन पुग्थ्यो । पटनाबाट काठमाडौं दैनिक हवाइसेवा थियो, त्यसैले नेपाल सन्देश पत्रिका हरेक दिन बिहान साढे १० बजेतिर काठमाडौंका बजारमा आइपुग्थ्यो ।
प्रजातन्त्रका लागि मिसन पत्रकारिता गर्नुभएका नेपाली समाचार लखेकै कारण २०२१ सालमा पक्राउ पर्नुभयो । जनकपुरमा राजा महेन्द्रलाई लक्षित गरी दुर्गानन्द झाले बम हान्दा त्यसको चश्मादीद गवाह हुनुहुन्थ्यो उहाँ । २०४२ सालमै ‘हु इज हु’ मा उहाँको वायो डाटा समावेश भयो भने २०४६ सालमा भारतबाट प्रकाशित ‘रिफ्ररेन्स एसिया’ नामको किताबमा ११ सय व्यक्तिको बायोडाटामा उहाँको नाम समावेश थियो । नेपालबाट २० जनाको नाम थियो ।
पत्रकारिता गर्दा नै अहिले करोडौं पर्ने जग्गा उहाँले २०३६ सालमा बेच्नुभयो । त्यो क्रम अहिले पनि जारी छ । उहाँ भन्नुहुन्थ्यो, ‘पैसा नै कमाउन चाहेको भए मैले कमाउन सक्थेँ तर निष्ठाको पत्रकारिता गर्ने हुँदा बर्सेनि जग्गा बेचेर गुजरा चलाएको छु ।’ नेपालीका समकालीन पत्रकारहरूमा नेपाल टाइम्स दैनिकका प्रधानसम्पादक चन्द्रलाल झा, इन्द्रकान्त झा, उमाकान्त दास, गोविन्द वियोगी, गोपालदास श्रेष्ठ, फत्तेबहादुर सिंह, मदनमणि दीक्षित, मणिराज उपाध्याय, होमनाथ दाहाललगायत हुनुहन्छ । नेपालीले चन्द्रलाल झाको नेपाल टाइम्स दैनिक र होमनाथ दाहालको राष्ट्रपुकारमा लामो समयसम्म कलम चलाउनु भएको हो ।
दर्जनौं पत्रिकामार्फत कलम चलाउनु भएका नेपालीले सामाजिक सेवाका साथै राजनीतिमा पनि लामो संलग्नता राख्दै आउनुभएको छ । उहाँका झण्डै डेढ दर्जन कृति प्रकाशित छन् भने ४४ वटाभन्दा बढी संस्थाले गरेका सम्मानको चाङ उहाँसँग छन् ।
तपाईको प्रतिक्रिया