Khadya Bibhag

भारतबाट दोस्रो खेपको राहत सामग्री आइपुग्यो नेपाल

काठमाडौँ कात्तिक २० गते । भारत सरकारले नेपालका भूकम्प प्रभावित परिवारहरुका लागि आपतकालीन राहत सामग्री पठाएको छ ।
यसअघि पनि एकचरण त्यस्तो राहत दिइसकेको थियो । अहिले यो दोस्रो खेप भारत सरकारको तर्फबाट नेपाललाई राहत प्राप्त भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
सो राहत सामग्री भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नेपालगञ्जका मेयर प्रशान्त विष्टको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई हस्तान्तरण गर्नुभएको छ ।
अत्यावश्यक चिकित्सा तथा सरसफाई सामग्री, त्रिपाल, स्लीपिङ्ग ब्याग र कम्बल सहितको ९ टन राहत सामग्री भारतीय वायुसेनाको विशेष विमान सी–१३० ले नेपालगञ्ज ल्याइपुर्याएको थियो ।
यी राहत सामग्रीको हस्तान्तरण यही कार्तिक १७ गते जाजरकोटमा गएको भूकम्पपछि नेपाल सरकारलाई सहयोग गर्ने भारत सरकारको प्रयासको एक हिस्साको रुपमा रहेको छ दुतावासले जनाएको छ ।
यसअघि त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण सहितको ११ टन भन्दा बढी आपतकालीन राहत सामग्रीको पहिलो खेप भारतले नेपाल सरकारलाई कार्तिक १९ गते हस्तान्तरण गरेको थियो ।

तपाईको प्रतिक्रिया