उगहे सुरज देव भेल भिनसरबा अरघके रे बेरबा पुजनके रे बेरबा हो बडकी पुरकारे देब दुनु कल दोरबा अरघके रे बेरबा पुजनके रे बेरबा हो…
तराई मधेसमा यतिखेर यी गीतहरु गुञ्जयमान भएका छन् । घरघरमा छठको तयारी सुरु हुँदा सबैको मुखमा छठी पर्वका गीत झुन्डिएका छन् ।
केलवा के पात पर उगेलन सुरुज मल झाके झुके हे करेलु छठ बरतिया से झाके झुके …
छठ पर्वका लागि जोहो गरिने अन्न, फलफूल र पूजा सामग्रीको वर्णन गीतबाटै गरिन्छ ।
काँच हि बाँसके बहंगीया, बहंगी लचकत जाय होई न बलम जी कहरिया बहंगी घाँटे पहुचाय…
अर्थात् काँचो बाँसबाट बनेको डालोमा सरसामान राखेर छठ घाटमा पु¥याउन छठ माताले परिवारका पुरुषहरूलाई शक्ति दिऊन् र उनीहरू घाटमा पुगुन् भनि सन्देश यो गीतले दिएको छ । छठको आफ्नै महिमा छ तर गीतले त्यसको महत्व अझै बढाई दिएको छ ।
समाजमा भाइचारा, प्रेम र सहिष्णुता अभिवृद्धिको द्योतक महान छठ पर्वको रौनक छाएको छ । एक दशकअघिसम्म तराईमा मात्र हर्षोल्लासका साथ मनाइने छठ तराई, पहाड, हिमालसम्म मनाउन थालिएको छ । श्रद्धा र निष्ठासहित गरिने सूर्य पूजाको सांस्कृतिक पर्व छठ विभिन्न समुदायले विधिविधान पालन गरी मनाउँछन् । पहिला यसलाई हिन्दुहरुको महान पर्व भनिन्थ्यो तर अहिले यो समाजवादी र गणतान्त्रिक पर्व भएको छ अर्थात सबै समुदाय पर्व भएको छ । कात्तिक शुक्लपक्षको षष्ठी तिथिमा मनाइने छठको विधिविधान ४ दिनको हुन्छ ।
छठको पहिलो दिन (कात्तिक शुक्ल चतुदर्शी)
कात्तिक शुक्ल चर्तुदशीका दिनदेखि छठ आरम्भ हुन्छ । दशैं र तिहार लगतै शुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ । छठको शुरुवात मानिने यस दिनलाई ब्रतालुहरू नहान खान (नहाए खाए) भन्दछन् । बिहानैै उठेर हात खुट्टाको नङ काट्छन र चोखो पानीले नुहाई–धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । भनिन्छ, यस दिनमा ब्रतालुहरूले प्रण गर्दछन् ‘म अब जथाभावी खाँदिन र तन मनले प्रभुको शरणमा बस्नेछु ।’
छठको दोस्रो दिन (कात्तिक शुक्ल पञ्चमी)
विधिवत् रूपमा शुरु भएको छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख व्रतालुहरूले सख्खरको खिर, लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिनमा एकछाक मात्र भोजन गर्नुको कारण भने छठको दिन अर्थात् अघिल्लो दिनमा दिनभरि पानी समेत नपिई निराहार व्रत बस्नुको पूर्वाभ्यास हो ।
छठको तेस्रो दिन (कार्तिक शुक्ल षष्ठी)
छठको तेस्रो दिन अर्थात् छठ पर्व । यस दिनमा व्रतालुहरू पानी समेत नपिई निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् । प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउँदाउञ्जेलसम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिनमा रातभर भजनकिर्तन र नाचगान हुने गर्दछ । घाटलाई बेहुली झंै सिंगारिएको हुन्छ ।
छठको चौथो दिन (कात्तिक शुक्ल सप्तमी)
रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । बिहानीमा सूर्यको न्यानो किरणसँगै ब्रतालुहरूले अञ्जुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठकुवा, भुसु छठको मुख्य व्रत बस्ने दिन २४ घण्टासम्म निराहार बसेर उपासना गर्ने व्यक्तिले पहिलो दिनदेखि नै नियम निष्ठा पालन गर्नुपर्छ । छठमा पवित्रता र चोखोनितोलाई अति महत्व दिइन्छ ।
चतुर्थीकै दिन व्रतालुले संकल्पसहित उपलब्ध भएसम्म नदी, पोखरी, तलाउजस्ता जलाशयमा अन्यथा इनार वा अन्य पानीपधेँरोमा स्नान गरी शुद्ध हुनुपर्छ । व्रत बस्ने संकल्प लिएकाले त्यस दिन उसिना चामल, माछामासु, लसुन, प्याज र कोदो जस्ता खाद्य पदार्थ खान हुँदैन । कसैको जुठो खान हुँदैन । शुद्ध, चोखो र सात्विक र निरामिष भोजन खानु पर्छ ।
छठका प्रसाद
षष्ठीका दिन अस्तयाचल सूर्यलाई जलाशयको घाटमा गएर अघ्र्य दिनुपर्छ । त्यसका लागि धेरै प्रकारका नैवेद्य तयार पारिन्छ । छठको नैवेद्य तयार पार्ने कोठा लिपपोत गरी पवित्र बनाइएको हुन्छ । माटोको चुल्हो नयाँ बनाइन्छ । नैवेद्य र पकवान तयार पार्ने भान्से पनि शुद्ध र पवित्र बन्नुपर्छ । छठका लागि बनाइने पकवान र नैवेद्यमा मुख्य ‘ठकुवा’ र ‘भुसवा’(कसार) हो ।
गहुँ वा चामलको पिठोबाट बनाइने ठकुवा र भुसुवा बनाउने पिठो ढिकी जाँतोमै कुटिए–पिसिएको हुनुपर्छ । छठको नैवेद्य वा अन्य पूजासामग्री तयार पार्दा विशेष चनाखो रहनुपर्छ । पूजासामग्री जुठो वा अपवित्र हुन गए कुष्ठरोग, चर्मरोग हुने वा अन्य अनिष्ट हुने जनविश्वास छ ।
‘केरवा जे फरल घवरसे वहि पर सुगा मडराय, मारबौ रे सुगवा धनुषसे सुगा गिरे मुरछाय‘’
‘छठ’लाई चढाउने केरा बोटमै हुँदा पनि सुगा वा अन्य कुनै पशुपंक्षीले नखाऊन् भन्ने मान्यता छ । त्यसकारण गीतबाटै पशुपंक्षीलाई समेत सचेत गराउन खोजिएको छ । शुद्धता र चोखोनितो छठको मुख्य विशेषता हो । त्यसकारण छठ पर्वलाई कठोर पर्व पनि भनिन्छ । विधिविधानमा भुलचुक गर्ने गुञ्जाइसलाई छुट दिइँदैन ।
छठ श्रद्धा र भक्तिपूर्वक आराधना गरिने पर्व हो । यो पर्वको विधिविधान मूलतः प्रकृतिसँग पनि एकठ्ठा छ । छठमा मौसमअनुसार फुल्ने–फल्ने धेरै चिजबिज चढाइन्छ । पकाएर चढाइने नैवेद्यमा मुख्य ठकुवा, भुसवा, पेरुकिया र खजुरी हो । फलफूलमा मुख्य केरा हो ।
सक्नेले सिङ्गै घरी केरा, नसक्नेले एक काइँयोसम्म चढाउँछन् । नरिवल, उखु, बोटसहितको बेसार, भोगटे, मुला, स्याउ, सुन्तला, ज्यामिर र गाजरसहितका मौसमी फलफूल चढाइन्छ । लारा कचरा (केशरी र पवित्र रातो डोरा) धुपसहितको पूजासामग्री चाहिन्छ । जसलाई अर्घोति भनिन्छ । कुम्हालेले बनाएको माटोको हात्ती, कोसिया, कुरवार (माटोको प्याला र नयाँ घैँटो) ढकना पनि नयाँ चाहिन्छ । चढाउने पकवान र नैवेद्य हालेर घाटमा लैजाने बाँसबाट बनेको नयाँ कोनियाँ (तीनकुने आकारको नांग्लो), सुप्पा (नांग्लो) ढकिया (ढाकी) चाहिन्छ । परिवारका सबै सदस्य त्यसदिन सकेसम्म नयाँ बस्त्र र आभूषण पहिरिएर सुन्दर लालित्यमा रहन्छन् ।
अस्ताउँदो सूर्यलाई अर्घ ‘हमरोपर होइऔ सहाय, हे छठिमैया, हमरोपर होइऔ सहाय‘.
छठीमाता हामीमाथि विशेष कृपा बनाई राख्नुहोला । छठी माताको आराधनामा गाइने गीत र भजनहरु जताततै गुञ्जिन थाल्छ । षष्ठीका दिन जब सूर्य अस्ततर्फ ढल्किन्छन्, छठको अघ्र्य दिन जलाशय पुग्नेको लाम लाग्छ । तयार पारिएको पूजासामग्री र नैवेद्यसहित व्रतालु, परिवारजन र दर्शनार्थी जलाशय पुग्छन् । एक साताअघिदेखि नै जलाशयको घाट सरसफाइ गरिन्छ । जलाशयको घाटलाई सजिसजाउ र झकिझकाउ बनाइएको हुन्छ ।
व्रतालुलाई पूजाका लागि सुविधायुक्त घाट बनाइएको हुन्छ । जलाशय नभएका स्थानमा खाडल खनेर पनि जलाशय तयार पारिन्छ । ढोल पिपही (बाजा) बजाएर मधुर संगीतसहित भजन आराधना गरिन्छ । नाचगानले घाट सुरम्य हुन्छ । पटाका पड्काएर युवायुुवती उमंग दर्शाउँछन् । जलाशयको शोभा रंगिचङ्गी र झिलिमिली हुन्छ । नयाँ बस्त्र र सौंन्दर्य परिधानमा नरनारीको जमघटले छठको साँझ सरोवरमा सौंन्दर्य अच्छादित हुन्छ ।
जलाशय घाट पुगेर नैवेद्य तथा पूजासामग्री फिँजाइन्छ । व्रतालु जलाशयमा प्रवेश गर्छन् । व्रतालुले जलाशयमै उभिएर पूजासामग्री पालैपालो हातमा उठाएर अस्तयाचल सूर्यलाई अघ्र्य दिन्छन् । व्रतालुको हातमा पिठार, सिन्दुर, फूल र अक्षतालगायतका पूजासामग्री हुन्छ । घाटमा करिब ५–६ घण्टा पूजा आराधना हुन्छ ।
अस्तयाचल सूर्यलाई अघ्र्य दिने काम सकिएपछि व्रतालु नयाँ बस्त्र फेर्छन् । आर्थिकरुपमा सम्पन्न परिवार वा विशेष भाकल गरेका (केही व्रतालुले) घाटमा चढाउन लगेका नैवेद्य, पकवान र पूजासामग्री सन्ध्याकालीन अघ्र्यपछि जलाशयमै सेलाइदिन्छन् । भोलिपल्ट बिहान उदयाचल सूर्यलाई अघ्र्य दिन पुनः ताजा पकवान र नैवेद्य तयार पार्छन् । कसैले सन्ध्या र प्रातःकालको अघ्र्यपछि सम्पूर्ण सामग्री जलमा बिसर्जन गरिदिन्छन् । तर प्रायःजसोले सबै सामग्री लिएर घाटबाट फर्कन्छन् । केही स्थानमा रातभर घाटमै पूजाआराधना गर्ने चलन पनि छ । आर्थिकरुपमा विपन्नले भिक्षा मागेर पनि छठको पूजा गर्छन् ।
छठको भाकल
विशेष रुपमा भाकल गर्ने आर्थिक सम्पन्नता भएकाले पनि पनि भिक्षा मागेर छठ पूजा गर्ने चलन छ । कसै–कसैले आफैँले छठको व्रत नगरे पनि व्रतालुबाट नैवेद्य चढाउन लगाउँछन् । खासगरी चर्मरोग वा अन्य अर्वुदरोग लागेका र संकटग्रस्त मानिसले मनोकामना पूरा भए छठको पूजा गर्ने संकल्प लिएका हुन्छन् । त्यसैगरी, निःसन्तान दम्पतीले सन्तान प्राप्ति भए छठ पूजाको भाकल गरेका हुन्छन् । निःसन्तान महिलाले सन्तान होस् भन्दै सारीको आँचल घाटमा ओच्छ््याएर नाचगान र भजनकीर्तन गराउने चलन पनि छ । केही दशकअघिसम्म महिला मात्र व्रत बस्ने चलन थियो ।
अहिले पुरुष पनि व्रत बस्न थालेका छन् । व्रत बस्न नसक्ने वृद्धवृद्धा तथा अशक्तले अरु व्रतालुबाट व्रत गराउँछन् ।
चर्मरोग पीडित वा निःसन्तान मुस्लिम समुदायका मानिसले भाकल गरेपछि रोग निको भएको र सन्तान प्राप्ति भएको भन्दै छठ पर्व मनाउने गरेका छन् । जलाशय घाटमा अपवादका घटनाबाहेक छुवाछुत गरिएको सुनिँदैन । सबै जातजाति घाटमा कुम जोडिने गरी पूजा गर्छन् । उचनिच र गरिब–धनी छुट्याइँदैन ।
छठको परम्परा
महाभारत कथामा द्रौपदीसहित पाँचपाण्डव अज्ञातबासमा रहँदा गुप्तबास सफल होस् भनेर सूर्य पूजा गरेको आधारमा छठ शुरुवात भएको जनश्रुति छ । पाँच पाण्डवले विराट राजाको दरबारमा गुप्तबास बसेकाले सोही समयदेखि छठ मनाउने परम्परा सुरुवात भएको भनाइ छ । त्यस्तै, साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको श्रापद्वारा कुष्ठरोगबाट पीडित साम्ब सूर्यको आराधनाको फलस्वरुप रोगमुक्त भएको उल्लेख छ । निःसन्तान महिलालाई सन्तान प्राप्ति भएपछि तथा परिवारमा सुख समृद्धिका लागि यो पर्व विशेष रुपमा मनाइन्छ ।
त्यसैगरी, सूर्य पुराणअनुसार सर्वप्रथम अत्री मुनिकी पत्नी सती अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि छठ मनाउने परम्परा शुरुवात भएको मान्यता पनि छ । (यो तयार गर्न अन्य सञ्चारमाध्यमको पनि सहयोग लिइएको छ)
तपाईको प्रतिक्रिया