राजेन्द्र महतोबारे लोसपाका सचिव मिश्रले गर्नुभयो यस्तो टिप्पणी

  • मनिष मिश्र–
लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट राजेन्द्र महतोजीले पार्टी परित्याग गरेपछि उहाँको वचन र वाचनसँग सहमत हुने व्यक्तिहरू पार्टी परित्याग गर्नु स्वाभाविक हो । निर्वाचनमा पराजितपछि आफूलाई राजनीतिक केन्द्रमा राख्न उहाँको सल्लाहकारले देखेको पद पार्टीभित्र कार्यकारी अध्यक्षको थियो त्यसको लागी गरिएको नाटक मञ्चन सर्वविदित नै छ । पार्टी पंक्ति र केन्द्रिय समितिले उहाँभित्र एकाएक पलाएको कार्यकारीको भुतको आशय राम्रोसंग बुझ्नुपर्ने र अहिले नै यसको लागि हत्तार गर्न नहुने निष्कर्ष निकालेपछि उहाँको सल्लाहकारहरूद्वारा उकुसमुकुसको स्थिति सृजना गराई चालिएको आत्मघाती गोलको निष्कर्ष केही दिन पछि जग जाहेर हुने नै छ।
उहाँले आफुलाई गजेन्द्रवावुको अनुयायी, सदभावना पार्टीका आफ्नो लिगेसी तथा मधेशको सच्चा नेता एवं अग्रणी व्यक्तित्व भनिराख्दा मधेशका पार्टीहरू एकिकरण भई राजपा नेपाल बन्दा उहाँले खेलेको भुमिका र गरेका नियुक्तिहरू सर्वविदित नै छ। मैले केही उदाहरण मात्र राख्न चाहे उहाँको नजरमा पर्साको निजामुदिन सम्मानि भन्दा अञ्जु यादवलाई क्रन्तिकारी देख्नु भयो । चितवनको अर्जुन उप्रेति भन्दा नरमाया ढकाललाई क्रान्तिकारी देख्नुभयो । उहाँहरू प्रतिनिधि पात्र मात्र हुन अरू कुराहरू आआफ्नो तरिकाले साथीहरू बुझ्नु हुनेछ ।
#manish
योसँग सँगै राजपा नेपाल एकिकृत हुँदा पार्टीलाई संगठित एवं व्यवस्थित गराई सकारात्मकताका साथ अगाडी बढाउनु पर्नेको सट्टा पार्टीलाई सधैभरि पद र भागवण्डा चंगुलमा फसाई, अध्यक्षको अगाडी नयाँ नयाँ अवरोधहरू सृजना गराई कार्य संचानलमा भएका अवरोधहरू सबैलाई थाहा नै छ । चाहे अध्यक्ष मण्डलको पालो पालो नेतृत्वको कुरा होस् या तत्कालिन संघिय समाजवादी फोरमसंग एकिकरणको लागी गरिएको मरिहत्ते प्रयासको कुरा होस । हामीले केन्द्रीय समितिको बैठकमा भनेका थियौ अब पनि नेताहरू सुध्रिनुस अब पनि पार्टीलाई व्यक्तिगत स्वार्थका निम्ति झोले पार्टी नबनाउनुस्, आफ्नो स्वार्थ पुरा हुञ्जेल सब ठिक नत्र सब बेठीक । पद पावरमा हुँदा कार्यकर्ता मतलब नहुने आफु कमजोर हुँदा त्यही कार्यकर्तालाई हारगुहार गर्ने ।
अबको समय पार्टी टुटफुटको होईन पार्टी बनाउने समय हो ।व्यक्तिगत स्वार्थ भन्दा सामुहिक स्वार्थको कुराहरूलाई ध्यानमा राख्नुस । तर कसको को सुन्छ र । खाईपाई आएको बानी जो रहयो । तथापी दोस्रो संविधान ताका तत्कालीन सदभावना पार्टीले ६६ जिल्लामा गरिएको संगठन विस्तारको दावी र आएको परिणाम हामी सबै सामु सर्वविदित नै छ। अहिले पनि राष्ट्रिय मुक्ति आन्दोलनको कुरा आएको छ । कुरा राम्रो हो । राजनिति नेताले गरेका कुराहरू प्राय सुन्दा राम्रै हुन्छ तर परिणाम जन जनको पक्षको होस् । देशको समृद्धिमा टेवा पुगोस् । यसमा लागेका नेताहरू सम्मानजनक महसुस गरून् । जनताले भौतिक,आर्थिक क्षतिहरूको सामना गर्नु नपरोस् । महतो सरको पूर्व पार्टीका कार्यकर्ताले दिने सन्देश यहि होला सायद ।
अन्तमा राष्ट्रिय मुक्ति आन्दोलनमा लाग्न चाहने साथीहरू संयमताका साथ अगाडी बढनुस् । लोकतन्त्रमा आ–आफ्नो बारेमा निर्णय गर्ने सबैको अधिकार हुन्छ तर राजनितिक संस्कारयुक्त तरीकाले अगाडी बढनुस् गालिगलौज वा अपशब्दले कही पुर्याउनेवाला छैन।
(मनिष मिश्र लोसपाका केन्द्रीय सचिव हुनुहुन्छ)

तपाईको प्रतिक्रिया