मधेशी मोर्चा र सरकार बिच भएको ८ बुँदे सम्झौताको १६ वर्षः कार्यान्वयन नहुनुमा दोषी को ?

काठमाडौँ फागुन १६ गते । तत्कालिन संयुंक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकार बिच आठ बुँदे सम्झौता भएको थियो । सो सम्झौता भएको आज १६ वर्ष भइसकेको छ । तर सम्झौता अझै पुरा नभएको सम्झौतापत्रमा हस्ताक्षर गर्ने दलका नेताहरुले भनिरहनु भएको छ ।
त्यतिबेला सम्झौतापत्रमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय मुक्ति क्रान्तिका नेता राजेन्द्र महतोले गर्नुभएको छ । उहाँहरुले प्राय हरेक दिन हरेक कार्यक्रम वा बैठकहरुमा आठ बुँदे सम्झौता कार्यान्वयनमा प्रश्न उठाउँदै आउनु भएको छ ।
आठ बुँदे सम्झौता भएपछि मधेश केन्द्रीत दलका नेताहरु संविधान सभाको चुनावमा भाग लिनुभएको थियो । र चुनावपछि एउटा ठूलो शक्तिको रुपमा उदय त भयो तर सत्ता र कुर्सीका लागि भएको दौडधुपमा आफ्नै शक्ति समाप्त गर्नुभयो । आज दुई चार जना सांसद र एक दुई जना मन्त्री र मन्त्रालयमा सिमित हुनुभएको छ । आठ बुँदे सम्झौतालाई उहाँहरुले सत्तासँग साट्नु भएको आरोप लाग्दै आएको छ ।
यस्तो छ आठ बुँदे सम्भाmैताका बुँदाहरु
२०६४ फाल्गुन १६ गते सम्पन्न भएको सम्झौता
नेपालमा मधेसी जनताले आफ्नो समान अधिकारका लागि समय समयमा गर्दै आएको संघर्ष र आन्दोलनको क्रममा व्यक्त जनभावना एवं आकांक्षालाई सम्मान गर्दै मुलुकका सम्पूर्ण जनतालाई समानता, स्वतन्त्रता र न्यायको प्रत्याभूति गराउनका साथै सबै प्रकारका विभेदलाई अन्त्य गर्दै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य, बहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई सुनिश्चित गर्नका लागि नेपाल सरकार तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच तत्काल लागू हुने गरी यो सम्झौता गरिएको छ ।सम्झौताका विषयहरु देहाय बमोजिम छन् ।
१. मधेस आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुलाई शहीद घोषणा गर्ने र हालसम्म राहत नपाएका अङ्गभङ्ग भएकाहरुलाई उचित राहत राज्यले उपलब्ध गराउनेछ । यसै क्रममा आन्दोलनमा घाइते भएकाहरुको उपचार खर्चको व्यवस्था र शहादत प्राप्त गरेकाहरुलाई शहीद घोषणा गरी आश्रित परिवारलाई रु. १० लाखका दरले राहत उपलब्ध गराउने तथा गिरफ्तार व्यक्तिहरुलाई तत्काल रिहा गरिनेछ ।
२. मधेशी जनताको स्वायत्त मधेश प्रदेशको चाहना लगायत अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेश सहितको संघीयसंरचनाको आकांक्षालाई स्वीकार गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुनेछ ।संघीय संरचनामा केन्द्र र प्रदेशका बीच स्पष्ट रुपमा शक्तिको बाँडफाँड सूचीको आधारमा गरिनेछ । प्रदेशहरु पूर्णरुपले स्वायत्त र अधिकार सम्पन्न हुनेछन् । नेपालको सार्वभौमिकता, एकता र अखण्डतालाई अक्षुण राख्दै स्वायत्त प्रदेशहरुको संरचना, केन्द्र र प्रदेशका सूचीहरुको पूर्ण विवरण र अधिकारको बाँडफाँड संविधानसभाबाट निर्धारण गरिनेछ ।
३. संविधान सभा सदस्य निर्वाचन ऐन, २०६४ को दफा ७ को उपदफा (१४) मा रहेको २० प्रतिशतको वर्तमान कानुनी व्यवस्थाको सट्टा ३० प्रतिशत गरिनेछ ।
४. सरकारले सुरक्षा अङ्ग लगायत राज्यका सबै निकायहरुमा मधेसी, आदिवासी, जनजाति, महिला, दलित, पिछडिएको क्षेत्र र अल्पसंख्यक समुदायको समावेशी समानुपातिक सहभागिता हुने गरी सरकारले नियुक्ति, बढुवा र मनोनयन अनिवार्य रुपले गर्नेछ ।
५. नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्न र समावेशी बनाउन मधेसी लगायत अन्य समुदायको समानुपातिक समावेशी र समूहगत प्रवेशलाई सुनिश्चित गरिनेछ ।
६. नेपाल सरकार तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, तराईमा संघर्षरत सबै सशस्त्र समूहहरुलाई शान्तिपूर्ण राजनीतिक प्रक्रियाका लागि वार्तामा आउन आग्रह गर्दै वार्ताबाट सबै समस्या समाधान गर्न आग्रह गर्दछ । यसको लागि नेपाल सरकारले तत्कालै अनुकूल वातावरण बनाउन आवश्यक कदम चाल्नेछ । आगामी चैत २८ गतेको संविधानसभा निर्वाचन शान्तिपूर्ण, हिंसामुक्त, निष्पक्ष,स्वच्छ र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबैलाई अपील गर्दछौं ।
७. सरकार र मधेशी जनअधिकार फोरमबीच २०६४ भाद्र १३ गते भएको २२ बुँदे सम्झौता अनुरुप बन्दी राखिएकाहरुको यथाशीघ्र रिहाई, फोरम लगायत अन्य मधेशी नेता तथा कार्यकर्ताहरु माथि लगाइएका मुद्दाहरु अविलम्ब फिर्ता गर्ने तथा सम्झौताका बाँकी बुँदाहरु नेपाल सरकारले अविलम्ब कार्यान्वयन गर्नेछ ।
८. संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा जारी रहेको आन्दोलनका सबै कार्यक्रमहरु तत्काल फिर्ता लिइएको छ । यस सम्झौतामा उल्लेख गरिएका विषयहरुको संवैधानिक, कानूनी, राजनैतिक एवं प्रशासनिक आदि जिम्मेवारी नेपाल सरकारको रहनेछ । सम्झौताको कार्यान्वयन अनुगमन गर्नका लागि सरकारले मोर्चा समेत सम्मिलित एक उच्चस्तरीय अनुगमन समिति गठन गरिनेछ ।
सम्झौतामा हस्ताक्षर गर्ने पक्षहरुः
………………………………
गिरिजाप्रसाद कोइराला
प्रधानमन्त्री, नेपाल सरकार
…………………
उपेन्द्र यादव
केन्द्रीय संयोजक
मधेशी जनअधिकार फोरम, नेपाल
…………………………
राजेन्द्र महत्व
अध्यक्ष, सद्भावना पार्टी
…………………. …………………..
महन्थ ठाकुर
अध्यक्ष, तराई मधेश लोकतान्त्रिक पार्टी
२०६४ फाल्गुण १६ गते

तपाईको प्रतिक्रिया