मधेश दलहरु विभाजन हुँदा काँग्रेस, एमाले, माओवादीलाई हाइसन्चो

काठमाडौँ फागुन २२ गते । यो राज्यले मधेशको माग पुरा गरेन भनि संसदमा रहेका मधेश केन्द्रीत दलहरु जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले छुट्टा छुट्टै संघर्ष गरिरहेका छन् ।
चार वटै दलको फरक फरक बाटो छन् । तर यो बाटो यी दलहरुले आफै बनाएको होइन, देशका यी तीन ठूला दलले बनाई दिएका छन् । रणनीतिक ढंगले ‘फुट डालो और शासन करो’ नीतिका तहत यी दलहरुलाई आपसमा फुटाएर यी तीन दल काँग्रेस, एमाले, माओवादीले देशमा शासन गरिरहेका छन् । शासन गर्ने क्रममा ती मधेशी दलको अगाडि एउटा टुक्रा फ्याल्दिन्छन् र उनीहरु त्यसैमा खुशी हुन्छन् ।
२०६४̸०६५ को आन्दोलनका क्रममा यी दलहरु आपस मिलेर आन्दोलन गर्दा देशमा ठूलो शक्तिको निर्माण भएको थियो । मधेशको पनि सुनुवाई हुन्थ्यो । यो देशमा मधेशी शक्ति पनि छन् भनि भान हुन्थ्यो । यो कुराको महसुस काँग्रेस, माओवादी र एमालेले महसुस गर्न थालेपछि यी दलहरुको शक्ति छिनभिन्न बनाई दियो ।
यी दलहरुलाई कहिले पनि मिल्न दिएनन् । यदा कदा मिले पनि लामो समय टिक्न दिएन । बन्न त राजपा, जसपा पनि बनेको थियो तर अहिले ती दल छदैछैन । ती दल बनाएका नेताहरु अहिले अलग अलग भएका छन् । र, यो कुरा ती दलका नेताहरु चाहेर मात्र भएको होइन । काँग्रेस, माओवादी र एमालेको चाहना र रणनीतिमा भएको हो । जहिले पनि यी दलहरुलाई फुटाएर राख्ने तीन वटै दलको रणनीति हो । मधेशी दललाई एक साथ कहिले आउन आउन दिएन ।
त्यसका पछिल्लो उदाहरण अहिले बन्नेको गठबन्धनलाई लिन सकिन्छ । गठबन्धनमा एमाले र माओवादीले जसपालाई मात्र लिएको छ । जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीलाई बाहिर राखेको छ । अब माओवादी र एमालेले बाँकी रहेका तीन वटै दलसँग एक्ला एक्लै कुरा गर्छन् । कुरा मिलेसम्म गठबन्धनमा एक्ला एक्लै भित्र्याउछन् । चार वटै दलको बिचमा कुरा पनि हुन दिने छैन ।
चार वटै दललाई चार कुनामा राख्नेछ । ती दलहरु एउटा–दुईटा मन्त्रालयमा नै खुश हुन्छन् । काँग्रेस, माओवादी, एमालेबाट प्रधानमन्त्री बन्छन्, उपप्रधानमन्त्री बन्छन्, गृहमन्त्री बन्छन्, रक्षा मन्त्री बन्छन्, सभामुख, उपाध्यक्ष, राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रसभाका अध्यक्ष, उपाध्यक्ष बन्छन् तर मधेशवादी दल त्यही खानेपानी, वन, कृषि, महिला, शिक्षा मन्त्रालयमा खुश हुन्छन् ।
त्यसको एउटै कारण हो मधेशवादी दलहरु आपसमा नमिल्नु । यी चार वटै मधेशवादी दल एक मिलेर यी काँग्रेस, एमाले र माओवादीसँग संवाद गर्यो भने तराई मधेशले चाहेको जस्तो सम्मान पाउँछन्, अधिकार र पहिचान पनि पाउँछन् । तर ती दलहरुलाई फुटाएर एउटा एउटा मन्त्रालय दिएर आफ्नो पछि डुलाई रहेका छन् । मधेशका लागि ठोस रुपमा संवाद गर्ने ताकत नै पुग्दैन ती दलहरुलाई ।
अहिले जसपा चार दलीय गठबन्धनमा सहभागी भएको छ । मधेशको बारेमा त्यहाँ चर्चा पनि गरेको छैन । मधेशको माग मुद्दा के हो, त्यहाँ केही समावेश गराउन सकेको छैन । भोली लोसपा समावेश हुँदा पनि त्यही अवस्था हुन्छ, त्यसपछि जनमत समावेश हुँदा पनि त्यही हालत हुन्छ । नागरिक उन्मुक्ति समावेश हुँदा त्यही हालत हुनेछ ।
अर्थात एक्ला एक्लै जाँदा उनीहरु केही गर्न सक्दैन, आफ्नो माग र मुद्दा लिएर जाँदा त्यसलाई समावेश गर्न काँग्रेस, एमाले र माओवादी बाध्य हुनेछ । तर जसपा, लोसपा, जनमत, उन्मुक्ति पार्टीले त्यस्तो गर्ने छैन किनभने यी दलहरुको बिचमा मेल जोल छैन । यी दलहरुकै बिचमा प्रतिस्पर्धा छ ।
एक दलले अर्को दललाई निषेध गरिरहेका छन्, जसपालाई लाग्छ, जनमत, लोसपा, उन्मुक्ति पनि यो सरकारमा नआइ दियोस् । जनमतलाई लाग्छ, लोसपा, जसपा, उन्मुक्ति पार्टी सरकारमा नआइ दियोस्, लोसपालाई लाग्छ, जसपा, जनमत, उन्मुक्ति पार्टी सरकारमा नआइ दियोस् । उन्मुक्तिलाई लाग्छ, जसपा, लोसपा, जनमत सरकारमा नआइ दियोस् । सरकारमा आएपछि आफ्नो भाग खोसिन्छ कि भनि एक अर्कामा लोसपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई लागि रहेको छ ।
मिल्ने कहाँ हो कहाँ, एक अर्कालाई रोक्ने प्रयासमा यी दल लागेका हुन्छन् । व्यक्तिगत रुपमा यी दलका नेताहरुलाई केही फाइदा भएको होला तर समग्रमा मधेशलाई घाटा भइरहेको छ । मधेशी जनता अधिकारबाट बन्चित छन् । मधेशलाई मुलधारबाट विस्तारै अलग गर्दैछ । मधेशलाई कमजोर बनाइरहेको छ । यसैलाई भनिन्छ, ‘घर फुटे गवार लुटे’

तपाईको प्रतिक्रिया